May 30, 2010

पत्रमित्रको नाममा

सिड्नीकी साथी,

धेरै माया र सम्झना ।

तिम्रो कपाल र हाम्रो सम्बन्धले हातेमालो गरेछन् । दुवै छोटो । छोटो कपाल र छोटो समयमा झ्याङ्गिएको आत्मीयता ।  र पनि त्यसको असरदार प्रभाव छँदैछ आफ्नो ठाउँमा । कपाल छोट्याएको खबर सुनाएपछि म रिसाउँला भन्ने तिमीलाई हेक्का रहेछ । यो थाहा पाएर मनैमन खुब रोएँ हुरुक्क भएर, खुसीले । निकटताको अन्दाजमा तिमीले हालेको भर्‍याङ उक्लिँदै संसारको सबैभन्दा अग्लो मैँ भएको अनुभूतिमा रमाएँ । लामो र छोटो कपालको मेरो बयानदेखि दिक्किएर तिमीले मलाई राम्रैसँग मर्मत गर्थ्यौ, “तिमीलाई रुपसँग सरोकार रहेछ है !” सरोकार त मलाई जनताको वाहुलीबाट बन्ने मुलुककै पहिलो संविधानप्रति पनि थियो, तर के फरक पर्छ र !? म लोलाउँथेँ तिम्रो कुराले । अरूले थर्काउँदा मलाई उत्ति फरक पर्दैन, तिमीले चानचुने गाली गर्दा पनि किन म लोलाउँछु, थाहा छैन । म पनि तिमीलाई नै सताउँछु, बाटोछेउ माग्न बस्नेहरूसँग के साइनो हुन्छ र तिनलाई सताउनु ? आफ्नो बारेमा तिमीले मलाई छेकबार लगाए जस्तो लाग्यो । मानौँ, हिउँदको कष्‍टकर रातमा तिमीले मलाई ढोकाबाहिर उभ्याएराखेकी छ्‌यौ । त्यसो भए तिम्रो बारेमा मलाई केही सरोकार नहोस्, यो कसरी सम्भव छ ? जस्तो कि तिमीलाई नै यो पत्र लेख्दैछु, यो पत्र पठाउन पनि मलाई सरोकार नहोस् ? यो पत्रको शिर छैन, कपाल छैन, र पनि रूप त छ आखिर ! मलाई रुपको साँच्चै सरोकार छ प्यारी ।

www.cordarounds.comm पत्र लेख्दै गर्दा अनौठो अनुभूति भयो । लेख्‍नै नआए जस्तो अप्ठेरोपनले मनमा गाँठो परे जस्तो । हुन पनि मित्रतामा लहरिने धुनमा पत्र लेखनलाई छिमल्न थालेछौँ हामीले आफ्नो दैनिकीबाट । कति पो भइसकेछ तिमीलाई केही नलेखेको । खोई त, तिम्रो पनि एउटै सम्बोधन नपाएर म यति व्याकुल छु ।

पत्रमाथि यो कस्तो अन्याय ! जुन पत्रले हामीबीच पहिलो चिनारीको पुल हालेथ्यो, अझ निकटता र आत्मीयताको रेसा बाटेथ्यो, त्यही पत्रसँग हामीले साइनो तोड्यौँ । खासमा मानवीय प्रकृति भनेकै यस्तै होला – मुखभरि पानी उभाउने र अँजुलीलाई बिर्सिदिने ।

सिड्नीको आकाशमा बहकिएको हावामा तिम्रो कपाल कतिविघ्न सुहाउँदिलो झण्डा बनिरहेको होला ! म कल्पना गर्छु । कल्पनामै तिमी मुस्काउँछ्‌यौ, तिम्रो गालाको खाडलमा अनि त म भासिइहाल्छु । कल्पनाको रिल घुम्दै जान्छ । मैले मस्का मार्न थालेपछि तिमीले सातो खान्छौ – “हामी साथी मात्र हौँ के गधे !!” मानौँ म ट्राफिक नियम मिच्दै बीच सडकमा ढसमस्स उभिएको छु र तिमीले सिटी फुकेकी हौ ।

र यस्तोमा सतर्क हुने पालो मेरो हुन्छ । हो त, साथी भइसकेपछि कुनै न कुनै रेखी हामीले आपसमा तान्नैपर्ने, त्यो पनि स्पष्‍ट किटानीका साथ । र म साइजमा आउँछु । साइजमा आउनु यो समयको अपरिहार्यता हो । प्रतिपक्षी दलको घुर्की र धम्कीले च्यापिएर सरकार साइजमा आए जस्तै स्वाभाविक प्रक्रिया ।

