June 3, 2013

दाइको डायरी

यस पटक ब्लगमा सहोदर दाइको डायरी सुटुक्क ल्याएको छु । जुन उसले २०६२ सालमा लेखेको रैछ । डायरी केहीबेरमा पेश गर्छु । त्यसअघि थोरै भूमिका जरुरी लाग्यो ।

दाइको जागिरे जीवनको सुरुवाती बेला । जम्मा दुई दिनको डायरी टिपोट छ, जेठ २८ र असार ४ गते । दुवै दिन शनिबारDiary परेको छ । कामबाट बल्लतल्ल फुर्सद पाएर लेखेको होला ।

उतिबेला भर्खरै खुलेको स्वाबलम्बन बैंकको जागिरे थियो ऊ । डायरी लेखिएको कापी सामान्य कापी मात्रै छ । दाइसँग त्यसबेला डायरी लेख्‍ने मोटो नोट किन्ने पैसा नहुँदो हो वा त्यसलाई उसले प्राथमिकता नदिएको पनि हुँदो हो । तर यो डायरी मेरो लागि संघर्षको पाठशाला बनेको छ । आफैं पनि जीवनमा धेरै दुःख गरेका र अरुका दुःखबारे देखे-सुने-पढेकालाई डायरीका कुराले नछोलान् ।

हाम्रो परिवारको पुस्ता-दरपुस्तामा लेख्‍ने मान्छे मैं मात्र होला भन्ने लाग्थ्यो । दाइको डायरीले मेरो कीर्तिमान भंग गरिदियो । Smile

कुनै समयमा डायरी लेखेको रैछ उसले । तर उसलाई कुनै प्रयोजन लेख-सेख लेख्‍नुपरे मलाई नै अह्राउने गर्छ । यतिसम्म कि उसको संस्मरण पनि मैले लेखिदिनुपर्ने !
दुई दिनको टिपोटपछिका खाली पाना देखेर घरबाट काठमाडौं आउँदा लोभले कुन वर्षमा हो, साथमै बोकेर आएको रैछु । केही वर्षदेखि बुकसेल्फमै कागजपत्रको तहमा च्यापिएर बसेको थियो । बेलाबेला निकालेर पढिसकेको पनि थिएँ । पढिसकेपछि मनमा बेचैनी हुन्थ्यो, मध्यमवर्गीय परिवारको छोरालाई कति सकस ! केही काम थाल्न धनाढ्य परिवारको जस्तो पुँजी नहुने र हदै गिरेर काम गर्न पनि लोकलाजले  नदिने । असमञ्जस र बडो दुविधा ! प्रमाणपत्र तह पढ्दै गर्दा बुवा हरदम दाइलाई छिमेकीका छोराहरुको उदाहरण दिंदै काठमाडौंमा आफैं काम खोजेर कमाइधमाइ गर्न थालेका छन् भनेर केही गर्न दबाब दिइरहनुहुन्थ्यो । हाम्रा केटा चैं बेकामे र हुतीहारा भए भनेर सधैं गनगन र गुनासो । हरेक घरमा युवावयमा यस्तै बोझ बोकाइँदो हो - सपना, अपेक्षा, आग्रहको भारी । त्यही दबाबले होला, दाइ जस्तोसुकै जागिरमा झुन्डिन हतारिएको थियो । नभन्दै हदै दुखिया काम गर्न स्वाबलम्बन विकास बैंकको जागिरमा गयो उदयपुरबाट धनुषा । २३ वर्षे पट्ठो उमेरमा । दाइको दुःखको कुरा दाइसँगै रह्यो, बुवा चाहिं केटोले जागिर खायो भनेर खुसी हुनुभो । हुन पनि दुई दिदीहरुको बिहेपछि थलिएका बा दुई छोराको पढाइमा पैसा बगाइरहँदा लर्खराउने अवस्थामा पुगेका थिए । क्याम्पसको छुट्टीमा घर आएर काठमाडौं फर्किन लाग्दा ३-४ हजार रुपैयाँ दिने बेला बाको एउटा हात मुटुमा हुन्थ्यो !

