Subscribe:

Ads 468x60px

25 August 2011

जामाचो गुम्बाको सेरोफेरो

Jamacho

ठाडो उकालो अढाइ घन्टा पैदल छिचोलेर गुम्बामा पुगिसकेपछि हामीलाई फर्किन हतार भइसकेको थियो । दिन ढल्दै गएर पश्चिम क्षितिजलाई सिरानी हाल्ने तर्खरमा थियो । त्यसमाथि गेटमा रहेका सैनिक र प्रहरीहरूले साँझ पाँच बजेसम्ममा तल झरिसक्न उर्दी जारी गरेका थिए ।

शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्जअन्तर्गत नागार्जुन सेक्टरको फूलबारी गेटबाट हामी जामाचो गुम्बा ताकेर उक्लिँदैछौं । पहिले कहिल्यै नआएको ठाउँ, बाटो के-कस्तो र कति कठिन भन्ने केही थाहा छैन । घुमघामको गन्तव्य बनाएको गुम्बा पनि कति महत्त्वपूर्ण र मनमोहक भन्ने समेत जानकारी छैन । घुम्नु छ, यत्तिकै हिँडिदिएका छौं । यात्राको रमाइलो भन्नु पनि यही नै हो जस्तो लाग्छ, आँखा चिम्लिएर आफूलाई बगाइदेऊ – ओम् स्वाहा !!

बालाजुबाट ओशो तपोवन र ककनीतिर जाने बाटोमा छ फूलबारी गेट, बालाजुदेखि नजिकै । नागार्जुन जंगलभित्र छिर्नुअघि गेटमा पहरा दिइरहेका सैनिक र प्रहरीसँग एकछिन भलाकुसारी गरियो । सुनसान जंगल भएकोले सुरक्षाको हिसाबले चाँडै आइपुग्नू भनेर समय तोकेका रहेछन् उनीहरूले । तर उनीहरूकै नियन्त्रणमा रहेको जंगलमा खतरा कुन कुराको ? त्यसमाथि त्यहाँ तैनाथ सुरक्षाकर्मीको अनुमति नलिईकन जोसुकै छिर्न नपाउने त्यस क्षेत्रमा कसको डर ? उन्मुक्त छाती फैलाएर हिँडेका हामी फिरन्तेलाई यस्तो कुनैपनि सीमा र बन्धन मन पर्दैन, चाहे त्यो हाम्रै भलाइको लागि निर्धारण गरिएको होस् । साँझ पाँच बजे जसरी पनि तल झरिसक्नु भन्ने उर्दीले हामीलाई पनि चिडचिडाहट पैदा गर्‍यो । तर केही कारण भएर त भनेका होलान् भनेर फटाफट पुगौं, फटाफट फर्कौं भनेर प्रतिजन १० रुपैयाँको टिकट काटेर उकालो खुड्किलो गन्न थालियो ।

गाडीको लागि फरेस्ट रोड भनेर व्यवस्था गरे पनि पदयात्राका भोका हाम्रो लागि गोरेटो नै रोजाइमा परेको थियो ।  साथमा छ एउटै अफिसको कारिन्दा प्रविण बञ्जारा

जामाचो गुम्बाJamacho-Board.
५ किलोमिटर

सूचनापाटी देखेर मन फुरुङ्ग भयो- एह्, यति जाबो दूरी छिचोलेर साँझ पर्नुअघि नै फेदीमा आइपुगिहालिन्छ नि ! गाउँमा हुँदा बाम माछालाई बल्छीमा जाक्न खोज्दै खोलाको बगर-बगर कति कुदियो, अहिले पो सहरिया रहनसहनमा बानी पर्न खोजेर गोडा डेग नचल्ने बहाना खोज्छ ।

तर यति भनेर मनलाई के हौस्याइएको थियो, उकालोमा गाह्रो भयो । सास पनि के साह्रो फुल्ने ! सपक्क ढुङ्गा छापेको खुड्किलो मात्र छ बाटो । कडा चिजसँग ठक्-ठक् पैंताला ठोक्किएर त्यसको सीधा दबाब घुँडाले झेल्नुपर्ने । सामान्य गोरेटो नै हो उपयुक्त । भनेर के गर्नु, भौतिक योजना मन्त्रालय र सडक विभागमा आफ्ना काका-मामा छैनन् । जति उक्लिँदै गयो, ढुङ्गेनी भर्‍याङले पासो थापिरह्‌यो । थकाइ भुल्दै मन बुझाउन खोज्ने हो भने त हरियालीकै साम्राज्य छ दायाँ-बायाँ । सल्लाका बोट पर्फ्युमकै बोतल भएर उभिएका छन् । त्यसमा अरू अज्ञात पर्फ्युमहरू पनि मिसिएका छन्, बस् अलि फिल्टर गरेर सुस्तरी सास फेरिदेऊ !

