Subscribe:

Ads 468x60px

26 May 2012

लेखिकालाई सम्पादकको पत्र

त्यो समय ठेगाना भएर पनि बरालिएर हिँडेको पर्यटक जस्तै थिएँ म । मियो भेट्टाएर पनि टिक्न नसकेको चञ्चल अवतार । जीवनमा कसैको आगमन भएको समय थियो त्यो । बाफ रे, खुबै व्याकुल हुने मन ! धड्कनका चरा एक मिनेटमा ७२ भन्दा बढी चोटि छातीको पर्खालमा भ्याट् भ्याट् ठोक्किएर मर्थे । शान्तिमा पनि त्यसै अशान्ति । उतिबेलाको व्याकुलताको छनक यो पत्रले दिन्छ । जीवनकै जस्तो विशृंखलता र विसंगतिको  अंश पनि भेटिएला यहाँ । यो चिठी उनैको लागि लेखिएको थियो उतिबेला । तिनले पाइन् र जवाफ पनि दिंदै गइन् पश्नोत्तरी खेल जस्तो ।

आत्मीय नातालाई सम्पादक र लेखिकाको रुपमा ढाल्दै साहित्यिक रोगन दिँदा यस्तो लेखिएको थियो चिठी, जस्ताको तस्तै :

असोज ११,०६४

नक्साल

स्नेही लेखिका,

प्रेमिल कामना ।

तिम्रो प्रश्न र अनन्त विरक्तिको अनुहार लिएर सम्पादकलाई पत्र आउनुभन्दा धेरै अगाडि नै यो पत्र लेखिनुपर्थ्यो । तर समय हुने रहेछ कुनै पनि कुरा र काम आयोजनाको । भनौं न, भेट भएर पनि तिमी र म धेरै अन्तरालमा एक-अर्काको चाहनामा सराबरी मिल्यौं । पहिलो पत्र लेख्दै छु तिम्रो नाममा । र सायद तिम्रो जन्मसँगै यो पत्रको बीज फुटेको भए हुने थियो । तब तिम्रो आयुकै हाराहारीमा सोच र समझ राख्न पत्रले सामर्थ्य राख्ने थियो । पत्र जतनसाथ पढ, के थाहा पहिलो यो पत्रपछि अर्को पत्र सायद नलेखिएला । प्रेम हामीबीच कायम रहे पनि पत्रको खाँचो हामीलाई नपर्ला । मलाई गर्ने प्रेमजत्तिकै पत्रले पनि तिमीबाट छत्रछाया पाउने आस छ । नत्र लेख्नुको अर्थ नै के...।

कसोकसो तिमीलाई मैले लेखक (त्यो पनि किन सिकारु लेखक नै !) बन्ने दुःखमा निम्तो दिएछु । दुःख त्यहीबाट सुरु हुन्छ, जहाँ अरुको आमन्त्रण आफूलाई ताकेर आउँछ । यस्तै भयो, मैले तिमीलाई ताकेर एउटा भारी निशाना चलाएँ र तिमी कलम कलम बोकेर पग्लियौ । आफ्नै रहर यदि हुन्थ्यो भने मरुभूमिको जताततै पहेंलपुर बालुवा थुप्रिएको संसारमा घिस्रिनु पनि सपनाको मीठो यात्रा बन्ने थियो, तिमीले पनि 'पाउलो' पढ्दा ठम्यायौ सायद ।

तिम्रो पहिलो पत्रमा नै मैले तिमीलाई बन्नासाथै हेर्न पाएको ताजा ऐना झैं प्रस्ट पाएँ,Pic Source - uphillwriting.org जसलाई कारखानामा कामदारले पनि हेर्न नपाएको होस् । त्यस्तरी मैले तिमीलाई हेरेँ । पहिले तिमी प्रेमिकाको रुपमा आयौ, त्यसपछि लेखिकाको अर्को आसलाग्दो अनुहारले मलाई कुतकुत्याउने गरी पिछा गर्‍यो । म कहाँ भाग्न सक्थेँ, तिमीसम्म अल्झिएरै बसिरहेँ । जहाँ माकुराको जालमा जेलिन पनि माखोलाई रमाइलो पिङ खेलेको अनुभूति होस् ! म जान्दिनँ, मेरो इतिहासले मलाई कति र के-केसम्मको अभिलेख जुटाउनुपर्ने अभिभारामा पात्र बनाएको छ ।

