February 27, 2010

बेस्सरी लजाउनेछिन्

ब उनी बिस्तारै आउनेछिन्
अनि बेस्सरी लजाउनेछिन् ।

सोध्नै पर्दैन के छ र कसो छ,

हतारिँदै सबै बताउनेछिन् ।

उनी खासमा त साइतकी घडा हुन्,

यो उत्सवलाई सजाउनेछिन् ।

चाहिन्न गमला र फूलबारी,

उनी आफैँ मगमगाउनेछिन् ।

थाहा पाउनेछु उनी आएको,

सुस्तरी यो मुटु चलाउनेछिन् ।

February 25, 2010

ब्लगर भेलाको अढाई घण्टा

त जनवरी ३० मा 'अन्तर्राष्ट्रिय अनलाइन ब्लगर भेला' सम्पन्न भएको थियो, त्यसबारे एउटा लेख कान्तिपुर दैनिकको शुक्रबारे परिशिष्टाङ्क 'हेलो शुक्रबार' का लागि तयार पारेको थिएँ । तर 'अयोग्य' ठहरिई त्यो सामग्री प्रकाशन हुन सकेन । त्यही लेख यहाँ पस्केको छु । उता अयोग्य भए पनि 'आफ्नै हात, जगन्नाथ' गरेर ब्लगमा हालियो । जे-जस्तो छ यथा रूपमा स्विकार्नुहोला ।
--------------------------------------------------------
विश्वभरि छरिएर रहेका नेपाली मनहरु एउटै हत्केलाका औँलाहरु हुन आइपुगेका थिए । जहाँ तिनको ताल र गुन्जन पनि लगभग एउटै भाकामा संचार हुन थाल्यो । इन्टरनेट सन्जालको साझा आँगनीमा गफिँदै गर्दा प्रविधिकै एक पाटो ब्लगिङको ज्वरोले भेलाका सहभागी सबैलाई गाँजेको थियो । न कुनै खास ठाउँ न त रंगीचंगी टेन्टको जोरजाम- सूचनाप्रविधिले बौद्धिक सक्रियतामा कुतकुत्याउँदै वेब ब्लग अर्थात् ब्लग लेखनमा हौस्याएको र इन्टरनेटकै डोरीबाट ब्लगरहरुलाई बिस्तारै एकापसमा नजिक्याएको फलस्वरुप नेपाली ब्लगरहरु जनवरीको अन्तिम शनिबार अन्तर्राष्ट्रिय अनलाइन ब्लगर भेलामा जुटे र ब्लगविषयक गफगाफमा सोचमग्न भए ।

सामूहिक लेखन (टिम ब्लगिङ)को अवधारणाले अमेरिकाबाट सन्चालित दौँतरी ब्लगको पहलमा करिब ५० जना नेपाली ब्लगरहरु अनलाइनमार्फत एकै ठाउँमा एकैचोटि भेलामा ओर्लिनु ब्लग क्षेत्रमै विरलै हुने घटनामध्येको थियो । अनलाइनमा ब्लगरहरुको भीडले कुराकानी माध्यम च्याटरोलले चाप थाम्न सकस मानिरहे पनि नेपाली ब्लग उत्थानका लागि राय-विचार निकाल्न तन्नेरी ब्लगरहरुको जोस झन्-झन् उर्लिएको थियो । नेपालसहित जापान अस्टे्रलिया युएई अमेरिका कतारमा रहेका नेपाली ब्लगरहरुलाई ब्लगरको गुगल ग्रुप सन्देश सन्जालबाट डोरिँदै एकत्रित हुन अझ सहजता थपिएको थियो । भेलामा सहभागीमध्ये केही त्यो खुला वार्तालापको साक्षी मात्र बनेका भए पनि प्रायःजसोले प्रत्यक्ष रुपमै एजेन्डा उठान छलफल विश्लेषण र विमतिसहित नेपाली ब्लग र ब्लगरका समस्याबारे समाधानको स्वर उठाए । तिनमा बहुसंख्यक नेपाली भाषामा र केही अंग्रेजीमा ब्लग लेख्ने नेपाली ब्लगरहरु थिए जसमा लोडसेडिङको अपडेटेड तालिकाले नेपालमा रहेका सम्भावित सहभागी ब्लगरहरुलाई त्यो संख्यालाई हल्का बढाउन 'भिलेन'को रोल खेलिदिएको थियो । भेला सकिएपछि पनि त्यहाँ भाग लिन नपाउनुको थकथकी कतिपयमा सकिएको थिएन जस्तो कि मार्टिन चौतारी काठमाडौँकी कैलाश राईले दौँतरी साइटको मेसेज बक्समा ठेलिन्- "लोडसेडिङले गर्दा भेलामा सामेल हुन नपाएकोमा खल्लो भो !" 

