Subscribe:

Ads 468x60px

29 December 2011

त्यो पत्थर

पत्थर पनि त
मन विनाको मान्छे रहेछ,
अल्झिरहेछ
जुगदेखि दोबाटोमा

कोही आउँछ कि …

Stone Heart Source - www.everythingiswhatyoumakeit.wordpress.com

17 December 2011

कुन हो ठाउँ ?

KamalPokhari
तस्बिरमा देखिएको ठाउँ कहाँको हो ? राम्ररी नियाल्नुस् त ! विदेश हो कि स्वदेश ? पैल्याउन सक्नुभएन भने जानकारी र यससम्बन्धी थप तस्बिर हेर्न भित्र आउनुस् >>

05 December 2011

निर्विकल्प सुर

Sketch by Suraj Shakya (http://surajshakya.com)
निन्छ - पुरानोलाई राम्रो भनेर त्यसैमा अल्झेर बस्यो भने नयाँ कुराले ठाउँ बनाउने कुनै सम्भावना हुँदैन । कुनै वस्तु होस् कि व्यक्ति,  हरेकमा लागू हुन्छ यो कुरो । पुरानोको राजले नयाँले परिचयको मञ्च नपाउने कुरा केही हदसम्म सत्य पनि हो । तर नयाँलाई स्थान दिने नाममा छेक न छन्दको पाइलालाई स्वागत गर्न सकिन्न । नयाँ प्रतिभा सम्भावनायुक्त भएर आएन भने पुरानोको विकल्प कदापि हुँदैन ।

नेपाली सुगम संगीतको क्षेत्रमा नारायण गोपाल त्यस्तै मुहान हुन् । जुन मुहानबाट अरु-अरु शाखा फैलिंदै त्यसले छुट्टै भंगालोको रूप लिनुपर्ने हो, तर त्यस्तो केही देखिएको छैन अहिलेसम्म । नारायणसँग दैवले नै थमाएको गला त छँदै थियो, त्यो गलामार्फत पस्किने व्यञ्जन तयार पार्न भने उनको आफ्नै मिहिनेत रहने गर्थ्यो । साथी मण्डलीको सिर्जनशील जमात छँदै थियो, आफ्नो कामलाई झारा टार्ने हिसाबले त्यो जमातमा उनले आफन्तवादको भाव घुसाएनन् कहिल्यै । गीत चयनमा अडिग रहँदै बरु आफ्नो गीतकार साथीलाई झन् खार्न लगाए,  कति साथीलाई 'यस्तो त भएन' भन्दै जिल्याए । अनि कतिपयको गीत चाहिं केही जानकारी नै नदिई एकैचोटि धुन भरेर सुनाउँदा तिनलाई आकस्मिक लाभको खुसी पनि दिए ।

केही वर्षअघिसम्म रामकृष्ण ढकाल नामका युवा खुब चम्किए, नारायण गोपालकै गीतको बाटो समातेको भन्दै नारायणका प्रेमीहरुले समेत उनको सराहना गरे । आशपूर्ण नजर छाडे एक नवयुवकतिर । त्यो आशलाई स्याहार्दै केही समय विरासत पनि थामेकै हुन् ढकालले । 'यात्रा रहेछ जिन्दगी' बाट उनी अघि बढे, 'ओराली लागेको हरिणको चाल' बाट अझै उकालो लागे चर्चाको । तर उनले सायद आफू र आफ्नो क्षमता चिन्नै सकेनन्, अन्तत: बाटो बिराए । आफू केका लागि हो भन्ने नबुझेपछि परिणाम प्रतिकूल आउनु स्वाभाविक हो । पछिल्लो समयमा रामकृष्ण ढकाल स्रोताबाट छेउ लाग्दै गएको देखिंदैछ ।

गायन क्षेत्रमा एक तहको जग बसाएपछि अब सुगम संगीतमा मेरै वर्चस्व ठाने होलान् उनले, स्रोतालाई तुच्छ सम्झेर मनमौजी गर्न थाले । बुझ्न सकेनन् काँध थाप्ने स्रोताले काँधबाट थेचार्छन् पनि । रातारात सुपरहिट भएका कलाकार बिहानको झुल्के घाम देखिँदासम्म गुमनाम भएको उदाहरण धेरै छ । ढकालले सबै कुरा बिर्सेर अहंकार देखाए, आफूलाई भर्सटायल गायक सावित गर्न होला पप गीत पनि गाए, आफ्नो पहिचान भुलेर ओजपूर्ण गीत चयनमा आँखा चिम्लिन थाले । यसले एउटा नयाँ सम्भावना टुसाउँदा टुसाउँदै भाँचियो । यस्तै अहङ्कारको बुई चढ्दै गरेका शिव परियार पनि देखा पर्दैछन् । मानवीय स्वभावको तुच्छतम पतनचक्र हो : संघर्ष - प्रगति - उत्पात सफलता - अहङ्कार - असफलता !

जे होस्, धन्य हो - कुनै नयाँ चुनौतीले ढोका नढकढक्याएकैले हाम्रा स्वर सम्राटलाई हामीले पहिलेकै सघन भावमा हामीसँगै गुन्जिरहेको पाएका छौं । 

स्वर सम्राट नारायण गोपालको २१ औं स्मृति दिवसमा हार्दिक श्रद्धा सुमन ! 

26 November 2011

जरुर साथी .. ..

Devkota Sketch by Purna Banem

मैले…
महात्मा भनाउँदाको निन्दा गरेको छु !
नगण्य व्यक्तिलाई तर
सातौं आसमानसम्म
तारीफको पुलमा चढाएको छु
तिम्रा महापण्डित मेरो महामूर्ख !
तिम्रो स्वर्ग मेरो नरक !
तिम्रो सुन मेरो फलाम
साथी ! तिम्रो धर्म मेरो पाप !
जहाँ तिमी आफूलाई चलाक सम्झन्छौ

उहाँ म देख्छु तिमीलाई बिलकुल लाटा !

यस्तो व्यङ्ग्यात्मक कविता लेख्‍ने विद्रोही चेतका सर्जक देवकोटालाई सम्झिन कुनै साइत चाहिन्छ जस्तो लाग्दैन । यसैले उनको १०३औं जन्मजयन्तीको एक महिनापछि पनि यो चर्चा गर्दैछु ।

 

21 November 2011

बिहेपछि

यो छातीको गिटार जलिरहँदाGroom.
नाचिरहेकी हुन्छौ,
कुन धुनले पो फुक्छ तिम्रो खुसीको मुरली ?
मैं डुबेको इनारमा
घाँटी-घाँटी आएको पानीमा
दिनहुँ तिमी ऐना हेर्छौ
तौलिन्छौ सिन्दूरी जोबन
फाटेको चौबन्दी पनि लालीगुराँस हाँस्छ !

 

सम्झनाको ढुंगाले अझै ताक्छ निशाना
म भइरहेको हुन्छु शीशा
कुल्चिँदै जान्छौ तिमी
कुर्कुच्चाको आँखाले हेर्दै अलप हुन्छौ

18 November 2011

रफ्तारको बसबाट Viewfinder

फोटो खिच्ने पनि नशा नै रहेछ । यसपटक अफिसमा ८-१० दिनको बिदा लिएर पूर्वी नेपालतिर लाग्दा यो नशा अझ प्रकट भयो । मैले खिचेका केही तस्बिरमा मन भुलाएका काठमाडौंका साथीहरूले ‘ल, उताबाट राम्रा फोटो ल्याउनू है’ भनेर कोसेली फर्माइश गर्दै बिदाइका हात हल्लाएका थिए । आफू पनि त्यही सुरमा थिएँ । काठमाडौंमा कोठा र अफिस गर्दा पनि ब्याग र खल्तीबाट हत्तपत्त क्यामेरा छुट्दैनथ्यो । साधारण खालको प्वाइन्ट एन्ड सुट क्यामेराबाट कति नै राम्रो फोटोको आश गर्न सकिन्छ र, तर सम्पत्तिको नाउँमा भने झैं आफूसँग त्यही कम्प्याक्ट डिजिटल क्यामेरा छ । सानो आँखाबाट राम्रो र असल दृश्य हेरे जिन्दगीको सार हुन्छ भन्ने उखान मेरो क्यामेराको हकमा लागू गर्नुपर्ने देखिन्छ ।

पूर्वको यात्रामा पहिलो पटक झन्डै-झन्डै पूर्वी नाकामै पुगेँ यस पटक, झापाको चन्द्रगढी । त्यहाँ एकदिनको बसाइपछि उदयपुर जिल्लास्थित घर फर्किने बेला गुडिरहेको बसबाट खिचेका तस्बिर यस्ता आए -

Paddy-Field

16 November 2011

जाडो र गलबन्दी

उपहारमा
तिमीले दियौ गलबन्दी


छेक्दै छेकेन जाडो
रोकेन तुषारोको ठिही


तिम्रो उपहारको गलबन्दीभन्दा त
असरदार रहेछ
सुन्दरी सिरेटोको खिरिलो हिलजुत्ता


आतंकवादी जस्तो
घुसेको छ घाँटीको सुरुङभरि
उफ्रिरहेछ शीतलहरको पाइलाले ।

11 November 2011

मधुमास

लामो समयपछि ब्लगमा झुल्किँदैछु । रहर लाग्दालाग्दै, मन-मगजमा कुरा खेल्दाखेल्दै लेख्‍न नसक्नु/नपाउनु बडो पीडादायक हुन्छ । सचेत प्राणी भएको नाताले मानव मन-मस्तिष्कले सधैं केही न केही भावना र विचारको गर्भाधान गरिरहेको हुन्छ । त्यस्ता भावना-विचारले निकास पाएन भने प्रसव पीडाले रन्थनी छुट्छ र मानसिक दुर्घटनाबाट गुज्रिनुपर्छ ।

 

यस हिसाबमा हामी भावना र विचारको गर्भ बोकेर एउटा-एउटा निकास (चाहे त्यो सामान्य र नियमित काम होस् कि गतिलो सिर्जना) को दौडमा आजीवन लम्किरहन्छौं  । यसर्थ हाम्रो यो यात्रा मधुमास नै हो । तर यहाँनेर मैले मानवीय मधुमासको कुरो गर्न लागेको होइन । हरेक प्राणीको मधुमास हुन्छ, मधुमासकै बगैंचामा तिनको अस्तित्त्वको कोपिला लाग्छ र फुल्छ । हालै गृहजिल्ला उदयपुर जाँदा प्रकृतिको काखमा यस्तै मधुमासको शीतल ओढिरहेका फट्याङ्ग्रा जोडीहरूसँग जम्काभेट भयो । खेतभरि पहेंलपुर धान झुलेको समय, कतै धान काट्न खेताला लागेका छन् । कतै भने धानको बोझ घरमा थान्को लगाउने चटारो छ । धानखेत नियाल्दै हिंडिरहँदा आलीभरि फट्याङ्ग्राको जुलुस कुनै उत्सव मनाए झैं उफ्रिन्छ ।

तस्बिरमार्फत तिनको गोपनीयता मैले यहाँ भंग गरें, पाप नलागोस् Smile । फट्याङ्ग्राको मधुमासको तस्बिर हेर्न भित्र आउनुस् -

20 October 2011

बिन्तीपत्र

बरू ठुँग्नू
जति छन् -
घुर्की, जलन, गुनासो

नभुत्ल्याउनू
मेरा आँखाबाट
सपनाहरू

छि र लि ने छन्
तिम्रै प्वाँखहरू

पन्ना
पन्ना
सम्झनाहरू

मिल्छ भने हुर्काउनू -
नाबालक सपनाहरू पर्खिरहेछन्
तिम्रो आँखाको गुँड ।
envelope.

10 October 2011

चिठी ना कोइ सन्देश .. ..

जगजीत सिंह [1941 - 2011]
दुई साताअघि अस्वस्थ भएर उनी मुम्बईस्थित लिलावती अस्पतालमा भर्ना हुँदा सबैतिर अत्यास बढेको थियो । गजल गायनका पारखीहरू ट्विटर, फेसबुक लगायतका सामाजिक सञ्जालमा पनि चिन्तायुक्त स्वर निकाल्दै स्वास्थ्य लाभको कामना गर्दै थिए । मस्तिष्कमा रक्तस्राव भएर प्रिय गायक ७० वर्षे उमेरमा कष्टसाथ सास लिँदै थिए । पछि सुनियो- आत्तिनुपर्ने अवस्था छैन, सुधार देखियो । स्रोताको मन पनि थामियो ।
आज बिहान पो खबर आयो एकाएक – गजल सम्राट् जगजित सिंह रहेनन् ।

30 September 2011

दसैं आयो है !


