तापमान
पसिनाले नुहाउँदा पनि
शीतल हुन नसकेको यो जुनी !
पिंजडा
राप र तापको आहारा लिंदै
सूर्यको हातमा झुन्डिरहेछ पृथ्वी
यो गोलघर वरिपरि फन्का मारिरहेछन् सबै
रिंगटामग्न छ समय ।
Where words smile ...
तापमान
पसिनाले नुहाउँदा पनि
शीतल हुन नसकेको यो जुनी !
पिंजडा
राप र तापको आहारा लिंदै
सूर्यको हातमा झुन्डिरहेछ पृथ्वी
यो गोलघर वरिपरि फन्का मारिरहेछन् सबै
रिंगटामग्न छ समय ।
केही छिपछिपे याद छन् स्कुले दिनका । तिनै छिपछिपे यादमा छोपिएका दिनका असरले नै हिंडाइरहेछ जिन्दगीमा । एक मानेमा, स्कुल चराको गुँड र विद्यार्थी बचेरा जस्तो लाग्छ । अज्ञानी अवस्थामा हामी आँखा टालिएका र पखेटाका नाममा कुरकुरे हाड मात्र भएका बचेरा हुन्छौं । समय क्रममा हाम्रो आँखा खुल्दै जान्छ, पखेटा उम्रन थाल्छ र एक दिन त्यो गुँड छाडेर उच्च शिक्षा र आत्मनिर्भर बन्ने नाममा उडेर टाढा पुग्छौं । यस्तै एउटा उडानमा हुत्तिएर म उदयपुरबाट कान्तिपुरी नगरीमा पुगेको छु ।
उफ्रँदै, खेल्दै पढेको श्री जनज्योति माविले हाल आएर उच्च माविमा फड्को मारेको छ । भवनहरू पनि पहलमानलाई बिर्सने गरी भीमकाय भएर ठडिएका छन् । तर चारकुने चौरको क्षेत्रफल भने उत्रै र उस्तै छ स्कुलको । त्यो सीमित आँगनबाटै बरु कयौं छात्रछात्राले फराकिलो भविष्य तन्काउँदै आए । त्यो क्रम जारी नै छ । कयौं पैंतालाले माडिने स्कुलको आँगनमा आफ्ना लालाबालामा आशीर्वचन छर्ने बीज हुँदो रहेछ क्यार ।
सर्वत्र शान्ति र सहमतिको चर्चा छ । यो समयको नेपाली हिट फिल्मको नाम यस्तै केही हुनुपर्ने – ‘शान्ति अफ थ्री ब्रदर्स’, ‘सहमतिले लौ न सतायो’ । शान्ति र सहमति, सुन्दा मीठो कुरा । तर धेरै सुनेपछि अघाइँदै जाने ! हामी यो बेला शान्ति र सहमतिको व्याख्या मात्रले पनि सन्तोषम् परम् सुखम्को अवस्थामा छौं । श्री सन्तोषी माताको कृपा परे जस्ता हामी नेपाली !
यतिबेलाको यही शान्तिको सर्वप्रियता र महत्तालाई तीन टुक्रामा जोखाना हेरेको छु :
प्रधानमन्त्रीको शान्ति
अफिम रोप्न निश्चित रुपमा फूल फाँडिन्छ यहाँ
हाम्लाई लाइराछ मर्नुअघि नै मान्छे गाडिन्छ यहाँ
अलि बिस्तारै कपाल कोर न ए हिसिला मैचा,
चायाँ झर्छ अनि शान्ति प्रक्रिया भाँडिन्छ यहाँ !
राष्ट्रपतिको आत्मशान्ति
भात के थपिन्छ र, त्यति म्याद थपिन्छ जिन्दगीमा
परामर्शको धपेडीले जाडोमा गर्मी खपिन्छ जिन्दगीमा
भैंसीदेखि कुर्सीसम्मको आसनले यस्तो आदत बनायो,
लोक नै डुबे’नि लोकतन्त्र लोकतन्त्र जपिन्छ जिन्दगीमा ।
जनताको महाशान्ति
कोही टाउकाको मोल तोक्नेलाई ठटाउने भन्छन्
कोही पुरानो घाउ व्यर्थै किन कन्याउने भन्छन्
कसको कुरा सुन्ने अनि कसको कुरा मान्ने अब,
कोही चाहिं देश बेचेर राष्ट्रियता भित्र्याउने भन्छन् ।