Subscribe:

Ads 468x60px

10 April 2013

'कुसम्पादन'मा परेको एउटा लेख

आजकाल लेखाइ निकै कम भएको छ । लेखनमा कम समय जाँगर चलाएपछि उत्पादन पातलिने नै भयो । कम लेखिनुको कारण अब गुदीयुक्त र सार्थक कुरा मात्रै लेख्‍नुपर्छ भन्ने आत्मप्रेरणा र जिम्मेवार सोच पनि हो कि भन्ने लाग्छ । समय र अभ्याससँगै लेखाइको मात्रा घट्ने रै'छ । दुई साताजति अघि श्यामल दाइको एकल कविता वाचनको कार्यक्रममा बागलुङ जाँदा कवि दाजु अभय श्रेष्ठले भन्नुभएको कुराले लेखनको क्षेत्रमा लागेका अधिकांशलाई छेड हान्दै सतर्क बनाउँछ ।
धेरै लेखेर छिटै सर्वत्र छाउने महत्वाकांक्षासहित आजका धेरै कवि/लेखकहरुको विशेषता जस्तै बनेको 'भेलबाढी लेखन'को समस्याबारे दाइले भनेका थिए, 'बाख्राले बड्कौंला निकाले जस्तो लेखेर काम छैन । अहिले धेरैको लेखाइ बड्कौंला जसरी आइरहेछ ।' लेखनको आरम्भिक समयमा बड्कौंला सबैले निकाल्दा हुन् । मलाई धेरैअघि लागेको कुरा दाइले उपमा जोडेर भनेका थिए । बड्कौंला कोटिको लेखनलाई सम्हाल्ने नाममा कतिपयलाई कब्जियत नै पनि हुँदो हो । तर, नकाम गर्नुभन्दा आराम गर्नु नै वेश हुन्छ । कागज र वनजंगलको संरक्षणभन्दा पनि पाठक-समाजको सम्मानका लागि यस्तो आवश्यक हुन्छ ।
सीमित तर सारयुक्त कुरा लेख्‍ने सोचमा रहँदा आक्कलझुक्कल अखबारी लेखनमा पनि रमाउन मन लाग्छ । आफूले उठान गरेको विषय बढीभन्दा बढी जनमानसमा पुगोस्, सरोकारको विषय बनेर केही प्रभाव पारोस् भन्ने लोभ होला । तर, अखबारमा प्रकाशन हुनु सानोतिनो युद्धै लड्नु बराबर हो । जित र हारको सम्भावना उत्तिकै । हामीकहाँ प्रकाशनको रोजाइमा पर्ने अखबार निकै न्यून पनि छन् । सबैको रोजाइ तिनै सीमित अखबारको दैलोमा लामबद्ध हुँदा आलोपालो, सिन्डिकेट, आश्वासन, असमझदारी लगायतका अनेक चरण पार गर्नुपर्छ, छापिने र नछापिने कुरा टुंगो लागुन्जेल । छापिने पहुँचमा भएको मान्छेलाई लेखिदे भनेर पत्रिकाबाट फर्माइश आए पनि लेखिरहेको वा लेख्‍न सकिरहेको हुँदैन (यस्तो फर्माइश अखबारको निकट भएकाहरुले क्षमता र हुती नभए पनि पाएको देखिएको छ ।) । लेखिरहेको र जाँगर भएको मान्छेले भने के-कसो गरी लेखरचना छपाउने भन्ने मेसो नै पाउँदैन । लेख्छु भन्दा पनि उसलाई अनेक बहानामा भरिशक्य टारिन्छ । केही गर्छु भनेर जोशिएको एउटा लेखक निरुत्साहित हुँदै भित्रभित्रै निमोठिन्छ ।

