Subscribe:

Ads 468x60px

21 October 2012

अन्ना, अनुश्रेया र प्रकट

'जाडो महिना आउँदै छ रे भन्ने सुनेकी छु
मैले मेरो हजुरलाई स्वीटर बुनेकी छु'

काठमाडौंमा जाडोले बिस्तारै पखेटा खोल्दै छ । बिहान-साँझ सिरेटोले जिस्क्याउन थालेको छ ।
साँझ पर्दै गरेको समय । गजलकार प्रकट पगेनी 'शिव' आफ्नो गजलमा घुसेर स्वीटर बुन्नPrakat-Pageni तम्सिने गुनिला नारीहरूलाई निकै सम्झिरहेछन् । बुनिएका स्वीटर खोइ कुन कुनामा छाडेर आएका छन् । उमेरमा ५५ काटेको ज्यानले साँझको सिर्सिरे बतासलाई नवयुवक झैं चुनौती दिएका छन् ।
 हामी बागमती किनारको चौरमा छौं ।
बागमती, जसले सभ्य दाबी गर्ने काठमाडौंलाई छिटा पार्दै चिरेको छ । कुराकानी गर्नुअघि बागमतीको कसम खाएका छैनन् प्रकटले, कसम खान लायक पवित्रता वागमतीसँग छैन पनि । यसैले कसम नखानुपर्ने वागमतीछेउ श्रीमतीलाई बिर्सिएर दूरका प्यारीहरूलाई सम्झिँदै छन् । उनी बैंसले कुतकुतिएका गजल लेख्छन् । प्रेमको प्राप्ति र वियोगका गीत पनि लेख्दै आएका छन् । जीवनयात्रामा छुट्टिनुपरेका पात्रलाई प्रस्तुत गर्ने क्रममा उनको सिर्जनामा श्रीमती इन्दु ओझेल परेकी छन् । 'अलग्गै रहने प्रेमिका र जीवन नै बिताउनुपर्ने श्रीमतीबीच नितान्त फरक हुन्छ', आत्मीयताको क्यालकुलेटरबाट यसरी हिसाब निकाल्छन् प्रकट ।

13 October 2012

सम्बोधन : ईश्‍वरको पिशाचलाई

'ढुंगा अगाडि घन्टौं बस्नुहुन्छ, के दिन्छ त्यसले ?' मैले घर बसुन्जेल आमाको पूजाविधिमाथि टिप्पणी गरेर झिंजो लगाइरहन्थें । आमाको जवाफ हुन्थ्यो - 'आफूले (पूजा) नगरे पनि यस्तो चाहिं नभन्नू काले !' 

हुन पनि हो । 

कसैको मनको आस्थामा धावा बोल्नु पापै हो । कसैको मान्यतालाई भत्काउन खोज्नु अधर्म हो । धार्मिक आस्था मानिसहरुले नै रचेको मन बुझाउने मेलो हो भन्ने लागिरहन्छ सधैं । मान्छे नै हो अद्‌भूत रचनाकार । जीवनशैली सहज तुल्याउन र सामाजिक व्यवस्थापनका लागि उसले अनेक शर्त र सीमा कोरेको छ  यो लोकमा । कतिपय निकै वैज्ञानिक पनि छन् । धर्म-अधर्म ईश्‍वरसँग जोडिन्छ कि जोडिंदैन थाहा छैन, तर पाप र पुन्यको भने ख्याल हुन्छ मलाई । मानवीय भाव कुतकुतिएर अन्तरमा कतै हिउँ पग्लिन्छ । तर ईश्‍वरको अस्तित्वप्रति कहिल्यै विश्वास भएन । ईश्‍वर छ भने धर्म-अधर्मको हिसाबले हुनैपर्ने कुरा किन हुन नसकेका र नहुनुपर्ने कुरा किन भएका ? हुन्छ भने झन् यति क्रूर किन हुन्छ त्यो शंकास्पद अस्तित्वको ईश्‍वर ? शक्तिको दाबी गरिने र रेखदेखको ठेकेदार मानिने ईश्‍वरले संसारमा हुने उचित-अनुचित घटनामा हिस्सेदारी त पक्कै राख्‍नुपर्ला । 

यही सन्दर्भमा गत असोज २३ गते २७ वर्षको कलकलाउँदो उमेरमा निधन भएका पत्रकार तारा रेग्मी (आरोह) को नियति र ईश्‍वरीय लीलामा मन बरालिंदा अमिलिएँ । मृत्यु सत्य हो । तर त्यसको पनि त केही नियम र अवस्था हुँदो हो, यदि ईश्‍वर छ भने । कि त ईश्‍वरको लोकमा अनुशासन सबैभन्दा घटिया कुरा हो कि ? ताराको मृत्युमा मैले आफ्नै मृत्यु पनि चाखें । नत्र अराजकता, अनियमितता र भद्रगोल खटन हुन्छ भने  के को ईश्‍वर ! ईश्‍वर र मान्छेमा फरक के ? कथित दैत्य र ईश्‍वरलाई मरेको दङदङी गन्हाएका माछासरि एउटै तराजुमा किन नजोख्‍ने ? यस्तैयस्तै विकृत सोच आएर एउटा कविता लेखेको थिएँ ।