तर यस्तो दिन पनि आयो, मैले सम्पादक बन्नुपर्‍यो र त्यो पनि मानार्थ सम्पादक । जो स्वयम् असम्पादित भएर छरिएको छ, उसले गरोस् सम्पादन भनेर कसरी आस राख्ने ? र तैपनि यो जोखिम मोल्ने एउटा प्रयोग गरेकोमा तिमीप्रति म झन् आकर्षित भएको छु, सायद चाहिनेभन्दा बढी नै । यो आकर्षण आँखा, औँलाहरू र हाउभाउभन्दा माथि मनको रसायनसम्म नै घुलेको हो कि ? यो तिमीले आफैं जाँचे वेश । कारण, कसैद्वारा आफूप्रति लक्षित वाणको तेज वा दुर्बलताको आयतन त खप्नेलाई नै अन्दाज हुन्छ ।

लेखकबाट तिम्रो राजीनामा..., म हाँस्दै छु । तिमीलाई थाहा छ, हाँसो मेरा ओठका दुर्लभ प्रशाधन हुन् । र यद्यपि हाँस्दै छु । कारण, लेखकको सन्न्यासलाई सम्पादकले बेहोनुपर्ने यो कस्तो व्यथित परिस्थिति सिर्जना गर्‍यौ ? आखिर सर्जक जो पर्‍यौ । र यतिखेर परिस्थितिको समेत सम्पादन गनुपर्ने अर्को धर्म पाएको छु मैले । यति त आजै भनिदिए हुन्छ मैले-गरे पनि तिमीसँग नजोडिएका पाप मात्र मैले गरुँ । तर तिमीले सम्पादकबाट बर्खास्तको अघोषित निर्णय दिएर मलाई छुट्याउन खोज्दै छौ । त्यो पनि कफी, थुक्पा वा रोटीका छुट्टाछुट्टै कप, कचौरा वा रिकापीहरूमा जसरी नै । र यस्तोमा हामी दुवैजना एउटै टेबलमा रहेर पनि मोहक देश घुम्न निस्किएका फरक भेष, भाषा, देशका पर्यटक झैं एकदम विरानो र उदास छौं । तिमीले सिकारु लेखकबाट राजीनामा दिनु के म सम्पादक (खासमा असम्पादक) को पनि बर्खास्त थिएन र ? यस्तै गरी प्रेम पनि कुनै पेशा हुँदो हो र राजीनामा दिन मिल्दो हो त के हुँदो हो मेरो हविगत ! संसारमा लेखकको जन्म पहिले र त्यसपछि मात्र सम्पादकको भएको पाइन्छ ।

लेखक ईश्वर, सम्पादक उपासक ।

लेखक जीवन, सम्पादक कला मात्र ।

लेखक समग्र दृश्य, सम्पादक एक दृष्टि ।

लेखक.., पुग्यो सायद । बाँकी गुरुआमाको आफ्नै गहन चेतले काम गर्छ ।

र, यसकारण लेखकको स्वर्गीय प्राण सम्पादक (यदि उसको केही अस्तित्व भए) सामु गएर दयनीय बन्नु कसरी सुहाउला ? लेखक होइन बरु सम्पादक स्थगित हुन सक्छ । कारण, लेखकले नै सम्पादकको जीवन रचेको हुन्छ । जब लेखक नै छैन भने सम्पादक पनि रित्ता पानाहरूमा आँखा निचोरेर भल बगाउने हैसियतको रहँदैन । सम्पादक नभए पनि लेखकको अस्तित्व लेखकबाट पर हुँदैन । तर लेखकको जन्मसँगै देखिने सम्पादकसामु लेखकले राजीनामाको पत्र बोल्नु यो ब्रह्मान्डमै पहिलो घटना भयो । यसर्थ मैले भन्दै आएको ओस्कर अवार्ड सुहाउने हात तिम्रोबाहेक अर्को अब त झन् रहेन ।