अखबारमा अवसर खोदै आफूले पनि बेलामौकामा शब्दको 'भ्याकेन्सी' हाल्ने गरेको छु । जीहजुरीबाट टाढिएर प्रकाशनमा आउँदा अपार तृप्‍ति मिल्ने भएकाले त्यस्तै स्वर्गीय मिठासको खोजीमा रहन्छु । एक महिनाअघि नागरिक दैनिकको शनिबारे परिशिष्टांक 'अक्षर'मा पठाएथें तबलावादक सरिता मिश्रबारेको सामग्री । एक महिनासम्म प्रकाशनमा नआउँदा आशै मारिसकेको बेला नागरिककै अर्को परिशिष्टांक 'कोलाज'माNagarik_Kolaj_Sarita छापिएर आएछ त्यो प्रोफाइल । तै छापियो भनेर खुसी त लाग्यो । सामग्रीको विधागत विशेषताका कारण साहित्यिक परिशिष्टांकमा नभई अर्कैमा छाप्न उपयुक्त मानियो होला, ठूलो कुरो भएन । आफ्नै लेखाइ भए पनि मुद्रणमा आएपछि सर्सर्ती आँखा लगाउन मन लाग्यो । मेरी बास्सै ! सम्पादनको नाममा 'कुसम्पादन'मा पो परेछ मेरो सामग्री । 

आफ्नो लेखाइ शिलालेख झैं अकाट्य हो भन्ने मलाई कहिल्यै लागेन । लेखनमाथि कैंची चल्नुलाई अहम्‌ताववश  प्रतिष्ठाको  छेदन पनि मानिएन । लेखकीय अहम्‌को कुरा एक ठाउँमा छ, हाम्रा कतिपय सम्पादकहरु कुर्सीमा बसेपछि मिलेको लेखन हातमा परे पनि हक जताउँदै आफूले त्यसमा ‘दुबो गोड्नैपर्ने’ अहम् भाव राख्छन् ! अनि त अर्थको अनर्थ र सत्यानाश !
अहिलेसम्म रचनात्मक आलोचना (हामीकहाँ बतासे बद्ख्वाइँ र भित्तैमा पुर्‍याउने पूर्वाग्रही झम्टाइ पनि आउँछन्) लाई मननीय रुपमा आत्मसात् गर्दै आइएको छ । तर, सम्पादनको औचित्य कुनै पनि लेखोटलाई छरितो र पठनीय तुल्याउने नभई भद्दा, अररो र गोलमटोल पार्नु हो भनेर कहिल्यै स्वीकार गर्न सकिंदैन । आफूले पनि थोरतिनो काम गर्दै आएको क्षेत्र भएकाले यति बुझेको छु । भलै पत्रपत्रिकाको आफ्नो तौरतरिका र प्रस्तुति हुन्छ, लेखकको पनि आफ्नो निजत्व र शैली हुन्छ लेखनमा ।  यसै दृष्टिले सरिता मिश्रबारेको सामग्रीमा मैले मेरो लेखाइको आफ्नोपन पाइनँ । म खुलिनँ ।
अखबारको आफ्नो सीमा र समस्या पक्कै हुन्छ, यसैले साढे १४ सय शब्द हाराहारीको आलेखलाई खुम्च्याएर/ठोकेर सीमित स्थानमा छाप्नु आवश्यक थियो । तर, त्यसका लागि हाम्रा अखबारमा लेखकलाई पूर्वजानकारी गराउने, पुनःलेखन गराइमाग्ने प्रचलन छैन । यसको नतिजा, छापिनुमा कुनै मजा भएन ! मन भएर पनि मैले आफ्नो प्रकाशित सामग्रीलाई सामाजिक सञ्जालका भित्तामा 'विज्ञापन' बनाएर टाँस्न सकिनँ । आफूले विशुद्ध मानेको लेखाइमा पनि भुस त्यत्तिकै रहेको हुन सक्छ, सम्पादनमा त्यो निफनिनुपर्छ । शब्दको तोडमोडमा केही अर्थ आओस् । तुक देखियोस् । तब पो सम्पादनको प्रभावकारिता !

