Subscribe:

Ads 468x60px

27 May 2013

बाबु, आमा र छोरा

यही शीर्षकमा वीपी कोइरालाले उपन्यास लेखिसकेका छन् । उनको नाति पुस्ताको म एउटा चिर्कटो लेख्‍न खोज्दै छु । आविष्कारले संसारलाई परिपूर्ण पार्दै समय जति फुर्सदिलो अवस्थातिर जाँदै छ, त्यति व्यस्त र हतार देखाउँदै छ आफूलाई । उपन्यासबाट चिर्कटोतिरको यात्रा त्यसैको एउटा नमुना मानौं । सीमिततातिरको यात्रा ।

हालैको कुरा हो । यस्तै सीमिततातिर खुम्चिने क्रममा एक वृद्ध दम्पती म बसेको घरमा आएका थिए । घरपतिका बाबु र आमा । मूल घर झापाको झिलझिले । भौतिक सम्पत्ति त अरु पनि थिए । तर, मुख्य सम्पत्ति - चार भाइ छोरा र पाँच बहिनी छोरी । आमा चाहिं बेलाबेला सुनाउँथिन्, आफ्ना छोरा-छोरीलाई पढाई-लेखाई सक्षम र अब्बल बनाएको । गर्वले उनी मक्सिम गोर्कीकी ‘आमा’ जस्तै देखिन्थिन् । आवाजमा रोगको नभई गर्वकै ओजिलो दम हुन्थ्यो । छोराहरुमध्ये जेठा काठमाडौंमा, माहिला विराटनगरमा जग्गा व्यवसायी, साहिंला गाउँमै मास्टरी गर्ने र कान्छा साउदी अरेबियामा रोजगारीमा । पाँच छोरी आ-आफ्नै कर्मघरमा । कान्छा छोरा यसपाली दसैंमा आउँछ भन्दै आमा चाहिं चाउरी अनुहार मुस्कानले चिल्याउँथिन् । बुढा चाहिं त्यति नबोल्ने । बरु मोनालिसाभन्दा अलिक बढ्ता खिस्स हाँसिरहने । जीवनयात्राको क्रममा बुढ्यौलीसम्म सुस्केरा हाल्दाहाल्दै त्यही सुस्केराको ओसले हल्का पहेंलिए जस्ता दाँत । बुढा ७६ वर्षका र बुढी चाहिं ७३ की ।

म बसेकै फ्लाटको तीनवटा मध्ये एउटा कोठामा बसे पाका जोडी । जुन कोठा नातिको हो । छोराको घरमा अतिथि जोडी प्रायः गुमसुम नै बस्थे । होहल्ला गरे पिट्छु भनेर घर मालिकले तर्साए जस्तो ! ‘रुम पार्टनर’ नाति पनि हजुरबा र हजुरआमाको प्यारो थियो । जेठा छोराबाट दुई नातिमध्ये जेठो नाति विदेशमा ।  कान्छा नाति हजुरबा जस्तै कम बोल्ने । कक्षा १२ को विद्यार्थी । कसैको कुभलो नचिताउने बुद्धको चेलो जस्तो । अलिक पथ-परहेजमा बस्ने मान्छेको लागि यो समयमा बुद्धको ट्याग जरुरी नै भइसक्यो । यति ट्याग पनि नभिडाए हामीबीचमा बुद्धको अस्तित्व सुरक्षित-संरक्षित रहोस् पनि त कसरी !