लालाबालाको लागि त आउँछ दसैं
तालिममा बारम्बार औंला उठाएर सतर्क गराए जस्तो ए है, दसैं त आयो भनेर आफैंलाई याद गराउनुपर्ने भएको छ । होशचेत गुम भए झैं चाडबाडको पत्तो नै छैन । होश नभएपछि यसको अनुभूति नहुनु स्वाभाविकै हो । दसैंको रमझमलाई स्वर्गै ठानेर मक्खिने बालापन अब रहेन, यसैले उमेरकै पनि दोष होला । कि त चाडबाड मनाउने चलन नै फेरिएकोले दसैंको अनुभूति हुन छाडेको हो ! वरिपरि हेर्‍यो, कुनै रौनक पनि देखिन्न ।

हुनत, 'सहरको दसैं' सानो हुन्छ, दसैं मान्ने खास जमात गाउँतिर उर्लिएपछि दसैं उतै बढी फक्रिन्छ । गाउँलेहरूकै ओइरोले त सहरलाई 'सहर' बनाएको हो । काठमाडौंको दसैं कहिल्यै पनि खुलेको देखेको छैन । बरु तिहारमा बेहुली झैं रातो-पिरो हुन्छ । यसैले भुक्तभोगी दाइहरूले दसैंमा गाउँ जान नपाएर काठमाडौंमै कुथुर्किनुपर्दा भनेको सुनेको छु, "यहाँ दसैंमा साह्रै नरमाइलो, तिहारमा बरु ठीक !"

21 September 2011

पाटन

पाटन दरबार स्क्वायर परिसरमा आयोजित तीनदिने साहित्यिक जात्राको तेस्रो तथा अन्तिम दिन झमझम झरी परेको थियो । जात्रामै भाग लिन निकै समयपछि पाटन पसिएको थियो । जात्रा चलुन्जेल तीनै दिन आसपासका पुरातन सम्पदाले लोभ्याइरह्‌यो । मन्दिरका रात्ता भित्ता र भुइँ पनि राताम्मे ।


कृष्ण मन्दिरको सेरोफेरोमा केही फोटो पनि खिचियो ।

Patan

16 September 2011

अनौठो परिस्थिति, कुँवर र इंतजाम

सन् २००५ को भारतीय ज्ञानपीठ पुरस्कारबाट सम्मानितKunwar Narayan भारतका कवि कुँवर नारायण (जन्म १९२७ सेप्टेम्बर १९) इतिहास र मिथकमार्फत वर्तमानलाई हेर्ने विशिष्ट सर्जक मानिन्छन् । भारतमा ज्ञानपीठ पुरस्कारलाई सर्वश्रेष्ठ पुरस्कारको रूपमा लिइन्छ । मुख्य विधा कविता भए पनि लेख, कथा, समीक्षा पनि लेखेका छन् कुँवरले । उनका कविताहरू इन्टरनेटमै खोजेर पढेको हुँ । त्यसपछि उनको सशक्त कवित्त्वको झलक मिल्दै गयो । वाद, खेमा, उँच-नीचको हिसाब नगरी उनका रचनाहरू मन पराउन सकिन्छ, त्यो चुम्बकीय शक्ति छ तिनमा । सरल भाषाका कारण उनको रचनाले पाठकलाई सजिलै साथी बनाउँछन् । अहिले सर्वत्र विचित्र परिस्थिति छ, जे हो भनेर मान्यो, त्यो हुँदैन । सबै कुरा विडम्बनापूर्ण, मुखुण्डोमय ! यस्तै सन्दर्भ गाँसेर कुँवरले लेखेको ‘इंतजाम’ कविता उनको ८४औं जन्मोत्सवको अवसर छोप्दै बाँड्न चाहेँ ।
इंतजाम
कल फिर एक हत्या हुई
अजीब परिस्थितियों में ।

12 September 2011

‘साझा’लाई बचाऔं !!

Nayanraj Fast
अपडेट : प्रधानमन्त्री बाबुराम भट्टराईले अनसनस्थल शान्तिवाटिका पुगेर मागहरू पूरा गर्ने आश्वासन दिएपछि  लेखक नयनराज पाण्डेले तेस्रो दिन (सेप्टेम्बर १४ मा) आमरण अनशन तोडेका छन् ।

नाम साझा तर खटनपटन र रजाइँ केही व्यक्तिको भएपछि कति विडम्बनापूर्ण कुरो होला ! त्यस्तो खटनपटन संस्थाको हितको लागि भइदिएको भए त प्रश्‍न गर्ने ठाउँ पनि हुन्थेन । तर साहित्यको प्रवर्द्धन गर्ने र सधैं रुग्ण अवस्थामा रहेको भनिने संस्थामा जब ३२ लाख रूपैयाँ पर्ने गाडी ल्याइन्छ, जसको अध्यक्ष र महाप्रबन्धक दिनको तीनचोटि पहिरन फेरेर अफिसमा झुल्किन्छिन्, त्यो संस्थाको हालत के होला ? जानकारहरूको बुझाइमा साझा प्रकाशन यस्तै अवस्थामा छ अहिले ।

कलेज स्तरको पाठ्यक्रममा रहेका पुस्तक र साहित्यिक कृतिको मनग्गे बिक्री गर्दै आए पनि नाफा भएको कहिल्यै सुनिंदैन । वितरण सन्जाल मुलुकमै सबैभन्दा बढी भएको संस्थाले जनक शिक्षा सामग्री केन्द्रद्वारा उत्पादित विद्यालय स्तरका पाठ्यपुस्तक पनि देशभरि बिक्री-वितरण गर्दै आएको छ । साझा प्रकाशनको संस्थागत सुधारको लागि दबाब दिंदै साहित्यकार नयनराज पाण्डेले आमरण अनसन सुरु गरेका छन् । रत्‍नपार्क शान्तिवाटिकामा अनशन थाल्दा प्राय सबैजसो साहित्यकारको साथ र ऐक्यबद्धता पाए उनले । 
साझाका पूर्व अध्यक्ष, महाप्रबन्धकहरू र पूर्व बोर्ड सदस्यको प्रत्यक्ष सहभागिता रह्यो । कारण, उनका मागहरू जायज छन् । साझा सञ्चालक समितिका सदस्य रहेका पाण्डेले संस्थामा अनियमितता भएको भन्दै त्यसको सुधारको माग गर्दै आन्दोलनको बाटो रोजेका हुन् ।

साहित्यकारहरु र (साझा प्रकाशनका) अंशियारहरूको ध्यानाकर्षण गर्दै नयनराजले प्रमुख रूपमा तीनवटा माग राखेका छन् :

09 September 2011

अफ्रिका

African_Princess_Pic Source -www.tate.org.ukतिमीले लगाइदिएको बुर्का
मेरो अनुहार जति पनि कालो छैन महाशय !
यति मानहानि पनि नगर


त्यसो त,

बुर्का लगाए पनि
बुर्का नलगाए पनि
म त उही परिचयमा हाँसिरहेछु खिस्स -
कालो जंगलमा एक धर्सो हिमताल ।

08 September 2011

गजल : जवानीका घोडा

बा-आमाका चिसा गोडा अलपत्र छाडेर
कुद्‌यौं जवानीका घोडा अलपत्र छाडेर ।

 

कहाँ के खजाना बटुल्न हतारिए झैं,
हिँड्नुपर्छ आफ्ना जोडा अलपत्र छाडेर ।

 

कुन साँगुरो आँगनमा निस्सासिन जान्छौ,
घरको यो बाटो चौडा अलपत्र छाडेर  ।

 

प्यास त तिमीभित्र थियो, बाहिर खोज्दैछौ,
गग्रेटोका माटो र रोडा अलपत्र छाडेर ।

 

बा-आमाका चिसा गोडा अलपत्र छाडेर
कुद्‌यौं जवानीका घोडा अलपत्र छाडेर ।

07 September 2011

जन्मदिन, जन्मदाता र जोखाना

भदौ २१, बिहानै जन्मदाताको फोन आयो गाउँबाट ।
सोधनी भयो :

– “नुहाइस् ?”

– “उहुँ !”, भर्खरै त छाडेको थिएँ ओछ्‌यान । अघिल्लो दिनको घुमफिर र साथीभाइसँग भेटघाटको थकान थियो । अंग्रेजी क्यालेन्डरअनुसार भने अघिल्लै दिन सेप्टेम्बर ६ मा जन्मदिन परेको थियो ।

– “पूजा-आजा गरिस् त ? म त तेरो लागि मन्दिर गएर आइसकेको, लड्डु पनि चढाएँ ….”
आमाको बोली अझै थामिंदैन – “पशुपतिनाथले रक्षा गरून् भन्दा सधैं झर्कोMom, Bro n Me Wid Bhotu मान्छस्, हेर तिनै हुन् सच्चा र दिगो बाबु-आमा, हामी त नक्कली, आज छौं- भोलि छैनौं ।”

मलाई दिक्क लाग्छ ।

आमा पछिल्ला केही समययता बढी नै निराशापूर्ण कुरा गर्न थाल्नुभएको छ । एकदम निरस पनि । मूर्तिपूजामा मन एकोहोरिएको कट्टर धार्मिक । आफ्नो लागि कुनै रहर र खुसी साँच्नु केही छैन । झोंक चल्छ मलाई, त्यति फोन गर्न पनि मन लाग्दैन । फोन गर्‍यो कि कुनै बेला बोल्दाबोल्दै सुकसुकाउनुहुन्छ अनि मनै अमिलो हुन्छ । फेरि-फेरि फोन गरेर त्यो पिरो बोली सुन्ने साहस कसरी हुनु ?

– “दाजु-भाइ मिलेर बस, तेरो थाई जागिर होस्, त्यति भए मलाई सन्तोक हुन्छ”, भक्कानो उर्ले जस्तो आमाको गला थर्थराएको प्रस्टै सुन्छु ।

03 September 2011

नेपालथोक एक्सप्रेस : बन्द, बाइक र माछा

SHABDA-Blog-1
ताम्सालिङ नेपाल राष्ट्रिय दल नामको पार्टीले उपत्यका र आसपासको जिल्लामा बन्द आह्‌वान गरेको दिन । गफैगफमा घुमघामको कार्यक्रम बन्यो । “जाने हो त ?” भन्ने एकजनाको सवालमा ल जाम् त जाम् भनेर सहमति जनाइयो । नसोचेको कुरा अकस्मात् हुँदा लेखेकै यस्तो रहेछ भनेर भावीको लेखाप्रति विश्वास जाग्दो रै’छ क्यारे हामीमा ! उपत्यका नजिकै कतै गएर साँझसम्ममा फर्किन भ्याइने ठाउँको सूची केलाउँदा काभ्रेको नेपालथोक रोजाइमा पर्‍यो । त्यसो त ककनी, लाकुरीभञ्ज्याङ पनि रोलक्रममा आएका थिए । जाँदा र फर्किँदा २-२ घन्टा लाग्ने हिसाब गरेर हिंडियो नेपालभित्र नेपालको ट्याग लागेको नेपालथोक । बिहानको साढे १० बजे भक्तपुरतिर नजर मोडियो । रुपेश श्रेष्ठकमल कुमारको बाइकले धुँवा निकै फ्याँक्ने भयो आज । कमलजी एकल सवारीमा, म रुपेशजीको पछाडि बसें ।

नियमित बन्दले वाक्कदिक्क भएर होला, मान्छेहरू थेत्तरो भएछन् काठमाडौंका । बिहान सबेरै गाडीको चाप कम भए पनि घाम क्षितिजको कुम-कुम आइपुग्दा बन्दको छनक नमिल्नेगरी सडक भरिभराउ छन् । यस्तो सडकको धुवाँमय नेवा प्रदेश छाडेर ताम्सालिङ प्रदेशतिर  लम्किँदा माझिएको प्रकृति र खुलेको आकाशले नशालु बनायो । यस्तै नशामा लट्ठिएर कुनै बेला सास फेर्नै बिर्सिएको हो कि भने जस्तो, अनि कुनै बेला भने यति स्वच्छ वायुबाट धेरै लाभान्वित बनूँ भनेर छिटोछिटो सास फेर्ने उपक्रम चलिरह्‌यो ।
SHABDA-Blog-2

01 September 2011

कम्ता हिंड्नु छैन यो बाटो …

A-boy-on-sunny-day

मखमली गोरेटोलाई
पिस्दै जान्छऽऽऽ
यो घुँडाको टायर

यो बाटोमा
थारुवानको बयलगाडा अँटाउँदैन
लिम्बूवानको टमटम त झन्
उत्तानो टाङ पर्न खोज्छ

टिक्दैन मेरै पैंतालामुनि यो मूल सडक
पचास माना घ्यूमा
तातो डाडु डामे जस्तो हुन्छ

चप्पलको वाहन छ सुरेली खेल्न
पचासौं कोस बुर्कुशी मार्न तयार छु
हिँड् चप्पलबिनै भने पनि
फुटेको पैंतालाभरिको एक पत्र
चप्पल बराबर छ