गाउँमा आफू पनि केटाकेटी नै छँदा,  कैंचीले कपाल काँटछाँट गर्दा गह्रैगह्रा परेको खेत झैं शिरमण्डल भएका केटाकेटी खुब देखिन्थे । तिेनका आमाबा, काका वा मामाले पैसा जोगाउन वा नाईकहाँ जाने झन्झटले घरैमा कपाल छाटिदिन्थें होलान् । फलस्वरुप, जोतभोगको जग्गा नहुनेहरुले समेत आफ्नै लालाबालाको शिरमा कट्ठा-कट्ठा गह्रादार जमिन देख्‍थे । सम्पादन पनि कतिपय ठाउँमा एक मानेमा त्यस्तै सिकारु कैंची जस्तो लाग्छ, जसले लेखरचनाको शिर-पुच्छर लापरवाहीपूर्वक चुँडेर दयनीय हुलिया बनाइदिन्छ । सम्पादनको नाममा दुई वा तीन वाक्यको आधा-आधा भाग फालेर तीन टुक्रा जोड्दा भारत, नेपाल र भूटानलाई एउटै मुलुक पारे जस्तो हुन्छ । यस्तै हालत बेहोरेको मेरो सो लेखलाई यहाँ विज्ञ पाठकसामु बाँडेको छु । नागरिक 'कोलाज' मा छापिएको लेखको स्क्रिनसट माथि छ र मैले सो अखबारका लागि पठाएको सामग्री यहाँ पेश गरेको छु, जस्ताको तस्तै :
[प्रोफाइल अलिक लामो भएकाले अनलाइन पठनका लागि उपयुक्त नभए पनि बाँडेको छु Winking smile ]

------------------------------------

तबला नै जीवन

पवित्र पाशुपत क्षेत्रको माहौल । जात्रा, उत्सव, बाजागाजा र थरीथरीका मान्छेको घेरो । हरिप्रसाद मिश्रले छोरी सरितालाई यस्तै वातावरणमा हुर्काए । हरिप्रसाद आफू गायक थिए । फुच्ची सरिता बाका साथी र साधुजन घरमा आएर गाना-बजानामा रमाइरहेको देख्थिन्, तर ५-६ वर्षको कलिलो मजगले केही मेसो पाउँथेन । थाहै नपाई त्यो मगजमा संगीतको नाद टुसाइरहेथ्यो । आज सरिता मिश्र नेपालकै चुनिएका तबलावादक र महिला तबलावादकमा अग्रणी बन्नुमा बाल्यकालदेखिकै त्यो छापले काम गरेको छ । कहिलेदेखि तबला बजाउन थालियो, हेक्का छैन । घरकै सांगीतिक रहनसहनबाट फुलेकी उनी भन्छिन्, 'होश सम्हाल्ने उमेरमा आइपुग्दा म त तबलावादक बनिसकेछु ।'

उतिबेला बिनाज्ञान लापरवाहीपूर्वक चल्ने खिरिला औँलाहरू तबलामा ठोक्किँदा सुललित ध्वनि निस्किए कि औँलाहरू कटकटी दुःखे !

Sarita Mishra 1सरिताले गुरुकुलीय परम्पराबाट शास्त्रीय संगीतअन्तर्गत तबलाको ज्ञान लिइन् । संगीतको छिपछिपे रुझानले २०४५ सालबाट पाक्दै जाने खुडि्कलो समायो । गुरु होमनाथ उपाध्यायको सान्निध्य कुनै ध्यान-साधनाभन्दा कम थिएन । त्यसो त संगीत, ध्यान र प्रेमलाई उनी पर्याय मान्छिन् । संगीत के हो भन्नेमा उहिलेदेखि अहिलेसम्म उनको थेगो जस्तै बोली छ- 'मान्छे र ईश्वरबीचको पुल ।'