गत २००८ अगस्तमा पहिलो ब्लगर भेलाको अनुभव लिएर आइसकेकाले यो दोस्रो भेलाको मज्जा यसैमा थियो- के र कसो गर्ने भनेर कसैलाई बढी सम्झाइ-बुझाइ गर्नुपरेन । सहभागीहरु आफैँ ब्लग वार्ताको रुटमा 'गाइड' थिए । भेला सुरु हुनुअघिदेखि र पछिसम्म पनि ब्लगर जमघटमा बहसको सिर्जनशील कुश्ती खेलिरहेका अनलाइन च्याटकर्ताहरुले भेला अवधिभरिमा विविध बुँदामा आलोपाला सिलसिलेवर विचार राखे । छलफलका क्रममा व्यक्तिगत तहमा मुख्यगरी कतारको दोहामा रहेका विनोद रिजालले आफ्नो एजेण्डा राखे- 'देशको बारेमा आ-आफ्ना ब्लगमार्फत लेखरचना लेख्ने र पुराना ब्लगरले नयाँहरुको अवलोकन गरी सल्लाह दिने । यसै गरी अमेरिकाबाट सपनासंसारले विषय उठाए- 'संसारभर छरिएर बसेका ब्लगरहरुको हकहितका लागि एउटै आवाज उठाउने साथै ब्लगरमात्र नभई उसका परिवारको समेत स्वास्थ्योपचारमा आर्थिक सहायता जुटाउनॆ ।' शब्दतरंगको नाममा ब्लग लेख्ने काठमाडौँबासी वर्ड्सवेभले 'नेपाली ब्लगर र ब्लगबारे सधैँ कुराकानी र कदम चाल्ने ब्लगरहरुको साझा संयन्त्र बनाउनुपर्ने'मा जोड दिए ।  कुनै औपचारिक समारोहको रौनक नभए पनि सभापति तथा स्वागत मन्तव्यको व्यवस्था र नेपाली ब्लगलाई गति दिलाउने बुँदागत विषयहरु प्रस्तावनामा लगेर छलफल गर्ने कार्यले कुनै भद्र सभाभन्दा कम थिएन दोस्रो अन्तर्राष्ट्रिय ब्लगर भेला ।

भेलामा स्वागत मन्तव्य गर्ने जिम्मा पाएकी अमेरिकाको लुइजियाना राज्यस्थित टिबेडोमा निकोल्स स्टेट युनिभर्सिटीकी २० वर्षीया अन्जली तिमल्सिनाको भेला-अनुभव यस्तो छ - "अनलाइन नै सही सामूहिक अन्तकृया हुँदाको महत्व नै बेग्लै ।" त्यो भर्चुअल मिटिङ जम्यो भनेर उपलब्धि सम्झिनेमध्येकी उनलाई प्रत्यक्ष आफ्नो विचार राख्न पाउने र तुरुन्तै त्यसको फिडब्याक पाइहाल्ने विशेषता असरदार लागेछ । 