समय बदलीकै अर्को नाम हो । बदलीकै उडानस्वरूप हुत्तिएर तिमी परदेशी भयौ, उतै सुर्तायौ; बदलीको घानबाट वञ्चित भएर म स्वदेशमै थुनिएँ, यतै सुर्ताएँ । कस्तो विचित्र रङ छ जीवनको । सायद आफूभन्दा दोस्रो व्यक्तिलाई गजब होला भन्ने भ्रमको चुल्ठो बाटेर त्यसैमा पिङ खेलिरहेछौँ । हामी सबैजना । हाम्रा छोराछोरीको पुस्ताले झन् एक-आपसमा कस्तो भ्रममा अडेसा दिएर चित्त बुझाउनुपर्ने होला ? हे रामचन्द्र ! यस्तै थेगो जोडेर तिमी पनि पिरोलिँदैछ्‌यौ होला । आखिर पिरोलिने एउटा-एउटा बहानाको खाँचो पर्ने रहेछ । नत्र जिन्दगीको बाटो खर्च नचल्ने रहेछन् । बहाना = बाटो खर्च ।

तिमीले छोडेको काठमाडौँ त्यस्तै नै छ । सडकहरू उस्तै रापिला, तिनमा चलमलाइरहेका अटेसमटेस गोडाहरू उस्तै भोका । मानौँ सबका सब हिंस्रक सिकारका लागि सुर कसेर खनिएका हुन् । बरू अझ यो सहरको तनाव भयङ्कर बढेको छ, घट्ने नाम छैन । कामको लिकबाट फुत्किएर हत्तपत्त साथीहरूसँग कफीको एक सुरुप लिन नपाउनु नै यो सहरको विशेषता हो जस्तो लाग्न थालेको छ अचेल । घडीको सुइसँगै एकाकार भएर दौड वत्स भनेर समय बूढाले कता-कता आदेश दिइरहे झैँ सबैमा एकोहोरोपनको भूत सवार छ । यस्तोमा म पनि घानमा परेको मकै हुनबाट कसरी पो छुट्थेँ र ?

घरबाट टाढिएपछि घरसँगको नाता अझ गाढा हुने र महत्व अकाशिने अनुभूति सबैले गर्दा हुन् । घरबाट मस्यौरा, भटमासको पोका र कुराउनी भरिएको डब्बा जबजब सहर छिर्छ, अनि मात्र गाउँघरको सम्झनाले छातीमा मार हान्छ । यस्तो मुटु भइसकेको छ । यसलाई स्वार्थको जामा भिराए पनि हुँदो हो, सहरिया प्रभाव भने पनि हुँदो हो । चिमोट्दा पनि अब त छुसुक्क छोए जस्तो मात्र असर हुने हो कि जस्तो भइसक्यो शरीरमा । म यस्तै भएको छु । तिमी कस्ती भएकी छ्‌यौ, कस्ती हुँदैछ्‌यौ, यो सबैको साक्षी बन्न पाउँदा सन्तोष लागिरहेको छ । आफ्नोबारे सानो-सानो कुरा सुनाउने तिम्रो बानी मलाई आत्मबखान कत्ति पनि लाग्दैन, बरू त्यसले मलाई तिमीसँग एउटै सिरानीमा शिर पारिदिएको आभास हुन्छ । विरानोपनमा रुमल्लिए पनि एउटै साझा घरको बास झैँ तृप्‍तिको भक्कानोले छोपिन्छु म । 

अँ त, म कहिलेकाहीँ आत्तिन्छु- कतै हाम्रो भेटै नभई यो विश्‍व ध्वस्त त हुँदैन ?

मलाई अक्सर यही जिज्ञासाले खेदो गर्छ, आपसी दूरी नामेट पार्दै भेटघाट गर्नमा त्यस्तो के कुरा लुक्या छ, प्राणीजगत् किन मरिहत्ते गर्छ ? किन वर्षौँ पर्खिन्छे पहाडकी मसली खसम आउने आशमा ? किन मधेसको लछुनिया बेपत्ता छोरो भेट्ने आशमा राजमार्गछेउको जङ्गलमा चौध चक्कर लगाउँछ ? किन कहाँ-कहाँ पुगेर भाले चरा बेलुकीपख कोसौँ दूरको गुँड फर्किभ्याउने धुनमा पखेटा फतक्क गलाउँछ । किन म पर्खिनेछु यो पत्रको जवाफ ?  मान्छेहरूले टेलिफोन वार्तामा “क्या हो, अचेल त भेटघाटै छैन” भन्ने गुनासो गर्नुमा कति तुक छ ? मान्छेले कसैको साथ र आडभरोसा खोज्नु पनि ऊसामु आफ्नो मान्यता स्थापित गर्नलाई रहेछ । अनि मान्छेले कसैलाई चिज गर्छ नि, त्यो पनि साटोमा आफूलाई उस्तै व्यवहार होस् भन्ने आग्रहभाव त हो । समाजको व्यावहारिक जीवनको यो नाङ्गो नाङ्गो सत्य लुकाएर पनि लुक्नेवाला छैन । कारण, हामी अहिलेसम्म यसैको अभ्यासमा छौँ ।

