Subscribe:

Ads 468x60px

24 July 2010

कोरस लय






माडिएको धर्तीकै चेपबाट 
फुटेका हौँ हामी 
कुनै बीज झैँ
अथवा
देहको हारमोनियममा 
घमौराको सरगम झैँ


निश्चिन्त भए हुन्छ-
आपत्तिले हाल्नेछैन सोडा 
हाम्रो धैर्यको उत्सवमा
मर्जी होस् महाराज,

के नगरौँ हामी
के निषेध छ यो लोकमा

22 July 2010

लेखाइका आरोह-अवरोह

नलाइन संसारमा फैलिएपछि सोचेको हुँदोरहेनछ नसोचेको हुँदोरहेछ । अनलाइनको मातमा लहसिँदा आफ्ना लेखरचनालाई विस्तार गर्ने पाठक-समाज र साथी-सर्कल त निश्चय नै बढ्ने हो । तर पत्रपत्रिकातिर भने रचना प्रकाशनको क्रम निकै पातलिने रहेछ । मेरो अनुभवले यस्तै भन्छ । पछिल्लो समयमा पत्रपत्रिकामा छाउने क्रम निकै घटेछ । मेरो ठम्याइमा अनलाइन र पत्रपत्रिकाका पाठक छुट्टाछुट्टै रुपमा छन् । सामान्यतया पत्रपत्रिकाका पाठकले अनलाइनमा पहुँच राख्दैनन् अनलाइनका पाठकले पत्रपत्रिका भेट्दैनन् ।

विदेशमा रहेका नेपाली पाठकले पनि पत्रपत्रिकाको अनलाइन संस्करणलाई समाचार र विचारको मुख्य स्रोतको रुपमा लिए पनि एउटा पत्रपत्रिका समाउँदा जुन रुपमा सबै पृष्ठ सस्रर्ती चहारेर समग्र अध्ययन हुन्छ त्यो विशेष पठनमा उनीहरु नपस्लान् कि भन्ने लाग्छ । झ्वाट्ट नजर फैलाउँदा सामुन्ने आउने र प्रमुख लागेका कुरा सोसेर लिनेसम्मको हतारो यात्रा हुन्छ जस्तो लाग्छ अनलाइन अध्ययनमा । आफूलाई आवश्यक लागेका कुरा खोजेर-छानेर लिने कुरा त छँदैछ ।

भलै इन्टरनेटको जालोबाट विश्व एउटा गाउँमा परिणत भएको होस्, म आफैँलाई चाहिँ अनलाइनको हाँडीमा भुटिएर बसेको मकै जस्तो लागेको छ । जो पत्रपत्रिकाको संसारदेखि निकै बाहिर फ्याँकिएको छ । यो फ्याँकिनु अलिकता त मेरै रोजाइ पनि थियो केही रुपमा तर आज फर्केर केलाउँदा म त नाम-निशान नै नरहने गरी पत्रपत्रिकाबाट टाढिएछु । इन्टरनेटकै भुङ्ग्रोमा रातो र तातो भुतभुते भएर पिलपिलाएको भानमा मक्ख बसिरहेको रहेछु । यो ब्लग पनि म इन्टरनेटकै सहारामा अनलाइन बस्तीतिर धकेल्दैछु (यसै कारण पनि यसलाई कम आँक्न सकिँदैन), तर मस्तीको पाटो भने मलाई कागजी र पत्रपत्रिकाकै दुनियाँ लाग्छ ।

प्रविधिको सहारा पाउनु सुविधाजनक त पक्कै हुन्छ नै । तर यो सुविधाले कँुजो बनाएर राख्छ कि भन्ने डर । जस्तो कि मेरो आफ्नै कुरा गर्दा पनि पहिले-पहिले कागजमा कविता र लेखहरु लेखिन्थ्यो कम्प्युटरको सहारा लिने आदत बस्दा अचेल कम्प्युटरकै किबोर्डका निब पोत्दै कविता 'फुराउने' भन्दा अब उपाय छैन । जाँगर नभएको हो कि मुड नै नआएको हो, कागज र कलम अगाडि सार् यो कि त मन र मगज दुवै अचेत बन्छन् । कागजमा कलम लिएर बसे रुखोपनले मात्र घेर्छ । केही कुराको भुल्का दिमागमा झ्वाट्ट फुटे पनि त्यसलाई उतार्न अब कम्प्युटरकै पाना खोज्नुपर्ने हुन्छ । लोडसेडिङको पिरलो रहेको नेपालमा त्यो 'फुराइ' लिखित रुपमा नउतार्दै पानीफोकासरि नफुट्ला भन्ने के बेर ?