१० मिनेट हिंडेको छैन, भोक लागे जस्तो हुन्छ । यो त थकाइ मेट्ने बहाना मात्र हो । एक कुनामा ओथारो बस्छौं । खानपानमा फास्टफुड कल्चरको सजिलोपनमा भुलिएका हामीले यस्तो यात्रामा प्याकेटका खाना बोक्न छुटाउने कुरै भएन । हातपात गर्न थालियो एकछिन । कुरकुरे भुजिया, स्नीकर चकलेट अनि पानीको साटो स्प्राइटको पेट बोतल । यसले दुवैजनाको पेटलाई भरे साँझसम्मको यात्रामा राहत देला भन्ने आश छ ।Path

अति विशिष्ट व्यक्तिलाई विदेशमा स्वागत गर्दा रातो कार्पेट ओछ्‌याइन्छ, यहाँ जंगलमा भने प्रकृति रानी विभिन्न लता-लहरासाथ हाजिर छिन् । खुड्किलादार बाटोभरि छरिएको चिलाउनेको पात र विभिन्न फूल हाम्रो लागि रातो कार्पेट बराबर !  पतिङ्गरयुक्त बाटोमा क्यामेरा ताकेर फोटो कला देखाउन खोज्छु । सुन्दरता वस्तुमा होइन, आँखामै हुने रहेछ भन्ने सत्य रहेछ ।

आराम गर्दै, साथै लगेको खानेकुरा कट्याककुटुक टोक्दै सवा एक घन्टाजतिमा अलि समथर भागमा One-da-way-to-Jmachoपुगियो । ओहो, भर्खरै कुचो लगाए जस्तो कति सफा ठाउँ हो ! अघि बाटोभरि चिलाउनेको पात-पतिङ्गर देखेर बिझाइरहेको आँखा शीतल भयो । निकुञ्ज क्षेत्रमा खटिएका सैनिकले सफा गर्दा रहेछन् त्यो ठाउँ । खाँदिएर बसेको माटोको कच्ची बाटो भए पनि निमेक लगाएर बढारेकोले पिच सडक जस्तै लाग्ने ! एकछिन सैनिक दाइहरूसँग गफिन थालियो । निकुञ्ज प्रवेश गरेकै ठाउँमा आएर फर्किनुपर्ने कारण सोध्यौं । नत्र हामीले सुने अनुसार गुम्बाबाट झर्ने उतैतिर अर्को छोटो बाटो पनि छ अरे ! यताबाट छिर्‍यो, उताबाट निस्किन पाउँछौं कि भन्ने आश थियो । तर त्यो बाटोमा लुटेराहरू बसेका हुन्छ, असुरक्षा हुन्छ भनेपछि हाम्रो मुखमा बुझो लाग्यो । हिंड् भाइ, फर्किँदा उही बाटोमा दिक्क लाग्ने भए पनि प्रकृतिको आँचलमा लुटपुटिएर चित्त बुझा भनेर आफैंलाई थुमथुम्याइयो । अलि अगाडि बढेर थकाइको बहानामा फेरि ओथारो बसियो सल्लाको पातको डसनामा ! डसना नभनूँ कसरी ? सल्लाको त्यान्द्रादार पात झर्दा-झर्दा जंगलमा गद्दी नै बनिसकेको देखिन्छ । अलिक माथि आधार शिविर जस्तो फराकिलो ठाउँले केहीबेर अलमल्यायो । आइसक्रिम जस्तो चक्की-चक्की बादल डफ्फा बनेर आकाशमा कुश्ती खेलिरहे झैं छन् । पानीको साटो बोकेको स्प्राइट समेत सकिएर तिर्खाले सताउन थालेको ज्यानले बादलको झुप्पा हेरेरै मन बुझायो । फेरि थकाइ लागेको होश भएर यहीँबाट फर्कौं भन्ने पनि नलागेको होइन ।