तिमीप्रति साह्रै नजिकिँदो यो पत्रभित्रको अभिव्यक्तिले सायद तिमी आत्तिनेछ्‌यौ । आत्मीयता भन्दैमा कति जतन नगरी फुकाएका कुराहरू भनेर त्यो चुली नाक अझै रिसले चुलिएको होला । अब धक फुकाएरै आत्तिए हुन्छ, रिसमा दरफराए हुन्छ, स्थिति सम्हाल्न हाजिर म छँदैछु ! देश सम्हाल्नुपर्ने नेताहरू भाङ खाएर आफ्नै बोलीको बेठेगानमा चकित हुने हाम्रो राष्ट्रिय परिवेशमा स्थिति सम्हाल्ने कोही जन्मिएकोमा कम्तीमा तिमी ढुक्क भए हुन्छ ।

विदेशको ठाउँ, थरीथरी आविष्कारिक रमिताले दङ्ग पर्ने तिमी यता मेरो मित्रताको पुनरावृत्तिको उकुसमुकुसबाट विरक्तिन्छौ होला यदाकदा । तिमीलाई विरक्तिन पनि छुट छ ।  यही विरक्ति तिम्रो साथी होला कहिलेकाहीँ । तिमी भने साथी हौ मेरो सधैँलाई । तिम्रो एक वर्षे जेठो अवतारले मलाई कान निमोठ्ने इजाजत पनि सुरक्षित राखेको छ । म पनि लिकमा हिँड्ने दबाबमा रहन पाउनेछु । तिम्रो जीवनमा पनि मैले हाँसो छर्ने बाटो देखेको छु ।

यति भएपछि रेल छुट्नेछैन । तिम्रो सङ्गतबाट अब म गयल हुन सक्नेछैन । रेल छुट्यो भने दुवैमध्ये कसैको जीवन ठेगानमा हुनेछैन सायद ।

र बाँच्नु हामी दुवैलाई छ ।

चाहे यसैगरी टाढिएर । चाहे आसपास रहेर ।

मायाले लेखेको हो पत्र, तर खोई कहाँ अड्कियो, असन्तुलित ट्याक्टर जस्तै थर्थरायो क्यार । मायाले पढ्नू । तिम्रो सजिलो मनले पढेपछि यसका खाल्टाखुल्टी टालिनेछ । मेरो बाटो पनि यसैगरी भर्न चाहान्छु ।

आजलाई यत्ति नै ।

May 15, 2010

पुतली : अनेकौँ आयाम

न पर्ने कुराहरूको सूची मान्छेको इन्द्रिय-बैँकमा धेरै हुन सक्छन् ।

जस्तो कि कसैलाई मैदानको हिलो माटो र त्यसको निक्खर गन्ध (सुवास) मन पर्छ, कसैलाई निराकार आकाश र त्यहाँ तिलमिलाउने जून र ताराहरूको जुलुस मन पर्छ । धरतीको कुरा गर्ने हो भने दासलाई मालिकको मीठो-मसिनो र आरामदायी जीवनशैली मन पर्छ, मालिकलाई दासको पसिनामा तैरिँदै आफूसम्मन् आइपुग्ने अनाजहरू मन पर्छन् । धरती र आकाश (हुन त त्यो कुनै ठोस तह होइन) को बीचमा वायुमण्डलमा कावा खानेहरू पनि धेरै जीव हुन्छन् ।  त्यसमध्ये पुतली पनि पर्छ । पुतलीहरू प्राय: सबैलाई मन पर्छन् । पुतलीहरू रङ्गीन हुन्छन्, यसैले सायद रङको संसारमा चोबलिन रुचाउँछन् ती । अथवा रङ्गीन दुनियाँमा फन्किने भएकाले प्रकृतिको रङ तिनमा सरेको हो कि ? यस्तो पागल प्रश्‍नमा पनि कहिलेकाहीँ लरबराउन मन लाग्छ । जिन्दगी अलिअलि त लरबराउनलाई पनि हो सीमा नभत्काउने गरी भन्नेमा विश्‍वास लाग्छ ।

