Subscribe:

Ads 468x60px

05 December 2010

टिक्न नदिने रानो माहुरी !

NarayanG.

कुनै नयाँ ग्रह हेर्न झुम्मिए जस्तै आँगनभरि गोलो लागेको थियो मान्छेहरूको । अगाडि श्‍यामश्‍वेत टीभीमा मन्द भाव बगिरहेको थियो । सानो छँदाको धेरै घटना फिल्मको पुरानो रिल जस्तै फिका हुन्छन् । त्यो घटना पनि यतिखेर धमिलो गरी आइरहेछ । यसो बुझ्‍दा उतिबेला टेलिभिजनको त्यो दृश्‍य नारायणगोपालको निधन सम्बन्धी थियो । र मन्द भावको बगाइ शवयात्राको थियो । मेरो सम्झनामा भएअनुसार टीभी हेर्नेहरू आँखा केही रसिलो पार्दै ठूलो क्षति भएको खासखुस गर्दै चुकचुकाइरहेका थिए ।

त्यो २०४७ साल मंसिर १९ गतेको घटना थियो । 

नारायण गोपाल बिदा भएको पनि आज २० वर्ष भइसकेको छ । तर त्यो कालजयी गलाको महक अझै जनजनमा गढेरै बसेको छ । नारायणपछि निकै प्रतिभाहरू उदाय नेपाली सङ्गीत फाँटमा, निकै पलायन भए । तर उनको सत्ता अद्यापि डगमगाएको छैन । बरू अरू गायक-गायिका साधना, लगन र दैवी प्रतिभाको समग्र हिसाबमा नारायणजत्तिकै खरो उत्रिन नसक्दा ती सबैको क्षतिपूर्ति समेत उनी नै भएर रहेका छन् । यस हिसाबमा कसैलाई टिक्न नदिने रानो माहुरीको संज्ञा दिन मन लाग्छ नारायण गोपाललाई । सङ्गीतको महासागरमा आफैँमा एउटा सागरको रूपमा रहेका छन् नारायण ।

यस्तो लाग्छ : उनको गीत नसुनी बहिरो भएको कुनै कान छैन, उनको भाका नभरिएको कुनै हार्डडिस्क छैन । पछिल्लो पुस्ताको एउटा हिस्सा भलै आधुनिकतम सङ्गीतको लट्ठाइमा नेपाली सङ्गीतको खास रङ पाइने नारायण गोपालकालीन सNgopal-Ticketङ्गीतबाट वञ्चित भएको छ । तर धेरै नेपाली स्रोताले उनको गलाको स्वादको परख गरेका छन् । 

काठमाडौंको नेवार परिवारमा नारायणगोपाल गुरुवाचार्यको रूपमा  १९९६ साल असोज १८ गते उनी जन्मिए । बुबा आशागोपाल गुरुवाचार्य र आमा रामदेवी गुरुवाचार्यको काठमाडौँ किलागलस्थित घरमा उनी हुर्किए । नारायण गोपाल यत्तिकै गाएर मात्रै ‘गायक’  भएका होइनन् । गीत छनोटमा उनको जुन गहिराइको खुबी थियो, शब्दको मर्म बुझ्‍न सक्ने र त्यसलाई उत्तिकै भावमा डुबेर गाउने कौशल अहिलेका विरलै गायक-गायिकामा पाउन सकिन्छ । त्यो बोझिलो गला आफैँमा अद्वितीय त हुँदै त । उनलाई सुनिसकेपछिको ह्याङओभरले पछ्याउनाले नै होला, अरू गलातिर हत्तपत्त मन पनि भरिन्न । यसैले पनि होला जनताले स्वत:स्फूर्त रूपमा ‘स्वर सम्राट्’को उपाधि दिएका ।

उनी जस्तै शैली लिएर आउने रामकृष्‍ण ढकाललाई त्यही आशापूर्ण दृष्‍टिले हेरिएको थियो । तर ढकालले जनआकाङ्क्षा थामिरहन सकेनन् सायद, परीक्षामा उनी फेल नै भए । बाटो बिराउँदै ‘सबै स्रोता र युवाहरूको समेत गायक हुँ म’ भन्ने भावमा पप सङ्गीतको ‘झ्याउँकीरी’मा समेत हेलिए ।   भर्सटायल गायक हुन सक्नु र त्यो सुहाउनु गजबको कुरा हो । हत्तपत्त त्यो कसैलाई मिल्दैन । तर आफ्नो प्रतिभा कुन हदसम्मको हो र आफू मूल रूपमा के का लागि हो भन्ने पनि खुट्याउनैपर्छ एउटा कलाकारले । त्यसलाई ढकालका समकालीनहरूले पैल्याउन सकेनन् । खुसीको कुरा हो, फेरि आफ्नो पुरानै शैलीमा भित्रिएको जनाउ दिँदै रामकृष्‍ण ढकाल ‘शैली’ एलबमका साथ आउँदैछन् । तर नयाँ पुस्ता जति नै जगमगाएर आए पनि नयाँ कलाकार र स्रोताले अग्रज कलाकारप्रति श्रद्धाभाव राख्‍नैपर्छ । त्यसको हकदार पनि छन् पक्कै नारायण गोपाल लगायतका पुराना गायक कलाकारहरू ।

हार्दिक श्रद्धा सुमन नारायण !

अन्त्यमा, नारायण गोपालको धेरै कालजयी भाकामध्ये एउटा भाका सुनौँ -

1 comment:

  1. सायदै धाइबा जी -'उनको गीत नसुनी बहिरो भएको कुनै कान छैन, उनको भाका नभरिएको कुनै हार्डडिस्क छैन ।' होला !
    -------------
    मेरो पनि हार्दिक श्रद्धा सुमन स्वर सम्राट् नारायण गोपाल लाइ !

    ReplyDelete