January 18, 2013

शान्ति प्रक्रिया भाँडिन्छ !

सर्वत्र शान्ति र सहमतिको चर्चा छ । यो समयको नेपाली हिट फिल्मको नाम यस्तै केही हुनुपर्ने – ‘शान्ति अफ थ्री ब्रदर्स’, ‘सहमतिले लौ न सतायो’ । शान्ति र सहमति, सुन्दा मीठो कुरा । तर धेरै सुनेपछि अघाइँदै जाने ! हामी यो बेला शान्ति र सहमतिको व्याख्या मात्रले पनि सन्तोषम् परम् सुखम्‌को अवस्थामा छौं । श्री सन्तोषी माताको कृपा परे जस्ता हामी नेपाली ! 
यतिबेलाको यही शान्तिको सर्वप्रियता र महत्तालाई तीन टुक्रामा जोखाना हेरेको छु :

प्रधानमन्त्रीको शान्ति

अफिम रोप्न निश्चित रुपमा फूल फाँडिन्छ यहाँ
हाम्लाई लाइराछ मर्नुअघि नै मान्छे गाडिन्छ यहाँ
अलि बिस्तारै कपाल कोर न ए हिसिला मैचा,
चायाँ झर्छ अनि शान्ति प्रक्रिया भाँडिन्छ यहाँ !

राष्ट्रपतिको आत्मशान्ति

भात के थपिन्छ र, त्यति म्याद थपिन्छ जिन्दगीमा
परामर्शको धपेडीले जाडोमा गर्मी खपिन्छ जिन्दगीमा
भैंसीदेखि कुर्सीसम्मको आसनले यस्तो आदत बनायो,
लोक नै डुबे’नि लोकतन्त्र लोकतन्त्र जपिन्छ जिन्दगीमा ।

जनताको महाशान्ति

कोही टाउकाको मोल तोक्नेलाई ठटाउने भन्छन्
कोही पुरानो घाउ व्यर्थै किन कन्याउने भन्छन्
कसको कुरा सुन्ने अनि कसको कुरा मान्ने अब,
कोही चाहिं देश बेचेर राष्ट्रियता भित्र्याउने भन्छन् ।

4 comments:

  1. No words to comment ...awesome writing...keep it up brother

    ReplyDelete
  2. विष्फोटक !
    तीन टुक्रामा तीन त्रिलोक आटाएको छ !!

    ReplyDelete
  3. तिनै शान्ति मनपरे।
    हरेक वाक्य फरक र स्वतन्त्र रुपमा स्वाबलम्बी काव्य छन् । :) मिट्ठो!

    ReplyDelete