हजुरबा कहिले नातिको कोठामै निरुपाय बसिरहन्थे । झोक्राएर । टोलाएर । कहिले बाहिरको सानो बरन्डामा निस्किएर टुलमा बस्थे, टोलाएरै । यसो टोलमा नजर छर्थे । दृष्टि धेर परसम्म फराकिलो भएर छरिन पाउथेन । सलाइका बट्टा झैं यत्रतत्र छरिएका र अग्ला घरहरुले छेक्थे । बिहान-बेलुकाको खाना-समयमा माथिल्लो तलामा उक्लन्थे । चारा टिपेर तल्लो तलामा ओर्लेपछि फेरि उही रीत । गाउँघरबाट सहरको भौतिक रुपमा फराकिलो र सामाजिक रुपमा ज्यादै साँगुरो ठाउँमा घुस्रिन आइपुग्दाको उकुसमुकुम हजुरआमाभन्दा बढी हजुरबाले झेल्दै थिए । हजुरआमा दोहोर्‍याइरहन्थिन्, ‘म त जसोतसो ब्वारी र ब्वारीसँग यसो दिउँसोपख बियाँलो गर्न आउने छिमेकी केटीहरुसँग गफ गरेर भुलिन्छु, बुवालाई त गाह्रो भइसक्यो याँ दिन काट्न ।’ हजुरबा ‘म त सक्दिनँ बस्न केटी’ भनेर बह पोख्दा रैछन् बुढियासँग । र, पनि बस्नु बाध्यकारी थियो । उता पूर्वको घरमा भएको छोराले पाल्न नसक्ने बताएपछि जेठा छोरासँग बस्न काठमाडौं आइपुगेका थिए । तर, गाउँमा फुक्काफाल बगिरहेको मन काठमाडौंको कचौरामा अँटाउन मानिरहेको थिएन । खायो, बस्यो, सुत्यो । यो रुटिनले पिल्स्याएको थियो दुवैलाई । ‘कतै जानु छैन, केही गर्नु छैन, के लाग्थ्यो भोक !’, गाउँमा केही वर्षअघिसम्म पनि घरधन्दादेखि बारीमा तरकारी फलाउन सक्रिय हुने आमै दिक्किन्थिन् । त्यस्तो दिक्याइले अमिलो बनाइरह्यो ।

हजुरबासँग यसो फुर्सदको बेला बोल्ने गर्थें म । उनको एक्लो र निरीह हालतले चिमोटिएको जो थिएँ । ‘बुवाको बोल्ने साथी पनि कोही हुँदैन’ भन्ने हजुरआमाको खिन्नता मेट्न असफल प्रयास गर्थें । तर, फेरि आफ्नै व्यस्ततामा बेरिएर कहिले कोठामा थुनिएर बस्थें त कहिले सहरतिरै हराउँथें । तैपनि जस दिन्थिन् आमै । ‘यो बाबु यसो बेलाबेला गफ गर्छन् बुवासँग, नत्र बोल्ने साथी नै छैनन्’ भन्थिन् । सहरिया चालचलन बुझेकी आमैको यति कुराले पनि आत्मसन्तोष मिल्थ्यो । खुसी हुन मान्छेलाई पोल्टामा असर्फी नै भरिनुपर्छ भन्ने कहाँ छ र !  कति स-साना कुराको लिकमा दगुर्छ खुसीको रेल । अचम्म !

अफिसबाट मध्य दिनमा म कोठा फर्कंदा दिनहुँ दयनीय भावदशामा देख्थें जोडीलाई । हिन्दी फिल्म ‘बागबान’ को दम्पती अमिताभ बच्चन र हेमा मालिनीको झल्को पाउँथे तिनमा । फरक के थियो भने, फिल्ममा बुढाबुढी छुट्टाछुट्टै बाँडिएर चार छोराको भागमा आलोपालो ‘पाहुना’ बन्ने नियममा बाँधिएका थिए । यता यी जोडी भने सँगसँगै उताबाट खेदिएर यता बस्न आइपुगेका । आफ्नो कोठाको बगलकै कोठा भएकाले साक्षी बनेको थिएँ उनीहरुको मौन पीडा र छटपटीको । उनीहरु केही नबोली कोठामा बसिरहे पनि त्यो मौनता निकै बोझिलो लाग्थ्यो । एक कोठा उकुसमुकुस ! त्यही उकुसमुकुसलाई सुम्सुम्याउँदै उनीहरु राति आठ बज्दा नबज्दै गाउँतिर जस्तै बिछ्यौनामा पल्टिसक्थे । बिहान सखारै उठिसक्थे । सहरले के-के न बित्दो जसरी राति अबेरसम्म न अनिदो बस्न सिकाउन सक्यो, न बिहानसम्म अल्छे बन्न ।

