Subscribe:

Ads 468x60px

29 January 2011

प्रेमको खोपमा जोर परेवा

Couple“अब सँगै उड्न हामीलाई केही सहज होला है !”, चराले पखेटा टकटक्याए झैँ सर्टमा हल्का देखिन थालेको भुवा झार्दै उसको छेउमा फुसफुसाउन मन लाग्छ । यो कुरा सुन्न ऊ ठीक यतिखेर साथमा छैन ।
एउटै छानामाथि घाम तापिरहेका जोर परेवा वल्लो छेउ र पल्लो छेउमा बसेर घुरिरहे झैँ पिरो दूरी टाँगिएको छ हामीबीच । र पनि ऊ नहुँदा पनि उसको आत्‍मीयताको कसिलो बन्धनले रक्षाकवचको काम गर्छ । म त्यही आत्मीय अनुभूतिको झोलुङ्गोमा निश्फिक्री लोलाउन थालेको छु । भन्छन्-  कवि, प्रेमी र पागल यस्तै विचित्र खालका अनुभूति गर्छन् । आममानिस भन्दा अलिकता भाँचिएको कित्ता । अब गाउँमा आमासँग टेलिफोन कुराकानी गर्दा ‘आमा, म राम्रैगरी बिग्रिएँ’ भनिदिए हुनेभयो अब ।
उसले याद गरेर राखेकी छे, हाम्रो पहिलो वार्तालाप, भेटघाटको सुरुवाती बेला । ‘आज घरमा गुन्द्रुकको अचार बनेको छ’ देखि ‘किन यस्तो म जस्तो अभागी हुन्छ होला है मान्छे’ भन्नेसम्मको प्रसङ्गमा उसले सुनाउने वृत्तान्तको जुहारी कुनामा मैले कान थाप्दैआएको छु । ऊ बेलाबेला त्यही पुराना दिनबारे प्रसङ्ग सुनाउँछे, यस्तो भा’थ्यो है ! स्कूलकी जेहेन्दार र लगनशील विद्यार्थी जस्तै उसले यी सबै कुरा स्मृतिको एलबममा तास झैँ फिटेर राखेकी छे । बरू   मैँ पो हुँ हुस्सु ! मेरो मनको भित्तामा कतिखेर-कतिखेर उसको प्रेमिल पेन्टिङ टाँगियो, हेक्कै छैन । मन त्यस्तै हो मग्नमस्त मात्र हुन जान्दछ, हिसाब राख्दैन केही कुराको । म झरेँ पात जस्तै उसको आनन्द वनमा । एकदम पहेँलिएर ।
“आखिर वो भी फस गया हाऽ हा ऽऽ हा ऽऽऽ "

