Subscribe:

Ads 468x60px

27 July 2013

आँपको गाढा स्वाद

गाउँघरतिर बगैंचामा यतिबेला लटरम्म आँप निख्रिसके । बजारतिर भने केही जातका आँपले रस चखाउँदै छन् । आँपकै मौसमको मौका छोपेर स्वादमा प्रतिस्पर्धा गर्ने गरी 'आँपको रुख' कथाकृति निकालेका छन्, दीपक जडितले । लामो समयदेखि साहित्य लेखनमा रहेका जडितले ढिलो गरी निकालेको पहिलो पुस्तकाकार कृति हो । तर, यतिका समयको  साधनाको रङ कथाकारले पुस्तकमा जमेरै उतारेका छन् । झापाको गौरादहदेखि अमेरिकाको विभिन्न राज्यको बसाइका क्रममा फेरिएको हावापानी, बाँचे-देखेको जिन्दगानीको विविध विशेषता जडितका कथाहरूमा उनिएर आएका छन् । 

खासगरी, नेपालको ग्रामीण भेगका सीधासोझा मान्छेको धागो जस्तो कहिले सरल त कहिले गुजुल्टिएको जिन्दगी कथाकारको प्रिय विषय बनेको देखिन्छ । तिनकै दुःखका ठेली, सुखका क्षणिक झिल्का र परिस्थितिले पात्रहरूका बीचमा मच्चाएका हुन्डरीले पाठकलाई कम्पन छुटाउने तागत राख्छ । त्यसमाथि कथानकको सहज प्रवाहले कम्पनलाई असरदार तुल्याउँछ ।

शीर्ष कथा 'आँपको रुख'मा गाउँका दुई बालसखा दीपक र मानवीको आत्मीय सम्बन्धले अञ्जानमै बाटो बिराएपछि त्यसलाई सुरक्षित अवतरण गराउन दुवै पात्रले आफ्नो तर्फबाट जनाएको अग्रसरता मनछुने छ । प्रेममा थाहै नपाई यौनले घर बनाएर दुवैलाई अझ नजिक्याएपछि आपसमा चुलिएको हार्दिकता निकै मार्मिक लाग्छ । तर, निर्दोष सम्बन्धमा यौनको प्रवेशले ल्याउने परिणामले कथानकको विकासमा रमाउँदै गएका पाठकको मुटु अन्ततः थिलथिलो पारिदिन्छ । यौनका मामिलामा बाटो बिराउँदा अपजसको भारी एकोहोरो रूपमा छोरीचेलीमाथि थोपर्ने हाम्रो सामाजिक रीत छ, यो पाटोसहित कथाले समाजको धेरै पक्ष उजागर गर्छ । जवानीका भूलहरू सच्याउने क्रममा जोडीबीचमै एक-अर्कालाई खेदो गर्ने आजका तन्नेरीहरूको पानीफोका मायाभन्दा कथाका बालसखाको सम्बन्ध एकदमै विपरीत छ । उनीहरू एक-अर्काको भ्वाङ टाल्न आफूलाई अझ बढी भ्वाङ पार्न तयार देखिन्छन् । पढिसकेर लाग्न सक्छ, यस्तो आदर्श माया कि त कथामा, कि त फिल्ममै सम्भव छ ।

