October 15, 2010

काठमाडौँमा उड्दैन चङ्गा

यो दसैँमा दसैँ मान्नेहरूको निधार त अक्षताले भरिन्छ, तर आकाश भने पूर्ववत् उजाड नै रहनेछ ।  kite

दसैँ सुरु हुने कति दिन अगाडिदेखि र दसैँ सकिएपछिका केही समयसम्म पनि चङ्गाको रङ्गीन झाँकी देखिने आकाश अचेल विधवाको सादापनमा खुम्चिएको पाइन्छ । जाडो याम सुरु हुने बेला उत्सवको स्वागत गरे झैँ खुसियाली मनाउन चङ्गा उडाउने प्रचलन विशेष गरी काठमाडौँकै हो । तर काठमाडौँको त्यो चिनारी पछिल्ला वर्षहरूमा खुइँलिँदै गएको छ । अचेल फाट्टफुट्ट रूपमा मात्र ठिटाहरू चङ्गाको रामरमाइलोमा देखिन्छन् ।

चङ्गा उडाउने क्रम पातलिनुको मुख्य कारण काठमाडौँको बढ्दो जनघनत्व र त्यो घनत्वसँगै घाम समेत देख्‍न मुश्‍किल हुनेगरी थपिएका घरको चापलाई मान्न सकिन्छ । मान्छे हिँडडुल गर्दा मात्रै पनि ‘साइड’ दिनुपर्ने अवस्था आउने महानगरमा अनि कसोगरी पो उडाउनु चङ्गा ? दसैँको समयमा विभिन्न जिल्लाका मान्छेहरू पर्व मनाउन गाउँ फर्किएर काठमाडौँको भीड पातलिने भए पनि चङ्गाका पारखी तन्नेरीहरूमा अचेल जोस भरिएको पाइन्न । त्यसो त मनोरञ्जनका लागि चङ्गा नै उडाउनुपर्छ भन्ने पनि नहोला । मनोरञ्जनका विविध साधन र माध्यम उपलब्ध भएकोले पनि चङ्गातिरबाट युवाहरूको मन ‘चेट’ भएको हुन सक्छ । तर चङ्गाको प्रचलन घट्दै जानुलाई सांस्कृतिक विचलन र परम्पराप्रतिको लगावमा कमी भनेर पनि विश्लेषण गर्न सक्छौँ हामी । मौसमले पनि साथ नदिएर हो कि चङ्गा उडाउनेहरू जिल्लिएका, हावा नचलेपछि चङ्गा उडाउनुको के मज्जा ! :-)

ericdsnider.comत्यसो त रमाइलो भन्ने कुरा, त्यसमा पनि दसैँको मोजमज्जा खासगरी बालापनमै अँटाउने कोठा हुन् । जति उमेरले छोप्दै जान्छ, जिम्मेवारी र कर्तव्यले किच्दै जान्छ र चाडपर्व मनाउनु भनेको सारमा परम्परालाई निरन्तरता दिने औपचारिकता बन्न पुग्छ । नमनाए वल्ला-पल्ला घरकाले के भनेर कुरा काट्ने हुन्, फेरि असामाजिक पनि भइने डर !  फेरि आफूलाई पनि त वर्षदिनमा तन-मनलाई ऊर्जा दिने रमाइलो बहाना चाहियो । तर यस कुरामा चङ्गा उडाउनुको कुनै साइनो छैन । मान्छेहरू अचेल आकाशमा चङ्गा उडाउनबाट सुस्ताए पनि मनमनमै उडाइरहेछन् । मनमै खुम्चिएर सपनाको नौनी मथिरहेछन् । बाहिर खुसी हुने बहाना पनि उति साह्रो छैनन् । सबै सांसारिक साँगुरोपनबाट जोगिएर पस्न सकिने भरपर्दो थलो आफ्नो मनदेखि बाहेक अरू हुन पनि त सक्दैन नि !

अन्तिममा एक टुक्रा :

यसपालीको दसैँ
सहर जस्तो अप्ठेरो
गाह्रो र साँगुरो
छैन यो मन,
चाहेमा-
पिङ हाल्न सक्छ्यौ
उडाउन सक्छ्यौ निश्फिक्री
मायाको चङ्गा...

3 comments:

  1. यसलाई परम्पराप्रतिको लगावमा कमी भन्ने कि नभन्ने भिन्नै कुरा हो । तर म आफैँ सानो हुने बेलाको कुरा सम्झदा भने आकाशतिर हेर्ने बेलामा चङ्गा नदेख्दा 'दसैँ' आएको छैन कि जस्तो भने लाग्दो रहेछ ।

    बडादसैंको हार्दिक शुभ कामना !

    ReplyDelete
  2. धाइबा जी लाइ तर्फबाट तपाइँ लगायत तपाइको परिवारमा यस पालिको बिजय दशमीको पावन अवसरमा सुख, शान्ती, दिर्घायु तथा उत्तरोत्तर प्रगतीको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु ।
    धन्यबाद ! शुभ होस् ! शुभ रहोस ! Happy Bijay Dashami …

    ReplyDelete
  3. अत्यधिक आधुनिकताको जालोले बेरेर नै होला परम्परागत सस्कृतिको लगावमा कमि आएको सायद।

    मैले पनि मनको चंगा नै उडाए यसपाली क्षितिजबाट।

    दसैंको मंगलमय शुभकामना ! धाइबा जी लगायत यी शब्दमा हातेमालो गर्ने सम्पूर्णमा ।

    ReplyDelete