पत्रमा औपचारिकताको स-सानो शृङ्खला बाँधेर तिमीले यत्तिकै हुनुको असक्षमता पोखेको हुँ भनेकी थियौ । अनि मानवताविहीन मन लिएर बाँचेको भनेर निकै थकथक मानेकी थियौ । पत्र पढेपछि सारै अत्यास लाग्यो र तिमीलाई झन् एकसुरले प्रेम गर्न लागेँ । सायद अर्को पाटोमा लेखकसँगको नाताबाट पनि सम्पादक भएर तिमीसँग एकाकार भएँ । अघि भनेँ, लेखकले सम्पादक जन्माउँछ, हुर्काउँछ । पनि हुर्किँदै थिएँ प्रेमले । लेखनु सायद गहन लगनले प्रेम गर्नु हो सम्पादकलाई, र सम्पादन पनि लेखकसँगको आत्मीय फ्युजन हो । लेखकको रुपमा प्रेम व्यक्त गर्न बन्द गर्नु संसारमै अचम्म नहोला ? लेखक भइसकेपछि लेखक नहुन गाह्रो छ, तर सम्पादक पद अस्थायी हो र यो अलौकिक क्षमता पनि होइन । यसकारण तिमी लेखक भइराख, सायद तिमीलाई असल सम्पादकको खाँचो परेको होस् । त्यस्तै योग्य कुनै सम्पादकको संयोग तिमीलाई अहिलेसम्म नमिलिरहेको होस् । तिमी लेखक भएर लेखिरहन मञ्जुर नहुनुमा सायद मेरो अक्षमताले काम गरेको होस् । अतः मेरो अक्षमतासहित तिम्रो लेखकीय जीवनबाट म आफ्नो सम्पादकको कलाकारिता फिर्ता लिँदै छु, आजका दिनदेखि ।

पीर नमान्नू, पाठकीय टिप्पणी भने गराइरहनेछु । राजीनामा स्वीकृत गर्ने कतै-कुनै अधिकार नभएको अवस्थामा तिम्रो लेखनको र विद्रोहपूर्ण स्वतन्त्रताको निरन्तर प्रवाहको लागि शुभ यात्रा भन्छु लेख्दै जाऊ, कतै योभन्दा कुशल सम्पादकको नजरमा पर्‍यौ भने त्यतिबेलै तिम्रो अर्थले आकार लिनेछ । यस्तै होस् । मैले किन यति साह्रो जोडले लेखक हुनु / नहुनुको मुद्दालाई चिठीभरि विषय बनाइरहेँ, जान्दछ्यौ ? कारण, जो मान्छे लेखक हुन्छ, उसले नबुझ्ने र बुझ्न प्रयास नगर्ने कुनै कुरा हुँदैन । र म बुझिन चाहन्छु कसैबाट । नबुझिएर क्वारक्वारी झरेको पात हेरिरहेको नियति बेहोर्नुजस्तो सङ्कट जीवनमा अरु केही हुँदैन सायद । म पनि तिमीजस्तै एउटा धरातलको खोजीमा छु, शिर अँड्याएर रुन पाउने मायालु काँधको अभावमा छु । यो सहरमा नत्र जतिबेला पनि जिउँदा-जिउँदै पासोमा परिरहेको हुन सकिन्छ, के बेर !

तिमीले लेखेको ठीक हो, भावनात्मक कोमलताविना बाँचिरहनु अहिलेको समयको उपहार भएको छ । यो समय नै यस्तो छ, मानवता र संवेदनशीलताको कतै मूल्य छैन । आँसु बग्यो भने उपहास सुन्नु पर्ला भनेर ढुङ्गा बन्नुपर्ने विवशता छ । हो, यो ढुङ्गाको समय नै हो । तर तिमी यस्तो कठोर त नबन । कोमल बन्ने मानवीय कष्ट उठाउन सक्छ्यौ ? यता सायद मैले नै कठोर बन्नु उपयुक्त हुनु वेश होला । तब कठोर बराबर कठोर भएर यात्रा सन्तुलित हुन सक्ला । नत्र त कोमलता र कठोरताको मिलनविन्दु सांसारिक चोलामा कहाँ सम्भव हुँदो हो र ?