केही दिन पहिलाको कुरा - बिहे हुन लागेको आफ्नो पुरुष मित्रको बारेमा अफिसका सहकर्मी दाइ टिप्पणी गर्दै थिए । त्यो टिप्पणी केवल ठट्टा थियो या यथार्थको गह्रुङ्गो बिटा, खै बुझिनँ । मभित्र भने त्यही फस्ने कुरा हरियो रहर भएर मौलाउँदै गएको छ । मान्छेहरू अनेकौँ जमघटहरूमा प्रेम सम्बन्ध र विवाहबारे यस्ता तीता टिप्पणी, गुनासो, चर्चा विभिन्न अनुभवी मान्छेहरूकै मुखबाट सुन्छन्, र पनि आखिर किन होमिन्छन् सम्बन्धमा ? किन आफ्नो चोटपटकविहीन मनलाई गुडाइदिन्छन् बन्धन भनिने विवाहको झीरतर्फ ? मैं पनि त किन त्यस्तै हुँदैछु ? अब यस्ता कुरा ‘घर सल्लाह’को रूपमा उसैलाई सोधे हुने भएको छ मैले :) ।
सहरमा अरूलाई कत्तिको भावनात्मक संकट पर्छ कुन्नि, म भने बेलाबेला रुखिन्छु । सधैं यस्तै लाग्दै आयो, विभिन्न अवसररूपी चारो छोप्ने दौडाहामा लाग्नेहरूको फौज हो सहर । यहाँ मन, भावना भन्ने कुरा उच्चारण गर्नु पनि वाहियात हुन सक्छ । चोइटा मन लिएर कसैसामु सहानुभूति खोज्दै पुग्दा उपहारमा झन् हजार चोइटा  पाउन के बेर !  मान्छे नै मान्छेको चाङ लाग्ने सहरको कुनै चोकतिर मोटरसाइकल लड्दा त्यसैमा च्यापिएर निरुपाय लडिरहने बिचराहरूलाई  थुप्रै पटक सडक किनारबाट नियालेको छु । दया गरेर पनि कसैले सहारा दिँदै उठाइदिंदैन बाइक । मेरो पाइला पनि त त्यस्तो सहयोगी कार्यमा नसर्न थालेको धेरै भयो । यस्तो निष्‍ठुरी मनले म माया गर्न खोज्छु, माया पाउने आश गर्छु यो सहरमा ! खासमा निष्कपट र कमलो हुनुपर्ने मन-मुटु भन्ने चिजलाई पनि कुनै रिपेयर सेन्टरमा लगेर पानीको फोहराबाट सफा पार्नुपर्ने स्थिति छ । कुनै फर्निचर सेन्टरमा लगेर खाक्सीले चिल्याउनुपर्ने भएको छ ।

यस्तो सहरमा यस्तो खिया लागेर रुखिएको मनले खोज्ने रहेछ साथी । आफैँमाथि पनि पत्यार नहुने जाली सहरमा कसैमाथि पत्यार गर्न मन लाग्ने रहेछ । उसले आफूमाथि कति पत्यार गर्ला, माखेसाङ्लो जस्तै छ सम्बन्धभित्रको सुरुङ पनि । कता जोडिँदा कता पुगिने, नहिँडेको बाटोमा पाइला मोडिने । ‘होइन होइन’ भन्दाभन्दै नाटकीय मोडको बुई चढेर आखिरमा ‘हो’ मा परिणत हुने युगल आवाज । ‘अपरिभाषित’ सम्बन्धमा खुसी खोज्दै त्यसैमा ‘परिभाषा’ खोज्ने आशामुखी हेराइले यस्तै नतिजा दिन्छ कसैकसैको जिन्दगीमा । मेरो जिन्दगी त्यस्तै एकथान गन्ती गरिपाऊँ !
लेख्‍न खोजेको कुरा सायद यति टुक्रामा अँटाएन, अँटाउँदैन पनि । माया र सहृदयी भावको कुनै आकार पनि त हुन्न अँटाउनलाई । यो कुरा उसले बुझे मेरो लागि काफी । उसले मात्र । यही हो यो सहरमा अत्यासको भुङ्ग्रोमा खङ्ग्रङिएर प्रेमिल सिंचाइ खोज्दै भौँतारिएको मनको मायालु घोषणा । यो भौँतारिनुले अब कुनै ठेगानको बिन्दु पाए झैँ लाग्दैछ । त्यो टुङ्गोको बिन्दु ऊ नै हो ।

25 January 2011

गुरुत्वबलको तागतमा ‘मोक्षान्त: काठमान्डु फिभर’

