April 15, 2011

नयाँ वर्ष : केही सिस्नु मुक्तक

मोह

प्राइभेट जागिरेले सरकारीलाई हेरे जस्तै
डिट्ठा सा’बले विचारीलाई हेरे जस्तै
संविधानसभालाई सभासद्ले यसरी हेर्दैछन्,
दाइजोप्रेमी पुरुषले पियारीलाई हेरे जस्तै ।

आधुनिक प्रेमी

हिमाल जस्तै कञ्चन छ हाम्रो माया भन्थ्यो
जलवायु परिवर्तनले कालो चट्टान बाँकी रह्‌यो,
तैपनि वचनमा अडिग छु भन्दै आधुनिक प्रेमीले
’माया कहिले गोरो, कहिले कालो’को नारा भाकिरह्‌‌यो ।

प्रस्ताव

माइती छोड्दा तिमीले रुवाबासी गर्नू
घर भित्र्याएपछि रुने पालो मेरो
बिहेपछि मैं ‘बेड टी’ टक्र्याउँला
पिज्जाको बिल तिर्न नमान अप्ठेरो ।

नियमित आकस्मिकता

अनिकालमा त कनिका पनि भातकै सिता जस्तो
मन रमाएपछि यतै‍ रमिता उतै रमिता जस्तो
चुनावअघि नेताको वाणी अहा कति गहकिलो,
जीवनकै द्वार खोलिदिने भगवद् गीता जस्तो !

- - - - - - - - - - - - - - - - - - - - - - - - - - -

नयाँ वर्ष २०६८ को अवसरमा सबै पाठक, ब्लगर र आत्मीय साथीमा शुभ कामना !
मुलुकमा अमनचैन देख्‍न पाइयोस् ।

1 comment:

  1. एकदमै सन्तुलित, सटिक र सुन्दर मुक्तकहरू ! । सिस्नु त सिस्नु नै छन् तर गैँडाका छाला भएकालाई यसले पनि के घोच्ला र है !

    ReplyDelete