पालैपालो बोल्ने क्रम तोके पनि ठूलो संख्याका कारण अनलाइन प्रविधिको कठिनाइले वार्तालाप आ-आफ्नै हिसाबले बत्तिन पुग्दा 'टेक्स्ट च्याट' को त्यो भेलामा भ्वाइस च्याटको विकल्प पनि जोडदार खोजी भएको थियो । नभन्दै गहनापोखरी काठमाडौंका दिलीप आचार्य अघि सरे "अर्को भेला अडियोमा गर्ने हो भने म सहयोग गर्नेछु ।" यति मात्र कहाँ हो र १४ वटा प्रपोजल पास गरेको भेलाले छैटौँ नम्बरमा यही विषय समावेश गर्यो "आधुनिक अडियो-भिडियो कन्फ्रेसिङ टुल प्रयोग गरी आगामी ब्लगर भेलाहरु सन्चालन गर्दै जाने ।"  च्याटरोलबाट घुम्टो खोलेको भेला सस्वर विश्वभरि गुन्जिएमा नेपाली ब्लगरहरुको बीचमा त्यो चमत्कारै भएर स्थापित हुनेछ । यो आइडियालाई उनीहरुले 'क्या गज्जब !' तारिफ दिए ।

हालै नेपालमा नयाँ संविधान बनाउने क्रममा उठेका कुराजस्तै भेलामा पनि सर्सर्ति कुरा उठे । भाषा जाति पहिचान आदि । फरक कति भने ती मुद्दा खास समूह र वर्गले संविधानमा स्थान दिलाउनका लागि उठायो यहाँ भाषा र जातिको कुरा उठ्दा भने सिङ्गो ब्लगक्षेत्रकै गति र प्रगतिसँग जोडिएको थियो । नेपाली तथा अन्य भाषी ब्लगरले नेपाली भाषाको शुद्धतामा ध्यान दिने एउटा बुँदा र अर्को बुँदामा जातीय नारालाई निरुत्साहित गर्दै एउटै जात नेपालीलाई नेपाली ब्लगरको चिनारीमा स्थापित गर्ने भ्रातृत्वभावलाई पनि भेलाले सर्वसम्मत अगाडि ल्यायो । आफ्नो ब्लगको लेखसामग्री अनुमतिबिना र क्रेडिट नदिई अर्कोमा दुरुस्तै सारिएको पाउँदा धेरै ब्लगरको मन धुरुक्क रोएको रहेछ । "त्यस्ता चोरबारे त सार्वजनिक रुपमै ब्लगमा लेखेर बेइज्जत गर्नुपर्छ" भेलाबीचमै कसैले आवाज उठायो । लगत्तै जवाफमा ब्लगचोरीलाई निरुत्साहित गर्नुपर्ने भन्दै सबैले टेक्स्टमा फुत्त-फुत्त टाइप गरे- 'ताली !' 

नेपाली ब्लगरहरुको विश्वव्यापी जमघटमा नेपालको कुरा छुट्ने कुरै भएन । भेला समाप्तिपछि दौँतरी ब्लगमा नेपालियन मदन बराल ले भेलाको टेक्स्टको लिङ्क बाँड्दै ब्लग लेखे "ब्लगरबाट व्यक्त हुने कुरा इमानदारीपूर्वक निस्किने वाक्यांश हुन्छन् जुन अहिलेको नेपालमा पाउन निकै दुर्लभ छ ।" यसबाहेक उनले भेलामा उठेका एजेण्डालाई कार्यान्वयन कसरी गर्न भन्नॆ अबको चुनौती रहेको पनि ठम्याएका छन् । जुन चुनौती सबै ब्लगर नताती पार लाग्न सम्भव छैन ।

February 24, 2010

संकल्पको संयोजन

मानवीय स्वभाव नै उस्तो, समयको कुनै बहाना मिल्यो कि त त्यसैलाई साइत बनाएर यो गर्छु र त्यो गर्दिनँ भनेर संकल्पको बिटो थुपार्न ध्याउन्न हुन्छ । हिन्दी म्यागेजिन आउटलुकको नयाँ वर्ष २०१० विशेषांकमा पढ्न पाइएको थियो - नयाँ वर्षमा गरिने संकल्पहरुको कसरी सत्यानास हुन्छ कुन र कस्ता खालका संकल्प सत्यानास हुन्छन् ?

