November 9, 2012

गीतको कथा – ‘धेरै माया दिँदा रै’छन्...’ (ललिता कुँवर)

परिचय ‘किलर सङ’को – ललिता कुँवर
'धेरै माया दिँदा रै'छन्' गीतलाई धेरैजनाले मेरो आफ्नै कहानी ठानेका छन् । तर यथार्थ अर्कै छ । यो गीत लेखिनुको कारणबारे आजसम्म जति जनालाई सत्य कुरा भन्दै आएको छु, नपत्याउनेको संख्या धेरै छ । प्रेम-वियोगको भाव बोकेको गीत भन्नेबित्तिकै गीतकारले आफ्नै प्रेमजीवनको कुरा लेख्यो भनेर चर्चा गर्न सजिलो पनि छ । Lalita-Kunwarतर गीतकार आफ्नो संसारमा मात्र सीमित हुँदैन । यो गीत जन्मिँदाको समयतिर मलाई माया-प्रेम भन्ने थाहै थिएन, त्यसमा परेको भए पो थाहा होस् !

१४-१५ वर्षको उमेरदेखि नै मैले गीत र कविताको ढाँचा जानेर लेख्न थालेकी हुँ । पछि गीतलेखनबारे राम्ररी बुझेर लेख्ने क्रममा एक दिन एउटा घटनाले निकै छोयो । १० वर्षअघिको कुरा । विभिन्न टेलिसिरियलमा अभिनय गर्ने पाइलट विजय गिरीको 'विमानचालक' भन्ने टेलिसिरियलमा म त्यो समय निकै मोहित भएको थिएँ । नेपाल टेलिभिजनमा प्रसारण हुने त्यो सिरियलको विशेष गरी 'विमानचालक छ तिम्रो आकाश विमान उडाउनको लागि' बोलको गीत एकदमै मन पर्थ्यो । त्यही गीतकै लागि भए पनि म सिरियल हेर्थेँ ।