न्फर्मल ग्यादरिङ हो, किताब छापिएर आएपछि २-४ जनालाई बोलाउँछु, भाइ पनि आउनू है ।


Kumar-Nagarkoti
पुसको अन्तिमतिर कथाकार कुमार नगरकोटीको निम्तो उताबाट छुटेपछि यता मेरो पाठकीय खुसीको भक्कानो पनि छुटिहाल्यो । म त्यो जमघट हुने दिन कुर्न थालेँ । मेरो निम्ति उनको पुस्तकाकार पहिलो कथाकृति अतिप्रतिक्षित सूचीमा थियो । उनको फुटकर कथा प्रकाशन हुने समयदेखि नै म पाठकको नातामा उनीसँग गाँसिएको थिएँ । यो नाता बिस्तारै सहृदयी आत्मीयतामा पनि भिज्दै गयो । यो निकटता पारिवारिक न्यानोपनकै तहमा लिएँ मैले । कारण उनी पत्रिकामा प्रकाशित कथाका पानामार्फत मात्रै ह्यान्डसेक गर्ने अपरिचित कथाकार नगरकोटीबाट प्रत्यक्ष भेटवार्ता र सरसङ्गतमा झ्याङ्गिँदै गएका दाजु कुमार नगरकोटी भएर अवतरित भइदिए । अग्रीम निम्तो दिएको डेढ साता जतिपछि नभन्दै उनले स्वागत गरे, आफू बस्दैआएको स्थानीय बालकुमारी मन्दिरछेउ, ललितपुर ।  एउटा नेवारी खाजाघरको रसिक जमघट । 
‘कृतिको गुरुत्वबलले नै पाठक तान्ने हो, त्यसमा कति शक्ति छ’ भनेर एक समयको वार्तालापमा बखान्ने कुमारको नवीनतम कथाकृतिको गुरुत्वबललाई आँक्ने पाठकैपिच्छे फरक हेराइ हुन सक्छ । तर आख्यानमा दार्शनिक र ‘नागबेली गद्य’ भएको भिन्न स्वाद रुचाउने पाठकको निम्ति गुरुत्वबलको चुम्बकीय झड्का नै दिने तागत राख्छ कुमारको पुस्तकले ।  कथासङ्ग्रह ‘मोक्षान्त: काठमाडौँ फिभर’ को नामले पनि कुमारको प्रयोगशील र आउट अफ द ट्र्याक विशेषताको लेखनबारे छनक दिन्छ । नागबेली गद्य उनको लेखनशिल्पलाई हेरेर मैले दिएको नाम । साहित्यको रसास्वादन गर्ने पाठकको स्वादे जिभ्रो थरीथरीका छन् । त्यसमध्ये हामी चलनचल्तीको साधारण लयबाट बाहिर गएर लेखिएको अलि ‘बाउँठो साहित्य’ मन पराउने किसिमका पर्‍यौँ । सामान्य साहित्य र चानचुने शैलीको लेखाइले हत्तपत्त कक्रक्क पार्ने सामर्थ्य राख्‍दैन बाउँठो साहित्यको बानी परेको जिभ्रोलाई ।
Nagarkoti-Book
पुस्तक छपाइ प्रक्रियामा रहेर लामो समयपछि निस्किएको मोक्षान्तले प्रतीक्षाको फलको मिठास दिन्छ । अधिकांश कथा पहिले विभिन्न पत्रिकामा छापिएका भए पनि तिनले ताजगी गुमाएको पटक्कै लाग्दैन । नयाँपनको नापनक्सामा ती विशिष्ट ठाँटिएका साहेब समान बसेको भान हुन्छ पढ्न थालेपछि । कथा भन्ने उनको टेक्निक र कथानक मोड विचित्र र बहुलट्ठी पनि लाग्न सक्छ कतिपयलाई । तर कुमारको सिद्धहस्त कलम त्यसैको लागि र त्यही वैचित्र्यलाई साहित्यमा सुस्वादु पार्न मैदानमा आएको हो भन्दा बढी हुँदैन । उनका प्रायजसो कथामा घाट, डेड बडी, पूर्वजुनी, व्यक्तिको रहस्यपूर्ण ऐतिहासिक पाटोले जाल थापेका हुन्छन् । फलस्वरूप पाठक त्यो जालमा अनौठो सयरको अनुभव बटुल्न जेलिएर मग्न हुन्छ । कथाकारले भन्ने कृतिको गुरुत्वबल पनि संभवत: त्यहीँनेर साबित हुन्छ । जस्तै : कथाकारले मृत वास्तविक पात्रलाई पनि सजीव बनाएर कथामा निम्त्याएका छन् । ‘अन्धकार’ कथामा एउटा रेष्टुराँमामा विदेशी साहित्यकार बनार्ड शा, अल्वेयर कामुज, भर्जिनिया वुल्फ लगायत र यता हाम्रा शङ्कर लामिछाने र भूपी शेरचनलाई भेला गराएर ती सबैलाई संवादात्मक पात्रको रोजगारी दिएका छन् कथाकारले । ती जम्मै पात्रहरू पहिलेका तत्कालीन यथार्थलाई कुतकुतीपूर्ण प्रसङ्गमा कहन्छन् । साहित्यिक चोरीको आरोप लागेपछि साहित्यबाट सन्यास लिने निष्कर्षमा पुगेका शङ्करलाई त्यो निर्णय फिर्ता लिन आग्रह गर्दा रिसले उनी फन्किएपछि सम्झाउने पारामा भूपी भन्छन् :
- नरिसा । भैगो । पारिजातलाई भेटिस् ? एक पेग थपूँ है त !
सङ्ग्रहमा समेटिएका एक दर्जन कथामा हरेकलाई भिन्न बुनोटमा उनेका छन् कथाकारले । सार्वजनिक कार्यक्रम, सभा-समारोहमा उत्ति झ्याम्मिन नरुचाउने उनका कथाका पात्र पनि उनीजस्तै रहस्यमय र छुपारुस्तम छन् । यस हिसाबमा आफ्नो विशेषता पात्रमा घुसाएर आफैँ औपन्यासिक जीवन बाँच्न चाहने लेखकको रूपमा समेत उनलाई मान्न सक्छौँ ।
अर्को उनको विशेषता हो, अनौपचारिक कुरा गराइको शैलीमा पाठकलाई बीचबीचमा सम्बोधन गर्दै कथानक मोडमा प्रत्यक्ष डोर्‍याउँदै लैजाने । त्यसरी डोर्‍याउँदा घटना र परिवेश कतिपय ठाउँमा सचित्र छाउँछ पाठकीय मस्तिष्कभरि । शीर्षक कथामा काठमान्डु उल्लेखित भए जस्तै प्रायश: कथा काठमाडौँकै परिवेशमा दौडिन्छ । उत्तरआधुनिकताको हौवा नेपाली साहित्यमा खुब चलेको छ पछिल्लो समयमा, कुमारको यो सङ्ग्रह पढेपछि उत्तरआधुनिक साहित्य यस्तै केही होला भन्ने स्वाद मन-मगजमा छापिन सक्छ । रत्‍न पुस्तक भण्डारले प्रकाशन गरेको २६५ पृष्‍ठको किताबको लागि २७५ रूपैयाँ खर्चिँदा आस्वादनका हिसाबले पूरै असुल हुन्छ पैसा ।
यसै ब्लगमा पहिले प्रकाशित कुमार नगरकोटीबारेको व्यक्ति चित्र (सहरमा एउटा खेलाडी) र उनीसँगको वार्ता (स्रष्टाहरूमा साहित्यिक भाइरस छन्) पढ्न सक्नुहुनेछ ।