संकल्पको सत्यानास हुनुमा मानिसको लोसे र बेहोसी आनीबानीलाई कारक मानिएको ती १० सूचीहरु मानवीय व्यावहारिक जीवनमा आधारित थिए । पढेर निकैबेर घोरिन बाध्य गरायो । धन्न त्यतिखेर मेरो घोरिने समय संकल्पले खोसेको थिएन । त्यसो त संकल्पको मात्र कहाँ हो र सत्यानास त यहाँ धेरै कुराको भएको छ । भएका/रहेका ठोस कुराको त सत्यानास हुन्छ भने मनमगजमा बुनिँदै गरेको संकल्पको कलिलो जालोको के कुरा ! त्यो जालो आज बन्छ भोलि च्यातिन्छ ।

मनको पर्दाबाट अलिकता फुत्किएर देशको राजनीतिक मानचित्रमा फैलिने हो भने संकल्पको हरिबिजोक आलै पढ्न सकिन्छ । दिमागी बुइँगलमा तुनिएको सोचको रेखा त लौ चुँडिन सक्ला रे त्यो अर्कै कुरा भो, ढ्याप्पै मितिरेखा अंकित भएको संविधानसभाको अलपत्रे अवस्था देख्दा संकल्पको बिजोक त तैतै अथवा भन्न मन लाग्छ ।

गर्न नहुने/नमिल्ने कुरा गर्न यहाँ कुनै योजना र लम्बेतान सूचीरेखा चाहिन्न । झटपट जासुसी तवरमा त्यस्ता कुरा कहिले-कहिले पार लागिसकेको हुन्छ । तर सिलसिला मिलाएर अनेक झमेलाबाट तयार पारेको योजनाको पोको भने वरको परसम्म सर्दैन । संविधान निर्माण शान्ति प्रकृया र लोकतान्त्रिक परिपाटी संस्थागत गर्नुपर्ने दायित्व अहिले यही अवस्थामा घिटघिटोमा छटपटाइरहेछ नेपाली समयचक्रमा । आ-आफ्नै माग र जिद्दीमा मारमुङ्ग्री र माथापच्चीसी गर्नु नै सरोकारवालाहरुले आपुनो धर्म सम्झे जस्तो देखिन्छ ।

यसरी परिस्थितिहरुलाई काँक्रासरि चिरा पारेर हेर्दा "संकल्प गरिन्छ - सत्यानास पार्नकै लागि" भनेझैँ हुन्छ प्रायसः परिस्थितिमा । यो प्रकृया त "प्राणी मर्नकै लागि जन्मिन्छ" भने जस्तो हदै निराशावादी लाग्छ । समय मुठीमा कसिएको तोरीको दाना हो जति कसियो खुस्किँदै जाने । यसैले अब सत्यानास भएर जाने संकल्पहरुलाई जोगाएर संयोजन गर्नुपर्ने चुनौती छ । नङ पाल्नु छ, विनाशक घोचाइका लागि होइन, सौन्दर्यमा निखार थप्न भने ठेसहरुबाट यसलाई जोगाउनु छ । नत्र गन्ती नै गर्ने हो भने त संकल्पका भुल्काहरु मनको तलाउमा पलाइरहन्छन्, नङहरु बढिरहन्छन्, के अर्थ यी आउने र जाने भुल्का र टुसाहरुको ?

February 16, 2010

सहरमा सपना

क्-टक् धपेडीका खराउले
फुटपाथ डामिँदा
सहरमा बिहानी च्याट्ठिन्छ

दिन दिनभर
अवसरका बाजले छोप्नुअघि नै
छोप्छ निधारको झ्यापुल्ले अभागले
अनि डस्छ रात रातभर
प्रेम नामको सर्पले मुटुको टोड्काभरि ।