पत्रपत्रिकाको प्रकाशन माध्यमदेखि टाढिँदै जाँदा स्वाभाविकै हो त्यहाँ रहेका सरसङ्गति पनि विरानो बन्दै जान्छन् । अनि फेरि पत्रिकामा छाउनु ती तमाम परिचयलाई फेरि नवीकरण गर्नुपर्ने खाँचो हुन्छ । आफ्नै ब्लग थरीथरी वेबसाइट भएको सजिलो इन्टरनेट संसार । एक क्लिकमा वेबसाइटहुँदी रचना बाँडेर भरेतिर प्रकाशनमा स्थान पाउने कुरा देख्दा सन्तोषको कुरा लाग्छ । तर पत्रिकामा लेखरचना छापिएबाट मिल्ने तृप्ति वेबसाइटबाट पाउन सकेको छुइनँ । यो नपाएको बोध गर्नुमा मनोभावकै गरिबी हो कि ? या जुन माध्यमबाट हुर्किँदै आएँ त्यसले पनि प्राथमिकता निर्धारण गरेको हो ?

08 July 2010

कहाँ-कहाँबाट आउँछन्



भोक मात्र लाग्नुपर्छ सिकार कहाँ-कहाँबाट आउँछन्
यति सानो खोपडीमा विचार कहाँ-कहाँबाट आउँछन् ।

उठेका यी मुठीहरू कुँजिएर नै त बस्छन् कहाँ,
खुल्नासाथै हत्केलामा निखार कहाँ-कहाँबाट आउँछन् ।

यति हुन्छ यति हुन्न कसले कोरेछ लक्ष्मणरेखा,
थोरै सीमा नाघीहेर्दा किनार कहाँ-कहाँबाट आउँछन् ।

थाम्नै सकिन्न साँगुरिएको मनको ढक्कन खोलेपछि,
संसारै यो ढाक्ने गरी पियार कहाँ-कहाँबाट आउँछन् ।

सात समुद्रपारि होला अचम्म भई सोच्दै होला,
स्वदेशको दशैँ अनि तिहार कहाँ-कहाँबाट आउँछन् ।

-------------------------------

पछिल्लो समयमा गजल नलेखे पनि गजलप्रतिको मोह भने मादल घन्किए जस्तो कम्पन छोड्दै बसेको छ मनभरि । यसैले घरिघरि गजलकै भाका झिक्न खोजिरहेको थिएँ बल्ल आज सबै कुरा जुर् यो र केही पुरानै भए पनि गजल अघि सारेको हुँ । यो गजल यसअघि आफ्नै सामूहिक वेबसाइट अनलाइन साहित्य डटकममा प्रकाशन भएको थियो र फेसबुकमा समेत त्यसको लिङ्क बाँडेर केही मित्रले त त्यहीँबाटै यसको स्वाद लिनुभयो होला । फरक यति कसैलाई छिप्पिएको निबुवा लाग्यो होला कसैलाई भने कट्मिरो कागती । आफ्नै लेखनलाई फरक धार दिँदै आफैँलाई उछिन्ने क्रममा यो गजल सिर्जिएको हुँ । गजल यहाँ पस्किएसँगै अब केही नयाँ गजलको सिर्जना गर्ने प्रण पनि गरेको छु ।

04 July 2010

प्रायोजक !

विज्ञापनको बाछिटाले नछोएको कुनै कुरा छैन । जताजता विज्ञापन उतैउतै प्रायोजक बन्ने र बनाउने होडबाजी । द्रव्य देख्दा महादेवको तेस्रो नेत्र उघ्रिए जस्तै विज्ञापन दिने र लिनेमा सबैका आँखा गोमन सर्पकै भाँतीमा फनफनाउँछन् । विज्ञापन शब्द सुन्दा जति सजिलो यसको रसपान उत्तिकै स्वादिलो हुन्छ । यसैले पाँच रुपैयाँको चटपटेदेखि पचपन्न हजारको ल्यापटप बेच्नेसम्मको काम पार लगाउन सबैजना विज्ञापनकै जोखाना हेर्छन् । फरक यति हो कोही सडकमै चिच्याउँछन् कोही पोस्टर र पत्रिका-रेडियोमा बीउ छर्छन् ।