मेरा घरपति अर्थात् यी हजुरबा-आमाका जेठा छोरा पनि मनकारी नै छन् । एउटै घरमा बसे पनि, त्यति भेटघाट र बोलचाल नभए पनि एउटै परिवार जस्तो अनुभूति हुन्छ । भाडामा बस्न थालेको सुरुवाती दिनमा उनले हाम्रो नाता घरभेटी र डेरावाल जस्तो हुँदैन है भन्दै आत्मीयताको झट्टी मजाले हानेकै थिए । मीठो गरी दुखेको थियो त्यो बेला । मनकारी भए पनि उनलाई आफ्नो अधवैंशे उमेरमा वृद्ध उमेरमा पुगिसकेका बुबा र आमासँग मन खोल्न र खुलाउन सहज कहाँ हुँदो हो ! फेरि जागिरको व्यस्तताले समय दिन पनि गाह्रो । एक बिहान र एक साँझको छिपछिपे साथ न हो ! छोरा र बाबु-आमाबीच बोलचाल त हुन्थ्यो, तर खै के-के नपुगे जस्तो । संवाद त थियो तर अलिक शून्य खालको । यसरी वृद्ध बा-आमा ‘घर’मा पनि बेघर, एक्ला र विराना थिए । सानो छँदा ‘बाबा र आमा’ भन्दै ओठै नजिक मुख ल्याएर बोल्न सिकाउने तिनै बा-आमासँग कसरी दूरी बढ्दै जान सक्दो रैछ । पोलिरहन्थ्यो छाती । मेरो यात्रा पनि त्यही दूरीतिरको फड्को त होइन ?

यी हजुरबाको मुहारमा म आफ्ना मावली हजुरबाकै रुप देख्थें । उस्तै भद्र र शालीन । अल्पभाषीको हिसाबले दुवैलाई मितज्यू भने हुने । नाति-नातिना भनेपछि हुरुक्क हुने र तराई घर सर्लाहीमा छँदा गाउँभरिकै लालाबालालाई चिज गरेर खेलाउने मावली हजुरबाले अहिले त मान्छे चिन्नै छाड्नुभएको छ । दोहोरो कुरा गर्न नसक्ने । कुरा गर्दा जवाफमा शिर हल्लाउने र हल्का फुसफुसाहट मात्रै । ९७ वर्षको उमेरमा कसैको सहारा नलिई धन्न ठमठम हिंड्दै हुनुहुन्छ । उहिलेको विशुद्ध आहारविहारको बलले थेगेको ज्यान ।  उहाँ पनि मूलघर सर्लाही छाडेर काठमाडौं कपनमा कान्छा छोरा-बुहारीसँगै बसिरहनुभएको छ आजकाल । यी हजुरबाको जस्तै भावदशा । घर तीन-चार तलाको सानसहित उभिए पनि त्यही घरभित्रको सीमित उकाली-ओराली भर्‍याङ र भुइँ नै सहरको जिन्दगी हो उनीहरुका लागि ।