भित्तामा क्रस झैँ टाँगिएको माउसुलीले
सिकाउँछ आत्मदाहको पाठ
बलात्कृत लाटीको थर्थराउँदो ओठले
जारी गर्छ सुरक्षाको आलो विज्ञप्ति
कतै अदालतको सुख्खा पोखरीबाट फुत्किन्छ
न्यायको हतभागी माछो ।

सहरमा पनि घाम लाग्छ -
शीतका चाँदी टल्किन्छन्
झम्के साँझ पर्छ -
जूनकीरी पिलपिलाउँछन्
तर सहर निदाउन सक्दैन
जाग्राम बसिरहन्छ
सपनाको बल्छी थाप्दै
मान्छेहरुका आँखा झन् झन् गहिर्याउँदै ।

February 14, 2010

Flash back : Mr Lonely, I love you !

प्रेम थिएँ तिमी पूजा थियौ ।

प्रेममा परेपछि कहिले-कहिले त टापुको घर जस्तो भइँदो रहेछ, सबै खापा र कब्जाहरु बन्द भएको । सबै कुरादेखि बेखबर । दुई जना मात्रै, एक्लै !

हामी यस्तै भएका थियौँ सायद ।

दुई जनाको एक्लोपनमा समाज टाढा हुनु/हुन पुग्नु कति पीडादायक हुँदोरहेछ म बुझ्दैछु । सामान्य व्यवहारमा पनि तिम्रो हिचकिचाहट र हुत्तिएर आउने मायालु आवेगमा संकोचको 'स्पिडब्रेकर'ले पार्ने अवरोधले म कायल भएँ धेरै । यस्तै लेखिएको रै'छ दैव ! कन्चटमा चोर औँला टक्कराउँदै म रिँगटामग्न बन्थेँ ।

मात चढेका अँगालोको भार काँधमाथि पाउँदा म लुपुक्क हुनुपर्थ्यो होला । बच्चा जस्तै । पुरुषहरु किन बच्चा हुन खोज्दा रहेछन् अब मैले आफैँ अनुभूति गर्दैछु । किन उनीहरु आफ्नो बालापनमै फर्किन आतुर हुँदा रहेछन् र आफूलाई प्वाँख झैँ कसैको काखमा बिसाउन खोज्दा रहेछन्, मैले आफ्नै ढुकढुकीको गुन्जन नापेर थाहा पाएँ ।

अँ त, पूजा नामले पनि मबाट तिमीतिरै मेरा आरतीहरु केन्द्रित हुनु कुनै नौलो कुरा पनि थिएन । सोही भयो । म त एउटा राजनीतिक कार्यकर्ता जस्तै भएछु, तिम्रै नेतृत्वमा डोरिँदै गएँ ।

डेढ वर्षका अनेक प्रहरमा म धिपधिप नै सही पिलपिलाएकै थिएँ आत्मीय तापक्रममा ।

पन्जाबी रेस्टुरेन्टको दुईटा टेबलमा हामीलाई घुरेर हेर्ने त्यो कैलो आँखावाल वेटर अझै हाम्रो बाटो हेरिरहँदो हो । उसलाई के थाहा, समय कुन-कुन बोझ बोकेर कति लचक्क नुहिन सक्छ ! त्यो वेटर जो फ्राइ मःमः र भेज स्प्रिङ रोलको अर्डरमा केही अप्ठेरो मान्दै मुसुक्क मुस्काउँदै हामीतिर सोझिन्थ्यो, सके अहिले अन्तै सोझिरहेको होला । बिल तिर्न हामीले गर्ने मौन हानथापमा ऊ साक्षी थियो । मेरो पुरुष अहम् र नारी पनि आत्मनिर्भर हुन सक्छे भन्ने तिम्रो सबलता अचेल ऊ अरु नै जोडीहरुमा खोज्दो हो । एउटै मियोमा जिन्दगी टिक्न नसक्नेबारे पत्तो नहुँदानहुँदै पनि के थाहा, ऊ कतै उछिट्टिइसकेको होस् अर्कै रेस्टुरेन्टमा अर्कै खाले ग्राहकहरुको अर्डर लिनमा ।

गालाको ती खाडलमा नभासिएको भए म पनि त कतै फुत्किसकेको हुने थिएँ ।

- 'साँझ पर्यो अब जाम् न' तिमीले हतार मान्दै मेरो कुममा बजाएको ढिसुम् । अझै मीठो दुखाइ यहीँ गाडिएको झैँ छ ।

- 'पर्ख न, अब लास्ट राउन्ड कफी खाम् अनि ससुरालीको बाटो हुँदै तिमीलाई पुर्याउँला है !' आलटाल गर्दै मस्का मार्नमा म पनि के कम ?