पुतली र चराहरू स-साना जीवित विमान हुन्, जसमा ती आफ्नो पाइलट आफैँ हुन्छन् । यसैले तिनमा सौन्दर्यको भुल्को उठ्न सम्भव हुन्छ क्यार, मनमौजी तवरमा उर्लिन्छन् नि त ! प्रकृतिको लयमा विलीन हुनुमा जुन सुहाउँदो मनमौजी हुन्छ, त्यसलाई उछिन्ने तागत पो कसको ? यसै कारण डराएर होला विमानहरू उड्ने र अवतरण गर्ने धावनमार्गमा प्रकृतिको सानो टुसो पनि पलाउन नसक्ने गरी ढलान गरिएको हुन्छ ।

केही तस्बिर खिचेको थिएँ । यो पोस्ट मन त लागेको थियो – ‘पुतली’ शृङ्खलामै कम्तीमा आधा दर्जन तस्बिर राखूँ । तर यो शीर्षकअनुसारका ताजा तस्बिरहरू भएनन् पछिल्लो समयमा । उसो त काठमाडौँमा पुतली नै देखिँदैनन् । पुतलीसडक र बत्तीसपुतलीका ठेगानाहरूमा भौँतारिँदा तिरीमिरी तारा देखिएला, पुतली त खोई !!? गाउँतिर भने बालापनमा हामी घामकिरी र टिकुली भन्दै पुतली पक्रिएर खुब उत्सव मनाउँथ्यौँ । पुच्छरमा मसिनो धागो बाँधिदिएर चङ्गा उडाए जस्तो गरी  माथि आकाशतिर छाड्थ्यौँ । हल न चल भएर भुइँमा थला नपरेसम्म तिनले हाम्रो इशारामा उड्नुपर्थ्यो । यसरी सिकार बन्थे पुतलीहरू ।

यो पोस्टमा चाहिँ उड्ने पुतलीका साथै नामै पुतली भएकी गोरखा जिल्ला आरुघाट बजारकी फुच्ची नानीको तस्बिर पनि समेटेको छु । वास्तविक उड्ने पुतलीहरू त खास शत्रुको प्रहार र दुर्घटना नहुन्जेल त नि:सङ्कोच उडि नै रहनेछन् । बाउ-आमाले चिया-चाउचाउका साथै रक्सीसमेत बेच्ने पसलकी नयाँ पुस्ता यो पुतलीले कतिसम्मको र कहाँसम्मको उडान भर्ली कुन्नि ?

पुतलीहरू उडिरहून् … …  उड्न सकिरहून् ।

तिनको पखेटा नकाटियोस् कुनै बहानामा ।

 

Putali2चुसेको फूल होइन, जीवनतिर हात बढाइरहेछु

 

Putali सुरक्षित अवतरण पनि त चाहियो बेलाबेला

 

Putali_Gorkhaaa हिमाली गुफामा लुकेको सुनाखरी :  लाजले लोलाएकी गोरखाकी पुतली

 

Putali_Gorkhaaaaधक र डर ?    छैया !!

May 11, 2010

कोही छैनौँ आकाश र पातालका

Shiris3
झ्यापुल्ले दिनको टाउकोमा कसैले ब्लेड चलाएर सफाचट पारिदिए जस्तो छ । पक्कै पनि दिनकै सडक ताजा । एकछिन अगाडिको झलमल्ल घाम र चहकिलो सडकको सुग्घरी रुप कति सुकुमार थियो !

मानौँ भोकले आकुलव्याकुल भएको बेला दूधिलो मकै पोलेर कसैले आँखा अगाडि नचाइदिएको होस् ।

बुर्कुसी मार्दै चिप्लिरहेका गाडीले हेडलाइट टल्काइरहेछन् । तर अलकत्रे सडक सेतो हुने भए पो ! 
 
रिमरिम साँझ पर्दैछ । सडकछेउ नीलै उज्यालिएका शिरीषका झुप्पाहरूसमेत अँधेरो मुख लगाइरहेका । अब रूखमा बत्ती टाँगिदिएर तिनको चोला फेरिदिने कुरा कहाँ हुन्छ र ? मेरी मनसुनको कपाल जस्तै नरम होला, म अनुमान गर्छु शिरीषको झुप्पाबारे । क्लिपले समेटेको उसको कपालतिर एक नजर लगाउँछु । छेउमा ढेपिँदै हिँडेकी उसको चाला पनि शिरीषकै जस्तो निन्याउरो छ अघिदेखि । नहोस् पनि किन, मैले भाउ दिएको भए पो !
 
