April 1, 2012

चौथो चुम्बन

ठट्टैमा बित्छ जोबन, अरुको त के कुरा ?

ब्लग लेखनका चार वर्ष पनि ठट्टैमा बितेसरि गए । अप्रिल फुलकै दिन चार वर्षअघि थालेको यो ब्लग माझेर चम्काउन मेरो अविरल प्रयत्‍न रहँदै आयो । तर ब्लग लेख्‍नु र चम्काउनु अनन्त यात्रा रहेछ । पूजाकोठाको थाली एक दिन चम्काएर पार पाइने हो र ? अँ त, पूजाकोठाको कुरा गर्दा केही समय यता ब्लग भनेको पूजाकोठा र ब्लग लेखन चाहिं पूजा हो जस्तो लाग्न थालेको छ । ब्लग लेखन पूजा नभए यसबाट यति आनन्द र तृप्ति कसरी मिल्दो हो !


ब्लगका चार वर्षमा लेखनका महत्वाकांक्षी योजना केही पनि पालिएन । निरुद्देश्य लेखन । सबै काम मिसनसहितको गरिन्न रै’छ जीवनमा, सबै कुरा योजनासहितको पनि हुन्न रै’छ संसारमा । कुनै योजना पूरा गर्छु भनेरै लाग्नेहरुबाट त कुनै छनक मिल्दैन यहाँ, स्वयंसेवा (आफ्नो) को लहडबाट सुरु गरिएको ब्लगले कुनै बोझ के पन्छाओस् ! खालि रहरले लेखियो, स्वर्गै हडपेको खुसीमा फुलेल भइयो, सधैं १६ वर्षको जोबन ज्यानमा कसिएर बसिराखे झैं वासन्ती सुगन्ध अनुभूति गरियो । आह्, ब्लग भनेको खुला गगनमा चराको भाँतीमा उड्नु हो ! कुनै शिकारीको परवाह नगरी । चराको वायुवेगको उडानबाट प्रतिफलको आशा के राख्‍नु ? बरु आफ्नो उडानबाट कसैलाई आफैं उडेको अनुभव हुँदो हो, कुनै न कुनै सन्तुष्टि मिल्दो हो । ब्लगको शक्ति र प्रभाव त्यही नै हो ।

चार वर्षको यात्रा पूरा गरी पाँचौं वर्षमा ब्लग लम्किनुलाई मैले वर्षैपिच्छे चुम्बनको विम्ब भिडाएको छु । चौथो चुम्बन पनि मैले गरिभ्याएँ । तर जति नै बार गरे पनि चुम्बनले केहीको जन्म दिंदैन । यो त कुनै गोलो घेरोको अक्वारियममा माछो ठोक्किरहनु जस्तै छिपछिपे चाल हो । जन्मको लागि अलग प्रयास चाहिन्छ र केही समय पनि । यो ब्लगले त्यो गन्तव्य भेट्ने दिशा पैल्याओस् ।

सदा झैं म, मेरो लेखन र ब्लग मन पराएर-नपराएर हौसला र सुझाव दिने सबैलाई सम्झिरहेछु ।

चियर्स !!  

-----------------------------------------------------------------
गत वर्ष ब्लगको चौथो वार्षिकोत्सवमा लेखेको गन्थन पढ्ने भए - तीनवर्षे ब्लगिङ र आत्मस्वीकृति : यो अप्रिल फुल होइन

5 comments:

  1. जे हो तपाईको ब्लग लेखन निरन्तर अगाडी बढिरहोस शुभकामना !! चियर्स !!

    ReplyDelete
  2. Hardik Suvakamana 6 Hajur lai !

    ReplyDelete
  3. यो सफल ४ बर्षको लागि यहाँलाई हार्दिक धन्यबाद र आगामी बर्षहरुका लागि शुभकामना ।

    ReplyDelete
  4. त्यै त । अहिलेसम्म पनि हामीलाई अक्वारियमकै पानीमा सही चुर्लुम्म डुबाउनुभएकै थियो आगे अझ महत्व रहोस् र महत्वपूर्ण केहि (अपेक्षित) बनोस् । ब्लग यात्राको चौथो वर्ष पारभएकोमा खुसी सहितको बधाई!

    ReplyDelete