संगीतले मान्छेलाई ईश्वरीय आनन्दको सयर गराउने अनुभूति सँगालेकी छिन् उनले । यसैले अनवरत संगीतको यात्रामा छिन् । अर्थात् अनवरत ईश्वरीय आनन्द ! संगीतबाट ध्यानमा पनि लीन हुने गर्छ मान्छे, त्यो अवस्थालाई उनी 'संगीतमा अडेसा लागेको' भन्छिन् ।

संगीत भनेको पागलपन हो भन्ने उनलाई लाग्छ, अलिकति मदहोसमा नगई संगीतलाई प्राप्त गर्न नसकिने रै'छ । सानैदेखि संगीत रगतमै रहे पनि एक दशकअघि मात्रै बल्ल उनी संगीतको अनुभूति गर्ने अवस्थामा पुगिन् रे । संगीत भनेकै अध्यात्म भन्ने कुरा त्यही दिन साबित भयो उनका लागि । भन्छिन्, 'जुन चिजले आफूलाई बाँधेर राख्छ त्यही अध्यात्म हो ।' अध्यात्मले आफूलाई बिर्सेर शून्य भावमा जाऊ, संसार सबै मिथ्या हो भने जस्तै संगीतले सबैलाई बाँधेर स्रोतालाई सुरको बाटो हुँदै शून्यको अवस्थामा पुर्‍याउँछ । शब्दप्रधान संगीतभन्दा शास्त्रीय संगीतको रागले भूत-भविष्य बिर्सेर वर्तमानमा जिउने पिर्का ओछ्याइदिने सरिताको ठम्याइ छ ।

मान्छेले जीवनमा खोज्ने भनेकै आनन्द हो, यसैको लागि मान्छे अनेक दौडधुप गर्छ । संगीत सुनेर मान्छेले पीडा भुल्दै आनन्दको खोजी गर्छ । तर आजका मान्छेले जिन्दगीलाई जिन्दगी जस्तै बाँच्न कति जानेका छन् - संगीतकर्मी सरिता अब दार्शनिक कसीमा पेश भइन् 'मान्छे घोडा त होइन नि, घाँस खान मात्र दौडिने, आफू के हुँ भनेर जिन्दगीलाई पनि बुझ्नुपर्छ !' सन्तानका लागि गुलियो-रसिलो बटुल्दिने दौडधुपमा धेरैले जिन्दगीको स्वादै नलिई बुढेसकालमा थकथकी मानेको उनले प्रशस्तै देखेकी छिन् ।

***

राजालाई सिमाना कटाइसकेको काठमाडौंमा छिर्दा कुनै नयाँ मान्छेले पहिलो पटक सवारी साधनको घ्यारघ्यार र तिनमा चिच्याइरहेका सह-चालकको हल्लाखल्ला मात्र सुन्दो हो । तर पशुपतिनाथ मन्दिरको थुम्को किराँतेश्वरमा पूर्वीय बाजाहरूको राजा तबलाका साथमा सितार, बाँसुरीले वर्षौंदेखि शास्त्रीय संगीतको राग हरेक पूर्णिमामा छरिरहेको छ । नादकी साधक सरिता मिश्रसहितको टोली त्यही रागमा उस्तै जोश र तन्मयका साथ अझै लागिरहेको छ । किराँतेश्वर महादेवलाई लुकाउने प्रयासमा साँझ पाक्दै गर्दा शास्त्रीय संगीतप्रेमीहरू तबला, सितार, तानपुरा र बाँसुरीले मादक बन्छन् ।

पूर्णिमाको शास्त्रीय संगीतको प्रस्तुति नारायण संगीत प्रतिष्ठान स्थापनासँग जोडिन्छ । अजित गौतम, शेषनारायण श्रेष्ठ, सरिता, विनय वर्मा, अच्यूत अर्याल लगायतले प्रतिष्ठान नै खडा गरेर शास्त्रीय संगीतलाई संरक्षण र मलजल गर्ने प्रयास गरे । २०४७-४८ सालमा किराँतेश्वरमा शास्त्रीय संगीत सुरु गर्दा उनी मात्रै एक्लो महिला स्रोता हुन्थिन् । आजभोलि पाँच सयको हाराहारीमा पारखीहरु जम्मा हुन्छन् ।