उसको कुरो सुन्दा केटाकेटीहरू बरू तैबिसेक लाग्छ । पल्पसा क्याफेको नायक पात्र दृश्यले बोल्ने संवादमा जस्तै रोमान्टिकताको भरपूर खोजिरहेकी थिई ऊ मेरो बोलीमा । म कसरी पो सक्थेँ उपन्यासको पात्रमा रुपान्तरण हुन ?  उसो त म खलनायकको चरित्रमा त थिइनँ । र पनि उसले अझ नायकको हाउभाउमा चकलेटीपन भेट्न कुनै औपन्यासिक पात्रको भूत ममा सवार होस् भन्ने चाहिरहेकी । तर म उसलाई पल्पसाको ठाउँमा राख्‍न तयार हुने कुरै थिएन । कल्पनामा पनि छिनभरको लागि मैले उसलाई पल्पसासँग दाँजिनँ, कहिल्यै । उपन्यास पढ्दै गर्दा पल्पसा र दृश्यको प्रेमालापको कुतकुती करेन्ट बोकेर जब उपन्यासमा दौडिएको पाउँथेँ, त्यतिबेला झ्वाट्ट दिमागमा त्यो जोडीको जस्तै मिठास आफ्नोमा पनि भैदिए त क्या गजब हुन्थ्यो भन्ने गुलियो भावले छोप्थ्यो । तर उपन्यास एकसरो पढिसिध्याएपछि त्यो ज्वरो एकदम ठन्डा भो । मैँ पो भएँ फ्रिज जस्तो । बसमा भएको विस्फोटको घानमा पल्पसा प्राणहीन हुन पुग्छे उपन्यासको पुछार भागमा ।

धत् ! म सातो लिन खोज्दैछु उसको । ऊ माने पो ! कल्पनाको गगनमा रकेट हाँक्ने उसको पाइलट मन धन्नको ! तर त्यो पाइलटले सतहको यथार्थबारे भने किन आँखा चिम्लिएको होला हरे !

मेरो हातमा अखबार मुठिएको छ । पढ्नुपर्ने, विचार्नुपर्ने, दिमाग दुखाउनुपर्ने केके हो केके । शनिबारको दिन भन्दैमा को फुर्सदले बस्छ र हिजोआजको समयमा ? जस्तो कि, कोठाको कुना छाडेर म निस्किएको छु युगल मिलनमा सडकतिर ।  अघि भर्खर एउटा ‘गरिब होटल’मा हामी दुईले मिट्ठ्याएको पकौडाको चिल्लोपन ओठको कापमा बाँकी रहे झैँ छ । कति सकसकाएको मुख । आजभोलि तै बोल्न धन्न पाइन्छ । तर सुनुवाई खोइ कहाँ हुन्छ र अचेल ? चिच्यायो भने चाहिँ बल्ल खासखुस गरे झैँ सुनिन्छ । भर्खरै पत्रकार विजयकुमार (पाण्डे) को ‘सत्य सहने साहस छ भने’ शीर्षकको आलेख पढेर रन्थनिएको छु । पढिसकेपछि मन थामिएन । आँखा चिसै छन् । उसले रुमाल दिइन त के भयो, आँसु त रोएरै पुछिन्छन् । उसले लगाएको कुर्ता-सलवारको पहेंलपुर रङ पनि एकदम धमिलो भो – आँसुको चश्मा चढेपछि आँखा त त्यस्सै पावरलेस !

लेख पढेपछि यस्तो लाग्यो, बरू यो नपढेकै भए हुने । जानेपछि, थाहा पाएपछि र पढेपछि मन पोल्छ, दिमाग रन्थनिन्छ । परेर-भोगेर जिन्दगी नै पोल्नेको हविगत झन् के हुँदो हो ! कम्तीमा उहिलेउहिले अज्ञानता त दु:ख निवारणको कारण हुन्थ्यो ! उतिबेला सूचना-सञ्चारको साँगुरो सीमाका कारण भयङ्कर घटना पनि चेपिएर कता हराउँथे । नत्र त दैनिक व्यवहारमा अक्सर ज्ञान नै पीडा गुड्ने बाटो भएर स्थापित हुने गर्छ अहिलेको समयमा । यतै सनसनी उतै सनसनी … ।

यतिखेर उसको हातका चुरा नबजेको भए हुने । चुराको खनखन पनि कस्तो गर्जने हुँदोरहेछ मन बिथोलिएको बेला ।

