September 28, 2010

आफ्नै मन पनि भारी !

हिलेकाहीँ धेरै सोचिन्छ र केही पनि सोच्न सकिन्न । त्यसमा पनि मलाई बात लगाउँछन् मान्छेहरू – तँ अलि चाहिने भन्दा बढी नै सोच्छस् यार ! र यति तीव्रतम सोच राख्दै आए पनि यसको फल आखिरमा के निस्कियो त ? यसो सोच्छु र फेरि केही पनि सोच्न सक्दिनँ । अन्तर्मुखी हुनुको गुण यस्तै हुँदो हो ।

जीवन सोचाइकै जोड, घडाउ र आखिरमा योगफलको शून्य जस्तो लाग्छ । यस्तो विश्‍लेषण अलि निस्सारवादी लाग्छ सक्छ । तर कहिले त जिन्दगीका सानातिना आँखीझ्याल पनि बन्द हुन्छन् केही पनि देखिन्न । अनि सर्वत्र निस्सारता मात्र हात लाग्छ । तर सबैजसोले कहिले न कहिले त अनुभूति गर्दा हुन्, कहिलेकाहीँ त आफ्नै मन पनि भारी भए जस्तो हुन्छ । यही अनुभूतिको सेरोफेरोमा एउटा गजल केही समयअघि लेखेको थिएँ ।

heavy life

आफ्नै मन पनि भारी हुने छाँट देखिँदैछ
रेट्छ यो मौसम आरी हुने छाँट देखिँदैछ ।

कति विघ्न मोहनी लगाएछ गहनाले,
सिङ्गो जीउ आलमारी हुने छाँट देखिँदैछ ।

जुगौंअघि पनि थियो आज पनि आएकै छ,
यो दुःख त अवतारी हुने छाँट देखिँदैछ ।

कहाँ कसको नजर लागेछ आज यसरी,
अँगालोको माया पारि हुने छाँट देखिँदैछ ।

उध्रिएको खुसीलाई यता सियो उता फुक्छ,
यस्तो सिलसिला जारी हुने छाँट देखिँदैछ ।

1 comment: