Subscribe:

Ads 468x60px

27 January 2013

पाठशाला, वर्तमान र भविष्य

School-2केही छिपछिपे याद छन् स्कुले दिनका । तिनै छिपछिपे यादमा छोपिएका दिनका असरले नै हिंडाइरहेछ जिन्दगीमा । एक मानेमा, स्कुल चराको गुँड र विद्यार्थी बचेरा जस्तो लाग्छ । अज्ञानी अवस्थामा हामी आँखा टालिएका र पखेटाका नाममा कुरकुरे हाड मात्र भएका बचेरा हुन्छौं । समय क्रममा हाम्रो आँखा खुल्दै जान्छ, पखेटा उम्रन थाल्छ र एक दिन त्यो गुँड छाडेर उच्च शिक्षा र आत्मनिर्भर बन्ने नाममा उडेर टाढा पुग्छौं । यस्तै एउटा उडानमा हुत्तिएर म उदयपुरबाट कान्तिपुरी नगरीमा पुगेको छु ।

उफ्रँदै, खेल्दै पढेको श्री जनज्योति माविले हाल आएर उच्च माविमा फड्को मारेको छ । भवनहरू पनि पहलमानलाई बिर्सने गरी भीमकाय भएर ठडिएका छन् । तर चारकुने चौरको क्षेत्रफल भने उत्रै र उस्तै छ स्कुलको । त्यो सीमित आँगनबाटै बरु कयौं छात्रछात्राले फराकिलो भविष्य तन्काउँदै आए । त्यो क्रम जारी नै छ । कयौं पैंतालाले माडिने स्कुलको आँगनमा आफ्ना लालाबालामा आशीर्वचन छर्ने बीज हुँदो रहेछ क्यार ।

५० वर्षको उमेर निकै लाठे हो । एउटा युग । पछिल्लो समयमा नेपालको मानव विकास सूचकांकलाई हेर्ने हो भने नेपालीको सरदर आयु ६७ वर्ष पुगेको छ । त्यसकै हाराहारीको अंक मान्ने हो भने ५० वर्ष मान्छेको एउटा जिन्दगी हो । एउटा स्कुलको यात्रामा ५० वर्षको अवधि समाजमा ५० वर्षको लगानी, छाप र प्रभाव हो । समग्रमा आजको स्थानीय समाजको नाप-नक्सा नै त्यो अवधिको मूल्य हो ।

स्कुल भन्नेबित्तिकै पाखुरा र हत्केलाको पसिनाले ती दिनमा पानीपानी भएर बग्न तयार किताबको गाताको झल्को आउँछ । दिनहुँ बोक्दाबोक्दा किताबको गाता पसिना र मयलले काती परेर च्यातिन्थ्यो । गाता फ्याँकिएर पाठ भएका भित्री पाना समेत चपेटामा पर्थे । त्यो बेला आजको जस्तो ब्याग बोक्ने चलन झ्यांगिएको थिएन । ब्याग र चिरिच्याट्ट परेको लुगा त बोर्डिङ स्कुलका बाबुनानीका भागमा थिए । हामी धुलाम्मे सडकमा गोडा फुट्ने गरी चप्पल पड्काएर हिंड्थ्यौं । कतिपयको त झन् नांगै गोडा हुन्थ्यो । हाम्रो लागि त टिफिन भन्नु पनि एक रुपैयाँको चटपटे र फुटल-झरल बरफको टुक्रा थियो, त्यो पनि भाग्यवश मिल्यो भने । सरको नाम भजाएर बरफवालालाई प्रभावमा पार्ने जुक्ति लरतरो थिएन । सातवटा विषयका किताब-कापी चाङ लगाएर आमा-काकीहरूले गाग्रीमा पानी बोके झैं हातले च्यापेर बोकिन्थ्यो किताब । त्यसरी वर्षदिनसम्म एकसरो किताब बोकेर घर र स्कुल ओहोरदोहोर गर्दा गाता बाटा-बाटामा उडाउँदै हिंडे पनि सपनालाई जोगाउँदै छिप्पट पार्नुपर्ने कलिला यात्री थियौं हामी ।

स्कुलब्यागको कुरा गर्दा एउटा सम्झना अमिट गरी च्यापिएको छ मनमा । पोशाकमा सजिएर भुक्के ब्याग ढाडमा राखी शंखेकीरो झैं लस्किने बोर्डिङ स्कुलका केटाकेटीको हुल देख्दा मन हुरुक्क बन्थ्यो । आफू सरकारी स्कुलको विद्यार्थी । त्यसरी लोभलाग्दो गरी स्कुल जान नपाएकोमा चुकचुकाउँथें । सरकारी स्कुलभन्दा निजी बोर्डिङ स्कुललाई माथि राखेर हेर्ने सोच १५-१७ वर्षअघिको त्यो समयमा झन् गाढा थियो । एक दिन काकाकी छोरीले स्कुलदेखि अलिक तल चोकमा रहेको बोर्डिङ स्कुलमा सँगै पढ्ने प्रस्ताव ल्याई । मनमा बत्ती बल्यो । ऊ मभन्दा तीन-चार वर्ष कान्छी । म चाहिं स्कुलमा सात कक्षाको विद्यार्थी । त्यति बुढो कक्षाको विद्यार्थी पनि बोर्डिङमा अधिकांश कलिला विद्यार्थीमाझ सायद पाँच-६ कक्षामा पढ्न जान तयार देखिएँ । आज सोच्छु, बोर्डिङको आकर्षण त उल्कै रै’छ ।