साँझ पाँच बजेसम्ममा फर्किहाल्नू है भन्ने सैनिक उर्दीले झकझक्याउँदा दुई जनाको टोली फेरि अगाडि बढ्यो । अविरल उकालो यो पदयात्राको वरदान भन्ने कि अभिशाप ! बढेको स्याँ-स्याँलाई ‘हामी त भर्खरका युवक’ भन्ने भावले दबाएर घुँडाको पाङ्ग्रा गुडायौं । पऽऽऽर गुम्बाको टुप्पा देखिन थालेपछि भने सास आउन थाल्यो । तर कत्ति न हिंडियो जस्तो लाग्छ, त्यो टुप्पा त अझै पर सरेको सर्‍यै । पूरै ज्यान नगले पनि लखतरान घुँडा जसोतसो घिसार्दै अझै उकालो लागेपछि प्रतीक्षाको घडी सकियो । थुम्कोमा झुल्कियो जामाचो गुम्बा !

Gumba 
आधा घन्टा जति गुम्बाकै सेरोफेरो हेर्दै सुस्ताइयो । डाँडामा सिरसिर हावा चल्दो रहेछ, प्रकृतिको पङ्खा स्वादको लाग्यो । काठमाडौं उपत्यका पनि राम्ररी देखिने रहेछ ।

KTM-valley

थकाइलाई यतिखेर आनन्दले उछिन्दै थियो । अग्लो डाँडामा अझ अग्लो ठाउँबाट उपत्यका र वरिपरिको ठाउँ हर्न टावर पनि बनाइएको रहेछ । टावरमा चढ्दा त हावाको वेग झन् एकतमासको भयो ।

Gumba-Tower

गुम्बाको व्यवस्थापनको लागि नेपाल तामाङ गुम्बा सेवा केन्द्रको पनि स्थापना गरिएको रहेछ २०५८ सालमा । तर गुम्बाको अवस्था हेर्दा व्यवस्थापनमा त्यति Beer-Station-!ध्यान पुगेको देखिएन । बियरका बोतलहरू विश्वयुद्धताकाका सैनिक जवान झैं एक कुनामा थुप्रिएका थिए । धार्मिक तथा घुमघामका गन्तव्यहरू पिकनिक स्पटमा परिणत हुँदै जाँदा त्यसको गरिमा र अस्तित्त्वमै आँच आउने तर्फ पनि विचार गर्नुपर्ने जस्तो लाग्यो । तर हामी त केही समयका पाहुना भएर पुगेका थियौं । प्रकृतिसँग लुकामारी खेलेर केहीबेरमा फर्किनु छँदै थियो । पछि थाहा भो, पदयात्रा मार्गभन्दा फरेस्ट रोड (जसलाई त्यहाँ रिङरोड भनिँदो रहेछ) को सवारी यात्रा निकै लामो र झन्झटिलो रहेछ । तरेली परेका डाँडापिच्छे घुम्तीहरू र कहीं भने साँघुरो सडकका कारण पैदल यात्रु नै गुम्बामा छिटो पुग्ने रहेछन् ।

उक्लिँदा अढाइ घन्टा लागेको बाटो फर्किँदा भने एकै घन्टामा पार गरियो । खुरुरु ओरालो । फूलबारी गेटमा ड्युटी फेरिएका केही नयाँ सैनिक र प्रहरी थपिएछन् । मुखामुख हुन पुग्दा उनीहरू पनि हँसमुख देखिए । सायद ठिटाहरू दुरुस्तै फर्किए भनेर खुसी प्रकट गरेका होलान् । हामीले तिर्खा लागेको बताउँदा तीमध्येका एकले सहृदयी भावले जगभरि पानी ल्याइदिए । गुम्बा यात्रा जस्तै निकै मीठो पानी !

लाग्यो, सैनिक र प्रहरी पनि यति सहृदयी हुन्छन् र ?

4 comments:

  1. भौतिक रुपमा टाढा भए पनि धाइबाजीका शब्दहरु सँगै बहकिँदै म पनि जामाचो गुम्बा पुगें। तपाईंका शब्द र तस्विरहरु सँग देशदर्शन गर्नु छुट्टै खालको मज्जा आउँछ।

    ReplyDelete
  2. लेखाइ मन पर्यो ।

    ReplyDelete
  3. Ekchoti aafu ta mathi napugi farkeko 6uEkchoti aafu ta mathi napugi farkeko 6u

    ReplyDelete
  4. I was there in 2004 during balaju 22 dhara mela.
    Brings back good memories.

    Thanks for sharing.

    ReplyDelete