Subscribe:

Ads 468x60px

12 August 2011

अस्पतालको घनचक्कर

‘पैसाको काल – अस्पताल !’

अन्नपूर्ण पोस्ट दैनिकमा जतिबेला व्यङ्ग्य स्तम्भ लेख्थेँ, स्वामी रामदेवलाई पत्र भन्ने एउटा लेखमा नेपालका ‘रोगी अस्पताल’का थलिएको चालाबारे झाँको झार्ने प्रयास गरेथेँ । हुनत ती स्तम्भलेखहरूमा मेरो कोठे गफकै भरमार चल्थ्यो, न वस्तुगत अध्ययन, न  यथार्थ तथ्याङ्क र न त कुनै स्थलगत अनुसन्धान नै ! समसामयिक राजनीतिक र सामाजिक परिवेशमा जे-जस्तो हुन्डरी चलेको छ, त्यसमै छेडखानी गर्न विषयवस्तु पर्याप्‍त हुन्थ्यो ।

चितवनको भरतपुर क्यान्सर अस्पतालमा नयाँ ‘लीला’ भएछ । अस्पतालको यस्तो लीलामध्ये कतिपयमा बिरामीको इहलीला छिनमै समाप्‍त हुन्छ । भरतपुरमा चाहिं, एक महिलाको घाँटीको अपरेशन गर्नुपर्नेमा पाठेघर निकालेर फालिएछ । चिकित्सा पद्धतिले उपचारको नयाँ शैली त पत्ता लगाएको होइन होला ! पाठेघर निकाल्दा घाँटीको रोग कसरी निको होला !?  

Norvic2सेवाभन्दा पैसामुखी हुँदैगएका अस्पताल र त्यहाँका डक्टरहरूको जूका प्रवृत्तिले सर्वसाधारणहरूलाई कसरी डसेको छ र ती निर्धाहरूको मनस्थिति आधुनिक चिकित्‍साशास्त्रबाटै कसरी विकर्षण हुँदैछ भन्ने झलक उतारेको थिएँ त्यो व्यङ्ग्यात्मक पत्रमा । लेखमा कतिपय प्रसङ्गमा काल्पनिकताको प्रचुरता र अतिशयोक्ति पनि भयो होला,  तर नेपालको चिकित्सा सेवामा अझै पनि जनसाधारणको सहज पहुँच बन्न सकेको छैन । भव्य अस्पतालको ‘पसल’भित्र एकोहोरो व्यावसायिकताको पखेटा फिँजाउँदैछ चिकित्सा क्षेत्रले । कर्णालीमा चामल लिनका लागि लाइन लागे जस्तै जहाँ पैसाको मुठो लिएर पंक्तिबद्ध भए पनि सही उपचार पाउने ग्यारेन्टी हुन्न ।

माओवादीले सरकारको नेतृत्व गरेको बेला सञ्चारमन्त्रीले ‘हातहातमा मोबाइल, घरघरमा इन्टरनेट’को गफ दिए पनि त्यसअनुसारको तीव्र अग्रसरता शून्य भए जस्तै स्वास्थ्य सेवा सर्वसुलभ र सहज भएको भनेर लगाइने ‘फुइँ’ पनि एक हदसम्म बेकार लाग्छ । सेवाको उपलब्धता एउटा कुरा हो, त्यससम्म पहुँच महत्त्वपूर्ण कुरा हो । ‘हिमाल आरोहण गर्न खुला छ’ भनेर स्वागत तुल टाँग्ने तर आरोहण पोशाकको बिक्रीमा आरोहीलाई बन्देज लगाइयो भने के हालत हुन्छ ? त्यस्तै हो (सहरको हकमा) चोकैपिच्छे रहेका अस्पताल र हत्तपत्त छुने आँटै गर्न नसकिने खर्चिलो उपचार ।

पहिलेभन्दा तुलनात्मक रूपमा नेपालमा उपचार सुविधा राम्रो भएको पक्कै हो । अलिकता जटिल किसिमको रोग देखियो कि विदेश जानुपर्ने बाध्यता धेरै हदसम्म टरेको छ । मिर्गौला प्रत्यारोपणको सेवा पनि काठमाडौंमा सुरु भइसकेको छ । तर उच्चस्तरीय उपकरण र टप डक्टरहरू भएको सुविधासम्पन्न उपचार केन्द्रको हवाला दिनु र झन्झटरहित उपचार सेवा हुनु फरक कुरा हो । नेता हुनु तर नेतृत्त्व नहुनु हाम्रै देशको रोग होइन र ?