यसै पनि व्यथा बुझ्छु, यही सायद मेरो क्षमता हो । स्वरको कम्पनमा दुःखको डिग्री कति माथि उखरमाउलो बनेको छ, सायद ठम्याउन सक्छु । तिम्ररो मर्मलाई कति गहिराइमा छाम्न सकेँ, फुर्सदमा बताउन सक्छ्यौ, सुन्ने सामर्थ्य पनि ममा भरपूर नै छ क्यार । आँखाको रातोपनमा प्राणीगत सजीवता मात्र छ कि, मायालु भावुकताको गाढापन पनि छ, हेर्न सक्छु । नरोएरै पनि एउटा अनुहार कस्तोसँग पग्लिएको छ, अनुभूत गर्छु यसैले तिमीलाई हतारले सङ्ग्रह गर्ने धुनमा सडकदेखि सडकसम्म नाप्न पागल भइरहन्छु । यो पागलपनमा पनि नाटकीयता छ कि, जान्दिनँ । फिल्मी कथा, नाटकीयता...जमाना यस्तैको छ । प्रभाव पनि यस्तैको...हामी तडि्परहेका हुन्छौँ बेला-बेला । आफूले नसोच्दा-नसोच्दै कुन बेला पात्र बन्नुपर्छ, यो हत्तेको अनुमान कसले लगाउन सकोस् ! र पनि भोलिको रहस्यलाई आतङ्क बनाएर वर्तमान जिउनलाई छुटाउन छुटाउनु परिरहेछ ।

प्यारी लेखिका,

यो लेखिका सम्बोधनमा लिङ्गभेदको साँगुरोपन अनुभव भयो होला । तर यहाँनेर सुरक्षितसाथ मायाले शब्द भरेको के तिमीलाई आभास छ ? प्यारी...लेखिका...। के यसमा फराकिलो फैलाइ र अँगालोको मिठास छैन ? तिमी लेखिका भएर मलाई अक्षर-अक्षरले रङ्ग्याऊ र म कुनै अर्थविस्तारमा तिमीसँगको समझदारीसँगै छर्लङ्ग देखिऊँ। मान्छेलाई एउटा त्यस्तो अँगालोमा बाधिँदा अतिरिक्त सुरक्षाको कवच अनुभव नहोला ? म पनि कल्पना मात्र गर्दै छु । विपना त कता-कता...! कारण, त्यस्तो कवच मेरो लागि अझसम्म कतै पनि रचना भइनसकेर होला । म कहिलेसम्म यत्तिकै हिडूँला ? वारिपारि सडकको जेब्राक्रसिङमा भय पाल्दै काट्दै रहूँला ? कहिलेसम्म कफी सपमा बस्दाबस्दै म्यानमारमा भिक्षुमाथिको आक्रमण सुनिरहूँला ? कहिलेसम्म आत्मीय बिदाइ गरेर फर्किFदा पनि त्यो ‘बिछोड चोक’मा अमिलो मन लिएर फनक्क फर्किँदै गरुँला ? अनि कहिलेसम्म फुटपाथमा हिँड्दाहिँड्दै एक्लो अनुभूति घिस्याउँदै निभेको ल्याम्प पोस्टतिर शिर उचाल्दै पर..पर...पर....पुगूँला ? तिम्रो हात देऊ नानू ! तिम्रो पनि उल्झन यो संसारमा सायद मेरोजस्तै हो । संयोजन गर्नमा गुरुआमा कहलिएकी छ्यौ । भइरहू ।

२०६४ भदौ ६ को काठमाडौँ आँखाभरि छ,

अझ छ, आँखाभरि त्रिपुरेश्वरको कालमोचन परिसर...