नौ छोराछोरीलाई बढाएर, पढाएर बिहेदान गराएर एउटा व्यवस्था गरिदिउन्जेल ती वृद्ध जोडीलाई कुनै सन्तान धेर भएन । अहिले अशक्त अवस्थामा पुग्दा सन्तानको जुलुसमाझ दुई बाबुआमा पनि धेर भए जस्ता हुन पुगे । संसारको चक्र नै यस्तो हुनुपर्ने हो कि, सहज जीवनयापनका लागि  आफूले गति लिन नयाँ पुस्ताले यस्तो चक्र बनाएको हो ! बुझ्न चर्को । तैपनि हजुरआमा चाहिं सुनाइरहन्थिन्, कुनै सन्तान र बुहारीहरुबाट समेत आफूहरुलाई नराम्रो छैन भनेर । सबै जाती । उमेर धेरै खाएका, अनुभवले पाकेका मान्छेसँग मन पनि ठूलो हुँदो हो सायद ।

तीन महिना कुन कष्ट र धैर्यले बसे होलान् ती बुढा-बुढी ! यहाँ बस्ने क्रममा विराटनगर गएर माहिला छोराकहाँ बस्ने घरसल्लाह भएछ । दुई साताजति अघि बिदा भए उनीहरु । बसुन्जेल गाउँ फर्किने व्याकुलता पालेर अधमरो भएरै बसे । हजुरबा चाहिं सुरुका दिनमा ज्ञानी भएर दुई तला घरकै संसारमा जकडिए पनि अलिक पछि भने ‘बदमास’ हुन लागे । गाउँघरमा डुलिहिंड्ने, छरछिमेकमा बात मारिहिंड्ने बानी । यहाँ पनि मौका छोपेर कसैलाई नभनी सुइत्त सडकतिर चहार्न निस्कन थाले दिउँसोपख  । घरमा बुहारी, नाति र बुढियालाई चाहिं बुढा बाजेलाई तै बाटोमा गाडीले हानिदेला, कता हराउलान् कि भन्ने चिन्ता । बुवाले अलिक होश पाउनुहुन्न भन्थिन् आमै । खोजेर ल्याएर सम्झाए पनि गुम्सिएर बस्न के मान्थे ! कुँजो मान्छेको जिउ र औंला त चटपटाउँछन् । ती हजुरबा त तन्दुरुस्त नै थिए । अरु-अरु दिन पनि लुसुक्क हिंड्ने क्रमले निरन्तरता पाएछ । साँचो अर्थमा जिन्दगी जिउने धुनमा कसैले अवरोध, छेकथुन गरेमा एउटा जीवनधर्मीले कसरी पो मान्दो हो र । ती हजुरबाले पनि जीवन चाख्‍ने क्रममा सानो परिधि तोडेका न हुन् !

मलाई त्यो वृद्ध दम्पतीले मोहनी लगाउँदै गयो । खासमा, म पनि घर-परिवारको लागि केही गर्नुपर्छ भन्ने सोचसहित त्यही घरपरिवारदेखि नै टाढा रहेर कयौं वर्षदेखि यो सहरमा संघर्ष हो कि खै के गर्दै छु । वर्ष, दुई वर्ष, चार वर्ष चिप्लिंदै गए पनि अवस्थामा कुनै  फेरबदल देखेको छुइनँ । देखिने प्रगति र अनुभूति गरिने शान्ति दुवै म बाट टाढै छन् अझै । श्रीमद्‌भगवद्‌गीतामा कृष्णमार्फत ‘जे हुन्छ राम्रो हुँदै छ र राम्रो नै हुनेवाला छ’ भन्दै मान्छेले आफ्नो ठान्ने शरीर पनि आफ्नो नभएको सार दिए पनि यत्तिकै बसेर जीवन चल्दैन । अध्यात्मिक वचनमा हिंडेर त्यसको सोझो अर्थमा बग्दा चित्त बुझाउन पनि मुश्किल पर्छ । बेस्कन व्याकुल भएर दौडधुपमा रहन्छ चोला । फलको आश पनि लाग्छ । फलको आश लागिरहने र प्रगति-शान्ति नामका दुलही नभित्रने अवस्था कतिन्जेल रहिरहने हो जीवनमा, हेर्नु छ । गाउँमा बाबु, आमालाई एक्लै छाडेर सहरमा छोरा संघर्षको नाटक रच्न कतिन्जेल सक्छ, जाँच्नु छ । बाबु, आमाले गर्नुपर्ने एउटा कर्तव्य सकिएपछि घुमेर सन्तानले पूरा गर्नुपर्ने कर्तव्यको अर्को पाटो आउँदो रैछ । यो परीक्षा चर्को छ ।