केही समयअघि बुबालाई लिएर काठमाडौं थापाथलीको नर्भिक अस्पताल पुगेको थिएँ । लामो समयदेखि सुक्खा खोकी लागिरहेकोले दम भयो कि भन्ने आशङ्का थियो । हजुरआमालाई दमकै कारण गुमाउनुपरेको र एउटा काकालाई पनि ब्रेन ट्युमरले गाँज्नुअघि दमले नै सताएका कारण कतै वंशानुगत रूपमै यो रोगको लहरा बढ्ने त होइन भन्ने डर थियो । नाम चलेका डक्टर रमेश चोखानी रहेछन् नर्भिकमा । जँचाउनको लागि अगाडि नै नाम टिपाइएको थियो । रगत जाँच, छातीको एक्स-रे र फोक्सोको अवस्था जाँच्ने विधि (PFT) सबै गरियो । त्यस्तो खालको समस्या लिएर जाने सबैजसो बिरामीका लागि ती कुराको जाँच अनिवार्य जस्तै रहेछन् । ती चेकअप गर्नुअघि डक्टर आउने प्रतीक्षामा नाम टिपाउने ठाउँमा बाउ-छोरा बसिरहेका थियौं । नाम टिप्ने ठाउँमा अल्लारे पाराका एउटा ठिटो र एउटी ठिटी थिई । कम्प्युटरमा सायद केटी च्याट गर्दै थिई । केटा छेउमा बसेर कम्प्युटर मनिटरतिरै आँखा अँड्याइरहेको । केटा र केटी बेलाबेला चलाचल पनि गर्दै थिए । त्यतिबेलै त्यहाँ एक युवक आए । डक्टरलाई देखाउनुपर्‍यो, नाम लेखिदिनुपर्‍यो भनेर तिनले आग्रह गरे । आजको लागि मात्र होइन, आगामी ७-८ दिनसम्म नाम प्याक भइसकेको भन्दै ठिटा-ठिटीले एकदमै बेवास्ता गरे युवकलाई ।

युवकले ढाँटे कि साँच्चै हो, म काठमाडौं बाहिरबाट आएको, जसरी हुन्छ मिलाइदिनुस् भनेर हारगुहार धेरै गरे, टेबलअघि उभिएरै याचनामिश्रित दृष्‍टिले हेरिरहे उनले अल्लारे जोडीलाई । मैले फोनबाट नाम त यहाँ टिपाएको थिएँ, होला यहाँ भन्दै खोज्न लगाए पनि । तर नाम फेला परेन । तपाईं बुझ्‍नु न कुरा भन्दै ती दुवै चाहिं कम्प्युटरमै व्यस्त थिए । सायद डक्टर आइपुग्ने समय नभएको भरपूर फाइदा उठाउँदै थिएँ । युवकको अनुहार भने सडकमा कचौरा लिएर उभिएको मगन्ते जस्तै भइसकेको थियो ।  उनी त्यत्तिकै फर्किए । पैसा तिरेर गरिने उपचार पनि यति दुर्लभ छ, नि:शुल्क उपचारको व्यवस्था भए झन् कस्तो हालत हुँदो हो ? यस्तोमा हामी कस्तो उपचार र सेवाको कुरा गरिरहेका छौं ?