“चिडचिडा हुने होइन है, भन्द्‌याछु”, अँध्यारोमा मेरो निन्याउरो अनुहार नियाल्दै उसले घुर्कीको एक ढिसुम् दिई ।
“म चिडचिडा ?” झोक्किन खोज्छु । तर उसको मायालाग्दो अनुहारले झोक्किनै आउँदैन ।
“हो त के !“
“यो तनावमय देशभन्दा त कम नै चिडचिडा हुँला म ।”
“मेरी हजुरआमा भन्दा चाहिँ चौखण्ड बढ्ता नै हो ।” उसको रिस नाकभरि अग्लिएको छ अझै ।

म ऊसँग सक्दिनँ ।

यस्तो बेला ‘केटाकेटी मान्छे’ भन्दै पन्छिन रुचाउँछु । अनि ऊ ओठका कुना हलुका तान्दै मुस्काउँछे जितारु पारामा । यसैमा सायद हाम्रो सम्बन्धको संयोजन लुकेको छ ।

Roadd साँझपख हामी दुईलाई फुटपाथबाट टहलिँदै हिँड्न मन पर्छ । खास जिन्दगी त यही हो जस्तो । सडकमा सवारीसाधनहरू आफ्नै रनाहामा हुन्छन् । सबै आफ्नो सुरमा हतारपतार कामकाजी दुनियाँबाट आ-आफ्ना गुँडतिर लस्किरहेका बेला हामीले पनि आफ्नो सुर भजाउन पाउँछौँ । यतिबेला त्यो सुरलाई भने केही चिन्ताका बादलले मलिनता थोपरेको छ । देशमा मच्चिने खेलाडीहरूको मनमौजी व्यवहार देख्दा-देख्दा कहिलेकाहीँ त अन्धो नै बनूँ कि जस्तो झोंक चल्छ । तर मैले आँखा नदेख्‍दैमा दृश्य बन्द हुने हुन् र ? फेरि सन्केको दिमाग ठेगानमा आउँछ ।
जिन्दगीमा भेट्नो समाउने ठाउँ नभेटेर हैरान भएका कति होलान् । यस्तो बेला म एउटाले कसैको हात समातेर ढुक्क हुन कसरी पो सकूँला । उसको हातबाट बाफ सर्ला जस्तो गर्दै तर्किन्छु थोरै । उसको नजरमा आज के म बढ्तै अनौठो जीव बन्दैगएको हो ? अब शिरीषका झुप्पाहरूलाई पछाडि छोडेर हामी बढ्यौँ । अब सुनसान वातावरणलाई चिर्दै होटेल तथा पसलहरूको लहर अघिल्तिर सुरु भएको छ ।
२०६२-६३ को आन्दोलानताकाको त कुरा हो, मनसुनसँग चिनजान भएको । एउटा वेबसाइटमा बर्बर शाही राजविरुद्धमा मैले लेखेको कविता छापिएको थियो - ‘कसिंगर’ शीर्षकमा । त्यसपछि त ऊ आँखामा राख्दा पनि नबिझाउने हुन थाली । कविता पढेर मप्रति खुबै झुकेकी थिई । म पनि लचक्कै नुहुदै गएँ ऊतिर । त्यस कवितामा  सबभन्दा उसलाई विशेष मन परेछ :

वर्षा आउँछ
र कन्टेनरमा लिपेर जान्छ कसिंगर
हुरी रन्किन्छ
र समेटेर लान्छ कसिंगर -
इतिहासको भिरालो नदीवेगमा … …

मायालु मान्छेलाई साहस र आक्रोशको भावना पनि उस्तै मन पर्दोरहेछ । मन परेपछि सबथोक हीरा । प्रेमदेखि अरूतिर फैलिँदो रहेछ संसार । उसैसँग भेटेर सिक्दैछु यी कुरा । “सङ्गत गुनाको फल, देख्यौ ?”, ऊ बेलाबेला जिस्क्याउँछे । यस्तो बेला उसका आँखाले जुनेली छर्छन् ।

तर उसका आँखाको मधुर ज्योतिभन्दा सपना भत्किएका आम आँखाहरूको फ्युज गएको रङले कालो बनाउन थालेको छ मन । जस्तो कि, विजयकुमारले त्यो लेखमा उठाएका छन् कसरी देशमा भ्वाङ पर्दैछ र त्यसमा राजनीतिको खेलले हानेको कति गोलको भूमिका छ ? एक-अर्कालाई पन्छाउँदै एकल गायनले बजार पिट्न चाहने कलाकारको धुन चढेको छ नेतागिरीमा । जो नीतिबेगर राजनीतिमा सुँगुर झैँ चोबलिएका छन् र अरूलाई समेत हिलोको छिटा पार्दैछन् । यस्तोमा अझैसम्म नेपाल साँचो रूपमा एक राष्‍ट्र बन्न नसक्नुको धरातलीय यथार्थको साक्षी हुनुभन्दा यहाँका सर्वसाधारणले गरून् पनि के ?