काठमाडौंमा ‘बास’ पाए पनि  यहाँ बस्न नसकेर अत्यास मान्दै बुढियासँग विरक्त मान्ने ती हजुरबा बेलाबेला रुँदा पनि रैछन् । घर छाडेर फुंग उडेको साँघुरो सहरमा गुम्सिंदा पिलपिलाउँदा रैछन् । बुढाबुढी झापातिरै बस्ने भन्दै दमकमा एउटा घर बनाइदिन छोराहरुसँग आग्रह गर्दा पनि बन्ने कुनै छाँटकाँट देखिएनछ । घर बनाउने कुरा चंगा बनाए जस्तो सजिलो पनि थिएन ।  त्यसपछि झन् हरेश खाए होलान् बुढाले । हुन पनि उनको स्वाभाविक जीवनयात्रा सहरमा खुलेन ! हजुरआमा चाहिंले यो बसाइमा एउटा आँखाको मोतीयाविन्दुको शल्यक्रिया गराइन् तिलगंगामा । (उनको ‘ब्वारी’ का अनुसार, पोहोर साल मनकामना मन्दिर लगायतका ठाउँ घुमाउन लैजाँदा ६० हजार रुपैयाँ खर्च भो रे । यसपाली उपचारमा २० हजार ।) अर्को आँखाको शल्यक्रिया ६ महिनापछि गर्ने अनि चश्मा दिन्छु भनेको थियो रे डक्टरले । ६ महिना नआई शल्यक्रिया नै नगराई जीवनसखासँग बाटो लागिन् हजुरआमा । विराटनगरमा अलिक गाउँले परिवेशमा मन त्यसै रमाउँदा शल्यक्रिया गराउने कुराको मेसै नपाउलिन् कि ? बुढेसकालमा तगडा आँखा त के गरी पो देख्थिन् र ! आँखा धमिलो देखे पनि दुवै आँखाको शल्यक्रिया नहुँदा उनले चश्मा लगाउन पाइनन् ।

सद्दे आँखा हुनेले पनि संसार आखिर धमिलै त देख्छन् । किटानीसाथ त के नै भन्न सक्दा हुन् र !
एउटा-एउटा अनुमानको हेराइ । अनुमानकै स्पर्श र मजा-नमजा !

त्यो वृद्ध चखेवा जोडीले जीवनको उत्तरार्द्ध हाँसीखुसी काट्न पाओस् ।

4 comments:

  1. साह्रै मन छुने लेखाइ..आजभोलिको तितो वास्तविकता नै यही हो...बुढाबूढीहरु गाउँको त्यो अथाह फराकिलो,फरासिलो,मनमौजी जीवन छोडेर सहरको यो कोलाहल, उकुसमुकुस र समयहीन वातावरणमा भिजुन् पनि कसरी? त्यैपनि छोराछोरीको मायाले डोर्याएर ल्याइपुर्याउछ, तर महिनादिन पनि टिक्न सक्दैनन्, टिकुन् पनि कसरी?? वृद्ध चखेवाका जोडीहरुलाई जीवन काट्न धौधौ छ!!

    ReplyDelete
  2. मैले त आफै लाई भनेर अध्यन गरे , वास्तबिक हाम्रो आधुनिक समाज भित्र तितो यथार्त
    ती चखेवा जोडी को जीवन सुख मय रहोस

    ReplyDelete
  3. साधारण बिषयमा असाधारण लेख। मन पर्‍यो।

    ReplyDelete