Subscribe:

Ads 468x60px

19 September 2010

सरकारी कविता / जनताको कविता

शक्तिको केन्द्र राजधानी विविधताको हिसाबले पनि अब्बल नै छ । मुलुकका कुना-कन्दराबाट आउने थरीथरीका मानिसले यहाँ अवसरको बल्छी थापे जस्तै परिपरिका नमुना चिज पनि यहीँ देख्‍न पाइन्छ । फुटपाथमा कचौरा ठटाउने भिखारीदेखि त्यही फुटपाथसँगैको सडकमा बुलेटप्रुफ गाडी हुइँक्याउने महाजनहरूको साझा पौडीपोखरी हो काठमाडौँ । यस हिसाबले राजधानी खाल्डोलाई नमुना थलो भने पनि हुन्छ । यही राजधानीमा सरकारी कविताको स्वाद  पनि चाख्‍न पाइन्छ ।

चलनचल्तीमा आम गुनासो सुन्ने गरिन्छ, राज्यले साहित्य-कलालाई अनुत्पादक क्षेत्र सम्झिएर हेला गर्‍यो । तर राज्यको कुनै निकाय भने आफ्नो संस्थागत सन्देश प्रचारप्रसारका लागि काव्य कर्ममा तल्लीन भएको पाउँदा ‘वाह ! राज्यले साहित्यलाई सम्मानजनक रूपमा नहेरेको कहाँ रहेछ र’ भनेर चित्त बुझाउनुपर्ने हुन सक्छ ! नत्र किन कविताकै सहारा लिएर सन्देश जारी गर्नुपर्दो हो ? सन्दर्भ हो, राज्यको स्वतन्त्र आयोगको सार्वजनिक प्रचार सन्देशको । राजधानीको माइतीघरबाट नयाँ वानेश्‍वरतर्फ जाने बाटोमा बबरमहलमा केही समय अगाडि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय थियो ।

भ्रष्टाचार नियन्त्रणमा काम गर्ने आयोगले राज्य प्रशासनमा भएगरेका अख्तियार दुरुपयोग सम्बन्धी उजुरीअनुरुप अनुसन्धान, छानबिन गरी आरोप प्रमाणित भए कारबाहीको लागि सरकार समक्ष सिफारिस गर्ने गर्छ । (अहिले आयोगको कार्यालय टङ्गालमा अवस्थित छ ।) भ्रष्टाचार नियन्त्रणका लागि खटिँदै आएको आयोगको उपस्थितिले आच्छुआच्छु भएर कति मात्रामा भ्रष्टाचार घट्यो, त्यो आँकडा तथ्याङ्क विभागले निकाल्ला, हामी भने आयोगले भ्रष्टाचारलाई निरुत्साहित गर्न अपनाएको प्रचार विषयवस्तुमा जाऔँ । आयोगले बबरमहल स्थित आफ्नो पुरानो कार्यालय रहेको स्थान अगाडि सडकछेउमा सोही कवितात्मक सन्देशको होर्डिङबोर्ड राखेको छ । बालकविताको झलक दिने र तुकबन्दी पारामा लेखिएको कविता पढेर को-को भ्रष्टाचारीलाई हाउगुजी भयो होला, तर पैदलयात्रु र सवारीसाधनमा हिँड्नेहरूको लागि भने यो काव्यिक स्वाद मेट्ने खुराक बन्ने देखेँ मैले । हेर्नुस् तस्बिर :

 

{ सरकारी कविता }

Government

राजतन्त्र हुन्जेल राजाहरूको महावाणी सहरको विभिन्न स्थानमा होर्डिङ बोर्डमा देख्‍न पाइन्थ्यो । कविताको छनक तीमध्ये धेरै सन्देशमा मिल्थ्यो । नेपाल एकीकरण गरेको श्रेय दिइने पृथ्वीनारायण शाहकै दिव्योपदेशको कुरा गरौँ न,  कम धारिला छन् ती सन्देश ? बिच्छीको टोकाइ झैँ क्रान्तिकारी र प्रबल राष्ट्रवादी विचारधारा छन् तिनमा । ‘नेपाल दुई ढुङ्गाबीचको तरूल’, ‘जाई कटक नगर्नू, झिकी कटक गर्नू’ आदि गहन सन्देशमा साहित्यिक ओज पनि कतिपयमा गढेर रहेको पाइन्छ । त्यसपछि जनप्रिय राजा वीरेन्द्रकै सन्देश व्यापक रूपमा महावाणीका रूपमा होर्डिङबोर्डमा पढ्न पाइयो । ‘शिक्षाको पारिलो घामबाट कसैले पनि वञ्चित हुन नपरोस्’ भन्ने शिक्षाको व्यापकताको इच्छा गाँसिएको वीरेन्द्रको वाणी धेरै ठाउँमा प्रयोग भएको उतिबेलाको ठिटौले बेला सम्झिन्छु । यी सबैलाई सरकारी कविताको परिचयमा राख्‍ने र बुझ्‍ने गरेको छु मैले । सरकारी कविताको आयाम भनेको सरलता नै हुँदोरहेछ भन्ने लाग्छ अहिले यसो सोच्दा । जनजनको मनमा बस्नुपर्ने र बुझिनुपर्ने भएर होला । 

अन्त्यमा, अब माथि भ्रष्टाचारविरुद्धको सरकारी कवितासँग एकाकार हुँदै जनताको कविता प्रस्तुत गर्दै बिदा हुन्छु :

{ जनताको कविता }

दुखेको छातीमा मलम लगाएँ
जलप लगाएँ सुनौलो आशाको 
खै, कन्तुरमा भएन एक सिक्का
मृत्युले डाँको छाडेर माया गर्दै गयो
मानौँ, म नै थिएँ उसको
बिछोडिएको मायालु …

2 comments:

  1. साहित्यमा सरकारी योगदान अब यहि मात्रै बाँकी त नहोला नि । तर गज्जब लाग्यो सरकारी र जनताको दुबै कबिता ।

    ReplyDelete
  2. सरकारी कविता पनि राम्रै लाग्यो | जबाफी कविता त दमदार छंदैछ |

    ReplyDelete