शास्त्रीय संगीतलाई जनजनमा पुर्‍याउन प्रतिष्ठानको ध्याउन्न अझै पनि उस्तै छ, प्रतिष्ठानका महत्वपूर्ण सदस्य गुमाएपछि भने केही समय यो टोली शून्यमा रह्यो । संगीतमा गुणात्मकता र शास्त्रीय संगीतकर्मीको एकतामा जोड दिने तबलावादक अतुल गौतमको २०६१ माघमा निधन भयो । एउटा सहयात्रीले भारी बिसायो ।  शास्त्रीय संगीत र तबलाको कुरा निस्कँदा आफूसँगै सानैदेखि संगीतमा झुमेका प्रिय मित्र अतुलको नाम उनको मुखबाट छुट्दैन । सितारमा धु्रवेशचन्द्र रेग्मी, बाँसुरीमा श्याम नेपाली र तबलामा अतुलको जग बनाएर उभिएको सुकर्म ब्यान्ड पनि अतुलको बिदाइपछि खल्लो बन्यो । शास्त्रीय संगीतकर्मीहरू हरेक वर्ष अतुल जयन्तीको नाममा संगीतलाई अझ फैलाउन एक ठाउँमा जुट्ने गर्छन् ।

***

बाहिर धेरै प्रचारबाजी गर्दै छाउने भड्किलोपना शास्त्रीय संगीतको क्षेत्रमा पर्दैन । अनुशासनमा रहेर आफैँमा साधना गर र आफूलाई इँटा जस्तै पकाऊ, साधनाको विद्या शास्त्रीय संगीतको मर्म यही हो । सरिता भन्छिन्, 'अहिले संगीतक्षेत्रमा देखिए जस्तो ह्वार्र आएर क्षणमै चम्किहाल्ने जादु शास्त्रीय संगीतमा हुँदैन, निरन्तरता चाहिन्छ ।'

सिंगो संगीतक्षेत्रमा अभ्यास र साधना आवश्यक मानिन्छ, त्यसमा पनि संगीतको जननी मानिनेSarita Mishra 2 शास्त्रीय संगीतमा खारिन असाध्यै मिहिनेत पर्ने उनले हिँड्दै आएको बाटो हो । 'शास्त्रीय संगीत कुवा हो, जति झिकेर पनि नसकिने', सिक्न सधैं बाँकी नै रहने शास्त्रीय संगीतको गहिराइबारे उनी यसैगरी अर्थ्याउँछिन् । शास्त्रीय संगीत सिकेर आएको कलाकार टिकाउ हुने उनले उदाहरण समेत देखेकी छिन् । त्यसैगरी सुझबुझबिना रहर र लहडमा आएर एक समयमा आकाशै छुने चर्चा पाएका कत्ति कलाकार उनको आँखाअघि तारा झैँ झरेर हराएका पनि छन् ।

कुनामा बसेर आफ्नो काम गरे पनि उनी प्रतिभाको महकबाट देशदेखि विदेशसम्म फैलिएकी छिन् । ताल सरिता र फेरि ताल सरिता जस्ता सीडी एलबम समेत निकालेकी छिन् । महिला तबलावादकमा एकछत्र उनकै नाम छ । हरेक पूर्णिमामा किराँतेश्वर डाँडामा छपक्कै भीडमाझ ताकधिनाधिनको गुञ्जन, कहिले यलमाया केन्द्रमा जमघट र कहिले आरोहण गुरुकुलमा शास्त्रीय संक्रान्तिको बसाइ । त्यसबाहेक आफ्नो नियमित साधना त छँदै छ । गुरुकुलमा तीन वर्ष व्यावसायिक रूपमा शास्त्रीय संक्रान्ति सञ्चालन गरेकी उनी गुरुकुल फेरि सुरु भएपछि त्यसलाई निरन्तरता दिने सोचमा छिन् ।