31 August 2011

भ्यागुता जस्तै उफ्रिएर

मुलुकमा भ्यागुता जस्तै उफ्रिने आर्थिक क्रान्तिको खाँचो छ भन्ने ‘आर्थिक कमरेड’ बाबुराम भट्टराई भ्यागुता जस्तै उफ्रिएर कार्यकारी प्रमुखको कुर्सीमा पुगेका छन् । मुलुक त्यो उँचाइमा नपुगे पनि एउटा कुशल नेतृत्त्व ठीक ठाउँमा पुग्यो भन्ने चर्चा यतिबेला चौतर्फी छ । मुलुकलाई माथि तान्न पहिले आफैं माथि पुग्नुपर्छ भन्ने बुझ्नुपर्ने हो कि ? यस हिसाबले प्रधानमन्त्रीमा बाबुरामको आगमन आवश्यक थियो । तर सतिको सराप परेको देशमा राम्रा मान्छे टिक्दैनन्, अनेक दाउपेचले उसलाई असफल तुल्याइन्छ भन्ने जनबोली सधैं सुन्न पाइन्छ । त्यसो त अहिले सुनिँदै आएको जनबोली अनुसार, बाबुरामले पनि देशमा केही गर्न सकेनन् भने अब कसैको आश रहनेछैन, कसैले गर्न सक्नेछैनन् । जनचाहनाको यति उँचो चाङले किचिएका छन् बाबुराम । शान्ति, संविधान, आर्थिक विकास, रोजगारी, सुरक्षा लगायतको चटारो छ । संक्रमणकालीन समयको नाममा यतिविघ्न लगामविहीन छाडिएको छ मुलुक, यसो हेर्दा शून्यदेखि सुरुवात गर्नुपर्ने अवस्था छ । र यसका लागि, दल, गुट वाद र आस्थाको सीमा हटाएर व्यक्ति र उसको योग्यतालाई पारख गरेर भूमिका थमाउनु जरुरी भइसकेको छ । यसको सुरुवात बाबुराम भट्टराईको आगमनबाट भएको छ ।
Baburam Home @ Gorkha Belbasबाबुराम जन्मेको गोरखा बेलबासको खोप्लाङ गाविसस्थित घर

‘जनताबाट लिएर जनतामा देऊ’ भन्ने माओ-वाणी यिनले पक्कै बुझेका छन् । सामान्य अवस्थामा पनि महिनाको एक पटक आफ्नो गृहजिल्ला गोरखा पुग्ने हुटहुटी भट्टराईमा त्यही वाणीले भरेको हुनुपर्छ । तर अब गोरखा जाने फुर्सद कत्तिको पाउलान् उनले, गोरखामा मात्रै सीमित नभई समग्र मुलुकको कित्ता-कित्तामा नजर पुर्‍याउनुपर्ने दुरबीन यिनको हातमा आइपरेको छ । योग्य र राम्रा मान्छेले अवसर पाउनुपर्छ, बाबुराम त्यही लिकमा उभिएका छन् । तर राम्रो र प्रभावकारी काम गर्ने उनको चाहनासँगै काम गर्न दिने वातावरण पनि आवश्यक हुन्छ । नत्र दौडमा भाग लिएको धावकलाई छिर्के हान्ने लुते प्रतिस्पर्धी त जुनसुकै मैदानमा हुन्छन् । राजनीति झन् कति घिनलाग्दो खेलमैदान हो,व्याख्या गर्नु पर्दैन । यस्तो मैदानको सरसफाइमा बाबुरामको पाइला असरदार बनोस्, यही कामना छ ।

बाबुरामका जीवन झलकसम्बन्धी तस्बिरहरू हेर्न भित्र आउनुस् :

26 August 2011

... फलानोलाई !

आज मेरो माया
छातीको आरनभित्र नअटाएर
खोइ कहाँ पो फाल हानेर गयो

पाइन चढाउनु थियो यसमा तिम्रो मायाको
घोट्नु थियो चकमक जस्तै
आफ्नो एक थान सादा कलेजी
देशको सपना र सुस्केरादेखि बेखबर
बेपत्ता नागरिक झैं,
नदेखिने ईश्वर र गुपचुप तस्कर झैं
यस्तो ऐजन ऐजन भएछ आज माया

तिम्रो आँखामा डुब्यो भनूँ त
त्यहाँ
कचौरा-कचौरा
खडेरी छ

25 August 2011

जामाचो गुम्बाको सेरोफेरो

Jamacho

ठाडो उकालो अढाइ घन्टा पैदल छिचोलेर गुम्बामा पुगिसकेपछि हामीलाई फर्किन हतार भइसकेको थियो । दिन ढल्दै गएर पश्चिम क्षितिजलाई सिरानी हाल्ने तर्खरमा थियो । त्यसमाथि गेटमा रहेका सैनिक र प्रहरीहरूले साँझ पाँच बजेसम्ममा तल झरिसक्न उर्दी जारी गरेका थिए ।

शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्जअन्तर्गत नागार्जुन सेक्टरको फूलबारी गेटबाट हामी जामाचो गुम्बा ताकेर उक्लिँदैछौं । पहिले कहिल्यै नआएको ठाउँ, बाटो के-कस्तो र कति कठिन भन्ने केही थाहा छैन । घुमघामको गन्तव्य बनाएको गुम्बा पनि कति महत्त्वपूर्ण र मनमोहक भन्ने समेत जानकारी छैन । घुम्नु छ, यत्तिकै हिँडिदिएका छौं । यात्राको रमाइलो भन्नु पनि यही नै हो जस्तो लाग्छ, आँखा चिम्लिएर आफूलाई बगाइदेऊ – ओम् स्वाहा !!

बालाजुबाट ओशो तपोवन र ककनीतिर जाने बाटोमा छ फूलबारी गेट, बालाजुदेखि नजिकै । नागार्जुन जंगलभित्र छिर्नुअघि गेटमा पहरा दिइरहेका सैनिक र प्रहरीसँग एकछिन भलाकुसारी गरियो । सुनसान जंगल भएकोले सुरक्षाको हिसाबले चाँडै आइपुग्नू भनेर समय तोकेका रहेछन् उनीहरूले । तर उनीहरूकै नियन्त्रणमा रहेको जंगलमा खतरा कुन कुराको ? त्यसमाथि त्यहाँ तैनाथ सुरक्षाकर्मीको अनुमति नलिईकन जोसुकै छिर्न नपाउने त्यस क्षेत्रमा कसको डर ? उन्मुक्त छाती फैलाएर हिँडेका हामी फिरन्तेलाई यस्तो कुनैपनि सीमा र बन्धन मन पर्दैन, चाहे त्यो हाम्रै भलाइको लागि निर्धारण गरिएको होस् । साँझ पाँच बजे जसरी पनि तल झरिसक्नु भन्ने उर्दीले हामीलाई पनि चिडचिडाहट पैदा गर्‍यो । तर केही कारण भएर त भनेका होलान् भनेर फटाफट पुगौं, फटाफट फर्कौं भनेर प्रतिजन १० रुपैयाँको टिकट काटेर उकालो खुड्किलो गन्न थालियो ।

20 August 2011

सम्बन्ध र मौसम बदली

- “आजकाल किन चुपचाप हुनुहुन्छ ?
चाड मनाउनु भयो त ?”

    एक समय थियो, उनको लेखिका मुहारसँग भर्खर सीधासीधी परिचय बन्नBalli-Manisha-Book पुगेको थियो मेरो । र, त्यो पनि कुनै मध्यस्थकर्ताको सहाराले । उनको औपन्यासिक कृति बजारमा छाएर चलेको गर्मागर्मी देखेर निक्कै अन्तरालमा म कायल बनेथेँ । तर कस्तो भने, पुस्तक-कृतिभन्दा अघि नै उनको मुहार-कृति सामुन्नेमा आइदियो ।  नतिजा, बल्ल मेरी पाठकीय भोक उनैको कृति खोज्दै बुक सपसामु प्रकट भएथ्यो । त्यसपछि म चुप बस्न सकिनँ, एकै बसाइमा आद्योपान्त उधिनेँ त्यो औपन्यासिक डायरी । अर्थात् उपन्यास कृति- वल्लीको डायरी । पढाइको संयोग खुब जमेथ्यो त्यसबेला । लेखिका र पाठकलाई एक्कैचोटि न्याय भएथ्यो सायद ।

बीचमा उनी अखबारी लेखनमा आक्कलझुक्कल उपस्थित हुन्थिन् र कहिले भने डेरा सरेर लठिभद्र हाल टुङ्ग्याउँदैछु भन्ने खबर दिन्छिन् । कहिले आफैं खबरदाता बनेर कुनै टेलिभिजनमा झुल्किन्छिन् । सबै आँगन कहाँ फाप्छ र मान्छेलाई, कहिले त चौकुना आँगनले लखेटेरै कायल पार्छ र अर्को-अर्को विकल्पको खाता खोल्न परीक्षामा उभ्याउँछ । उनै मनीषा गौचन निकैबेर समयको नेटोमा निलिएर बसिन् र आज मौनता तोड्दै अकस्मात् देखा परी उल्टै सोध्छिन्- 'आजकाल किन चुपचाप हुनुहन्छ ?'

14 August 2011

गाईजात्रा : दुई जोडा च्वास्स !!

मंगल ग्रहमा पानीको संकेत भेटियो
पृथ्वीमा चाहिं के लोप हुने हो फेरि
प्लटिङ गरिसकियो यता सबै जमिन,
चन्द्रमातिर भाग लाउने हो कि घडेरी !

समस्या एउटा-दुइटा होइन
गरिबी, विभेद र बेरोजगारी
एक घर एक सभासद् भए
ढुक्कको सामाजिक रखबारी !

तिमी फलाम भए प्रिय,
म चुम्बक भएर नजोडिने कुरै भएन
अर्को ध्रुवको चुम्बक भेटिए
ज्यान त्यतै नमोडिने कुरै भएन ।

कि संविधान कि छोरी देऊ नभन
सभासद्की छोरी झन् मापाकी होली
संविधानसभाको म्याद सारे जस्तै
भन्ली सुहागरात भोलि ! भोलि !!

------------------------------------------------
गाईजात्राको अवसरमा सबैलाई शुभ कामना ।

12 August 2011

अस्पतालको घनचक्कर

‘पैसाको काल – अस्पताल !’

अन्नपूर्ण पोस्ट दैनिकमा जतिबेला व्यङ्ग्य स्तम्भ लेख्थेँ, स्वामी रामदेवलाई पत्र भन्ने एउटा लेखमा नेपालका ‘रोगी अस्पताल’का थलिएको चालाबारे झाँको झार्ने प्रयास गरेथेँ । हुनत ती स्तम्भलेखहरूमा मेरो कोठे गफकै भरमार चल्थ्यो, न वस्तुगत अध्ययन, न  यथार्थ तथ्याङ्क र न त कुनै स्थलगत अनुसन्धान नै ! समसामयिक राजनीतिक र सामाजिक परिवेशमा जे-जस्तो हुन्डरी चलेको छ, त्यसमै छेडखानी गर्न विषयवस्तु पर्याप्‍त हुन्थ्यो ।

चितवनको भरतपुर क्यान्सर अस्पतालमा नयाँ ‘लीला’ भएछ । अस्पतालको यस्तो लीलामध्ये कतिपयमा बिरामीको इहलीला छिनमै समाप्‍त हुन्छ । भरतपुरमा चाहिं, एक महिलाको घाँटीको अपरेशन गर्नुपर्नेमा पाठेघर निकालेर फालिएछ । चिकित्सा पद्धतिले उपचारको नयाँ शैली त पत्ता लगाएको होइन होला ! पाठेघर निकाल्दा घाँटीको रोग कसरी निको होला !?  

Norvic2सेवाभन्दा पैसामुखी हुँदैगएका अस्पताल र त्यहाँका डक्टरहरूको जूका प्रवृत्तिले सर्वसाधारणहरूलाई कसरी डसेको छ र ती निर्धाहरूको मनस्थिति आधुनिक चिकित्‍साशास्त्रबाटै कसरी विकर्षण हुँदैछ भन्ने झलक उतारेको थिएँ त्यो व्यङ्ग्यात्मक पत्रमा । लेखमा कतिपय प्रसङ्गमा काल्पनिकताको प्रचुरता र अतिशयोक्ति पनि भयो होला,  तर नेपालको चिकित्सा सेवामा अझै पनि जनसाधारणको सहज पहुँच बन्न सकेको छैन । भव्य अस्पतालको ‘पसल’भित्र एकोहोरो व्यावसायिकताको पखेटा फिँजाउँदैछ चिकित्सा क्षेत्रले । कर्णालीमा चामल लिनका लागि लाइन लागे जस्तै जहाँ पैसाको मुठो लिएर पंक्तिबद्ध भए पनि सही उपचार पाउने ग्यारेन्टी हुन्न ।

06 August 2011

बल्छी #NotPoem

Bhrikuti

मणि हराएको सर्प जस्तो
किन एकसुर छ मन ?