मध्यम वर्गीय परिवार हो हाम्रो । पैसा बगाउने तागत नभए पनि खान-लाउन भने मनग्गे पुग्ने जग्गा थियो । गाउँघरमा हामी धनीमध्येमा पर्थ्यौं । हामी धनी भनाउँदोको अवस्था त खुलेर जिउन सक्ने खालको थिएन, हामीलाई धनी भन्नेहरु र तिनका छोराछोरीको हालत झन् कस्तो थियो होला ! यतिबेला अनुमान गर्छु ।

यस्तै परिस्थितिको सिलौटामा पिसिने क्रममा कता-कताबाट उछिट्टिएर दाइले दुखिया खालको जागिर पायो । संघर्ष कति गर्‍यो होला, एक-एक पाइला फुक्दै ! डायरीमा दाइले लेखेको जम्मा तीन पानाको कथाव्यथा पढेर यस्तै सोच्थें । म पनि त्यतिबेला काठमाडौंको कोलाहलमा ‘जागिरको शान्ति’ खोज्दै थिएँ । पढ्नका लागि घरबाट पैसा आए पनि अपुग हुन्थ्यो र पैसा भेटिएला कि भनेर बाटोमा हिंड्नुभन्दा पनि आँखाले छापा मार्थें । मानौं, मेरो नाममा मेरा आँखाहरु नानीलाई घिसार्दै बडो कष्टसाथ घिस्रिएका होऊन् ! कुपण्डोलको कोठादेखि भृकुटीमण्डपको रत्नराज्य क्याम्पस जाँदा-आउँदा पैसाकै खोजी । तर, मैले एकै रुपैयाँ पनि भेटिनँ कहिल्यै । बरु नखोजेका कति कुरासँग मुकाबिला भयो । पछि दाइको डायरी साथी भयो । रोजगारीको अभावमा दाइले गरेको दुःखको बयानले मुटु पिऽऽरो हुन्थ्यो र डायरी हत्तपत्त कागजपत्रकै बीचतिर कोचिदिन्थें ।

दाइ मभन्दा दुई वर्ष जेठो । तर, सम्बोधनमा ‘तँ’ को रिबन बाटिएको छ हामीबीच । 

ऊ अपेक्षा गर्छ, सम्मान गरोस् भाइले । अलिक दूरीमै रहोस् । औपचारिक तहमै सही, आदरको संस्कार सिकोस् । (उसको डायरी पढ्दा पनि थाहा पाउनुहुनेछ, ऊ औपचारिकतामा कत्तिको विश्वास राख्छ ।) साथीहरुको सामु आफ्नो इज्जत गरिदिएर सजग हुँदै कम्ती नै बोलोस् । जे होस्, आदर प्रकट गरोस् ।

तर, यो भाइ उल्टो निस्कियो । हामी दुई दाजुभाइ त थियौं । दुई वर्षको अन्तरमा सानैदेखि साथी भन्नु पनि एक-अर्का नै थियौं । जति नै झैझगडा र कुटाकुट गरे पनि, नबोल्ने ‘कट्टी’ नै गरे पनि म एकैछिनमा ‘जयराम खै जयराम’ भनेर खोज्थें रे, आमाले अझै पनि सुनाउनुहुन्छ । हुन पनि बा पछिको मेरो अभिभावक र रेखदेखकर्ता दाइ नै हुँदै आयो । मनैमन सम्मानको दर्जा दिएको थिएँ । उसै पनि म कुनै पनि सम्बन्धमा त्यो व्यक्तिको महत्व र स्थान दर्शाउन नसक्ने मान्छे ! दाइकै सहारामा काठमाडौंको अँध्यारो चक्रपथभित्र सम्भावनाको उज्यालो देख्न थालें । घर र साथीभाइमा उसको बोलाउने नाम - जयराम । नागरिकतामा नरेन्द्रकुमार कार्की । सरकारको निजामती सेवामा ‘खरिदार’ बाट काम सुरु गरेको ऊ खुला प्रतिस्पर्धाबाटै एक वर्षअघि सेक्सन अफिसर भयो । खरिदारमा भिड्न निकै पापड बेल्यो । ४-५ महिना घरमै बसेर बिहान सबेरै गाईबस्तुलाई खोले बाँडेर काम सकिवरी बन्दीसरह कोठामा बसेर पढ्यो । अफिसरमा भिड्ने बेला पनि धेरै पटक/वटा परीक्षा दियो, प्रशासन, राजश्व सबैतिर । दाइको अपेक्षा अनुसार आदरार्थी सम्बोधन नगरे पनि ऊ बाट धेरै कुरा सिकेको छु । दाजु जस्तो भने भइनँ । ‘दाइ जस्तै स्थायी, सरकारी जागिर खा’ भन्छन् आफन्तहरु सबै । मेरो मन त्यता जानै सकेन । हिजोको उसको संघर्षको साक्षी आफू हुँदा  दाइ आज हाकिम भएर उपल्लो पदमा पुगेकोमा खुसी लाग्छ । तर, मेरा लागि मेरो दाइ उही सानै बेलादेखिको ‘जयराम’ हो, ‘तँ’ हो । बनावटी खुड्किलो बनाएर तपाईंमा उक्लिन खोज्दा पछारिन्छु सधैं । आफ्नै नजरमा कुरीकुरी लाग्छ ।