मेरो मुठी कसिँदै आयो । यसभित्र अहिले जे भए पनि पग्लिसक्नेथ्यो सायद । उसले मेरो मनस्थितिको अन्दाज गरिछ क्यार । निधारसम्म हत्केला ल्याई, “सन्चो छैन हो ?” म कोलाहलको दुनियाँबाट युगल सामीप्यताको यथार्थमा फर्केँ । उसका आँखा चिम्सा भएर मैँतिर सोझिएका छन्, ल्याम्पपोस्टले दया गरेर धमिलो टर्च ताकिरहँदा त्यो प्रकाशमा उसका नरम र भर दिन तम्तयार आँखाले टेको दिए । “म ठीक छु”, अनुहार हेर्दाहेर्दै रुँला जस्तो भएको भावावेश सम्हाल्दै बिल्डिङमाथि सानले बसेको होर्डिङ बोर्डतिर टाउको घुमाएँ । विज्ञापनमा एउटी किशोरीले संकेत गर्दैछे: "रुचि छैन त केही छैन ।” यसलाई मैले नेपालका नेताहरूमा राम्रो गरौँ भन्ने रुचि नै नभएकाले केही पार लाग्दैन भन्ने अर्थमा जोडेर हेरेँ ।

“अब तीन वर्षपछि हाम्रो बिहे है”, उसले आज पनि यो भन्ने पक्का थियो । मनसनुको मनसुनी वर्षामा यो आवाज नमिसिएको त कुनै भेट नै हुँदैन । उसले आज पनि औँला भाँची – तीन वर्ष । "नानू, मुश्‍किलले आउँदो तीन दिनको हिसाब गर र योजना बनाऊ, यो समयमा निश्‍चितता केही कुराको छैन”, मलाई यसरी नै भन्न मन थियो ।  तर उसको मन तोडिएला भनेर चुपचाप बसेँ । बस्न पनि प्रेम उसको सतही बनोटसँग मात्र बसेको छैन, उसको समग्र चालचलनसँग फिटिँदै जाँदैछु म । तास फिटिए जस्तो, अथवा पानीमा मह घुले झैँ । अब ऊबाट आफूलाई झिक्नु रगतबाट रङ झिकेर फाल्नु जस्तै असम्भव लाग्दैछ । हुँदाहुँदा उसको घरसम्मन्‌को  नाता पैल्याइसकेको छ मनले । उसको आमा, बा । उसले सबभन्दा मन पराउने खेलौना गुडिया । उसले स्याहार्ने फूलबारी । मैले नजिकबाट भेटेको छु, महसुस गर्दैछु सबैलाई । र मलाई डर भनेको यत्ति छ : कतै उँचनीच जातको कुरा निकालेर मेरै घरतिरकाले पो मेरो मन तोड्ने छैनन् पछि ? मैले उसलाई तीन दिनको मात्र योजना बनाऊ भन्ने आशयमध्ये एउटा यो पनि हो । आफ्नो खुसीको लागि घरको सोचलाई भड्काएर त कसले अन्तरजातीय बिहे गरेको गर्व सँगाल्न सक्ला ? म यस्तै ‘बिचरा म’ हुन बेर छैन ।

आकाशे पुलको छायामा अब उसलाई घर पठाउने गाडी कुर्ने स्टेशनमा आइपुगेको छु । छुट्ने बेलामा अत्यासले उसको अनुहारको रोगन हराएको झुलुक्क कतै बाइकबाट आएको हेडलाइटको चहकले देख्छु । सधैँ ताल यस्तै हो उसको । कसो-कसो उसको यो आत्मीयताको बाछिटाले मलाई भिजाइरहेको हुन्छ । र पनि यति साह्रो आत्मीयता त नवर्षाए हुन्थ्यो जस्तो पनि लाग्छ । “केटाकेटी मान्छे !”, उसको काननेर फुसफुसाउँछु । ऊ रुन्चे हाँसो हाँसेर मेरो पाखुराका मुड्की सोझ्याउँछे ।  यसै गरी चलेको छ । उसलाई बिदा गर्छु ।

