Subscribe:

Ads 468x60px

26 May 2012

लेखिकालाई सम्पादकको पत्र

त्यो समय ठेगाना भएर पनि बरालिएर हिँडेको पर्यटक जस्तै थिएँ म । मियो भेट्टाएर पनि टिक्न नसकेको चञ्चल अवतार । जीवनमा कसैको आगमन भएको समय थियो त्यो । बाफ रे, खुबै व्याकुल हुने मन ! धड्कनका चरा एक मिनेटमा ७२ भन्दा बढी चोटि छातीको पर्खालमा भ्याट् भ्याट् ठोक्किएर मर्थे । शान्तिमा पनि त्यसै अशान्ति । उतिबेलाको व्याकुलताको छनक यो पत्रले दिन्छ । जीवनकै जस्तो विशृंखलता र विसंगतिको  अंश पनि भेटिएला यहाँ । यो चिठी उनैको लागि लेखिएको थियो उतिबेला । तिनले पाइन् र जवाफ पनि दिंदै गइन् पश्नोत्तरी खेल जस्तो ।

आत्मीय नातालाई सम्पादक र लेखिकाको रुपमा ढाल्दै साहित्यिक रोगन दिँदा यस्तो लेखिएको थियो चिठी, जस्ताको तस्तै :

असोज ११,०६४

नक्साल

स्नेही लेखिका,

प्रेमिल कामना ।

तिम्रो प्रश्न र अनन्त विरक्तिको अनुहार लिएर सम्पादकलाई पत्र आउनुभन्दा धेरै अगाडि नै यो पत्र लेखिनुपर्थ्यो । तर समय हुने रहेछ कुनै पनि कुरा र काम आयोजनाको । भनौं न, भेट भएर पनि तिमी र म धेरै अन्तरालमा एक-अर्काको चाहनामा सराबरी मिल्यौं । पहिलो पत्र लेख्दै छु तिम्रो नाममा । र सायद तिम्रो जन्मसँगै यो पत्रको बीज फुटेको भए हुने थियो । तब तिम्रो आयुकै हाराहारीमा सोच र समझ राख्न पत्रले सामर्थ्य राख्ने थियो । पत्र जतनसाथ पढ, के थाहा पहिलो यो पत्रपछि अर्को पत्र सायद नलेखिएला । प्रेम हामीबीच कायम रहे पनि पत्रको खाँचो हामीलाई नपर्ला । मलाई गर्ने प्रेमजत्तिकै पत्रले पनि तिमीबाट छत्रछाया पाउने आस छ । नत्र लेख्नुको अर्थ नै के...।

13 May 2012

बार्गेनिङ्को संवाद र विवाद

कान्तिपुर पब्लिकेसन्सको साप्‍ताहिक प्रकाशन नेपालको बैशाख ३१  (May 13)को अंकमा प्रकाशित आफ्नो निबन्ध  सबैसामु बाँड्न मन लाग्यो  -

- कान्छु, सिद्धियो आलु ?

- के भयो ज्याकेट, धरधरी च्यातिएछ ! फेर्नलाई अर्को साथमा छैन ।

हाम्रा जीवनचर्याका उप्किरहने एकोहोरो गन्थनका पाप्रा हुन् यी । जसलाई घाउ नै भनिदिए हुन्छ । अघिको 'गन्थन' शब्द अलि अर्थबाहिर गयो क्यार ! यसलाई आवेग भनिदिँदा अलि वेश । अर्थात् एकोहोरो आवेगका पाप्रा ।

व्यवहारमा हाम्रा खाँचो र मागहरू टुटुल्कोजत्तिकै मर्मबोध बनेर हामीसामु पसारो लाग्न आइपुग्छन् । र, तिनलाई नसुमसुम्याई पनि धर कहाँ पाउनु ! अझ भन्दा, त्यस टुटुल्कोलाई भावीको लेखामा अभिशाप मान्ने वा वरदानको कसिलो प्याकेज ? हिसाब निकाल्नुपरे क्याल्कुलेटरलाई नै मस्तिष्कघात हुँदो हो।

- आलु कुहिएर जान्छ वा भान्छाको घानमा परेर रित्तिन्छ ।
- ज्याकेट पनि उमेर खाएर जीर्ण बन्छ वा दुर्घटनावश बेकामी बनिदिन्छ ।
... ... भने, यस्तोमा उपाय के ?

बजारको विरहलाग्दो बाटोमा नचाहेर पनि मनीब्यागको मुख खोतल्न हामी व्यापारकि भीडमा फसिहाल्छौँ। अन्तत : उद्‌घाटन बार्गेनिङ्को ।

हो, हुने गर्छ : बजार, बार्गेनिङ् र आजीवन बिच्छी पीडा ।

08 May 2012

शिरीष याम

फोटोग्राफीको नशाले पनि अनेक गराउँछ । साधारण ‘प्वाइन्ट एन्ड सुट’ डिजिटल क्यामेरा बोक्नु छ, ठूलै खजाना मिल्ने उमंगमा कहिले शहरको भीडमा त कहिले एकलास पाखातिर बरालिनु छ । तर सिकारी गतिलो नभए पनि गतिलो सिकार खोजेर कहाँ हुनु र ?

शिरीष फूलको यो सिरिज तयार पार्ने बेलामा निकै बरालियो ज्यान । दृश्यको राम्रो ‘मूड’ नरहेपछि  एकै ठाउँमा पनि विभिन्न समयमा फेरिफेरि पुग्नुपर्ने । कहिले बिहानीपख, कहिले मध्याह्नको छिप्पट दिन र कहिले भने घाम ओइलाउने बेला । ‘काठमाडौं‍ शहर, घुम्न लाउँछ रहर’ भन्ने भावले यो बेला शहरतिर फन्को मार्दा शिरीष फूलहरुले आँखै निभ्न दिंदैनन् ।

ननिभेका आँखाहरुले देखेका शिरीषका तिनै प्राकृतिक टुकीहरुको दर्शन गरौं न त !

Shiris-1