Subscribe:

Ads 468x60px

17 June 2011

रुने कला

न्टलापुर घामको रापमा पेरिस डाँडा झलमल्ल देखिन्छ । कमरेडहरू आ-आफ्नै सुरमा खरो पोजिसनमा ठाँटिएका छन् । एक कुनामा दुई कमरेडहरूको खासखुस विमर्श जम्दैछ ।

Prachanda"नरुनूस् कमरेड", हेडक्वार्टर कमरेडले उर्दी जारी गरेको शैलीमा आर्थिक कमरेडलाई अह्राउनुभो । सीताजी र हिसिलाजीबाट छलिएर दुवै कमरेड उखरमाउलो गर्मीमा हावा खान पेरिस डाँडा पुग्नुभएथ्यो ।

"क्वाँऽऽवाँवाँ....." आर्थिक कमरेड झन् डाँको छाडेर कहालिनुभो । ठूलो चोक्टा पाउन हान्निएको तर झोलमा डुबेर भिजेको बिरोलोजस्तै जुम्से भावमा दायाँ-बायाँ लत्रिएको उहाँको मझौला जुँगा त्यो रसिक क्रन्दनले लफक्कै भिजिसकेको थियो ।
"त्यसरी नरुनुस् न भन्या", हेडक्वार्टर कमरेडले बोलीमा अलि लचकता ल्याउँदै जिस्क्याउनुभो, "यस्तो घघडान डक्टर मान्छे यसरी रोएको सुहाएन है !"

"डक्टर न बिरामी, सबै उसैगरी त रुने हुन् नि", आर्थिक कमरेड रुवाइमा अलि मत्थरपना ल्याउँदै क्वारक्वार्ती कमरेडको कालो चश्मातिर नियाल्न थाल्नुभो ।
"तपाईँ त मेरो प्रकाश जस्तै बडो विचित्र किसिमले केटकेटी शैलीमा रुनुहुँदोरहेछ, मने यो त अलि तपाईँको उमेरले पनि दिने कुरा भएन भन्ने हेडक्वार्टरको ठहर छ ।", छोटे प्रकाशका बा कमरेड तत्काल उत्तेजित मुद्रामा देखिनुभो, "हाम्रो जनवर्गीय पार्टी पंक्तिमा यस्तो रुवाइलाई रुवाइ मानिँदैन, क्रान्तिकारी रुवाइको कित्ताबाहेकका रुवाइ प्रतिगामी चरित्र हो भन्ने कुरा हाम्रा कमरेडहरूले भुले जस्तो छ ।"

"कुरा त्यसो होइन ।" प्रतिगामी चरित्रको आरोपबाट जोगिन सहज अवतरणको प्रक्रिया अपनाए झैं रुवाइका हिक्कालाई थोरै थाम्दै आर्थिक कमरेड पनि जोसिनुभो, "सङ्घर्षको मोर्चामा जस्तै रुवाइमा पनि अब्बलता देखाउनुपर्छ भन्ने हाम्रो पार्टीको क्रान्तिकारी विचारधारामा अडिग रहने हामी कमरेडहरूको पनि एकमतै हो ।"

Baburam "अनि खोइ त त्यो क्रान्तिकारी रुवाइ देखिएको ? देखिनुपर्‍यो नि !" हेडक्वार्टर कमरेडको आक्रोशको रापमा परेर हो कि किन हो उहाँले पहिरिनुभएको चश्मा अझ कालो देखियो ।

के बोलूँ के बोलूँ, आर्थिक कमरेड जिल्लिनुभो । झट्ट केही बोल्नुभएन । तर वर्षौंदेखि काम परे पनि नपरे पनि, आवश्यक भए पनि नभए पनि केही न केही बोल्दै आएको बानी राख्न कमरेड खुलदुली पोख्दै बोल्नुभो, "होइन अध्यक्ष कमरेड, रुवाइ पनि क्रान्तिकारी हुन्छ र ? अनि त्यो क्रान्तिकारी रुवाइ देखिन्छ र ?"