कसले च्यात्यो सात चिरा इन्द्रेणी,
किन छ यति सादा मौसम ?

निराशा आफैं चकित पर्ने गरी
यो नौजवान
किन छ यति गलित र थकित ?

जिन्दगीको लमतन्न सडकमा
आमाले कति बालिन् होला दीर्घायुको बाती
यता आफ्नो छाती भने
फुकिरहेछ आयु छटपटीमा ।

मैं हराएको हुँ कि
म जस्तो जवान सपना हराएको हो,
खोजिरहन्छु सहरको बगरमा 
धुलोका कणहरूसँगै उडिरहन्छु ।

थाप्नुपर्छ रे जिन्दगीमा बल्छी
जोहो गर्नुपर्छ रे सक्दो धेरै सिकार 
हेर्छु पृथ्वीको कुण्डमा -
मैं जस्तो देख्छु हरेक चेहरा
चिन्तन होइन चिन्ताको बल्छीमा
फाल हान्छ एउटा चंगा बिहान
डुब्छ एउटा वृद्ध साँझ ।
-------------------------------
(Photo : Kalpana Rai)

05 August 2011

आरुघाटको उज्यालो

गत वर्ष जनवरीको जाडो याममा अझ सिरेटो खोज्दै गोरखा जिल्लाको ग्रामीण भेगतिर पुगिएको थियो । व्यस्ततालाई क्रमभङ्ग गरेर यसो बेलामौकामा आफूलाई नचियाए जिउनुको सार के हुन्छ र भन्ने लाग्छ । हामी नेपालीहरूमा पनि पछिल्लो समयमा घुमफिर गर्नुपर्छ भन्ने सोच जाग्दैछ, आफैंलाई ताजगी तुल्याउन र मुलुकको साथै जनजीविका बुझ्न । सिङ्गापुरदेखि थाइल्यान्ड टुरसम्मको योजना बनाउने कति नेपालीहरूलाई नेपालभित्रकै घुम्न लायक ठाउँबारे थाहा छैन । थाहा भए पनि ती ठाउँ तिनलाई उस्तो चिज लाग्दैन । घुम्नु कुनै बेलामा समय र पैसाको बर्बादी मान्थे नेपालीहरू । अझै पनि कतिपयलाई यस्तै लाग्दो हो । तर घुमघामबाट बटुलिने ज्ञान र आनन्द कुनै बन्द कोठामा पुस्तक पढेर, टेलिभिजन र सिनेमा हेरर  पाउन सकिंदैन । त्यस्तै सोचले कर्मयोगलाई थाती राखेर उतिबेला तीर्थाटनमा निस्किएका थियौं ५-६ जनाको टोली । त्यही यात्राको सम्झना उतार्दैछु :-

टाढैबाट आँखा तान्ने हिमटाँकुरामुनि थुम्को बस्ती । गोरखा बजार पुग्दा चराहरू गुँड पस्ने साइतमा थिए । साँझपख मान्छेहरू पनि सामसुम्म हुने तर्खरमा लागेका बेला हामी भने बजारदेखि चुचुरोमा रहेको गोरखा दरSunset @ Gorkha Durbarबार पुग्ने हतारमा होमिएका छौँ । बेसार झैं पहेंलिएको सूर्यास्तबेलाको किरणमा गोरखा निन्याउरो मुख लाएको जोगी जस्तो देखियो ।

बल्ल जुरेको घुमघामको मेसो, त्यसमा पनि गोर्खाली साथीबाटै पाएको निम्तो । यसैले पनि ६ जनाको टोलीमा यात्राभरिको बोझ उनै जिल्लाबासी यदुकिशोरमा पर्ने निश्चित छ । गोरखा जिल्लाकै भित्री गाउँ आरुपोखरीमा रहेकी नवविवाहिता पत्‍नीसँग भेट्ने उनको व्यग्रता आफ्नै ठाउँमा होला, अहिलेलाई पाँच साथीहरूको लर्कोले उसको होश कब्जा गरेको छ । आरुघाट र आरुपोखरी पुग्ने भोक यतिखेर भने गोरखा दरबारको थुम्को चुम्ने ध्याउन्नमा एकत्रित छ । भोककै कुरा गर्दा, काठमाडौँबाट गुड्दै आउँदा पोखरा र गोरखातर्फ फाट्ने तनहुँको आँबुखैरेनीमा खाएको खाजाले थेगेकै छ ।

02 August 2011

भोक र सपथ

गरिब देशमा 
भोकमरीमा परेका 
सुकेनाशले मरेका
कसैको कथा नसुनाऊ  

उच्चारण नगर भोक शब्दको

बरु उत्सव मनाऊ
यो गरिब  देशमा
फेरि अनि फेरि -
सबै अनिकाल बिर्साएर
सबै अभाव मिल्काएर
खाइरहेछन्-खाइरहेछन्  
सपथ !

29 July 2011

स्वयम् सर्वोच्चता

सामान्य भान्सामा अवस्थाअनुसार व्यवस्था गरिन्छ, राजनीतिको भान्सामा भने कुरै अर्को हुन्छ । भान्से चौरासी थरी र पकवान पचासी थरी । यो भान्सामा एकफेरा नागरिक सर्वोच्चताको खिचडी पनि पाक्यो । तर कोही अघाए त मरिजाऊँ ! अगस्तीको श्राप लागेको हो कि भान्से नै उधुम भोका परेर हो, त्यो 'सर्वोच्चता'ले त 'नीचता'को पखाला मात्र चलायो । लुडो खेलको भर्‍याङबाट चढ्ने र सर्पबाट सुलुत्त चिप्लिने जस्तो ।  

प्रयोगमाथि प्रयोग गर्नुमै त टिकेको छ नेपाली भान्सा । यो मेसोमा पालो अब स्वयम् सर्वोच्चताको ! समग्र उच्चतालाई माथ गर्ने सर्वोच्चता । नयाँ विचार र विधिव्यवस्था औपचारिकताको सिउर नचाउँदै कागजपत्रमा शोभायमान बन्नुले अहिलेसम्म केही शुभ लाभ नभए पनि बेलाबेला निस्किने हलुका गफगाफले भने नागरिक जीवनमा उधुमको रौनक भर्छ । स्वयम् सर्वोच्चता त्यस्तै मज्जाको चास्नी हो ।
Pic Source - www.flamewarriors.com बोलीको सम्हालिनसक्नु बाढीमा हेलिएर हलुका रूपमै निस्किएको नागरिक सर्वोच्चता ताछिएर-माझिएर स्वयम् सर्वोच्चताको असली निखारमा पेश भएको छ । यो त्यस्तो भरिभराउ कन्तुर हो, जसलाई जति खर्च गर्‍यो त्यति नै बाँकी रहिरहन्छ ।

अरूलाई महान् र महापुरुष ठहर्‍याएर पछि लाग्दालाग्दै पिपलको फेदमा ओझेल परेको बोन्साइवृक्ष भएको छ आज मान्छे । नचाहँदानचाहँदै नोकर साहू सर्वोच्चताको लागि आफू घोटिनेपिसिने गर्छ । अकुशल मास्टरजीको सहज जागिरयात्राको बन्दोबस्त मिलाइराख्‍न 'गुरुदेवो भवः' मन्त्र जप्दै चुपचाप लाटो कक्षाकोठा स्विकारेर आदरभावको सर्वोच्चता कायम गर्छन् चेलाचेली । यसैगरी, हो मा हो मिलाउँदै आज्ञापालन र कर्तव्यको एकसूत्रीय मैदानमा नेतागिरीलाई वैतरिणी तारेर खुबी सर्वोच्चता साबित गर्छन् कार्यकर्ता ।

26 July 2011

व्यस्त विद्यार्थीको दैनिकी

शनिबार-
    स्कूलदेखि लागेको बानी, शनिबारको निश्फ्रिक्री र आरामदायी सुताइ । यो निद्रा पनि भगवान्‌ले विद्यार्थीकै लागि बनाइदिए जस्तो छ । बिहान घाम सिमलको रुखमाथिसम्म छिप्पिउन्जेल लाजै पचाएर सुतिरहेँ । कलेजको परीक्षा चलिरहेछ । आऽऽ यस्तै हो, परीक्षाको के कुरा, आउँछ-जान्छ । उसै पनि जिन्दगी जिउनु भनेकै पल-पल एउटा न एउटा परीक्षा चलिरहने प्रक्रिया त हो नि भन्ने सोचेर आफैंलाई थुमथुम्याएर ओछ्यानमा गुडुल्किरहेँ । दिउँसो नुहाउने रुटिन सधैँको शनिबारजस्तै चल्यो । विद्यार्थीको ज्यानमा डेढअक्कली ज्ञानको थुप्रो हुन्छ भन्नुहुन्थ्यो स्कूलको हेडसरले, यो ज्यानमा मयलको थुप्रो पनि उत्तिकै हुँदो रहेछ ।

Student

14 July 2011

अँगालो

युद्धपोतबाट
पानी काट्दै आउने गोलाबारी झैँ
आउनेछु यस्तरी

सहनू है -
चिनोको जालीरुमालले
छातीमा हानेको
कलिलो मुक्का ।

Love-hug-www.alittlegirlinat-shirt.blogspot.com

09 July 2011

फेरि फूल

गीतमा ‘तिमी फूल जस्ती’ भनेर उपमाको हाँगामा आफ्नी प्रियतमालाई झुलाएको धेरै उदाहरण पाइन्छ । फूलहरू त्यसका लागि सुहाउँदिला पनि लाग्छन् । देख्दा आकर्षक र स्पर्शमा पनि कोमल । देखिनु र हुनुको अन्तर्विरोधयुक्त अर्थात् बहुरपी हुँदैनन् फूलहरू । काँडा र फूल जीवनका दुई पाटा भए पनि फूल नै सबैको रोजाइमा पर्छ । काँडाको तारिफ कतैबाट अझसम्म सुन्न पाएको छैन । भलै मान्छेहरूले भोगाइमा काँडा पनि पचाइराखेका हुन्छन् ।
1गत वर्ष फूलका कुरा पोस्टमा फूलका करिब एक दर्जन तस्बिर बाँडेको थिएँ । यसपटक पनि फेरि फूलकै सन्दर्भ लिएर केही तस्बिरसहित आएको छु । यात्रामा हिंड्दा प्रकृतिको वरदान हाम्रो मुलुकमा हरियालीले ढपक्क छोपेको दृश्यले त्यसै शीतल बनाउँछ । त्यही हरियालीमा विविध बुट्यान र फूलले मक्ख बनाउँछ । यात्राको दौरान खिचेका फूलका तस्बिरहरू हेर्न भित्र आउनुस् :-

29 June 2011

समयको कालापत्थर

Slipper

तीन करोड टाउकोको सुमेरु पर्वतमा
फनफनी घुम्छन् 
मन्तरेर नजाने दशाहरू 
सिमानामा कक्रक्क जमेका सीमा पिलर
रात-बिहान केही नभनी बरु सर्छन् यता-उता
यी टाउकोहरू
फर्सीको मुन्टा जस्तै बटारिन्छन्
ठाउँको ठाउँ पसारो पर्छन्

19 June 2011

नआउनू

Kathmandu
उर्वरा दिन्छु भनेर
जीवनको मेरो बाँझो सडकमा
नराखिदिनू तिमीले आफ्नो पाइला

खलाँतीसँगै खुइय्य सुस्केरा काढ्दै
आरनमा जो बसिरहेछन् माइला कामी
थकाइ मेटाइदिन्छु भनेर
नफैलाउनू वर्षौं पुरानो श्‍वास

17 June 2011

रुने कला

न्टलापुर घामको रापमा पेरिस डाँडा झलमल्ल देखिन्छ । कमरेडहरू आ-आफ्नै सुरमा खरो पोजिसनमा ठाँटिएका छन् । एक कुनामा दुई कमरेडहरूको खासखुस विमर्श जम्दैछ ।

Prachanda"नरुनूस् कमरेड", हेडक्वार्टर कमरेडले उर्दी जारी गरेको शैलीमा आर्थिक कमरेडलाई अह्राउनुभो । सीताजी र हिसिलाजीबाट छलिएर दुवै कमरेड उखरमाउलो गर्मीमा हावा खान पेरिस डाँडा पुग्नुभएथ्यो ।

"क्वाँऽऽवाँवाँ....." आर्थिक कमरेड झन् डाँको छाडेर कहालिनुभो । ठूलो चोक्टा पाउन हान्निएको तर झोलमा डुबेर भिजेको बिरोलोजस्तै जुम्से भावमा दायाँ-बायाँ लत्रिएको उहाँको मझौला जुँगा त्यो रसिक क्रन्दनले लफक्कै भिजिसकेको थियो ।
"त्यसरी नरुनुस् न भन्या", हेडक्वार्टर कमरेडले बोलीमा अलि लचकता ल्याउँदै जिस्क्याउनुभो, "यस्तो घघडान डक्टर मान्छे यसरी रोएको सुहाएन है !"