10 January 2011

जसले हान्यो, त्यसले जान्यो

शुक्रबारे बिदाको दिन, कहिले साथीहरूसँग जोसिएर त कहिले एक्लै टहलिन मन पर्छ । सधैँ हतारमा बग्नुपर्ने टेलिभिजनको कामबाट यसो छेउ लाग्दै हप्‍ते बिदा मनाउँदा आफूलाई पूरै सुस्त बनाउन मन लाग्छ, स्क्रु ढिला भएको मेसिन जस्तै ।

अन्य पेसा-व्यवसायको मान्छेलाई पनि त्यस्तै हुँदो हो । बिदाबाट ताजगी बटुल्दै आफूलाई रिचार्ज गरी फेरि पुरानै कामकाजी रफ्तारमा फर्किनुपर्ने नियति । फेरि मनाउन पनि हामी नेपालीले मनाउने बिदाको खाकाअन्तर्गत कति नै पो फराकिलो सुविस्ता हुन्छ र ? जे कुरामा पनि आर्थिक सीमाले ‘भिलेन’को काम गर्छ । तर हाम्रो मनकारी स्वभाव जाती छ, बिदाको दिन साथीभाइ र घरपरिवारको साथमा बस्न पाएकै खुसीमा हामी चङ्गा बन्छौँ ।