यसैबीच चितवनको भरतपुर क्यान्सर अस्पतालमा हिजो (अगस्त ११ मा) नयाँ ‘लीला’ भएछ । अस्पतालको यस्तो लीलामध्ये कतिपय कस्ता हुन्छन् भने बिरामीको इहलीला छिनमै समाप्‍त हुन्छ । भरतपुरको घटनामा, एक महिलाको घाँटीको अपरेशन गर्नुपर्नेमा पाठेघर निकालेर फालिएछ । चिकित्सा पद्धतिले उपचारको नयाँ शैली त पत्ता लगाएको होइन होला ! पाठेघर निकाल्दा घाँटीको रोग कसरी निको होला !? अस्पतालमा पाठेघरको शल्यक्रिया भने अर्कै बिरामीको गर्नुपर्ने थियो । अस्पतालले मानवीय त्रुटि भएको भन्ने जवाफ दिएछ । हुन त, डक्टर पनि देउता नभई मानिस नै हुन् । तर जिम्मेवारी र भूमिकाले तिनको स्थान उँचो बनाएको छ । कतिपयको लागि डक्टर पनि देउतै साबित भएका छन् । तर पछिल्लो समयमा देउताको ‘अवतार’ फेरिँदै गएको छ । बिरामीको ज्यान बचाउनुपर्ने ती ‘देउता’कै गल्ती र कमजोरीको कारण मान्छेहरूले अकालमै ज्यान गुमाउनुपरेको छ ।

अपरेशनको क्रममा बिरामीको शरीरभित्रै  टालो, पञ्जा लगायतका विभिन्न सामान छुट्ने गरेको खबर बेला‍-बेला नसुनिएको होइन । फलस्वरूप रोगीको ज्यान सुरक्षित गर्ने डक्टर र स्वास्थ्यकर्मीहरू केही समययता बिरामीका आफन्तबाट असुरक्षित हुने क्रम पनि बढेको छ । कतिपय सन्दर्भमा मरिमेटेर उपचारमा जुट्दा पनि बिरामीको ज्यान जान्छ, डक्टरसँग पनि बिरामीलाई अमर तुल्याउने जादुको छडी त हुँदैन । एउटा अवस्थामा पुगेपछि चोला उठ्छ । यस्तो स्वाभाविक स्थितिमा पनि अराजक भीडबाट अस्पतालहरू कोपभाजनमा पर्न पुग्छन् । डक्टर भनेको जुनसुकै उपाय लगाएर बिरामी बचाउने यन्त्र हो भन्ने अतिनिर्भरताको उपज हो यो ।

उपचार, शल्यक्रिया भनेको यो र त्यो अङ्क जोड्नासाथै ट्वाक्क निश्‍चित योगफल निस्किने गणितीय पद्धति नभए पनि नमिलेका त्यस्ता धेरै हिसाबमा अस्पतालको हेल्चेक्य्राइँ र उपेक्षा देखिने गरेको पाइन्छ । सेवा कम र व्यवसाय बढी बनेपछि बिरामीको नाडी डक्टरको लागि बिसन्चो ठीक पार्ने चुनौती नभई नोटको बिटोमा प्रतिविम्बित हुँदो हो । मानौं डक्टरी पढुन्जेलसम्म लागेको खर्च असुल गर्ने बैंक मात्र हुन् सेवाग्राही सर्वसाधारण । यिनले एमआरमार्फत औषधि कम्पनीबाट मोटो रकम लिएर प्रेस्क्रिप्सनमा ती औषधिलाई कति सिफारिश गर्दा हुन्, यसको हिसाब त झन् नगरौं ।

“ठूलो भएपछि के बन्छौ बा ?” भन्ने प्रश्‍नमा हाम्रा लालाबालाले तोतेबोलीमा ‘डक्टल !’ भनेर दिने जवाफमा पनि हाम्रो समाजले तिनमा कतै सेवाभन्दा पैसामुखी मानसिकता भरिराखेको त छैन ?

1 comment:

  1. पबित्र पेशाका अपवित्र प्रयोगहरुको बारेमा लेखिएको यो लेखले हामि नेपालीमा बढ्दै गएको दुराचार र लोभको चित्रण गरेको छ |

    ReplyDelete