- 'उहुँ हुन्न, तिमी यतैबाट जाऊ ।' खोइ किन तिम्रो रोकावटले तिमीसँगै भइरहने मेरो चाहनालाई नराम्रोसँग मर्मत गर्थ्यो । म मुर्मुरिन्थेँ मायालु रङमा । पिराउथेँ । तिमीलाई मान्न करै लाग्थ्यो ।

प्यारी लेखिकाको परिचय पनि जोडेको थिएँ तिमीमा । मलाई सम्पादकको बिल्ला भिराएर थाहा छैन किन तिमीले त्यत्रो ठूलो बोझ बोक्न सक्ने हैसियतमा मलाई भर गर्यौ । काँचै थिएँ । सायद तिमीले पकाउन खोज्यौँ । म हदै गलेँ तिम्रो पकवानमा । सबै मीठो हुँदै गयो । एउटी लेखिकालाई उसका तमाम रचनाहरुमा खार्दै लैजाने सम्पादनको जिम्मेवारी लिन दह्रो मुटु बनाउनु जरुरी थियो । कारण, त्यो मुटुको एउटा भित्तामा तिम्रै मायाको बाछिटा आलै थियो । अँ त, हाम्रो पकवान तृप्तिको तहमा एकदमै मीठो भयो ।

सायद यसैले त तिमी अघायौ, म अघाएँ । अघाएपछि उठ्नु स्वाभाविकै थियो । सँगै पलेटी घुँडा मारेर बसेका हामी उठ्यौँ ।

प्रेमको संस्थागत स्वरुप भन्छन् क्यारे । अन्ततः बिहे भयो । बिहेको मण्डपमा तिमी एक्लै थियौ । मेरो ठाउँ त अर्कै स्वाँठ (तर कस्तो भाग्यमानी !) ले लिएको थियो । मेरो प्रेमको बारेमा तिमीलाई अन्दाज अलि कमै भएको हुनुपर्छ । नत्र तिम्रो बिहेमा निम्तो पाएको भए म आउने थिइनँ र ? तिम्रो पूजाघरमा दैवहरु भिन्नाभिन्नै गन्तीमा वर्गीकृत भएको देख्दा म हेरिरहेँ । तर केही देखिनँ । नदेख्नुमा मेरै दोष थियो, आँखामा पानीजाली जो भरियो ।

हामी दुई जना थियौँ, एक्लै ।
अहिले म छु - नितान्त एक्लो ।

उही मुटुमा मायाको जरुवा उसैगरी भुलभुलाइरहेछ । छेउमा सुनाउनुपर्ने कोही छैन । भित्रभित्रै आफैँमा थर्किरहेछ : Mr Lonely, I love you !

February 11, 2010

हामी के लेखिरहेछौँ ?

पुस २५ शनिबार जनवरी ९ को कान्तिपुर दैनिकमा झलक सुवेदीको 'लेखनशक्तिका कुरा' शीर्षकीय लेख पढ्दा दिमाग रन्थनियो । लेखमा उठाइएको कुरा आफूमा पटकौँ उठ्ने गरेकै थिए सुवेदीले त्यस कुरालाई सोदाहरण सविस्तार अभिव्यक्त गरेपछि आफ्नो मन्थनसँग मेल खाएकाले रन्थनीको मात्रा ह्वात्तै बढ्न पुग्यो ।