यस्तै मेसोमा कोठामा चिया समेत नखाई जनवरी ७ को शुक्रबारे बिहान निस्केको थिएँ सडक सफरमा ।  Cold !नक्साल-हात्तीसार-कमलपोखरीको नियमित रुट पछ्याउँदै पुतलीसडकबाट बागबजारको मोड समातेँ । रत्‍नपार्क अगाडिको शान्ति वाटिकामा पुग्दा गणेशमानको सालिक पछिल्तिर रानीपोखरीको किनार छेउमा मान्छेहरूको गुरुम्म हुल देखेँ । पचहत्तरै जिल्लाका थरीथरीका मान्छेहरू भेटिने भनेर रत्‍नपार्क क्षेत्रलाई चिनिन्छ । कस्ता मान्छे कुन नियतले वा कस्तो सद्‌भावले ओहोरदोहोर गर्छन्, अनुमानसम्म गर्न गाह्रो पर्छ । उसै त सहरी परिवेश, कसैलाई भर र पत्यार गर्न नसकिने माहौल मानिन्छ, त्यसमाथि विरानो मान्छेका लागि पनि चिनो लगाउने जस्तो साझा ठेगाना बनेको र राजधानीको सवारी आवागमनको मियो ठाउँ - खुला र अस्तव्यस्त रत्‍नपार्क क्षेत्र । त्यस्तो ठाउँमा बिनसित्ति कसैले केही फतफताए पनि छिनमै मान्छेहरू गोलबद्ध भएर कुनै भाग छोप्न झैँ जम्मा भइहाल्छन् ।

त्यही पनि फुर्सदको दिन यत्तिकै बरालिन निस्किएको म के रहेछ त्यो हुलमा भनेर उतै मिसिन गएँ । देखेँ – दुवै हात कक्रक्क परेको अवस्थामा रहेको २२-२४ वर्षको नौजवानको शव । एकाबिहानै यस्तो दृश्य देख्दा भाउन्न भयो । मन अमिलिइरह्‍यो । को हो, के भएर मरेको हो केही पत्तो छैन । छेउमा दुई जना प्रहरी थिए, उनीहरू पनि असमञ्जस अवस्थामा थिए । शव रहेको ठाउँदेखि  थोरै पर युवा बाहुल्य रहेको भीड त्यो युवाको मृत्युको सन्दर्भमा सहरी क्षेत्रको (अ)सुरक्षा स्थिति र व्यक्तिगत रूपमा अपनाउनुपर्ने सतर्कताबारे चर्चा गर्न थालेको थियो ।  एक प्रहरी जवान पनि भीडको आडैमा उभिएर राज्यको बेकम्मा सुरक्षा व्यवस्थाबारे भीडमा सहभागीहरूले उडाएको खिल्लीको साक्षी बन्दै मुस्कुराइरहेको थिए । तर उनले नाकमा लगाएको मास्कले गर्दा त्यो मुस्कान खुलेर प्रकट हुन सकिरहेको थिएन ।

Cold-!2दुर्बल  संयन्त्र र अपराधी संरक्षणको संस्कार भएपछि तमासे नभई के गर्ने !