दाइप्रति सानै उमेरदेखि ‘तँ’ को सम्बोधन जिब्रोमा यति धार लगाएर गाडिएको छ, अब टसमस हुनेवाला छैन ।
दाइको बिहे भइसक्दा पनि ! Smile

त्यही दाइको बयान यसरी उतार्दै अब उसैको डायरी पल्टाउँछु, जस्ताको तस्तै । दुवै डायरी उसले धनुषाको धारापानी भन्ने ठाउँमा लेखेको हो । आज यसरी यहाँ दाइको डायरी पल्टाउँदै छु, उसलाई यसबारे थाहै छैन । डायरी सार्वजनिक गर्नु उसको गोपनीयता भंग गर्नु होइन । बरु एउटा दाइको संघर्षप्रति भाइको श्रद्धाभाव र गर्वबोध मात्रै हो ।
----------------------------------------
धारापानी
२०६२/०२/२८ शनिबार
जीवन ! संघर्ष, जीवन संघर्ष हो । २०६२ साल जेष्ठ १४ गते शनिबार दिउँसो करिब २ बजेतिर म स्वाबलम्बन विकास बैंक लि. शाखा कार्यालय धारापानी धनुषास्थित कार्यालयमा आफ्नो नोकरी कर्तव्यका निम्ति आएको थिएँ । त्यो रात कार्यालयकै कर्मचारीहरुद्वय श्री बुद्धिप्रकाश सुवेदी (शा.प्र.) दाङ तथा श्री कृष्ण खनाल (व.स.) गोरखाको सहयोगमा बासको व्यवस्थापन भएको थियो । भोलिपल्ट पनि सोही भए पनि अर्को दिन भने एउटा कोठा मिलाइयो मेरो लागि । खाना चाहिं होटल (यादव दाइ) मा खाइन्थ्यो ।

जिन्दगीको पहिलो नोकरी थियो यो । बिहानै उठ्यो, सात बजेभित्र अफिसमा हाजिर भयो अनि साइकलमा फिल्ड गयो । साइकल यात्रा जम्मा १०-१५ किलोमिटरको हुन्थ्यो । कुनै दिन त २४-२५ किलोमिटरको पनि गर्नुपर्दथ्यो । मेरो एक महिनाको काम कुनै गाविसको Profile तयार गर्नु भए पनि अर्को कर्मचारी श्री रमेश दनुवार (फि.स.) उदयपुरको सरुवा पकली सुनसरी भएकोले फिल्ड जानुपर्ने बाध्यता परेको थियो । दिउँसो ११-१२ बजेतिर साइकलबाट कार्यालय फर्कियो, सर्ट-साइन्ट पसिनाले भिज्थ्यो । खाना खान गयो, थकित अवस्थामा भोकभोकै उठिन्थ्यो । खाना पनि मीठो बनाउँदैनथ्यो होटलमा । खाना खुवाउने राम्रा होटलहरु पनि यो ठाउँमा प्रशस्त रहेनछन् । खानापछि १ बजेसम्म आराम गर्ने छु्ट्टी समय भए पनि काम नभ्याउने भएकोले आरामा गरिंदैनथ्यो । साँझ काम नसकिंदा ६ बजेसम्म कहिलेकाहीं गर्नुपर्दथ्यो ।