यतिखेर गाडीले दान दिएको उज्यालो पाइलाभरि बिछ्याउँदै हिँड्दै सोच्दैछु: चल्नु त यहाँ निकै चल्नुपर्ने कुराहरू छन् समाजमा, देशमा, विश्‍वमा । सबै यही धर्तीका उस्तै बनौटका र करिब उस्तै भावदशाबाट खेदिएका मानिस त छौँ । आफू-आफूबीचमै जुझेर व्यस्त हुँदा कहिले लिने छुट्टी चुनौतीका लहराहरूसँग पाखुरी बजार्न ? आखिर यहाँ जुध्नुपर्ने शंकास्पद कोही पनि त छैनन् आकाश र पातालका । यतिखेरै मोबाइल फोन थर्कियो ।

“घर पुगेँ है, तिमी बिचरा बाटैमा हौला”, मनसुनको एसएमएस रहेछ । म्युजिक बटन थिचेर इयरफोनको टुसो कानमा घुसार्नुअघि उसलाई ‘रिप्लाइ’ गरेँ : “तिमी जस्तै सुरक्षित तवरले घर पुगून् सबै मान्छे । गुड नाइट !” 

मूल सडकबाट डेरा छिर्ने गल्ली मोडिँदै गर्दा मलाई अँध्यारोले निल्यो ।

May 3, 2010

‘सरकार-बनाऊँ’ आमहडतालका झल्काहरू

“के गर्न आउनुभएको यहाँ ?”
संवाददाताको प्रश्‍नमा छिनभर टोलाए जुलुसमा बत्तिएका एक अधबैंसे । लगत्तै भने उनले सोझो लबजमा, "सप्‍ताहमा आएको, माओवादीको सप्‍ताहमा ।" के माग हो तपाईँहरूको भन्ने अर्को प्रश्‍नको जवाफमा उनले ‘गाँस, बास र टन्न खान दिनुपर्ने सरकारले’ भन्ने झोपडीको कहानी पोखे । माओवादीको आमहडताल आइतबारदेखि सुरु भइरहँदा देशका विभिन्न गाउँदेखि सोहोरिएर आएका उनी जस्ता गाउँलेले आन्दोलनकारी पार्टीको पेटबोलीमा रहेको माग नबुझ्नु अर्कै कुरा हो । तर सरकार फेर्ने आन्दोलनको चाबी घुमाउनमा उचालिएका माओवादी कुनै पनि हालतमा त्यो चाबीले आफ्नो सत्ताको ताल्चा खोलेरै छाड्ने ध्याउन्नमा छ ।

आमहडतालको प्रभाव देशका सबैजसो सहरमा कडिकडाउ रूपमा देखिएको छ । समष्टिगत रूपमा परिवर्तनको लागि यो आन्दोलन हुन्थ्यो भने सडकमै नउत्रिनेहरूले पनि सहानुभूतिसम्म राख्‍ने थिए । तर आन्दोलनको नियत सत्ताको बाकसमा सीमित छ प्रस्टै रूपमा । मुठीमै जकड्याउने सोच छ सबै कुरा । त्यही भएर कति-कति आन्दोलन कुन-कुन नाममा देश र जनताले थेग्ने भनेर आजित छन् अधिकांश । पार्टीगत स्वार्थमा भीडको बहकाउले देशमा कस्तो नजीर बस्ला भन्ने चिन्ता छाएको छ ।

आमहडतालको पहिलो दिन काठमाडौँको सडक परिभ्रमणको क्रममा टहलिँदै जाँदा जे-जे देखियो, त्यसैलाई यहाँ सचित्र पेस गर्ने जमर्को गरेको छु ।

1 अवरुद्ध ! : नयाँ वानेश्‍वरको सभाको लागि सडक जाम गरेर बसेका माओवादी कार्यकर्ता


6 सवारी नचल्दा निरुपाय भएपछि चावहिलमा गन्तव्यतर्फ लम्किँदै गरेका दम्पती


5 नयाँ वानेश्‍वरको सभामा बोल्दै फिल्म निर्देशक दीपक श्रेष्‍ठ


4 एयरपोर्टसम्म त जसोतसो आएँ :  गौशालामा सामान घिस्याउँदै यात्रु


3 आमहडताल कायम रहँदै चेपोमा खुलेको पसलमा सामान किन्नेहरूको लाइन


7‘पेन्डुलम’ पारिएको संविधानसभाको भवनलाई पहरेदारी गर्दै सुरक्षाकर्मीहरू


2मेरै राज : नक्सालको रित्तो सडकमा बेलुकीपख टहलिँदै कुकुर