सरकारी स्कुल छाडेर बोर्डिङमा पढ्ने कुरा राख्दा घरमा सबैजना चकित ! तर, रोकटोकका चर्को स्वर केही आएन । केही उत्साह पलायो । आफूमा एकोहोरो बोर्डिङ स्कुलको भूत सवार थियो । बहिनीसँग दुइटा ब्याग रै’छ । एउटा मलाई दिन राजी भई । हामी बोर्डिङ स्कुल जाने उत्साहले धारामा ब्याग धुन थाल्यौं । कुनामा राखेर धुलोमैलोले फुस्रिएको नीलो ब्याग टिलिक्क पारें । तर बोर्डिङ जाने कुरा त्यसै रह्‍यो । म जस्तै निराश भयो होला त्यो ब्याग । भर्खर खुलेर केही वर्षको अभ्यासकालमा रहेको बोर्डिङ स्कुलमा पढ्न जाने मेरो कुरालाई केटाकेटीपन ठानेर घरपरिवारले सदस्य प्रतिक्रियाहीन बसेका रै’छन् । त्यसलाई मौन समर्थन सम्झेर म चाहिं बोर्डिङ पड्ने सपनाको पाङ्ग्रा गुडाइरहेथें । आज सम्झँदा केटाकेटीपनको त्यो रहर देखेर खित्का छुट्छ ।

कलेज जीवनमा आएपछि स्कुले जीवनको मूल्य र महत्ता अझ गहिरो गरी बुझिने रै'छ । स्थानीय परिवेश, आत्मीय साथीभाइ, पारिवारिक छत्रछाया । यी सबै कुरा कहाँ पाउनु स्कुल र घरदेखि टाढाको कलेज संसारमा ! ती दिन गइगए भन्ने भक्कानो मात्रै छ साथमा अब । बालापनमा फिर्न फेरि पाइँदो हो त स्कुलका स्वर्णिम दिन कति फारो गरीगरी भोगिन्थ्यो होला भन्ने लोभ लाग्छ । चुहाडेको माटोको सुवास फोक्सो लपक्कै लिपिने गरी कति जतन र फर्ुसदसाथ सोहोरेर लिइन्थ्यो होला ! अब कल्पनाको लोकमा मात्रै एउटा जनज्योति मावि र त्यसको चारकुने आँगनमा बतासिंदै गरेको आफ्नो फुच्चे हुलिया उभ्याउन सकिन्छ ।

सरहरू उतिबेला अध्ययनको तहबाट चिनिन्थेः आईएससी सर, बीएससी सर । विद्यार्थीमाझISC-Sir-n-School सरहरूको उपनामको बेग्लै चर्चा । विज्ञान पढाउने रामनारायण यादव सरलाई हामी टोपी सर भन्थ्यौं साथीभाइमाझ । यादव सरको खल्वाट शिर कुनै दिन पनि टोपीबिना देखिएन । बिसन सर मोटो र ठूलो भुँडीका धनी भएकाले भुँडे सर भन्थ्यौं केटाकेटीमा । तर उपनामलाई चल्तापुर्जा कोडभाषा बनाए पनि त्यसलाई सरहरूसम्म कहिल्यै पुग्न दिएनौं । स्कुलको सानो संसारमा त्यस्ता उपनामहरू हाम्रो मनोरञ्जनको स्रोत बनेका थिए । आफ्नो अबोधपनका कारण र कुनै बेला व्यंग्य गर्दै सरहरूलाई उपनाम भिडाए पनि पढ्ने कुरामा तिनै सरका कुरालाई देववाणीका रूपमा लिंदै माथिल्ला कक्षा चढियो । विशेष गरी रामकृष्ण चौधरी (आईएससी सर), दिलबहादुर फुयाँल, नारायण कार्की, मोहम्मद आदम राइन (बीएससी सर), भगीरथ केसी, रामेश्वर यादव लगायतका सरको योगदान भुलेर पनि भुल्न नसकिने खालको छ । तीमध्ये पनि हाम्रै घरमा बसेर हाम्रो पढाइमा हरतरहले मलजल गर्ने आईएससी सर त भगवान् नै लाग्छ ।  पछिल्लो समयमा सुनें, दर्जनौं चेलाचेलीको  उद्धार गरे पनि सरले आफ्नै छोरालाई भने लिकमा हिंडाउन सकेनछन् । गलत संगतको दुश्चक्रमा परेर एसएलसीपछिको पढाइ अपूरै छाडेछ । पढाइको कुरामा भनाइ नै छ नि, घोटेर पिलाउने होइन ! उसले आफैं पिउने जाँगर चलाएन ।