11 June 2011

सूर्यग्रहण


तिम्रो जीवन यति अँध्यारो छ
कहाँ थाहा थियो र

बन्न हुन्थ्यो
सानोतिनो सूर्य

समाउन दिन हुन्थ्यो
किरणका औँलाहरू

बुद्धु थिएँ
बुद्धु भएरै बसिरहेँ

मेरो यो चुपचापलाई
सम्झिदिनू है तिमीले
सूर्यग्रहण ...

solareclipse

10 June 2011

झापड खानेले जुत्ता नखाऊन्

प्रधानमन्त्रीको कुर्सीमा बसेको एक सातापछि बिबीसी नेपाली सेवालाई विशेष अन्तर्वार्ता दिँदै झलनाथ खनालले भनेका थिए, “कतिपय जनता राजनीतिक दलहरुप्रति अलि बढी आक्रोशित पनि छन् । तर जुन मान्छेले मलाई झापड हाने, तिनले मलाई झापड हानेर आज बालुवाटार ल्याइपुर्‍याइदिएका छन् । त्यसो हुनाले मैले त उनलाई धन्यवाद दिएको छु ।”

Jhalanath-khanalसात महिनासम्म प्रधानमन्त्री चयन हुन नसकेको रिक्तता मेट्दै आसीन भएका उनलाई तै जे-जस्तो भए’नि मुलुकले प्रधानमन्त्री त पायो  भनेर त्यतिबेला धेरैले मन बुझाएका थिए । रिक्त स्थान पुरयेतको अर्थमा । अब चाहिँ गतिलो मान्छे आयो भनेर हिसाब गर्ने ठाउँ त कतै थिएन । जे होस्, प्रधानमन्त्री निर्वाचनको एकपछि अर्को नौटङ्कीबाट छुटकारा मिलेको थियो ।

शान्ति र संविधानको राष्‍ट्रिय मुद्दालाई सबैले अर्जुनदृष्‍टि बनाएर अघि बढ्नुपर्छ भन्ने उनको महावाणी नै हो । अघि बढ्ने चाहिँ कसले हो, दैव जानून् । राजनीतिक वृत्तमा थेगो बनेको छ - यस्तो गर्नुपर्छ, बनाउनुपर्छ, हुनुपर्छ भन्ने । मानौं कुनै अदृश्य शक्ति वा दूत आएर गरिदिन्छ सबै । अरूलाई खेताला लगाए जस्तो उर्दी र आह्‌वानमा पड्किदिए भयो ।

02 June 2011

मुदिता

“मन्द प्रकाशमा फोटो खिच्नुको मजा नै बेग्लै हुन्छ है !”
चुरा बजेको हातको झङ्कारभन्दा पहिल्यै कोइली स्वर फुट्यो । भुसुनाको आवाजले पनि शान्ति बिथोल्ने मौनतामा घेरिएको म त्यो स्वरले झस्किएँ । क्यामेराको सन्तुलन बिग्रेर दृश्य लतपतिएको आयो । यतिबेला म ऊ सँग ठुस्किनुपर्ने । साँझपख जूनको हलुका प्रकाशको संयोजनमा बुद्धको प्रतिमाको तस्बिर कैद गर्दै थिएँ । यतिबेलै उसले बोलाउनुपर्ने !
“हो, कसैले नखजमज्याएको वातावरणमा खिच्न पाए निकै मजा हुन्छ”,
लौ जा, पेच पर्नेगरी मैले पनि जवाफी झटारो हानेँ । प्रहार खेपेर ऊ कटाक्षले खुत्रुक्कै हुनुपर्ने हो, तर ‘हो है’ भनेर खितित्त हाँसेर टारिदिई ।  मापाकी केटी  रै’छे जस्तो लाग्यो ।

27 May 2011

Blue City ~ Blue Mimosa

अलकत्रे कालो सडकमा नीलो सर्ने गरी झरी वर्षिन्छ । मनसुन सुरु भएको भने होइन है ! शिरीषको फूलको वर्षा कुनै झरीभन्दा कमको छ र ? तपाईँको काठमाडौंका सडकमा बैशाख-जेठको हप्प गर्मीमा यस्तै निलाम्मे शीतल बटुल्न पाइन्छ । तपाईं यसबेला यो सहरमा हुनुहुन्छ कि हुनुहुन्न कुन्नि, मैले भने सडकको चक्कर मार्दा वरिपरि शिरीषैशिरीषको सरगम बजिरहेको पाएँ । अब त यसपाली यो सरगम पनि सुक्ने बेला भयो । यसैपाली सडक परिक्रमा गर्दा देखिएका नीलाम्मे दृश्‍य तस्बिरमा कैद गरेको छु -

Blue Mimosa1_final

20 May 2011

आत्मप्रकाशनभन्दा परको आनन्द

निन्छ, आत्मप्रकाशनमै छ आत्मिक तृप्‍ति । लेखेर-बोलेर मनभित्रका उहापोह बाहिरी संसारलाई पढाउँदा-सुनाउँदा अपार खुसी मिल्छ रे ! सत्य हो एक हदसम्म । तर यो सत्य आंशिक मात्र हो कि भन्ने लाग्छ । आफूलाई अभिव्यक्त गराउने खुसीभन्दा पर अरूको उकुसमुकुसले पनि मुखरित हुने पुल बन्ला कि भनेझैं हामीलाई पर्खिरहेको हुन्छ । हामी कति त्यो उकुसमुकुसको नजिक पुगेर हावा खुस्काएर त्यसमा ताजगी भर्न सक्छौं भन्ने मूल प्रश्‍न हो । अरूको भाव उतारेर त्यसमा बोली भरिदिनुमा चाहिँ झन् दोब्बर खुसीको भेल उर्लिने रहेछ । भोकले आकुल-व्याकुल कोही मान्छेलाई खान्की दिएपछि त्यो व्यक्तिको मुहार छाएको तृप्‍ति देखेर तपाईं आफैं पनि मुस्काउनुभएको छैन र कुनै बेला ?  अरूको खुसीमा भागीदारी भएर तपाईँले पनि  सुखद अनुभूति गरेको हुनुपर्छ केयौं पटक । समाजसेवाको थालनी पनि यस्तै आनन्दको लाभ लिने ‘लालसा’का साथमा भएको हुनुपर्छ । यहाँनेर समाजसेवामा लालसा शब्द जोडिएकोमा आपत्ति पनि मान्न सकिएला, तर यो लालसा अरूलाई दिएर आफू टन्न भएको प्रफुल्ल भाव सञ्चय गर्ने चाह मात्र हो । यो कुनै भ्रष्‍टाचार होइन ।

भ्रष्‍टाचार हो भने त्यस्तो खुसीको एउटा लुटेरा म पनि हो । सन्दर्भ फेसबुक सञ्जालमा रहेको मेरो फोटो एल्बम Creator’s Corner को हो । [हेर्न आफ्नो फेसबुक एकाउन्टमा लग इन गरिसकेपछि यहाँ क्लिक गर्नुहोला ।]

17 May 2011

काठमान्डू !

ख्वाबो ख्यालो का एक बडा ही सुन्दर शहर है काठमान्डू
किसी के लिए अमृत किसी के लिए जहर है काठमान्डू ।


बडी बोतलों से पिलाये या फिर किसी की नशीली आँखो से,
हर किसी को पिनेके लिए मय का नहर है काठमान्डू ।


जीधर देखो यारों उधर सिर्फ फैसन ही नजर आए,
सच कहो तो फैसन की बदलती लहर है काठमान्डू ।


एक बुंद पानीके लिए तरसते है कितने लोग यहाँ,
हाला कि खुद ही एक खूबसुरत बहर है काठमान्डू ।

२०६२ सालको कुनै समयमा उसले लेखेको थियो यो गजल । पर्सा जिल्लाको हावापानी खेप्दै हुर्किए पनि कलेज पढ्न काठमाडौँ पसेसँगै राजधानीको नरमदेखि गरमसम्मका रहनसहन र यहाँका मान्छेहरूको अजब लीलाहरूको विश्‍लेषणस्वरूप यो गजल लेखेको थियो । उसलाई अझै पनि लाग्छ, सहरका अधिकांश मान्छे घिरौलाको जालो जस्तै रुखासुखा र संवेदनाको एक अंश पनि शेष नबचेका प्राणी हुन् । हेर्दा झट्टै बोलिहाल्ला जस्तो गुडिया, तर कागज कोचिएर तयार ! तर प्रस्तुत गजलमा काठमाडौँलाई यसको बदलिँदो रूपमा केलाए पनि सौन्दर्यकै भाकामा हेरेको छ उसले । छिटफुट लेख्‍ने उसले उर्दू र हिन्दीको खिचडी सान्निध्यमा रत्तिएको फलस्वरूप हिन्दी गजलमा अभिव्यक्त हुन सहज मान्यो । नाम उसको गनी

11 May 2011

रातो पछ्‌यौरी ओढेर को आइरहेछ ?

यसपाली लामो समयसम्म दिमागमा आउँ परेन, सोचेँ – यसरी त व्याकुलताले मनमै आउँ पर्छ । सधैंजसो ब्लगमा केही गुदी भर्न तम्सिने मन खल्लो भइरह्‍यो । यसो कम्प्युटरको दराज खोल्दा विभिन्न समयमा खिचेर क्यामेराबाट खन्याइएका तस्बिरहरू तह-तह रै’छन् । त्यसमा पनि भर्खरै महिना दिन जति अगाडि शिवपुरी राष्‍ट्रिय निकुञ्ज हुँदै सुन्दरीजलको यात्रामा जाँदा गुराँसमय जङ्गलको तस्बिरहरूले लोभ्याए । यसपाली तिनै फोटो सदुपयोग गर्न मन लाग्यो । Red

राष्‍ट्रिय फूल लालीगुराँस पहिलोचोटि आँखाभरि सँगाल्न पाउँदा असीम शीतल अनुभूति नहुने कुरै भएन । वनैभरि सैनिक टुकडी जस्तै छपक्कै छरिएको

02 May 2011

विन लादेन

Laden त आफैं मरेको थेँ, आफैं ...
छिया-छिया पारेँ भन्यौ
मैले नै मारेँ भन्यौ


तिमी सदियौंदेखिको खेलाडी

30 April 2011

एकदिन वसन्तपुर

सन्तपुरसँग किन-किन आत्मीयता गाँसिएको छ । भीडैभीडको साम्राज्य हुने भए पनि असीम शान्तिको अनुभूति हुन्छ त्यहाँ । अझ साँझपख सुस्ताउनुको मजा नै बेग्लै । एक्लै लरखराउँदै पुग्दा पनि साथीको अँगालो फुकाए झैँ पर्खिरहेको हुन्छ वसन्तपुर । मान्छे जिन्दगीमा अक्सर एक्लै त हुने हो । यसैले वसन्तपुर जस्तो ठाउँको महत्त्व अझ बढी छ । खल्तीमा खुजुरा पैसा जस्तै जिन्दगीमा रहेका कतिपय दिक्कता वसन्तपुरकै डबलीहरूमा टहलिँदै झारझुर पारी निखारेको छु । वसन्तपुर परिसरकै मन्दिरको काठे पेटीमा बसेर कतिपय अपूरा कविताहरू छिमल्दै पूरा गरेको छु ।
 
आत्मीय मान्छेसँग त्यहीँ झगडा,घुर्की, गनगन र फकाउने कार्यको शिलान्यास समेत भएको अमिट स्मृति छ । वसन्तपुरको नामैले गाढा स्वाद भरिन्छ । काठमाडौँले सिता दिएको छ, केही गर्ने टेको दिएको छ । तर हामी यसैलाई गाली गरेर निठूरी हुँदै छोडिआएको गाउँको यादमा भक्कानिन्छौं । जीविकाको आधार दिने सहरलाई सत्तोसराप मात्र ! यसो हेर्दा-सोच्दा काठमाडौंमा अनेकौँ सपनासहित लाख-लाख टाउकोहरूको तनावयुक्त थपडीबाहेक केही छैन । तर वसन्तपुर, स्वयम्भू स्तुपा जस्ता ठाउँको कारण पनि काठमाडौंलाई चटक्क भुल्न गाह्रो छ । 
 
वसन्तपुरमा एकदिन टहलिँदा यस्तै झलकहरूले आत्मीयता साटिरहे --
 
Basantapurजसै साँझ पर्छ, वसन्तपुरको रौनक भने झन् जगमगाउँदो बन्छ

23 April 2011

लोकतन्त्र

आऊ, हावालाई पूजौं
गुरू थापौं हावालाई
उसका कुरा बुझौं

देखिन्न स्वाँठ हावा
यसैलाई मानौं अदृश्य शक्ति
राखौं प्रतीकस्वरूप कुनै घडा
आऊ,
हावामा बुरुक्क उफ्रिएर
हावाकै सुसेली काढौं