बिहीबार बिहान १० बजे आसपासको समय हाम्रै शिरमाथि बोझिलो थियो । मेरा आँखामा आँसु र तिम्रो आँखामा समस्या र अन्योल थियो । जिन्दगीको त्यस्तो कठिन सुखद मोड आउनुपर्ने जरुरी भइसकेको थियो । र भोलिपल्ट शुक्रबारको साँझ हाम्रो प्रेममा पखेटा लागेको थियो । तिमीलाई यो सहरमा झुलुक्क देख्नु, पछि-पछि जम्काभेट नै हुन थाल्नु, मैले हेरिरहेर पनि तिमीले केही नदेख्नु, मेरो प्रेमको चिठीलाई पनि तिमीले आम मान्छेका लहरमा राखेर सामान्यीकरण पारिरहनु, संसारका सारा राम्रा अनुहार छाडेर म तिमीतिरै एकोहोरो र लगनशील भइरहनु अनि व्यग्रताले छटपटाइरहनु... ...यिनै त थिए यातनापूर्ण दिनहरू । म के गर्न सक्थेँ ! तिमी पनि त बिचरी थियौ ।

तिम्रो पत्र नै तिम्रो सम्पूर्णताको रुपमा बुझेपछि तिम्रो कपट, गोप्यता र सङ्कुचितता सबै एकैसाथ बाहिर आए । अर्थात् तीदेखि तिमी मुक्त रहिछ्यौ । यति हो, तिम्रो चञ्चलताभित्र सोचपूर्ण सहयात्राको लागि गम्भीरता मात्र खोज्नुपर्‍यो मैले । तिम्रो परिवार, साथीभाइ र कामरुपी थरीथरी प्रेमीहरू सबैलाई म सहनेछु । जीवनको यस मोडमा आइपुग्दा भावी जीवनशैलीको रेडिमेड बनौट त पूरापूर नहोला, आजको अग्रसरता, प्रतिबद्धता र विश्वासी भावना भने यथेष्ट छ । यही त होला 'फातिमा' र 'गोठालो केटो'को प्रतीक्षापूर्ण मिठास । मलाई भर गर्छ्‌यौ ? म त तिमी नै हुँदै छु, कुनै दूरीविना । कहिलेकाहीँ आत्तिन्छु, म कतै व्यस्त रहेर विवशतामा हराइरहेको बेला तिमीलाई कसैले त चोर्दैन ? यो कस्तो भय हो ! यो भयलाई शान्त पार्न हामीबीच अन्तर र लुकिछिपी केहीको पनि नहोस् है ।

'तिम्रो चित्र चिसो होइन, सायद भित्ताको रङ मिलेन,'

कुनैबेला तिमीले भनेकी थियौ । अब त रङ पूरापूर मिलिसकेको हो कि ? म ढुक्क हुँदै छु । र यो सहरमा र संसारमा नै भावनात्मक रुपमा रित्तै रहेर कहालीलाग्दो अनुभूति अलि भोग्नुपरेको छैन अब । तिम्रो आगमनबाट मेरा शून्यताका नक्कली चराहरू भुरुरु उडेर गए । यतिखेर तिम्रो गुनगुन सुन्न पाउने सौभाग्यमा छु म । पृथ्वी अलिकता कोल्टिए पनि हुने भयो अब । कारण, सन्तुलन बिग्रिएर लड्न पुगियो भने एक-अर्कालाई सम्हाल्ने अब साथ छ ।

यो चिठी भयो कि चिसो ? थाहा भएन । वा केही बुझिएन कि ? तर हाम्रो एङ्गल वास्तवमै मिलेको रहेछ र तिमीले मेरो मुटुको हिसाब राखिरहनु छ जीवनभरि भने जसरी पनि यो चिठीमा प्रस्ट हुनेछ्ंयौ । तिम्रो पर्खाइलाई बूढो नबनाउने मेरो प्रयास हुनेछ । तिम्रो कपालजस्तै हाँगा त हामीबीच नफाटोस् । तिम्रो कलमले प्रेमी-पाठकको दर्जा फेरि दिनेछ भन्ने विश्वासमा -

तिम्रो

विगत सम्पादक ।

1 comment:

  1. मनोहर पत्र!
    तिम्रो कलमले प्रेमी-पाठकको दर्जा फेरि दिनेछ भन्ने विश्वासमा -

    ReplyDelete