साँच्चै लेखनको शक्ति कति हुन्छ ? कस्तो र कुन अवस्थामा लेखन प्रभावकारी हुन्छ र कुन सन्दर्भमा ज्यादा प्रभावी या एकदम निष्प्रभावी हुन्छ अखबारी लेखनमा विभिन्न भाव र भङ्गीमामा शीर्षकका जुरो जड्दै लेखरचनाका चराहरु दैनिक उडाइएको पाइन्छ । म्यागेजिन र अन्य माध्यमतिरका शीर्षकहरु पनि गन्ती गर्दा यो उडानले साइबेरियाबाट बसाइ सर्ने चराको संख्यालाई पनि माथ गर्ला ! तर यी तमाम लेखनगत चराका उडानले कत्तिको पङ्खा हम्किएको छ ? उडानक्षेत्रमा लेखकीय झटाराहरुले कत्तिको सिकार गरेका छन् ? यसको लेखाजोखा कति भएको छ ? लेख्ने व्यक्ति स्वयम् ले लेखाइको प्रंभाव र असरबारे कति अध्ययन-अवलोकन गरेका छन् ? छाप्ने माध्यमले कति तौलिएका छन् ? यी लेखाइका बन्डलहरुको हरहिसाब राख्नमा पाठक-मण्डली कहाँनेर छ ? कि त लेखाइहरु पत्रपत्रिकाहरुलाई 'रिक्त स्थान पुरयेत' र लेख्नेहरुलाई 'खल्ती गरम कार्जे' को रीत हुन् ? यो त कदापि होइन होला । त्यसैले लेखाइको मूल्य हुन्छ भने त यसको मूल्यवत्ताबारे नियाल्नु पनि आवश्यक नै हुनुपर्ने हो ।

सुवेदीले उक्त लेखमा उल्लेख गरेका छन् कुनै घटना-परिस्थितिमा मिडियामा लेखिएकै कुराको दबाबले निकै काम गरेर स्थितिमा निकै बदली पनि ल्याउँछ, फेरि कुनै बेला भने अर्को घटना÷परिस्थितिमा लेखाइको प्रभाव फिटिक्कै देखिँदैन । सेतोलाई कालो भनेर दोहोर्याउँदा-दोहोर्याउँदा त्यो चिज कालै ठहरिने खतरालाई मिडियाको प्रभावसँग जोडेर हेर्ने एकथरी दृष्टिकोण पनि छ गलत प्रयोगको अर्थमा । यही जोडअनुसार कालो सुनलाई सेतोमा चोख्याउने 'पेलान विद्या' पनि हुँदो हो गुपचुप वा खुला रुपमै । मिडियाको चलखेल र शक्तिको आडमा हुने प्रभावलाई एक ठाउँमा राख्ने हो भने खुद्रा लेखरचनामार्पुत हुने प्रभावले देश समाज वर्ग समूह र एउटा व्यक्तिमा कति योगदान गर्ला । वा बेहिसाब नै लेखिँदैछन् सबै कुरा ? गरिँदैछन् तर्जुमा ? साहित्य रचनालाई आत्मरति र मनको धोको मेट्ने नामले टारे पनि यस्ता साहित्येतर अखबारी लेखरचना त साहित्य होइनन् नि ! तिनमा त आत्मसन्तोषको लागि लेख्ने भन्ने ट्याग भिराउन नैतिकताले नदिँदो हो नि ! लेखनमा जिम्मेवारीबोध र पारिश्रमिकको ऋण चुक्ता गर्ने समाजमुखी भाव पनि त हुँदो हो एउटा स्तम्भकार र लेखकमा । लेखन पेसा बन्नुपर्छ, व्यावसायिकताको रङ देखिनुपर्छ यसमा, तर खालि कमाउने विद्या बनिरहेको त छैन भन्ने चस्काले छोप्न थालेको छ पछिल्लो समयमा ।

साँच्चि के लेखिँदैछ ? हामी के लेखिरहेछौँ ?
यो प्रश्न अब अखबारी लेखनदेखि उछिट्टिएर जुनसुकै माध्यम र लेखनकर्ममा फन्को मार्न आइरहेछ ।