निर्मम घडीमा
कठोर शासकको गद्दी फ्याँक्न
सडक तात्तिए जस्तै
पहिले-पहिले
बढारेर लैजान्थ्यो हावाले
सडकका फोहोर
खेतका बालीमा गुम्सिएका विषादी
कोठाको कापमा लुकिबसेको ढुसी
यसपाली हावालाई यतै खेलाइराखौं
फोहोरसँगै यतै अलमल्याइराखौं
संसारभरिका रोग, भोक र शोक
यतै थुपार्ने अनुमति दिऔं

हावा हाम्रो रक्त
हामी हावाको भक्त
हावा निचोर्दै निकाल्न
खोलौं घरको झ्याल र ढोका
धुरीमा त्यसै खेर गइरहेछ एक भारी हावा
उद्धार गरेर आँगनमा निकालौं
आँगनबाट आँपगाछीतिर हम्कौं
हावा खाऔं हावा
हावालाई नै पेलेर
तेल निकाल्ने उद्यमशीलता विकास गरौं 
आऊ,
हावाको लागि फूलमाला उनौं
हावाको जयजयकार गरौँ
हावाको छुट्टै राज्य बनाऔं ।

17 April 2011

ध्यानबाहिरको धुन

“Vipassana meditation is a way of self-transformation through self-observation.”

vipassana-meditation५ सय वर्षभन्दा अघि गौतम बुद्ध‍ले थालनी गरेको मानिने ध्यानविधि विपश्यनासँग गाँसिन पाउने हामी आधुनिक प्राणी धन्य हौं । ध्यान भन्दैमा सांसारिक जीवनसँग चटक्कै साइनो तोडेर जङ्गलको एकान्तवासलाई अपनाउनुपर्ने हाउगुजीले पनि छोपेको छ कतिपयलाई । तर सामाजिक जीवन परित्याग नगरी गृहस्थ नै रहेर विपश्यना जस्ता जीवनका गाँठा खोल्ने ध्यानको लाभ लिन पाइने हुनाले लोकप्रियता बढ्दै गएको छ । 

विपश्यना ध्यानको कुरा गर्दा सामान्यतया १० दिनको प्याकेजलाई स्टान्डर्ड मानिन्छ । आफ्नो शरीरकै संवेदनालाई अनुभूति गर्दै तीप्रति न आशक्ति न वैरभाव राख्‍नु नै यो ध्यानको मूल मर्म हो ।  बस्, जे-जस्ता भाव उत्पन्न हुन्छन्, नियालिरहने र होशपूर्वक रहने । ध्यानको टस बसेपछि दैनिक जीवनमा पनि ठीक यस्तै प्रणाली आफूमा विकसित हुने हो ।  कुनै पनि राम्रो वा नराम्रो कुराप्रति न मोह, न पूर्वाग्रहपूर्ण उत्तेजना, सम भएर नियाल्ने मात्र । १० दिनको विपश्यना शिविरमा पञ्चशीलको पालना गर्दै वाणीमा समेत लगाम दिएर आर्यमौन कायम राख्‍दा म जस्तै धेरैलाई उकुसमुकुस हुन सक्छ/भयो होला । तर बिस्तारै त्यही अनुशासन र पावन्दी नै पो खास स्वच्छ र सन्तुलित जीवन रहेछ भन्ने अनुभूतिगत चेत खुल्दै जाने रहेछ । दुई वर्षजति अगाडि पहिलो पटक १० दिने ध्यानमा जाँदा शिविरबाट फर्किने दिन ठूलै वियोग खेप्दैछु भने झैं मनलाई  उदासीले बेरिरह्‌यो ।

ध्यान शिविरमा बसेर निश्‍चित अवधिको ध्यानविधिको स्वाद चाखेर जीवनले कोल्टे फेरिहाल्ने भने होइन । असली ध्यान साधना त शिविरबाट फर्केर पूर्ववत् सामाजिक जीवनमा परिचालन भएपछि सुरु हुन्छ । ध्यान भनेको बाली रोपेर पाकेपछि एकैचोटि काटेर खाउँला भन्ने चिज होइन । यो त नियमित अभ्यास र जीवनपद्धति नै हो । एकपटक ध्यान शिविरमा बसेर ध्यान सिक्नासाथै चमत्कारको आशा राख्‍ने अल्छेहरूको हालत मेरो जस्तो हुन्छ ! शिविरबाट फर्केर दैनिक जीवनको मेलोमा तनावयुक्त भेलबाढी झेल्ने क्रममा ध्यान गर्ने कुरा कता पर्छ, नियमित रुटिन लथालिङ्ग भएर कहाँ पुग्छ केही ठेगान हुन्न । फलस्वरूप ध्यानमा जानुअघि जसरी किरिङमिरिङ फोहोरी अक्षरयुक्त कालोपाटी जस्तो थियो मन-मस्तिष्क, त्यही साबुत हुन आइपुग्छ ।

दाल-भात-डुकु जस्तो जीवनको प्राथमिकतामा गणना हुन नसक्दा ध्यानको आनीबानी पछिल्लो नम्बरमा आउने होइन लगभग कट्टी नै हुने रहेछ । जस्तो कि, मैले ध्यानमा निरन्तर आफूलाई टस बसाउन सकिनँ । जीवनका आरोह-अवरोहका क्रममा ध्यानको original_Dhammaआधी-एक घन्टे रनाहा बोझिलो ‘जागिर’ जस्तो भइदियो सायद, राजीनामा दिनु नै वेश लाग्यो । फर्केर आएपछि केही समय त गरें, तर दिनदिनै पलेंटीमा आफैंलाई कुरिबस्न सकिएन । आफैंलाई धोका दिने प्रेमी भएँ म ! नत्र त ध्यानबाट फर्केपछि नै हो, मैले सबैको मङ्गल कामनासहित आफ्नो ब्लगको नाम बदलेर ‘क्याफे मङ्गलम्’ राखेको थिएँ । ध्यानको प्रतिफलस्वरूप नै संसार क्षणभङ्गुर छ, सबै कुरा अनित्य हो भन्ने बोध भएर पनि त्यसलाई ‘संस्थागत’ गर्ने प्रक्रियामा अलि लोसे भइयो ! कामकाजी दुनियाँ भन्यो, साथीभाइ भेटघाट भन्यो, आफन्तप्रतिको दायित्व पूरा गर्ने दौडमा लाग्यो, त्यत्रो १० दिन खोरमा ओथारो बसेझैं कमाएको ध्यान त भुसुक्कै ।

ध्यानभित्र छिरेर जीवनको खुसी र शान्ति यसैमा छ भनेर चिनेर मात्र पुग्दैन । त्यसलाई बोध नै गरेर आत्मसाक्षी राखी अभ्यासलाई घोटिरहनुपर्ने रहेछ, चाहे पृथ्वी नै कोल्टियोस् । नत्र हैसियतबिनाको स्वादे जिब्रोलाई एकदिन पाँचतारे होटलमा चौरासी व्यञ्जन चखाए झैं साधनाको सोचबिना ध्यान शिविर चहार्ने काम जीवनलाई विशृङ्खलित तुल्याउने उपक्रम मात्र बन्न पुग्छ । एकचोटि ध्यानको केस्रा छोडाएपछि ध्यानबाहिरको धुनमा दरफराइरहेको अहिलेको मेरो मनले त्यही भन्छ । जुन धुनमा कुनै सङ्गीत छैन, हल्लाखल्लाको यातना मात्र छ । ध्यानमा पूर्ववत्  धैर्य नसँगाली यो यातनाबाट अब छुट्टी पाइन्न पनि ।

सबको मङ्गल होस् ।

* तस्बिर : www.phivelogic.comwww.cdn.gotoknow.org

16 April 2011

प्रिय चार्ल्स !

Chaplin
माथिको सम्बोधनसँगै उनलाई चिठी लेख्‍न चाहान्थेँ । तर पुग्नुपर्ने ठेगानाको अत्तोपत्तो भए पो ! यो जमाना पनि त घोरिएर, सम्झनाको चुल्ठोमा फनफनी बाटिएर धैर्यपूर्वक चिठी लेख्‍ने खालको अब रहेन ।

महान् कलाकार चार्ली च्याप्लीनको संवादविहीन कमेडी फिल्मको एक झलकसम्म हेर्नेमध्ये उनीसँग हेलमेल बढाउन नचाहने को पो होला र ?  प्रत्यक्ष जम्काभेट असम्भव भए पनि सम्झनामा इतिहासको विरासत नै भएर उभिएका छन् उनी । सन् १८८९ अप्रिल १६ मा बेलायतमा जन्मिएका च्याप्लीनको एक सय २२औं जन्म जयन्ती मनाउने क्रममा छौं हामी ।

“The public never knows what it wants, only what it doesn't want.”
एक समयमा च्याप्लीन आफैंले भनेको कुरा उनीतिरै सोझियो । अर्थात् यही कुरा चाहान्छौं भनेर जनसाधारणले फर्माइश नगरे पनि आफ्नो कलाकारी खुबीले सबैको मुखमा बूजो लगाउन उनी सफल हुँदै गए । आफ्नो रुचिबारे उसबेलाका सर्वसाधारणको अज्ञानतालाई उनले कखरा नै पढाए भन्दा हुन्छ । सिनेमामा स्वराङ्कनको अडियो प्रविधि नभित्रिंदै बाजागाजा र हाउभाउकै मद्दतले छुट्टै शैली स्थापित गर्दै वर्चश्‍व राख्‍दै गए ।  गम्भीर विषयवस्तुमा समेत जटिलताको कुनै हाँगाबिंगाबिना सजिलै हाँसोको फोहोरा उनेका छन् उनले फिल्ममा । त्यसलाई उनको सफलता र परिचय दुवै मान्दा हुन्छ । यान्त्रिक जीवनशैलीको चपेटामा होशपूर्वक श्‍वास फेर्न र जिउनै बिर्सिन थालेका अचेलका मान्छेहरूको लागि उनको जस्तो फिल्मको खाँचो झन् बढी हुन सक्छ ।

जन्मको नाम Charles Spencer Chaplin भए पनि लोकप्रियतामा चम्किँदै गएपछि आंशिक परिचय नै काफी भयो उनका लागि । चार्ली भनेपछि पुग्ने भयो । कतिपय उनका फिल्म हल्काफुल्का हास्यमिश्रित पनि लाग्छन् । तर बिर्सिनै नसकिने द सर्कस (१९२८), सिटी लाइट्स (१९३१) लगायतका फिल्ममा उनले ठट्टैठट्टामा लट्टा पारेका छन् । हाँस्दाहाँस्दै दर्शकको आँखा आँसुले पुर्छ । मानवीय संवेदनाको गहिरो कुवा खनेका छन् तिनमा । संवेदनशील तार स्वस्थ भएको मान्छे हुरुक्क नभई बस्न सक्दैन । सर्कस फिल्ममा डोरीमा हिंड्ने कला देखाउने क्रममा भुत्तोभाङ कुनै सीप नभएको ‘रोप वाकर’ को रूपमा दयनीय हविगत झल्काउन उनले गरेको अभिनयको प्रशंसामा ‘वाह’ले मात्र पुग्दैन । यस्तै सिटी लाइट्स फिल्ममा गरिबीको मारमा पिल्सिएकी अन्धी केटीले खर्चको चाँजोपाँजो मिलेर नेत्रज्योति पाएपछि सहयोगी पुरुषसँगको पुनर्मिलनको क्षण पनि कम कारुणिक लाग्दैन ! 

Charlie_City Lightsआखिरमा चिन्यौ ? : फिल्म ‘सिटी लाइट्स’को एक दृश्य 

प्रायजसो फिल्ममा आफ्नै लेखन र आफ्नै निर्देशन छ । कलाकारमा पनि त्यस्ता प्रतिभाशाली र कमेडीका हिरो छुट्ने कुरै भएन । सेतो सर्टमा टाई भिरेको, त्यसमाथि वेस्टकोट अनि कोट, ह्‌वार्लाङे सुरुवाल र हातमा बाँसको लर्किएको छडी । एउटा डल्ले झुसिल्कीरा कतै अलमलिएर बसे जस्तो छोटो जुँगा र डेक्ची जत्रो टोपमा ठाँटिएर चार्लीले आफ्नै परिचित शैलीमा ठुमुकठुमुक हिंड्न थाल्दा दर्शकको अनुहारभरि हाँसोको डन्डीफोर उम्रिइसक्छ ।   अझ कतिपय फिल्ममा त पृष्‍ठभूमिको सङ्गीत पनि चार्लीकै सुन्न पाइन्छ ।

chaplin-old.
Charlie Chaplin








जुँगे आइकनबिनाका च्याप्लीन र जुँगासहितका




कलाकारिता यात्रामा सङ्घर्षको कोलबाट पेलिएरै उनी खारिंदै गए । आमा हानाले डोर्‍याएको स्टेज शोको बाटोबाटै उनले चुलीतिरको गन्तव्य समाए । गायन प्रस्तुतिको क्रममा आमाको गलाले काम नगरेपछि पाँच वर्षे फुच्चे चार्लीले पहिलो पटक स्टेजमा दूधिला ओठ सुसेले । तर गायकमै उनको चाल रोकिएन, अभिनयमा उनको करिअर आठ वर्षको उमेरमा थालनी भयो । त्यसपछि पाँच फिट पाँच इन्चको केटोले चमत्कार गर्दै गयो ।
सन् १९७७ डिसेम्बर २५ मा बूढा चार्लीले देह बिसाए ।

जन्मदिनको हार्दिक शुभ कामना चार्ल्स !

