March 28, 2011

साँच्चैका महादेव

न्दिरै मन्दिरको देशको रूपमा परिचित छ हाम्रो नेपाल ।  जहाँ देवीदेवताको मूर्तिका खचाखच भीडको हिसाब गरिसाध्य छैन । हिन्दू आख्यानमा तेत्तीस कोटि देवताको चर्चा गरिएको पाइन्छ । तीर्थ-व्रत गर्न थाल्यो भन्ने सिङ्गो जीवन त्यसमै बित्दो हो । हामी युवा भने धार्मिक आस्थाले भन्दा बढी घुमफिरको गन्तव्यको हिसाबले धार्मिक थलो चहार्छौं ।  पूजा-आराधना गर्ने जिम्मा पाकाहरूको भागमा भन्या जस्तो छ । अनुभवको आरनमा पाक्दै गएर बुढेसकालमा ‘आखिर श्रीकृष्‍ण रहेछ एक’ भनेर चेत फिर्ने भएकाले हो कि ?

Shiva-1

एसियामै भगवान् शिवको अग्लो मूर्ति भनेर प्रचारित भक्तपुरको साँगास्थित शिवमूर्तिसँग साक्षात्कार गर्ने जाने मेसो बल्ल मिल्यो । भक्त होइन, घुमक्कड भएर गइयो । निकै भीमकाय रहेछ मूर्ति । पहाडको टुप्पोमा केही खुला परिसर घेरेर बगैंचासहित निर्माण गरिएको ठाउँ मनमोहक छ । काठमाडौंबाट बनेपा जाँदै गर्दा सडकबाटै प्रस्ट देखिने उँचाइमा छ मूर्ति ।

Shiva-2

डाँडामा पुगेर तलतिर वरिपरिको फाँट हेर्नु अर्को रमाइलो पाटो लाग्यो । भगवान्‌को दर्शन गर्न जाने श्रद्धालुहरूको उद्देश्‍य र सरोकार मूर्ति मात्र हुन सक्छ, तर घुमन्तेहरूको लागि ताजगी पाउने नयाँ  ठाउँ हो साँगा ।

Shiva-3

घुम्न जानेहरूमध्ये धेरैजसो चाहिँ ठिटा‍ठिटी जोडी भएर पुग्दा रहेछन् । एक्लै टहलिन जानेहरू कार्टुन बन्ने खतरा ! अचेल राजधानीभित्रै विभिन्न देवालय र मन्दिरमा प्रेमालाप गर्न पुग्ने ठिटा-ठिटीमध्ये कतिजना आपत्तिजनक अवस्थामा भेटिएको खबर सुनिन्छ । पशुपतिनाथ मन्दिर परिसरमा त पशुपति क्षेत्र विकास कोषले त्यस्ता अभद्र जोडीलाई पक्रिएर जरिवाना नै गर्‍यो । यस्तो अवस्थामा साँगा त झन् भीडभाडभन्दा अलि परको ठाउँ, जोडीहरूको घुमघाम केन्द्र र प्रेमको साक्षी बन्ने नै भयो । तर एक्लै साँगा पुग्नुभए पनि नआत्तिनुस्, तपाईँभित्रको यायावरप्रेमी मन सधैं तपाईँको साथीको रूपमा रहने नै छ । जो एक्लो छ, उसको यो सिङ्गो प्रकृति र यहाँका सम्पदा छन् ।

Shiva-4

घुमिसकेर थुम्कोबाट मूलसडकतिर ओर्लिँदा अर्कै बाटो एकछिन हिंड्न मन लाग्यो । धुलौटे बाटो खेतका फाँट हेर्दै हिंड्दा गाउँतिर पो लरबराउँदैछु जस्तो अनुभूति भयो । यो चैत मासमा भने गहुँको बाली झुलिरहेको हुँदो रहेछ साँगातिर । किसानको नीलो पसिनाबाट सिर्जित खेतीको हरियो बाछिटाले मनसम्मै भिजायो । काठमाडौं खाल्डोभित्र हराभरा चिज सिला खोजे झैं गर्नुपर्ने अवस्थामा हरियालीको बाढी नै आँखाभरि उर्लिन आयो ।

Green-Wheat

बस चढ्ने बेला पनि फरक्क शिर मोडेर साँगा थुम्कोतिर हेर्दा ठिङ्ग उभिएरै दर्शन दिइरहेछन् शिवजी । विराट् स्वरूपमा ठाँटपूर्वक उभिएका साँच्चैका ‘महादेव’ न ठहरिए, पर पुगिसक्दा पनि पछ्‌याउन छाडेका थिएनन् ।

2 comments:

  1. लौ धाइबा जी - तपाइँ एक्लो नमान्नुस न -म पनि त सँगै थिए नि ...
    अनि हामी जस्ता एक्लै भएकाहरु'पो डुल्न जानु पर्छ जस्तो छ .... के थाहा महादेवले फ्याट जोडी मिलाएर पठाइ पो'दि हाल्ने हुन् कि ??(हाहा .........)

    ReplyDelete
  2. त्यो बाटोबाट धेरै पटक ओहर-दोहर गरे पनि 'माथी उक्लेर' "महा महादेव" हेर्ने साइत जुरेको छैन् । साँच्चै भन्नु पर्दा आक्कल झुक्कल पत्र पत्रिकामा फोटोहरू देखे पनि यत्ति प्रष्ट तस्विर भने यही ब्लगमा देखेँ । यो फोटो हेरेपछि "माथि उक्लने" ईच्छा झन दह्रो भएको छ । अर्को पटक बाटो पर्दा वा बाटो पारेरै भए पनि जाने छु :)

    ReplyDelete