यसो हेर्दा व्यस्तताको अर्को नाम नै सरिता जस्तो लाग्छ । तबलामा औँला र हत्केलाको प्रहारले छाड्ने कम्पन जस्तै उनको हस्याङफस्याङ सधैँ उस्तै । चावहिल गौरीघाटमा तीन वर्षअघि खोलेको शास्त्रीय संगीत सिकाउने नाद संगीत पाठशालाको लागि रकम जुटाउने धपेडीदेखि पद्मकन्या क्याम्पसमा संगीत पढाउने खटाइ । जिन्दगीका अनेक लहरमा कलकल सरिता ! व्यस्तताकै कारण उनले उमेर छउन्जेल बिहेबारे सोच्नै भ्याइनन् । चार दशक उमेर खाइसकेको अबको अवस्थामा लगन जुराउने मोह र सम्भावना दुवै छैन । तर उनलाई अविवाहित कसरी भन्ने ! संगीतसँगै उनले बिहे गरिन् ।

***

उनको हेराइमा मनोरञ्जनको रूपमा रहेको अन्य संगीतभन्दा शास्त्रीय संगीत फरक छ, त्यो आत्मरञ्जनको चिज हो । तबला बजाउँदा बजाउँदै उनी आफैँमा मग्न हुन्छिन् । शास्त्रीय संगीत सुन्नका लागि स्रोता पनि तयार मनस्थितिको अपेक्षा गरिन्छ । शास्त्रीय संगीत भन्नेबित्तिकै सितार र सरोद एकोहोरो र्‍याइँर्‍याइँ गरेको र आलाप तानेको सुनेर झर्को मान्ने नयाँ पुस्ता पनि छ । यसमा सरिताको आफ्नै तर्क छ, 'तीते करेला सुरुमा खाँदा पक्कै तीतो लाग्छ, तर बिस्तारै बानी बस्दै जाँदा मुख रसाउने हुन्छ ।'

एकचोटि झ्वाट्ट सुनेर शास्त्रीय संगीतको रस थाहा नहुने भएकाले चस्का लाग्नुपर्ने उनी बताउँछिन् । सामान्यतया बुढाबुढीले गाउने र बजाउने अनि बुढाबुढीले नै सुन्ने भनेर शास्त्रीय संगीतप्रति सङ्कुचित धारणा रहेको छ । तर यो सानो दायरालाई बढाउँदै आज सरिताका साथै नेपालका शास्त्रीय संगीतकर्मीहरूको अविरल जुटाइले देश-विदेशमा व्यापकता दिलाएको छ । 'जुनसुकै राम्रो कामको लागि समय लाग्छ, विस्तारै व्यापकता लिन्छ', शास्त्रीय संगीतको प्रवाहबारे उनी ढुक्क छिन् ।

दसैंमा रेडियो, टेलिभिजनमा बज्ने मालश्री धुनको स्वाद धेरैले लिने गरेका छन्, सुन्ने बानी पर्दै गएको उदाहरण हुन सक्छ त्यो । साना लालाबालालाई त नयाँ लुगा देख्दैमा यत्तिकै आउँछ दसैंको रौनक, उमेर खाएकाहरूलाई भने मालश्री धुन बज्न थालेपछि नै दसैं आयो है भन्ने चस्का लाग्ने गरेको पाइन्छ । नेपाल टेलिभिजनमा मालश्री धुन बजाउने शास्त्रीय संगीतकर्मीको टोलीमा निकै वर्ष झुल्किइन् सरिता । पछिल्लो समयमा भने आफूले खोलेको नाद संगीत पाठशालाको सञ्चालनमै बढी केन्द्रित छिन् ।