14 April 2011

नयाँ वर्ष : केही सिस्नु मुक्तक

मोह

प्राइभेट जागिरेले सरकारीलाई हेरे जस्तै
डिट्ठा सा’बले विचारीलाई हेरे जस्तै
संविधानसभालाई सभासद्ले यसरी हेर्दैछन्,
दाइजोप्रेमी पुरुषले पियारीलाई हेरे जस्तै ।

आधुनिक प्रेमी

हिमाल जस्तै कञ्चन छ हाम्रो माया भन्थ्यो
जलवायु परिवर्तनले कालो चट्टान बाँकी रह्‌यो,
तैपनि वचनमा अडिग छु भन्दै आधुनिक प्रेमीले
’माया कहिले गोरो, कहिले कालो’को नारा भाकिरह्‌‌यो ।

प्रस्ताव

माइती छोड्दा तिमीले रुवाबासी गर्नू
घर भित्र्याएपछि रुने पालो मेरो
बिहेपछि मैं ‘बेड टी’ टक्र्याउँला
पिज्जाको बिल तिर्न नमान अप्ठेरो ।

नियमित आकस्मिकता

अनिकालमा त कनिका पनि भातकै सिता जस्तो
मन रमाएपछि यतै‍ रमिता उतै रमिता जस्तो
चुनावअघि नेताको वाणी अहा कति गहकिलो,
जीवनकै द्वार खोलिदिने भगवद् गीता जस्तो !

- - - - - - - - - - - - - - - - - - - - - - - - - - -

नयाँ वर्ष २०६८ को अवसरमा सबै पाठक, ब्लगर र आत्मीय साथीमा शुभ कामना !
मुलुकमा अमनचैन देख्‍न पाइयोस् ।

05 April 2011

जब पहिलो बच्चा जन्मियो

सुटुक्क बिहे गरेपछि बच्चा पनि सट्याकसुटुक नै जन्माउनुपर्छ भन्ने केही छ ? तर भयो त्यस्तै । जमाना विज्ञापनको छ भन्दैमा सबै कुराको प्रचार गर्नु पनि त भएन । नितान्त व्यक्तिगत भन्ने कुरा पनि हुन्छन् जीवनमा । लुकाएँ सबैबाट । तर तत्कालका लागि धक र सङ्कोचका कारण गुटुमुटु बनाएर राखे पनि एक न एक दिन त यस्तो अपूर्व खुसीको कुरा सबैलाई बाँड्नु नै थियो । आज त्यही मनको सिउनी धरर उधार्न मन लाग्यो ।

छोरी सबनम आई हाम्रो काखमा । छोराBaby वा छोरीको भेद कहिल्यै पलाएन मनमा, छोरी जन्मिँदा खुसीकै हाँसोमा रम्यौं हामी दुई  । बुढेसकालमा छोराले पालनपोषण गर्छ, छोरी त अर्काको घर गइहाल्छे भन्ने आदर्शको थेगो अब धमिराको दरबार भइसक्यो । राम्रो हुनु छ भने नौ डाँडापारि पुगेकी छोरीले पनि  सहारा दिन्छे । छोरोलाई पुलपुल्याएर पाले पनि उसैबाट पछि प्रताडित बनेका बाबु-आमा पनि देखेको छु मैले । आमा-बाबुको लागि छोरा हुन् या छोरी, आफ्नो मुटुको कुन र कतिऔं ढुकढुकी मूल्यवान् भने जस्तो हुन्छ जस्तो लाग्छ । फेरि हाम्रो कार्कीको वंशमा पहिलो सन्तानको रूपमा छोरी नै जन्मिएको रेकर्ड छ । केही गरी छोरा जन्मिए शिशु अवस्थामै अकालमै ज्यान गुम्ने गरेको छ । मेरो ठूलो दाइ बाँचेको भए पछिका हामी चार बहिनी-भाइलाई कति लाडप्यारले  हुर्काउँथ्यो होला ! हामी पाँच जना हुन पाएनौँ । ठूलो दाइ बाँचेको भए सन्तानको कोटा पुगेर मैं पो जन्मिदैन थिएँ कि ? चार-चार सन्तान कसरी पो हुर्काएछन् बा-आमाले ? झन् मेरा हजुरबा र आमाले आठ बहिनी छोरी र चार भाइ छोरालाई कुन साहसले जन्माए मेरी बास्सै ! हुन त जिम्बाल बा थिए ऊ बेला, खर्चबर्चको कुनै फिक्रि थिएन । नोकरचाकर पनि टन्न छँदै थिए । बूढाको मुटु पनि दह्रै रै’छ नि !

मेरो बुबाको जस्तै मेरो पनि पहिलो सन्तान छोरी नै जन्मिएकाले सायद हामीले त्यस्तो अनिष्‍टको सामना गर्नुपरेन । पत्‍नीको रूपमा प्रिय साथी नै बनेर घर भित्रिएकी संजिताको आडभरोसा अतुल्य छ यसमा । साथमा कति घामपानीबाट सिक्दै आएकी मेरी आमाको आडभरोसाले पनि मेरो पारिवारिक रथ सम्हाल्न निकै काम गर्‍यो । हामी सानै छँदादेखि पूजा-प्रार्थनामा पनि हाम्रै भलोको कामनामा समय खर्चने आमाको ‘लाटो माया’को जति बखान गरे पनि कमै हुन्छ ।   उहाँकी नातिनी सबनम खिलखिलाउँदै हुर्किंदैछे । दूधले बलिया हुँदैगएका उसको नरम गिजाभित्र कुनैबेला आफ्नो औंला कर्‍याङमर्‍याङ चपाइन पुग्दा अपार आनन्द पाउँछु ।

घर-व्यवहारमा त्यति नघुलेको मान्छे म । धेरै काँचो थिएँ । बिहे गरेपछि सही लिक समात्‍न थालेको, छोरी जन्मिएपछि अझै जिम्मेवार र अरूका लागि पनि बाँच्नुपर्छ भन्ने जीवनको अर्को सत्यसँग पनि एकाकार हुँदै आएँ । साँच्चै, खास खुसी आफू बाँच्नु र आफ्नै मात्र ख्याल गर्नुमा रहेनछ । मान्छे किन फूलबारी गोडमेल गर्छ, फूल फुलाएर सन्तुष्‍टिको मुस्कान मुस्काउँछ, बल्ल बुझ्न थालेको छु । आफू बाहिरको सौन्दर्य चिन्न र देख्‍न मान्छेलाई केही बेर लाग्दैन । बरू आफूभित्रको रहस्य झन्-झन् गहिरो हुन्छ । अरूको खुसीबाट आफूलाई भिजाउन सक्नुमा रहेछ जीवनको सार्थकता ।

“बिहे गर्नु र सम्बन्धमा बाँधिनु भनेको धेरै ठूलो कुरा हो, तिमी बुझ्दैनौ” कुनै समय मैले प्रेमको प्रस्ताव  गर्दा एउटी युवतीले ब्वाइफ्रेन्ड र श्रीमान्‌बीचको भेद खुलाउँदै मलाई अर्ती दिएकी थिइन् । तिनले यो ब्लग पढ्दैछिन भने म त्यस्तो श्रीमान् भएको चाल पाएर छक्क पर्नेछिन् । हो,  तिमी पनि बुझ्दैनौ युवती, एउटा पुरुष मनमा ‘घर’प्रतिको भाव र सम्बन्धप्रतिको लगाव कति गहन र प्रेमिल हुन्छ, तिमी बुझ्दैनौ । म त्यही सतहमा छु अहिले ।

म जस्तो अलि आलोकाँचो पति पाएर हतास भई कि संजिता ? यही चिन्ता थियो मलाई । एउटा ‘घर’ नै बसाउने मेलोमा मान्छे लाग्दा यस्तो चिन्ता स्वाभाविक रूपले लाग्दो रै’छ । मैले सही साथ दिएको छु कि यत्तिकै ‘रिक्त स्थान पुरयेत’ पति जस्तो हुँदैछु भन्ने व्याकुलता पैदा हुँदोरै’छ । तर मैले डर पाले जस्तो त्यस्तो हतास छाया उसको अनुहारमा अझसम्म देखेको छुइनँ । मैले पनि त असल पति र कर्तव्यनिष्‍ठ पिताको भूमिका निर्वाह गरेकै हुँ । गर्दै आएकै छु । बच्चाको स्याहार र रेखदेख कसरी गर्ने भनेर काठमाडौँमा डेराको बसाइमा दिदी सुत्केरी भएपछि निकै बुझ्‍न पाएँ । बच्चा हुर्काउनु कति कठोर तप हो, कति कलात्‍मक सास्ती हो, नजिकबाट देख्‍न पाएँ । दिदी-भिनाजुको डेरा नजिकै मेरो पनि डेरा थियो  । भिनाजु अफिस जाने भएकाले दिदीले खाना खान र लुगा धुन कोठा बाहिर केहीबेर निस्किँदा सुतिरहेको अवस्थामा पनि भान्जालाई हेरिदिनुपर्थ्यो मैले । ओढाइदिएको ओढ्ने र थाङ्ना कुन बेला हातले यता-उता चलाएर मुख छोपेर निस्सासिने हो कि भनेर खुब हेक्का राख्‍नुपर्ने !  यसैगरी सहयोगी भिनाजुले दिदीको हेरचाह र माया गरेको देखेर पनि त्यो छाप मालाई परेको हुनुपर्छ । कतिसम्म असल पारिवारिक भूमिका निर्वाह गर्न सकिने रहेछ, गर्नुपर्ने रहेछ भनेर सिक्दै आइयो । अहिले त्यही काम लाग्यो । 

बेलाबेला छोरीले पिच्च-पिच्च सुरुवाल र थाङ्ना भिजाउँदा सुकाउने वा धुने काम पनि गरेकै छु । आमाको दूधले कुनै बेला नपुग्दा पोषणयुक्त लिटो पनि बनाएकै छु । चुरा बजेको हात थला परेर राम्ररी खट्न नसक्दा अस्तव्यस्त भएको कोठा पनि बढारकुँढार र टिपनटापन पारेर सपक्क मिलाएकै छु । हरदम आँऽऽऽ गरेर र्‍याल चुहाइरहने समस्या टार्न र्‍याले बाँधिदिएर मात्रै के गर्नु, हेरिराख्नुपर्छ कुन बेला लफक्क भिजेर अर्को फेरिदिने बेला भइसक्छ । सू गराउन पनि कमोडमाथि लगेर सूऽऽऽ गर नानू भनेर मैले लेघ्रो नताने कति थाङ्ना बिताइदिन्छे केटीले !

एक बेला मैले  घरमा जुठो लोटाउँदै र थाल-भाँडा मस्काउँदै गर्दा मेरो काकाको छोरीलाई भनेको पनि थिएँ- “हेर् काली, मैले बिहे गर्ने केटीले सुख पाउँछे ।”  कुरा सुनेर बहिनी खितखिताएकी थिई । नभन्दै त्यसले त मैले भनेको कुरा भिनाजुहरू सबै जनालाई फैलाइसकिछे । हुन पनि अहिले मेरी बुढियालाई हाइसन्चो छ ! ज्यान झिरिप्पै भएर हुनु न खानुको दुब्लो छ, केही गर्ने तागतै छैन जस्तो देखिन्छ भनेर मलाई पहिला उसले गरिरहने गनगन पनि अहिले बन्द छ ।  पहिले त मलाई लोसे, सुस्त र ढङ्गबिनाको देख्‍ने उही थिई । परिआउँदा सब गर्न सक्छु भन्ने जवाफ अहिले व्यावहारिक रूपमा दिँदैछु र संजिताको मप्रतिको हेराइ पनि अचम्म सँगले फेरिएको छ अहिले । माया र भरले यसरी हेराइ बदल्दो रहेछ ।

- “तपाई‌ त मायाको कुरा लेख्‍न मात्र जान्नुहुन्छ कि क्या हो ?”,
बिहे भएर आएको महिना दिनमा उसले छेड हानेकी थिई ।

नहानोस् पनि किन  ? म खुल्नै सकिरहेको थिइनँ ऊ सँग । एउटै पलङमा सुतेको अजीव जोडी ३६ को कोणमा विपरीत रूपमा सुते झैँ हामी खै कहाँ हराएका थियौं । उसलाई म अनौठो लाग्ने, मलाई ऊ । मैले यसरी ब्लग लेख्‍दा ऊ चाहिँ उध्रिएको सलवार र कुर्ता सिउने ध्याउन्नमा घोरिएर बस्थी कुनामा । न सरोकार न जिज्ञासा जस्तो !