"हाहाहा.... ।" अब जिल्लिने पालो मुठे जुँगाधारी हेडक्वार्टर कमरेडको थियो । आर्थिक कमरेडले बोली बिसाउन भ्याउँदा नभ्याउँदै कमरेड हाँस्नुभो । आफू जिल्लिएकोलाई एक फाँको हाँसोले टार्दै कमरेड सीतापति सङ्गीतबद्ध रूपले गर्धन हल्लाउँदै कुनै नयाँ चमत्कारको गफ सुनाउन झैं मुख खोल्न थाल्नुभो, "लौ कमरेड ! रुवाइ क्रान्तिकारी नहुने स्थिति हुन्छ त ? बडो विचित्र अचेतन देखाउनुभो ! हाम्रो क्रान्तिकारी पार्टीको कोणबाट हेर्दा कुन चाहिँ कुरा क्रान्तिकारी छैन संसारमा ?"

भर्खरै केहीअघि आफ्नो पार्टीको सत्तारोहण र सत्ताबाट बहिर्गमनलाई समेत पार्टी सबैसामु क्रान्तिकारी रूपमा अर्थ्याइसकेको स्मरण गराउनुभो आर्थिक कमरेडलाई । आमसभा र कार्यकर्ता भेलामा बोल्दाबोल्दै भावुक प्रसङ्गमा पिलपिल हुने गरेको आफ्नो कहानी पनि सविस्तार भन्नुभयो । अब संविधान टाइममा आएन भने पनि रोइन्छ भन्ने सुनाउनुभयो ।

"हेहेहे.... ।" क्वाँक्वाँ रुवाइमा ज्यान सुकाइरहेका आर्थिक कमरेड बल्ल हेडक्वार्टर कमरेडको चमत्कारिक कुराले प्रफुल्ल हुनुभो । गर्धन नचाउँदै कमरेड पनि हाँस्नुभो ।

"सुन्नुस् कमरेड, व्रि्रोह र संसदीय राजनीतिमा छलाङ लगाउने क्रान्तिकारी कला भए जस्तै रुने पनि कला हुन्छ ।" आफ्नो कुरा बिकेको तालमा फुर्किँदै हेडक्वार्टर कमरेडले सुनाउनुभो, "आम जनतामाझ भाषण गर्दागर्दै, कार्यकर्तालाई प्रशिक्षण दिँदादिँदै विगतका गल्ती, क्षति, पार्टीमा परेको जनधनको नोक्सान सम्झिँदै र प्रायश्चित गर्दै भक्कानो फुटाएर रुन सक्नु नै रुने कला हो । बुझ्नुभो कमरेड ?"

"ओहो ! त्यस्तो पो रुने काइदा ! अध्यक्ष कमरेडको पथ पनि त त्यही हो नि । म भने क्रान्तिकारी ऊर्जालाई उपलब्धिहीन रुवाइमा खेर फालेर बसेछु ।" आर्थिक कमरेडको मुहार तारा टाँसिएको आकाश जस्तै उज्यालो भो, 'त्यसरी रुँदा रुवाइ पनि क्रान्तिकारी हुने, सबैसामु र्छलङ्ग देखिने पनि ! क्या बात ! त्यसै गर्नुपर्छ भन्ने हाम्रो पार्टीको ठहर हुनुपर्छ ।"

"हेहेहे..... " , यसपाली पेरिस डाँडाको घामलाई माथ गर्नेगरी दुवै कमरेडले हाँसोको फोहोरा छाड्नुभो ।

----------------------------------------------------------------------------------------------------------------------
* स्केच : रवीन्द्र मानन्धर

1 comment:

  1. बडो रमाइलो र यथार्थ व्यंग ! धेरै दिनपछि भरत भुर्तेलको व्यंग पढे झैं मजा लाग्यो |

    ReplyDelete