पत्रिकातिर विज्ञापन छाप्ने चलन त पुरानै हो रेडियो-टीभीमा विज्ञापन दिएर कुनै कार्यक्रमको प्रायोजन गरी प्रायोजक बन्ने लहरै चलेको पाइन्छ । चलचित्र टेलिसिरियल र समाचारमै छ्याप्छ्याप्ती प्रायोजकहरुले लम्बेतान लीला देखाउँछन् । फलस्वरुप अलमल्ल पर्ने पालो दर्शक-स्रोताको हुन्छ- सिरियल र समाचारको बीचमा प्रायोजनका ती सामग्री आएका हुन् कि ती विज्ञापनको बीचमा सिरियल र समाचार बजिरहेका हुन् ! अरु त अरु, समाचार पढ्ने क्रममा समाचारवाचक/वाचिकालाई खोकी लाग्यो भने पनि तिनले "यो खोकीको प्रायोजक फलानो कफ सिरप" नभन्लान् भन्ने अब बेर छैन । दिनदिनभरि "अब पालो विज्ञापन एक विश्रामको" भन्ने रटान लगाउँदा-लगाउँदा बेलुका घर पुगेपछि जीवनसाथीले आशायुक्त भावले कोट्याउँदा समेत "एकैछिनको विश्रामपछि हाजिर हुनेछु" भन्दै घुर्ने बानी नबस्ला भन्न पनि सकिन्न ।

प्रायोजक बन्ने र बनाउने कतै रहर त कतै आवश्यकता । यसको रामरमिता पनि बडो गजबकै हुन्छ । निकुन्ज क्षेत्रमा चोरी सिकारहरुको बिगबिगी के हुन्छ र जुनसुकै अड्डातिर यसो नियाल्ने हो भने भुँडीवाल हाकिमदेखि जुल्फीवाल कारिन्दासम्म एक-अर्कालाई खाजाको प्रायोजक बनाउने सुरमा दाँत तिखार्दै धुइरिरहेका हुन्छन् । 'स्पोन्सर' पाएर त्यो दिनको जलपान निःशुल्क ग्रहण गरेपछि वर्षौं ग्यास्टिकले थिलथिलिएको पेट पनि जाती भए झैँ हुन्छ तिनलाई । प्रायोजक खोज्ने बानी लागेका कतिपय चुरोटेहरुको त झन् कुरै अर्को प्रायोजक बन्ने कोही नभेटिए बगलमै कसैले उडाएको धुवाँको अनुदान लिएरै भए पनि तलतलको विष मारुँला जस्तो गर्छन् ।

संचार माध्यमको इन्धनको रुपमा रहेको विज्ञापनले सर्वसाधारणका दैनिक जीवनलाई प्रभावित त पारेकै छ । सरकार पनि यसबाट अछुतो छैन । थरीथरी दाताहरुले प्रायोजन नगरिदिने हो भने उसको बजेटको खुत्रुके रित्तै हुन्छ । आफ्नो मुख भरिलो पार्न दातृ लोकको मुख नताकी माड नलाग्ने प्रायोजनको यस्तो राष्ट्रिय प्रणाली झन्-झन् सुदृढ बन्दैछ । प्रायोजकबिना एक पाइला टसमस नहुने यस्तो अर्थव्यवस्थामा हामी मामुली जनको झन् के हालत होला के बखानिरहनुपर्ला र मायालु भेट्ने व्यग्रतामा हातमा गुलाफ सिउरिएर यो जक्सन र त्यो पार्क धाउने आधुनिक प्रेमीहरुले कुनै दिन त्यो गुलाफ किन्नमा कोही प्रायोजक खोज्न थाले भने अचम्म नमाने हुन्छ ।

बेलै यस्तो छ, हरेक कुरामा नाफा किफायती र शुभ लाभको खोजीमा आँखा नबिछ्याए कोही अर्कैले उछिनिसक्छ । बिहान उठेर दाँत माझेदेखि बेलुका सुत्ने बेला एक चक्की औषधि निल्ने काममा समेत प्रायोजक फेला परे हे प्रभु यो जिन्दगी नै अर्कै हुनेथ्यो भन्ने सोचमा हाम्रो दिमागले परेड खेल्न थालिसक्यो । हुँदाहुँदा सिङ्गो जीवन नै कसैद्वारा प्रायोजन गरिएको चाहिएको छ हामीलाई । कसैले नाफामुखी पाराले चटक्क मिलाइदिएर बाँचिदिएको होस् आफ्नो चोला । धन्न प्रायोजक !