समय फेरि गर्मीयामको (जेष्ठको) थियो । डेरा फर्कियो प्रायः नुहाउँथें । अनि नास्ता गर्‍यो, घुम्यो …. ।

राति आठ बजेको समयमा खाना खुवाउने समय राखे पनि प्रायः ढिलै हुन्थ्यो । कुनै दिन तरकारीमै झोल हालेर दिन्थ्यो, कहिलेकाहीं रक्सी खाएर खाना नै गिलो पकाइदिन्थ्यो ।


जिन्दगीको पहिलो नोकरी नै फिल्डको थियो – ‘फिल्ड सहायक’ । फिल्डमा गएर काम गर्नुपर्ने, साइकल कुदाउनुपर्ने, चाकबाट पसिना चुहाउन्जेल साइकल कुदाउनुपर्ने, समयमा खाना खान नपाइने जस्ता कुराहरु एकातिर त यथावतै थिए । त्यस अलावा काम नसकिएकाले बिना पारिश्रमिक अधिक समय काम गर्नुपर्ने पनि हुन्थ्यो । जीवन वास्तवमा संघर्ष हो भन्ने कुरा व्यावहारिक रुपमा यहाँ आएर थाहा भएको छ । डार्बिनले पनि भनेका थिए कि ‘हरेक प्राणीले बाँच्नका लागि संघर्ष गर्नुपर्छ, परिस्थितिअनुसार आफूलाई बदल्न सक्नुपर्छ । जुन प्राणीले आफूलाई सो अनुरुप गर्न सक्दैन, त्यो लोप हुन्छ ।’ सायद त्यो कुरालाई पनि मैले स्मरण गरेको थिएँ वा परेको थिएँ जीवन वास्तवमा संघर्ष नै हो । केवल बाँच्नका लागि संघर्ष गर्नु नै पर्दछ, गरिरहनु नै पर्दछ । अनि मात्र सफलता प्राप्त गर्न सकिन्छ ।
----------------------------------------
धारापानी
२०६२/३/४ शनिबार
अचम्मको छ स्वाबलम्बनको जागिर । नेपाल भ्रमण गर्न मन हुनेले सायद यस बैंकमा नोकरी गरे उहाँहरुको इच्छा पूरा हुने थियो होला । मैले नोकरी खाएको करिब १५ दिन भएको मात्र के थियो, सरुवा भएको छ गौशाला महोत्तरीमा । चिठी पाएको तीन दिनभित्र सरुवा भएको कार्यालयमा जानु भनिएको थियो । मैले चिठी बुधबार १ गते आषाढमा पाएको थिएँ । सायद सरहरुले भोलि आइतबार रमाना दिने होला । परिस्थिति छ बेरोजगारको, ‘नखाऊँ त दिनभरिको सिकार, खाऊँ त कान्छा बाउको अनुहार’ भने झैं मा म परें ।

त्यो ठाउँ कहिले नपुगेको ठाउँ । गौशालामा के-कस्ता व्यक्तिहरु छन् ?! त्यहाँका कर्मचारीहरुको व्यवहार कस्तो छ ? सायद यसमा कौतुहलता लाग्नु म मा मात्र नभएर यस्तो परिस्थितिमा सबैमा हुनु वास्तविकता नै हो । यस्तो छिटो नै सरुवा भएको कारणबाट कता-कता जागिर नै छोडिदिऊँ जस्तो पनि लाग्यो । तर, के गर्नु जागिर छोडेर पनि । म कुनै अवसरको पर्खाइमा थिएँ । सायद त्यो अवसरको राम्रो प्रतिफल हुन्छ भन्नेहरु मेरा आत्मीय साथीहरु धेरै भएता पनि  म एक्लै भने त्यसमा कम विश्वासमा थिएँ । हेरुँ, के हुन्छ त्यो अवसर आएपछि, हेरुँ के हुन्छ ।

No comments:

Post a Comment