यी उभिएर हेरिरहेका साम्बाहाम्फे थरका प्रहरी अधिकारीलाई ती युवक के भएर मरेका रहेछन् भनेर जिज्ञासा राखेँ मैले । “पिटिएर मरेको हो ?”, बुझ्न खोजेँ ।

“काँ हुनु, जाडोले कठ्याङ्ग्रिएर मरेको हो”, निश्चिन्त भएर सुनाए तिनले । हुन पनि एउटा हात बटारिएर कुमसम्म पुगेको र अर्को हात खुम्चिएर अघिल्तिर आएको थियो । तर ज्याकेट र पाइन्ट लगाएको अवस्थामा र राजधानीको अरू ठाउँमा ओतिएर बस्न मिल्ने सुविधा हुदाहुँदै  ऊ खुला आकाशमुनि पछारिन किन आयो होला ?   जाडोले नै कठ्याङ्ग्रिएर मरेको हो भन्ने सत्य हो भने पनि त्यो कल्पना गर्दा मात्रै पनि आङ सिरिङ्ग भयो । यस्तै हो यहाँ वर्गीय भिन्नता – कोही भोको पेटमा मर्छन्, कोही धेर खाएर पेट ढाडिएर !

“आफ्नो सुरक्षा आफैँ गर्न सक्ने हो भने आफ्नो खैरात छ, नत्र छैन ।” एउटा बोल्यो ।
समर्थनमा गुञ्जन सुनियो युवाहरूको ।

प्रहरी र राज्यको सुरक्षा संयन्त्र उनीहरूका लागि ठट्टा बनेको थियो । राजधानीका सुनसान खालका एक-दुईवटा ठाउँको नाम लिएर उनीहरूले ती ठाउँमा एक्लैदुक्लै र रात-बिरात नहिँड्नुमै आफ्नो कल्याण हुने निष्‍कर्षमा पुग्दै थिए सबै । यसैगरी सहरमा सबैजना आ-आफ्नै सुरमा रहेकाले एउटाको वास्ता र फिक्री अर्कोले नगर्ने अरूलाई जेसुकै परे पनि मूकदर्शकमा सीमित हुने चलनबारे चर्चामा बत्तिंदै थिए सबै । मृतक युवाको अनुहार हेर्दा पिटाइबाट मरेको जस्तो हलुका रक्ताम्य थियो । त्यो युवा पिटिएर मरेको हो कि भने गाइँगुइँका बीच यहाँ जसले जसलाई पिटे पनि, पिटपाट गरेर कतै गयो भने गको गयै हुने, कुनै कारबाही र सोधखोज कतैबाट नहुने व्यङ्ग्य पनि आयो । जुन व्यावहारिक रूपमा तीतो यथार्थ पनि बनिआएकै छ ।

”यहाँ त जसले हान्यो त्यसले जान्यो भन्ने अवस्था छ ”, 
समाजमा  बदमासहरूको बोलवाला रहेको र त्यो बदमासीमा राज्यको प्रशासनले पनि आँखा चिम्लिएर अनुमोदन  गर्ने जस्तो प्रवृत्तिप्रति लक्षित गर्दै बोले अर्का ।   

Cold-!3हामी पनि रमिते ! : सहयोगी होइन दर्शक बन्ने सहरिया प्रचलन

दुई जना सडकमा जुधिरहेको छ भने पनि यहाँ त छुट्याउने कोही हुन्नन्, छेउमा उभिएर भिडेको हेर्नेको लाइन पो लाग्छ  भन्ने टिप्पणी गर्‍यो पछाडि झोला भिरेको अलि टाठो युवकले । हुन पनि हो, बरू गाउँतिर छुट्याउँछन् जुधिरहेका दुवै पक्षलाई समाएर । सहरतिर त छुट्याउन पनि मान्छेहरू कसरी अगाडि सरून्, जुधिरहेका मान्छे को कस्ता छन्, कतिसम्ममा खतरनाक हुन सक्छन् ती र के निहुँमा भिडेका हुन् भन्ने खुट्याउन पनि सकिन्न ।  यसकारण उनीहरू चुपचाप आफ्नो बाटो लाग्छन्, या त रमिते बन्छन् । यही सहरमा छु आफू पनि । आफू पनि दर्शकहरूमै परिणत हुँदै गए जस्तो लाग्दैछ ।  

