Subscribe:

Ads 468x60px

22 November 2010

६ छोटा कविता

सै बसिबियाँलो गर्दा फेसबुक स्टाटसका रूपमा लेखिएका टुक्रा कुनै-कुनै त कविता नै बने जस्तो लाग्छ, र तिनलाई अझै जोखाना हेरी कविताको साँचोमा ढाल्न लोभ लाग्छ । केही समयदेखि यस्तै टुक्राटाक्री रचना फेसबुकमा हाप्‍दै आएको छु । कतिपय त यत्तिकै ‘रिक्तस्थान पूरयेत’ पनि भए होलान् । तर आफूलाई स्वाद लागेपछि मात्रै त्यो मातले अरूलाई पनि छुन्छ भन्ने मान्यतालाई न्यूनतम आधारविन्दु मान्दै बाँड्दै आएँ फेसबुकमा । फेसबुकबाटै साहित्य लेखन सुरु गरेर कवि-लेखक हुने साथीहरू निकै हुनुहुन्छ, ‘फेसबुक कवि’को उपाधिले तिनलाई हलुका बनाएर कतिपयले उडाएको पनि सुनेको छु ।
रहरमा, अझ भनूँ लहडमा पखेटा फटफटाउने केहीलाई त्यो उपाधि सुहाउँदो होला, तर फेसबुकमै जन्मिएका धेरै कविलाई मर्मज्ञ र विचारशील पाएको छु मैले । यही आधारमा मैले फेसबुकमा बाँडेको कविता पनि ‘फेसबुक कवि’ को उपाधि दिएर उडाइने ‘फेसबुक कविता’ नहोला भन्दै समयक्रममा स्टाटसमा राखेका केही कवितात्मक टुक्रा ब्लगमा एकै ठाउँमा जोरजाम गरेको छु ।

Mankamana


माया
कलकलाउँदो सुन भन्दै
तिमी नजिक आयौ
हेर्‍यौ, मुस्कुरायौ
छोयौ, सुमसुम्यायौ
कतिखेर-कतिखेर म
तिम्रो अँगालोको खापामा
सेलाएछु चिसो पित्तल भएर

मौसम
बैँसको छाता
आइपुगेको छ खै कता-कताबाट
न ओतिएको छ ज्यान पूरै
न भिजिएको छ छ्याप्पै
मुङफली बदाम खाए झैँ
बाँकी छ भोक हरियै
कसले हो पूरै ओताउने ...
कसले हो छ्याप्पै भिजाउने ...

रजतपट
शिवजीको पिठिउँ हुँदै
सतिदेवीको एक-एक अङ्ग
जसरी भयो पतन
देशले गुमाउँदैछ हेर -
मुटुभरिको रातो आवेग
आकाशै चोख्याउने नीलो शान्ति
कहाँ-कहाँ
कसले त्यसरी दिएछन्
आफ्ना अर्धपागल पिठिउँहरू ...
उनीहरू
पीठो-पीठो मैदानलाई
माउसुलीलाई ढोकामा जस्तै
किचिमिची पारिए पनि
उनीहरूले भनिरहे -
यही मैदान त हो हाम्रो घर
कहाँ पो जाऔँ ...
टाकुरामा पुग्दा
उचाइमा टिकिराख्‍न
हावासँग पनि कुरा गर
मेरी मायालु,
के ठेगान हुन्छ र
अहम्‌को बुख्याँचालाई
हावाले पनि लखेट्न सक्छ
फेदी नै फेदीको बाटो ...


जिन्दगी
काँटी-काँटीको सिरानी हालेर
सपनाका रेशमी खरायो पालेर
सुतेको छ सलाइ-जिन्दगी
थाहा छैन कहिले तात्‍ने हो,
कहिले पाक्ने हो
शरदको घाममुनि
दिनहरूको सेकुवा ।
[* यससँगै फेसबुक स्टाटसको रूपमा छोटा कविता राख्‍ने क्रमलाई तत्कालका लागि विश्राम दिएको छु । नोट तथा यसै ब्लगमा कविता पस्किने सिलसिला त आक्कलझुक्कल रूपमा चलिरहनेछ ।]

8 comments:

  1. gajab chhan guru

    ReplyDelete
  2. धाइबा जी ! सबै एक से एक रहेछन तर नि 'माया' र 'उनीहरू' चाही अलिक कता कता मनमा विझेर रह्यो !
    खै तपाइँ लाइ म के भनुम फेसबुक कवी या ब्लग कवी - जे होस् राम्रो कवी भने ! सुन्दर रचनाहरु !

    ReplyDelete
  3. रमाईला कविता !!

    ReplyDelete
  4. धन्न फेसबुक छ है कविजी । नत्र छोटा कविता त ब्लगमा हत्तपत्त हाल्नै मन नलाग्ने ! जे होस्, संख्या पुग्दा यसरी सबै हाल्न पनि मजै हुन्छ । कविताहरु बेजोड छन् ।

    ReplyDelete
  5. उता प्रायस मनपराएथें । मनपराएरै यता पनि पढें ।

    ReplyDelete
  6. Poetry is not just for writing , for me it is getting immense pleasure by reading it. And I got that pleasure reading the above poems. They are wonderful..

    ReplyDelete
  7. दमदार लागे यसपालिका टुक्राहरु ! पछिल्ला दुइटा बेजोड़ लागे | अघिल्ला दुइटा बेतोड़ लागे |

    ReplyDelete
  8. owooooooooooo!
    very very nice !
    what to say more then this ---

    ReplyDelete