Subscribe:

Ads 468x60px

21 February 2011

नगरामा समयचेतको सुर

लेखन सक्रियताका हिसाबले पछिल्लो समयमा विधागत रूपमा गजलमा धेरै कलम चलेको पाइन्छ । त्यसमा पनि युवा पुस्ताको ठूलै जमात गजल सिर्जनामा एकोहोरिएको छ । फारसीबाट उर्दू हुँदै हिन्दी साहित्यमा भित्रिएको गजललाई हामीकहाँ आयातीत विधा भनेर हेलाहोचामा पारिए पनि नेपाली साहित्यमा यसको अभ्यास बढेसँगै प्रयोग र सम्भावनाको आयाम पनि झ्याङ्गिँदै गएको छ ।

यस्तै मेसोमा युवा गजलकार आरके अदिप्त गिरिको गजलकृति 'नगरा घन्कन्छ'Nagara By RK पाठकमाझ आएको छ । गजलकारले कृतिलाई विभिन्न पाँच शीर्षकमा बाँडेर शीर्षकको भाव र विषयवस्तुअनुसारका गजलहरू त्यसभित्र समेटेका छन् । विविध परिपाकका गजलहरूलाई धर्तीको धून, जीवनको लय, इतिहास-बोध, प्रणयको नक्सा र अन्तिममा गजल र टुँडिखेल भन्ने शीर्षक जुराएका छन् । शृङ्गारिक रसले भिजेका गजलमा नाबालक झैँ निर्दोष र कोमल बन्ने गजलकार विकृतिको भण्डाफोर र विसंगतिलाई प्रहार गर्नुपर्दा शब्दलाई कडा अस्त्र बनाउँदै जुर्मुराउँछन् । कतै भने जीवनको उच्च मूल्यबोध र अमिट सांसारिक पाटोलाई भोक्ताको हैसियतमा बसेर दार्शनिक तवरमा बखान्छन् कृतिकार ।

शिखर देखेर शिर झुकाउनु पर्दैन
दुनियाँ म देखिरहेछु बुझाउनु पर्दैन ।

समाजका यथार्थ र व्यक्तिको मनोभावना केलाउने गजलकारले जे कुरा भएको हो र भन्नुपर्ने हो, कुनै जाल नबुनीकन सोझै अभिव्यक्त गरेका छन् । लहरा झैँ जथाभावी बेरिएको र तीतेपातीको जुनी बाँच्दै भेलमा हुत्तिएको जिन्दगीलाई गजलका सेरहरूमा निकै जतनसाथ ‘उद्धार’ गरेका छन् । बोलीचालीको भाषालाई समात्ने क्रममा उर्लिएका सेरहरू नाङ्गो सत्य बनेर पाठकीय दिमागमा चक्कराउँछन् । त्यस्तो पिराहा जिन्दगीको बयान क्रममा निराशाको सिरेटोले लुगलुग काँपेको कतै पाइए पनि सजग हुने र आशाको तातो नजर दौडाउनेतर्फ गजलको भावक पात्रलाई गजलकारले मुक्त छाडेका छन् ।

अँध्यारोलाई चिर्ने यौटा उज्यालो छ साथी
जिन्दगानी हिँड्ने बाटो भिरालो छ साथी ।

आफ्नै पहाड फेदी भए पुग्छ हामीलाई,
र्स्वर्ग जाने बाटो हाम्रो उकालो छ साथी ।

मानवीय संवेदनाको जरो खोतल्दै सम्बन्धका हाँसो र पीडाको नाडी छाम्दै राष्ट्रिय अस्मिताको रक्षा र परिवर्तनको लागि आह्वान गर्नमा सङ्ग्रहका गजलहरूले संवेदनशीलता र क्रान्तिकारितालाई जोर पाइला बनाएका छन् । यसैले सन्तुलन बनेको छ । समयचेतलाई सङ्ग्रहका धेरैजसो गजलले मुखरित गरेका छन् । प्रायजसो गजल काफिया र मात्रामा दोषरहित रहँदारहँदै पनि गजलका सेरहरूमा निर्बाध प्रवाह दिनमा भने अझै कसरत गरेको भए वेश हुन्थ्यो भनेर लाग्ने ठाउँ पढ्दै जाँदा निकै भेटिन्छन् । 

RK-Adipta-Giriसिङ्गो संग्रहमा गजलकारको तार्किक शैलीको छनक मिलिरहन्छ । उनको यही विशेषताले पाठकले कतिपय गजलमा कलाको पाटो शून्य भएको पनि अनुभूति गर्न सक्छ । सर्जक वैचारिक प्रखरतामा बग्दा कलात्मक आयाम छाया पर्नुलाई केही हदसम्म माफी दिन सकिए पनि अप्ठेरो शब्द विन्यासको सिलसिला भने अधिकांश गजलमा झेलिरहनुपर्छ पाठकले । त्यस्तो जटिल शब्दविन्यासले अर्थ सम्प्रेषणमा समेत कठिनाइ पैदा गरेको पाइन्छ, फलतः सरस र सुललित हुनुपर्ने गजलमा रुखोपनले कब्जा गरेको भेटिन्छ । जसले गर्दा वजन गुमाएर कतिपय गजल फितलो भएको छ । लामो साहित्यिक सङ्गतिमा रहँदै आएका र थुप्रै साहित्यिक संस्थामा आबद्ध रही सक्रियताको हिसाबले पनि उत्तिकै गतिशील रहेका र्सजकको कृतिमा नवकविको जस्तो विशेषता पक्कै पनि अपेक्षित हुन्न ।

दुरुहता र अभिव्यक्तिको अमूर्त शैली नै अब्बल साहित्य हो भन्ने सोचाइका र्सजकसँग हातेमालो गर्ने रूपमा कतिपय गजलमा उनी कोरिएका छन् । कलाको नरम लेपभित्र पनि विचारको चट्टानी हतियार अँटाउन सकिन्छ भन्ने सोचदेखि गजलकार टाढै बस्न रुचाएको हो कि भन्ने अनुमान गर्नुपर्ने हुन्छ ।

नयाँ पुस्तालाई कतिपय सन्दर्भमा काँचो इँटा भनेर पाको पुस्ताले आकलन गरिरहँदा आरके अदिप्तको पुस्ताले गजलको भेलबाढीमा सिपीहरूको खोजीमा पनि गहिरिनु आवश्यक भइसकेको छ । आशलाग्दो पुस्ता अब भरपर्दोमा रुपान्तरण हुनुपर्ने खाँचो छ । त्यसैमा यो पुस्ताको परिचय र नेपाली साहित्यको गहनताको रहस्य अँडेको छ ।

----------------------------
कृति : नगरा घन्कन्छ
स्रष्टा : आर. के. अदिप्‍त गिरि
विधा : गजलसङ्ग्रह
प्रकाशक : ऋतुरङ्ग साहित्य प्रतिष्ठान
संस्करण : प्रथम, २०६५
पृष्ठ : १४८
मूल्य : रु. १५० ।-

No comments:

Post a Comment