Cold-!4 शव वाहनमा हाल्न मृतकलाई लैजाँदै प्रहरी

खासमा त्यो बिहान मृत्यु जत्तिकै चिसो थियो । त्यही बोध गर्दै थिएँ फर्किँदा ।

05 January 2011

लजालु उनी !

news.xinhuanet.comनलाई लाज लाग्छ । लाज लागेपछि लजाउन पाउनु मौलिक हक हो !  यसर्थ स्वाभाविक हो, उनी लाज मान्छन् । मण्डपमा बसेकी कुनै बेहुली वा हतकडी लगाएर अनुहार छोप्न असमर्थ कुनै अभियुक्तको कुरा होइन यो । हाम्रै कामचलाउ प्रधानमन्त्री माधवकुमार नेपाल लजालु भएका छन् । मुलुक हाँक्ने जिम्मेवार व्यक्ति लाजवन्ती झार जस्तै लल्याकलुलुक बन्ने गरेपछि अरू सर्वसाधारण मनुवालाई पनि धक फुकाएर लजाउन छुट भो ! मुलुकमा संघीय राज्य कसरी मिलाउने भन्ने बहस चलिरहेको बेला आजकाल ठाउँ-कुठाउँ स्वायत्त प्रदेश घोषणाको लहर चलेको छ, मिल्छ भने अर्को एउटा पनि घोषणा गरिदिए भैगो - लजालु गणराज्य । 

डेढ वर्षभन्दा बढीको प्रधानमन्त्री कार्यकालमा उनी यस्तो लजालु सायद कहिल्यै थिएनन् । प्रधानमन्त्रीमा निर्वाचित भइसकेपछि सपथ ग्रहणका लागि पिताजीको साथ लागेर राष्ट्रपति भवन पुग्दा पनि उनी लजाएनन् । बरू पदीय ठाँट झिक्दै गमक्क परे । प्रतिपक्षी दलको आलोचनाको अस्त्र र कति-कति कोप झेल्दा पनि गम्किन नछाडेका कामचलाउ सरकारका यी हेडसर बल्ल यतिखेर आएर लजाए । कारण थियो – मुलुकको विद्युत् लोडसेडिङ समस्या । (प्रधानमन्त्री लज्जावती भएको खबर पढ्न यहाँ पसौँ । वर्षौ‌देखि कुरा गर्दै आए पनि लोडसेडिङ समस्या हटाउन नसक्दा लाजैमर्दो भएको अनुभूति गरेछन् प्रधानमन्त्रीले । लज्जा गहना हो भन्ने कुरो यतिखेर भए पनि बुझेछन् उनले । तर लज्जा कसको र कुनबेलाको गहना हो  भन्ने विश्‍लेषण उनैले ढिलो-चाँडो गर्लान् । अहिले त लजाएरै फुर्सद छैन उनलाई ।

विभिन्न मन्त्रालयका सचिवहरूसँगको बैठकमा प्रधानमन्त्री लजाएनन् मात्रै, सुरिलो कण्ठ खोलेर कुर्लिए पनि । पर्यटन वर्षको सन्दर्भमा राजधानीको फोहोरमैलाको समस्या, सहरमा भवन निर्माणको संहिता, निर्यातमूलक उद्यम विकास लगायतका समस्याको पोको खोतल्दै ठीकठाक पार्न प्रधानमन्त्रीले सचिवहरूलाई निर्देशन दिए । यस्तो लाग्थ्यो ठूलाबडा पदमा बस्नेले गर्ने काम त यही अह्रनखटन नै हो कि के हो ? थर्कायो, काम भइहाल्यो, जागिर पाक्यो ! लजाउने र थर्काउने मात्र यिनको काम हो भने राज्यको ढुकुटी धमिराको घर जस्तै खोस्ट्याएर किन पाल्नुपर्‍यो यिनीहरूलाई ? यस्तै सोच्लान् मुलुकका लाटा-गाँडाहरू ।  धन्न ! तर बेपर्वाह लजाएर, क्रुद्ध भएर कार्यकारी उच्चतम तहको मनुवा सरकार चलाइरहेछ ।