March 12, 2011

शान्ति-सुरक्षा कुन चरीको नाम ?

प्रहरीको बाक्लो तैनाथी हुने काठमाडौँको सुन्धारास्थित केन्द्रीय कारागारमा बिहीबार मध्याह्न गोली चल्यो ।  त्यो पनि कैदीलाई भेट्न गएका विदेशीबाट । कन्ट्र्याक्टमा मान्छेको ‘सफाया’ गर्ने भारतीय नागरिक जसजित सिंहले नेपाली सुरक्षा संयन्त्रको धज्जी उडाइदिए । कारागारको गोलघरमा कैद भोगिरहेका सञ्चार उद्यमी तथा जाली भारतीय नोट र खैरो हेरोइनको कारोबारमा संलग्न आरोपी युनुस अन्सारीलाई हत्या गर्न उनी नेपाल छिरेका रहेछन् । कैदीसँग परिवार र वकिलले मात्र भेट्न पाउने नियम विपरीत कुख्यात अपराधी चार्ल्स शोभराजसँग भेट्न दिन नेपाल प्रहरीले 'अतिथि देवो भव:’ को सूत्र अवलम्बन गरेछ सिंहप्रति !  कारागारमा कैदीको हत्या प्रयास हुने अवस्था आउनु चरम लापरवाही र निर्लज्जताकै पराकाष्ठा हो ।

सुरक्षा व्यवस्था बलियो भएको भनिएको ठाउँकै त्यस्तो हालत छ भने अन्यत्र  के आश गर्ने सर्वसाधारणले ? कैदी-बन्दीलाई भेट्न जाने प्रत्येकलाई विभिन्न चरणमा चेकिङ गरेर मात्र भित्र पठाइने कारागार पनि कुनै भीडभाडयुक्त खुला चोक जस्तै भएछ, जहाँ कति बेला के हुन्छ भन्नै सकिन्न ।

केन्द्रीय कारागारमा कैदी भेट्न जाँदा आगन्तुकसँग भएका मोबाइल, चुरोट, लाइटर जस्ता सरसामान समेत बाहिरै राखेर  भित्र पठाइने नियम छ । प्रहरीले भने सुटर सिंहले ‘भित्री कट्टुमा गुप्ताङ्ग नजिकै हतियार राखेर लगेकाले थाहा नपाएको’ हास्यास्पद तर्क दिंदै आफ्नो बचाउ गरेछ । अजब देशको गजब चाला भन्या यही होला । संवेदनशील ठाउँमा त्यसरी आँखा चिम्लेसरि पेस्तोलधारीलाई प्रवेश मिल्ने अवस्था हुनुमा सुरक्षा अंगको सहभागिताको आशङ्का पनि उत्तिकै देखिन्छ । यसमा उच्च राजनीतिक नेतृत्वसम्मको संलग्नता र आर्थिक लेनदेनको पनि हात हुन सक्छ ।

प्रहरीलाई मात्र दोष दिनु पनि अल्पग्यान हुनेछ । प्रहरीले एक त अपराधीलाई पक्राउ गर्नैphalano- march11 सक्दैन । राजनीतिक संरक्षणको सुनौलो पिंजडामा सुरक्षित सास फेर्छन् अपराधी महोदयहरू !केही गरी प्रहरीले पक्राउ गरे पनि राजनीतिक दबाब र करकापको अगाडि बँधुवा मजदुरको हविगतमा रहेका प्रहरी-प्रशासनको केही जोर चल्दैन । राजाको भोटे कुकुर फुक्यो भनेजस्तै अपराधीले उन्मुक्ति पाइहाल्छन् । प्रहरी-प्रशासनले आफूलाई निकटस्थ र सहयोगी दर्शाउन पनि सरकारको चाकाचुलीमा फेरबदल भइरहने अनुहारप्रति निहुरमुन्टी न गरेर रिझाउने दास प्रवृत्ति पनि अचाक्ली छँदैछ । यसैगरी सुरक्षाको प्रबन्ध पाउन पनि यत्तिकै चानचुने मान्छेले आशै नगरे हुन्छ । असुरक्षित महसुस गर्नेको राजनीतिक पहुँच छैन भने कामै छैन । विशेष रेखदेख र निगरानी पाउन राजनीतिक भक्त हुनुपर्छ । पीडितले न्याय तथा राहत पाउनु छ भने पनि नेताको लाहाछापबिना लछारपाटो लाग्दैन । यहाँ बाँच्न पनि राजनीतिको टेको चाहिने, न्याय नामक ‘दुर्लभ प्रजाति’को दर्शन पाउन पनि राजनीतिक आशीर्वाद हुनुपर्ने ! धन्य नेपाल !!

अपराधी गिरोह तथा संगठनले बाहिरफेर निशाना दाग्ने क्रममा सुरक्षा व्यवस्था चुस्त बनाउन नसक्ने सुरक्षा निकायको हुतिहारापन देखिएकै हो । यसमा केही नौल्याइँ छैन । तर सर्वसाधारण र जेलका कैदीसम्म पनि असुरक्षित हुने कुरामा सुरक्षा निकायको हेलचेक्य्राइँ र अझ मिलेमतो नै कतिसम्म क्षम्य हुन सक्ला ? सोचनीय छ ।

* कार्टुन : राजेश केसी / नागरिक दैनिक

No comments:

Post a Comment