जे होस्, पछि भने छोरी चुम्बक भएर आई हामीबीच । हामी सायद फलाम-फलाम जस्तै ठोस थियौं । कुनै कारणबिना पनि टकराव भइरहने जस्तो । अहिले मेरो दुब्लोपनको क्षतिपूर्ति छोरी भएर आएकी छे, अस्ति एक साता अगाडि किनेर ल्याइदिएको जामा ठीक हुनै छाडिसक्यो । जहाँ म पहिले कुल्फी खान्थे,  भुटेको चना फाँको हाल्थेँ, त्यही बजार चिर्दै अहिले म छोरीको लागि लुगाफाटो ल्याउँछु । कति फरक छ !
सबनम थिगिरी थिगिरी, ताते गर लौ ! नानी एक वर्ष पुग्‍न लाग्दा संजिता र मेरो भाका अचेल उस्तै छ ।
………….
सायद यस्तैयस्तै खालको पति र पिता बन्नेछु कि म पऽऽछि !!!!
कहाँ छे होली मेरी संजिता ? छोरीको नाम सबनम नै राखूँला ? मैं पनि त्यस्तो सहयोगी श्रीमान् बन्न सकूँला ? पहिलो बच्चा जन्माएको त कुरा गरियो, तर जन्माउन चाहिँ कतिवटा जन्माउने ?

03 April 2011

समवेत धुन

हामीलाई
कति-कति हतार छ ….

उल्लासको पिङले
छैन भुइँमा खुट्टा
शताब्दीपछि आउने पर्वको स्वागतमा झैँ
तुलबुल-तुलबुल छ मन

कोही गाँसिरहेछन् खुब निमेकले
जुत्ताको माला
कोही खोजिरहेछन्
जगेडा राखेको कालो मोसोको अबीर
छँदैछ कि सिद्धियो,
खोई कुन सङ्ग्रहालयमा छ
राणाकालको छुलछुले कोर्रा
बिग्रिएका मेसिन जस्ता
जेलिएका दिमागको मर्मतमा
हामी खोल्नेछौं कारखाना

त्यो एक दिनभरि
आकाशको पिंढीमा
जूनले गट्टा नखेले पनि हुन्छ
अल्लारे घामले रातो-तातो भावमा
नसन्काए हुन्छ झिम्के आँखा
अँध्यारो गुफाको यो राज्यमा
हामी निकाल्नेछौं सामूहिक लाभा
सल्कनेछ राँको हत्केलामा पौरखको 
काँडा जस्तो उनीहरूको पैँतालाले
छिद्रछिद्र बनेको
फहराउनेछौँ झण्डा

कति-कति ...
हामीलाई हतार छ

समयको खच्चड चढेर
कुरुप-कुरुप चालमा आइरहेका
करोड मुटुहरूको धुनमा
ओट लगाइरहेका
एक जमात मान्छेलाई
हेर्नु छ राम्ररी
गर्नु छ नराम्ररी मर्मत

हामीलाई
हतार छ हतार ।

02 April 2011

तहसनहस निजी जीवन

काँचो धागोजस्तै नाता कतिखेर कुन कुरामा टुट्छ, पत्तै हुन्न । कुनै निर्जीव वस्तु भए बरू कसिएको गाँठो खिया परेर, कस जमेर अझै जब्बर बलियो बन्थ्यो होला । तर मानवीय सम्बन्ध यति नाजुक छ, विश्‍वास र भरको जग टिकाउ हुने कुनै ग्यारेन्टी हुन्न । प्लास्टिकका सामान जस्ता हाम्रा प्लास्टिक-मनहरू ।

सन्दर्भ यहाँ युवा पुस्ताकी चर्चित गायिका अञ्जु पन्त र गायक पति मनोजराज सेवाको दाम्पत्य सम्बन्धको होAnju-and-Manoj, जुन अहिले फाटोको मोडमा पुगेको छ । सेलिब्रेटीहरूकै पारिवारिक जीवनमा किन यस्तो तिक्तता र उतारचढाव आउँछ ? केही अगाडि वैवाहिक जीवन केही अगाडि नबढ्दै नायिका मनीषा कोइराला र पति सम्राटबीच गम्भीर खटपट भएको कुरा सार्वजनिक भएको थियो । त्यसअघि नायक निखिल उप्रेतीले छँदाखाँदाकी श्रीमती छाडेर नायिका सञ्चिता लुइँटेललाई अर्धाङ्गिनीको रूपमा अँगाले । यस्तै नायिका रञ्जना शर्मा र निर्देशक श्याम भट्टराईको वैवाहिक सम्बन्ध बीचमा तनावले टुटेर पछि फेरि जोडिएको ‘फिल्मी कहानी’ पनि रोचक रह्‍यो नेपाली रजतपटमा ।

सेलिब्रेटीहरू चर्चाको केन्द्रमा रहने भएकाले उनीहरूबारेको सानोतिनो प्रसङ्गले समेत चर्को रूप लिने गर्छ । सर्वसाधारणको निजी जीवन खलबलिए पनि ती चर्चा बाहिरै रहेर सेलाउँछन् । भनाइ नै छ, लोग्ने-स्वास्नीको झगडा परालको आगो । झगडा र विवाद नै हो सायद पारिवारिक चुल्हो तातो बनाइराख्‍ने अगुल्टो । अति नहुन्जेल कुनै पनि कुराले अहित गर्दैन । सँगै रहेका भाँडाकुँडाहरू पक्कै पनि यता-उता ठोक्किएर बज्छन् । यसैले पारिवारिक व्यवस्थापन मिलाउने क्रममा हुने विवाद र झोंकाझोंक सामान्य नै हुन्छन् । तर चर्चाभित्र हुने भएकाले मात्रै सेलिब्रेटीहरूको पारिवारिक कलह सार्वजनिक हुने कुरा पूर्ण सत्य होइन । मानवीय अहङ्कार र पूर्वाग्रहले बिगार्ने हो सबै कुरा । अर्कोतर्फ सम्बन्धमा केही समय रहेपछि नयाँपन पाउन छाडेपछि त्यसबाट अघाउने र बन्धनको रूपमा लिने संस्कृति पनि बन्दैगएको छ । फलस्वरूप सम्बन्ध तोड्नु नै स्वतन्त्रताको एकमात्र द्वार हो भन्ने भावना विकसित हुन थाल्छ । सम्बन्धमा रहेपछि साथीलाई आफू जस्तै बनाउन र पाउन खोज्नु, आफ्नो विचार लाद्‌नु र आफ्नोबारे आफूले जत्तिकै गहन रूपले सोचिदियोस् भन्ने अपेक्षाले नै सङ्कटलाई जन्म दिन्छ ।

एउटा साधारण मान्छे चर्चाको शिखरमा पुग्ने क्रममा उसले पारिवारिक नसनातालाई टेक्दै गएर मात्र त्यो प्राप्‍ति सम्भव हुन्छ भनिन्छ । मलाई पनि यस्तै लाग्छ । उँचाइमा मान्छे यत्तिकै पुग्दैन, धेरै कुराको बलि चढाएको हुन्छ उसले यात्रामा । त्यसका लागि आफ्नै घर-परिवार र साथीभाइको सम्बन्धलाई लोप्पा ख्वाउन पछि पर्दैन । अधिकांश यस्तै प्रवृत्तिका हुन्छन्, सायद गर्नुपर्ने पनि त्यही हो कि ? सबै कुरा ख्याल गर्न र कसले के भन्ला भनेर फिक्री मान्दै अरूहरूको चित्त बुझाउन थाल्यो भने खुड्किलो चढ्न तागत नै नआउला । धक फुकाएर, लाज पचाएरै अचेल सर्वोच्च सत्ताको दौड हुने गर्छ । यसैले जीवनको लक्ष्य हात पार्नका लागि खटपट, रिसको आवेग, अस्वस्थ प्रतिस्पर्धा र बदलाको भावनाले जस्तोसुकै नरम बन्धनलाई पनि कुल्चिन तयार हुन्छ ।

सेलिब्रेटीहरूको हकमा यो कुराले झन् पखेटा फिंजाउँछ । कलाकार, गायकका प्रशंसकहरू आफ्ना प्रियको सफलता देखेर जिब्रो टोक्छन्, आदरले टाउको झुकाउँछन् । तर त्यसका लागि आफ्नो आदरणीय कलाकार र गायकले कतिसम्मको मिचाहा प्रवृत्ति अँगालेर आएको छ, छिपछिपेसम्म कुरा थाहा हुन्न । थाहा भयो भने सायद त्यो आदरको डिग्री धेरै हदसम्म चिसिँदो हो । मान्छेलाई घर-परिवारसँग सफलताले पनि दूरीको रेखा कोर्दै लैजान्छ । मान्छे सफलतातर्फ बढ्न थालेपछि ‘तिमी त बदलियौ यार’ भनेर अर्कै नजरले हेर्ने हाम्रो समाजको आँखा पनि अलि छुट्याउँदै लैजाने खालकै छ । सार्वजनिक चर्चा बटुल्ने र व्यापारिक लाभ लिने नाममा आत्मीयतालाई चटक्कै भुल्ने सहरी सभ्यताको गोडमेलमा लागेका छौं हामी । जीवनसाथी आफूभन्दा डेग अगाडि बढेको नसहने पुरुष अहम्‌को रोगी मानसिकतालाई पनि भाइरस जस्तै फैलाउँदैछौं ।

पति-पत्‍नीको आतमीयतालाई शङ्का र अहङ्कारले पनि खाने गर्छ । श्रीमती आफूभन्दा जान्नेसुन्ने र बढी कमाउने हुँदै गई भने असह्‌य हुने । कोही मान्छेसँग देख्यो भने चरित्रमै आशङ्का गर्ने । यो आम रूपमा पुरुष र महिला दुवैको रोग हो ।  झन् घर छाडेर देश-विदेशको यात्रामा गइरहने कलाकारहरूले आक्षेप र भाँडभैलो बढी नै सामना गर्नुपर्छ । सम्बन्धित क्षेत्रको परिबन्द र परिस्थिति नबुझ्ने परिवार र पेसागत सम्मान नगर्ने जीवनसाथी हुँदा मरेबराबरको सास्ती झेल्नुपर्छ । त्यस्तो सास्ती झेल्नुभन्दा एकल जीवन नै सहज हुने ठानेर धागो चुँडाउन पछि पर्दैनन् जोडीमध्ये एक । तर एउटा व्यक्तिको प्रकृति पनि सफलताको मातले उफ्रिने खालको हुन्छ । सफलताको लट्ठयाइले ऊ समाज, परिवारसँग नभिज्ने खालको हुन थाल्छ । ऊ समाजभित्रै रहेर पनि बेग्लिँदै जान्छ । केही रहरवश, केही बाध्यतावश ।

अञ्जु र मनोजको जीवनमा के त्यस्तो भयो, दुवैले मूल्याङ्कन गरेका होलान् । अर्को व्यक्तिलाई बुझ्न नसक्ने रोग सायद मेलमिलापको यात्रामा भिलेन हो । त्यो भिलेनले आपसी सम्मान गर्नुपर्ने ठाउँ घटाउँदै लैजान्छ, आक्रोश र दिक्दारीको बोझ थुपार्न थाल्छ । अनि कुनै मोडमा एक्लै बाँच्न सक्दिनँ भन्ने मुखबाट अब सँगै बस्न सकिँदैन भन्ने नमिठो धुन निकाल्छ । यस्तो भएपछि छुट्नु नै ठीक हुन्छ । दुई जनाको कुरा मिल्नुभन्दा महत्वपूर्ण कुरा एउटा व्यक्ति आफैंमा कति ठीक अवस्थामा छ र खुसी छ भन्ने हुन्छ । व्यक्तिलाई ठीक छ, राम्रो अवस्थामा छ भने बल्ल युगल यात्राको कुरा आउँछ । सेलिब्रेटीहरूमा ट्राजेडीको शृङ्खलाको अन्तिम पात्र अञ्जु र मनोज नै बनून् । यी दुईको पनि सकभर वियोग हुने परिस्थिति नआओस् । कारण, सेलिब्रेटीलाई परेको असरले हाम्रो कलाकारी र साङ्गितिक फाँटले पनि मूल्य चुकाउन के बेर ? सेलिब्रेटीको सिको गर्ने हाम्रो किशोर तथा युवा पुस्ताले पनि के सिक्लान् ?