March 4, 2011

संयोग मात्र हुनेछ

Old-'U'-for-Poemहेर्नू बुढेसकालमा -
अनेकौँ घाम-पानी झेल्दै
जोगाउँदै लगेको आफ्नो अनुहार हेर्नू
अनुहारको डायरी पल्टाउँदा
निधारको छत-छत
गालाको कौसी-कौसी
मेरो चुम्बनकै ओसले
गल्दै-झोल्लिँदै गएको पाउनेछ्यौ

मुसार्दा टसमस हुने छुइनँ
पखाल्दा पनि
चाउरीहरूमा गढेरै बस्नेछु

खै, के-के भएथे उतिबेला
मीठा
नमीठा

खोज्नेछ्‌यौ सायद
नाति-नातिनाको आँखामा
मेरो निर्दोषपना

नभेटेर
थाक्छ्‌यौ पनि होली ….
जीर्ण ज्यान
झन् बूढी हुँदी हौ

पऽऽछि कुनै दिन
मेरो मायाको निशानी
भइदेला तिम्रो लागि
पछुतोको गहिरो-गहिरो डाम ।

1 comment:

  1. लोभलाग्दो छ तपाइको कबिता लेख्ने शैली ।

    ReplyDelete