विद्यालयलाई तीन महिनाअघि नयाँ ठाउँमा सारेपछि मासिक १५ हजार रुपैयाँ भाडा बुझाउनुपर्छ । ईश्वर र मान्छेबीचको पुल बनेर संगीतमा हेलिँदा हेलिँदै अध्यात्मिक ज्वरो पनि सरितामा चढेको छ । जुन ज्वरोले परोपकारी भावनाको डिग्री बढाएको छ । द्वन्द्वपीडित, असहाय र दुःख पाएका चेलीहरूलाई जम्मा गरेर निःशुल्क संगीत सिक्ने व्यवस्था मिलाएकी छिन् । सहयोगमा २० जना र ५० जना निःशुल्क पढिरहेका छन् । 'आफ्नो खुट्टामा उभिएर बाँच्न सकून् भनेर जमर्को गरेकी हुँ', उनी परोपकारी मन खोल्छिन् ।

मिल्ने साथी तथा लेखिका मञ्जुश्री थापाकी आमा डा. रिता थापाले दिएको पैसाबाट पाठशाला सुरु गरेकी उनलाई एक्सनएडका विमल फुयाँलले पनि सघाउँदै आएका छन् । उनको पाठशालामा तबलाका साथै भ्वायलिन, हारमोनियम, बाँसुरी, गितार लगायत सिकाइन्छ । पाठ्यक्रम नै बनाएर पढाउन थालिएको हरेक बाजाको कोर्स ६ वर्षको छ । नौ जना शिक्षकले उनलाई भरथेग गर्दै आएका छन् । त्यसका साथै विद्यालयमा व्यावसायिक कक्षा पनि चलिरहेको छ । तर आर्थिक समस्याले पिरोलिरहन्छ उनलाई, सहयोगी हातको खोजीमा छिन् ।

***

लिखित इतिहासअनुसार १७औं शताब्दीदेखि अस्तित्वमा देखिएको तबलाको कति ताल बजाउन सकिएला ? पाँच करोड गुणा पाँच करोड ! सरिताले पनि आफूले सिक्ने बेलामा ५० भन्दा बढी ताल सिकेकी थिइन्, तर उनलाई अहिले २८ वटा ताल मात्र बजाउन आउँछ । आज तबला शास्त्रीय संगीतमा मात्रै नभई हरेक संगीतमा नभईनहुने बाजा बनेको छ । उनी भन्छिन्, 'शरीर हेर्दा सग्लो छ तर मुटुमा ढुकढुकी छैन भने के हुन्छ, त्यस्तै हो संगीतमा तबलाको महत्व ।' ड्रम, मादल, कंगो लगायतका बाजा तबलाकै भिन्न रूप हुन्, रिदम र बिट उही । नेपाली तबलावादकहरूमा किशनलाल श्रेष्ठ, शम्भू मिश्र, झुमकलाल मिश्र, होमनाथ उपाध्याय, अतुल गौतम हुँदै सरिता मिश्र, अच्यूत भण्डारी, सुरेन्द्र वैद्य, जीवन राई, प्रमोद उपाध्याय लगायत विशेष स्मरणीय मानिन्छन् ।

पूर्वीय संस्कृतिमा प्रचलित पूर्वजन्मको कुरामा उनी विश्वास गर्छिन् । पहिलेको जन्ममा अपूरै छुटेका कुरा यो जन्ममा पूरा गर्नुपर्ने भावीको खटन मान्ने उनी आफ्नो यो जन्मलाई अन्तिम मान्छिन् । यसैले कतिपय बालबालिकामा ईश्वरीय वरदानका रूपमा प्रतिभा मगमगाउने गरेको उनलाई लाग्छ । यो जन्मलाई अन्तिम भन्ठाने पनि संगीत, ध्यान र प्रेमका लागि एक जन्म पर्याप्‍त छैन, यो उनको भनाइ ।

त्यसो भए उनले फेरि जन्म लेलिन् ?

No comments:

Post a Comment