चेलाचेली कस्ता बन्छन्, गुरु-गुरुमा कस्ता छन् भन्ने हेरेर हुन्छ भनिन्छ । पढ-पढ भन्ने रटानदेखि दिक्किएर क्षणिक रिसराग राखे पनि हामीले गुरुहरूको प्रतिष्ठा कहिल्यै भत्काएनौं । गुरुको मानमर्यादा राखिरहनुमा तिनै गुरुले हामी काँचो माटोलाई कति मिहीन ढंगले मुछे, कति लगनपूर्वक आकारमा ढाले भन्ने कुराले फरक पारेको छ । स्कुल हाम्रा लागि इँटा पकाउने भट्टी थियो । हामी पाक्नुपर्थ्यो, कति पाक्यौं । पूरै पाकेका रहेनछौं भने त्यसमा हाम्रो आफ्नै तत्परताको कमी हो । इँटामा आगोको करामत नचल्नुमा इँटा आफ्नै माटोको पनि दोष हुन्छ यदाकदा । अध्ययन भनेको घोटेर पियाउने अमृत होइन भन्ने उक्ति निकै सान्दर्भिक लाग्छ ।

अहिले जसरी आफूमा साहित्य र कलाको मोहनी बढेको छ, त्यसको बीजारोपण पनि स्कुले बेलामै भएको सम्झन्छु । परिवारमा दुई-तीन पुस्ता माथिसम्म चियाउँदा साहित्य र कलाकारी सोचतिर कुनै नातागोतासम्म थिएन । अचम्मसँगले कसैलाई नजागेको दैवी भोक जाग्ने रै'छ कुनै पुस्तामा आइपुग्दा । नजान्दा नजान्दै स्कुलमै भित्ते पत्रिका निकालियो । सम्पादकीय लेख्दा ह्रस्व ‘कि’ हुन्छ कि दीर्घ ‘की’ भन्ने ज्ञान नभई डेढअक्कली सोचमै सम्पादनको अभिभारा बोकियो । आफ्नो कोर्सका किताब नपढी लुकिछिपी दिदीहरूको कलेज-कोर्समा भएका साहित्यिक कृतिहरू नासो कथासंग्रह, बसाइँ उपन्यास लगायत छिचोल्न भ्याइन्थ्यो ।

जिन्दगी र असली मस्ती भनेको त अक्षरकै दुनियाँमा पो रै'छ भन्ने ज्वरोले छोप्दै लग्यो । जुन ज्वरो स्कुल छाडेयता पछिल्लो समयमा झन् चढ्दै गएको छ, जीवनभर ओर्लिने नाम लिने छाँट छैन । बाको नियमित गाली र आमाको चिन्तायुक्त सुस्केरासँग ठक्कर खाँदै हुर्काएर ल्याएको साहित्यिक चेतना यत्तिकै कहाँ अलपत्र छाडूँ ! सके र बाँचुन्जेल लेख्दै जाने र मरिएछ भने पनि जनजनमा साहित्यिक चिनारी छाड्ने गरी आफ्नो स्मृतिमा एउटा पुस्तकालयसम्म भए पनि बनोस् भन्ने इच्छा छ । जसले साहित्यमा मेरो अटल भाव प्रकट गरोस् । पुस्तकालयको लोभ मेरो चिनारीका लागि भन्दा पनि मेरो ठाउँ र समाजको लागि । उदयपुरको माटोमा साहित्यको उर्वरता, सांस्कृतिक चेतना र कलामर्मज्ञको संख्या त्यसबाट बढ्दै जानेछ । स्कुले छाप यसरी गहिरिंदै आएछ । हिजो भुलभुलाएको सानो जरुवालाई अब खनीखोस्री गरेर इनार बनाउनु छ । गर्दै जाँदा यो समाज र देशकै तिर्खा मेटाउन कसो नसकिएला !

[श्री जनज्योति उच्च माविको स्वर्ण जयन्तीमा निकालिएको स्मारिकामा प्रकाशित]

2 comments:

  1. बचपनको ईनारमा डुब्दा प्यास मेटिएजस्तै हुने । रमाएँ हरफ हरफमा । आफ्नै बचपनमा दौडिरहेको जस्तो पो लाग्यो ।

    ReplyDelete
  2. Prabhakar GautamFebruary 01, 2013

    म पढेको नेपाली (सरकारी) स्कूलको छेवैमा भीमकाय बोर्डिङ स्कूल थियो । ममा पनि ठूलो आकर्षण थियो बोर्डिङ स्कूलप्रति । त्यहाँका विद्यार्थीले लगाउने सुकिला लुगा, टाई, ब्याग; उनीहरु चढ्ने साइकल र बसलगायत अन्य धेरै थिए आकर्षणका कारणहरू । धाइबाको यो संस्मरण पढेर म मेरै विगतमा हाम्फाल्दैछु....

    ReplyDelete