April 17, 2011

ध्यानबाहिरको धुन

 Vipassana meditation is a way of self-transformation through self-observation.

vipassana-meditation

५ सय वर्षभन्दा अघि गौतम बुद्ध‍ले थालनी गरेको मानिने ध्यानविधि विपश्यनासँग गाँसिन पाउने हामी आधुनिक प्राणी धन्य हौं । ध्यान भन्दैमा सांसारिक जीवनसँग चटक्कै साइनो तोडेर जङ्गलको एकान्तवासलाई अपनाउनुपर्ने हाउगुजीले पनि छोपेको छ कतिपयलाई । तर सामाजिक जीवन परित्याग नगरी गृहस्थ नै रहेर विपश्यना जस्ता जीवनका गाँठा खोल्ने ध्यानको लाभ लिन पाइने हुनाले लोकप्रियता बढ्दै गएको छ । 

विपश्यना ध्यानको कुरा गर्दा सामान्यतया १० दिनको प्याकेजलाई स्टान्डर्ड मानिन्छ । आफ्नो शरीरकै संवेदनालाई अनुभूति गर्दै तीप्रति न आशक्ति न वैरभाव राख्‍नु नै यो ध्यानको मूल मर्म हो ।  बस्, जे-जस्ता भाव उत्पन्न हुन्छन्, नियालिरहने र होशपूर्वक रहने । ध्यानको टस बसेपछि दैनिक जीवनमा पनि ठीक यस्तै प्रणाली आफूमा विकसित हुने हो ।  कुनै पनि राम्रो वा नराम्रो कुराप्रति न मोह, न पूर्वाग्रहपूर्ण उत्तेजना, सम भएर नियाल्ने मात्र । १० दिनको विपश्यना शिविरमा पञ्चशीलको पालना गर्दै वाणीमा समेत लगाम दिएर आर्यमौन कायम राख्‍दा म जस्तै धेरैलाई उकुसमुकुस हुन सक्छ/भयो होला । तर बिस्तारै त्यही अनुशासन र पावन्दी नै पो खास स्वच्छ र सन्तुलित जीवन रहेछ भन्ने अनुभूतिगत चेत खुल्दै जाने रहेछ । दुई वर्षजति अगाडि पहिलो पटक १० दिने ध्यानमा जाँदा शिविरबाट फर्किने दिन ठूलै वियोग खेप्दैछु भने झैं मनलाई  उदासीले बेरिरह्‌यो ।

ध्यान शिविरमा बसेर निश्‍चित अवधिको ध्यानविधिको स्वाद चाखेर जीवनले कोल्टे फेरिहाल्ने भने होइन । असली ध्यान साधना त शिविरबाट फर्केर पूर्ववत् सामाजिक जीवनमा परिचालन भएपछि सुरु हुन्छ । ध्यान भनेको बाली रोपेर पाकेपछि एकैचोटि काटेर खाउँला भन्ने चिज होइन । यो त नियमित अभ्यास र जीवनपद्धति नै हो । एकपटक ध्यान शिविरमा बसेर ध्यान सिक्नासाथै चमत्कारको आशा राख्‍ने अल्छेहरूको हालत मेरो जस्तो हुन्छ ! शिविरबाट फर्केर दैनिक जीवनको मेलोमा तनावयुक्त भेलबाढी झेल्ने क्रममा ध्यान गर्ने कुरा कता पर्छ, नियमित रुटिन लथालिङ्ग भएर कहाँ पुग्छ केही ठेगान हुन्न । फलस्वरूप ध्यानमा जानुअघि जसरी किरिङमिरिङ फोहोरी अक्षरयुक्त कालोपाटी जस्तो थियो मन-मस्तिष्क, त्यही साबुत हुन आइपुग्छ ।

दाल-भात-डुकु जस्तो जीवनको प्राथमिकतामा गणना हुन नसक्दा ध्यानको आनीबानी पछिल्लो नम्बरमा आउने होइन लगभग कट्टी नै हुने रहेछ । जस्तो कि, मैले ध्यानमा निरन्तर आफूलाई टस बसाउन सकिनँ । जीवनका आरोह-अवरोहका क्रममा ध्यानको आधी-एक घन्टे रनाहा बोझिलो ‘जागिर’ जस्तो भइदियो सायद, राजीनामा दिनु नै वेश लाग्यो । फर्केर आएपछि केही समय त गरें, तर दिनदिनै पलेंटीमा आफैंलाई कुरिबस्न सकिएन । आफैंलाई धोका दिने प्रेमी भएँ म ! नत्र त ध्यानबाट फर्केपछि नै हो, मैले सबैको मङ्गल कामनासहित आफ्नो ब्लगको नाम बदलेर ‘क्याफे मङ्गलम्’ राखेको थिएँ । ध्यानको प्रतिफलस्वरूप नै संसार क्षणभङ्गुर छ, सबै कुरा अनित्य हो भन्ने बोध भएर पनि त्यसलाई ‘संस्थागत’ गर्ने प्रक्रियामा अलि लोसे भइयो ! कामकाजी दुनियाँ भन्यो, साथीभाइ भेटघाट भन्यो, आफन्तप्रतिको दायित्व पूरा गर्ने दौडमा लाग्यो, त्यत्रो १० दिन खोरमा ओथारो बसेझैं कमाएको ध्यान त भुसुक्कै ।

ध्यानभित्र छिरेर जीवनको खुसी र शान्ति यसैमा छ भनेर चिनेर मात्र पुग्दैन । त्यसलाई बोध नै गरेर आत्मसाक्षी राखी अभ्यासलाई घोटिरहनुपर्ने रहेछ, चाहे पृथ्वी नै कोल्टियोस् । नत्र हैसियतबिनाको स्वादे जिब्रोलाई एकदिन पाँचतारे होटलमा चौरासी व्यञ्जन चखाए झैं साधनाको सोचबिना ध्यान शिविर चहार्ने काम जीवनलाई विशृङ्खलित तुल्याउने उपक्रम मात्र बन्न पुग्छ । एकचोटि ध्यानको केस्रा छोडाएपछि ध्यानबाहिरको धुनमा दरफराइरहेको अहिलेको मेरो मनले त्यही भन्छ । जुन धुनमा कुनै सङ्गीत छैन, हल्लाखल्लाको यातना मात्र छ । ध्यानमा पूर्ववत्  धैर्य नसँगाली यो यातनाबाट अब छुट्टी पाइन्न पनि ।

सबको मङ्गल होस् ।

* तस्बिर : www.phivelogic.com 

1 comment:

  1. authentic and wonderful -both writing & experience

    ReplyDelete