जडितका कथाहरूको विशेषता भनेको चरित्रचित्रणमा प्रथम पुरुष दृष्टिविन्दु अर्थात् 'म' पात्रको बोलवाला हुनु हो । पात्रको नाममा पनि कथाभित्र दीपक र अंग्रेजीको संक्षेपीकरण 'डी' निकै आउँछन् । यसबाट कथाकार कल्पनाशीलताको नाममा समाज छाडेर उड्दैनन् भन्ने देखिन्छ । अथवा कथा लेख्दालेख्दै पात्रसँग आत्मीयता गाँसिएपछि मन नमानेर कथाकारले आफ्नै नाम सापट दिएका पनि हुन सक्छन् । म पात्रबाट कथाको वहाब सहज लाग्नुका साथै प्रत्यक्ष बयानले कथाहरू बढ्ता सजीव पनि लाग्छन् । अर्कोतिर, पुस्तकको सरल भाषाशैलीले कथाको सामान्य विषयसँग निकै सामीप्यता राख्छ । कथाका पात्रहरू कुनै ठूलो आकांक्षामा हुत्तिंदै चन्द्रमा तस्करी गरेर भित्र्याउने दाउ पाल्दैनन्, बरु करेसाबारीमा झुन्डिएको पहेंलपुर फर्सीमा नजर टेकाएर आम्दानीको सपना बुन्छन् । कतिपय पात्र भने महाकवि लक्ष्मीप्रसाद देवकोटाको 'जरुर साथी म पागल' जस्तो दार्शनिक विचारमा चिप्लेटी खेल्छन् । समयदेखि प्राकृतिक विपतको बाढीले लछारपछार पारेका वैरागी र हतभागी पात्रलाई हिरो बनाएका छन् कथाकारले ।

संग्रहका १४ कथामा नेपाली समाजसँगै जोडिएको भिन्न विशेषता, संस्कृति र रहनसहनको छाप छ । एकातिर रोबोटको विकासले श्रमको बजारमा मान्छेलाई यान्त्रिक जीवनबाट केही राहत दिंदै छ भने यता हाम्रो अविकसित समाजमा अझै पनि अन्तर्जातीय विवाहमाथिको छेकथुनले पारिवारिक र सामाजिक कलह व्याप्त छ । त्यस्तो छेकथुनले पारिवारिक तहमा ल्याउने समस्या र क्षतिको आकलन 'केतकी फूलको माला'ले दिदीभाइको कथामार्फ गरेको छ । सामाजिक विडम्बनाकै अर्को पाटोमा, केही गडबडीले अंगभंग सन्तान र गाईबस्तु जन्मिए भने हत्त न पत्त दैवी चमत्कार र भगवान्को अवतारको रूपमा हेर्ने प्रवृत्तिको तस्बिर खिचेका छन् कथाकारले । त्यस्ता विकलांग बच्चालाई पुज्न फूल-अक्षतासहित धाउने 'धार्मिक धावकहरू'लाई कथाले गिज्याएको छ । तर, त्यो दैवी लीलाको 'बज्रपात' खेपेको परिवारलाई त्यही लीला नै वरदान बनिदिन्छ, दर्शनार्थीको आर्थिक उदारता गरिबीको ज्वाला निभाउने आम्दानीको स्रोत बन्छ । त्यसरी आम्दानी गर्न सकिने अवस्था कतिन्जेललाई - लीला सकिनासाथै समाजको वाक्य बस्छ ।

संग्रहका अधिकांश कथा मानवतावादी दृष्टिकोणमा बगेका छन् । भावनाको जगमा बुनिएका कथाहरू समाज परिवर्तन गर्ने ध्येयले वैचारिक उथलपुथल बोक्नुभन्दा पनि समाजका चित्र-विचित्र प्रकट गर्नमा एकोहोरिएका छन् । कता-कता तिनमा बढ्तै भावुकताको राग छायो कि भन्ने लाग्छ । भावनाप्रधान भएकाले कथा र पात्रहरू निर्दोष छन् । ती कथाहरूमा यौन मनोविज्ञानको पाटोदेखि सौतेनी आमाप्रति कायम परम्परागत दृष्टिकोणका कुरा छन् । दसवर्षे सशस्त्र द्वन्द्वमा विद्रोहीतर्फ झोसिन पुगेका शिक्षित वर्गको शान्ति प्रक्रियासम्मको यात्रा समेटिएको कथा पनि विश्वस्त लाग्छ । तर, त्यति लामो द्वन्द्वले समाजमा परिवर्तनको थोरै पनि चहक छाड्नुको साटो थप अन्योल र अस्तव्यस्तता बढाएर समाजका पात्र-पात्रलाई सर्कसका जनावरमा सीमित गरिदिएको चित्रण पीडादायक छ । जुन पीडा अनिश्चयको बादल बनेर हरेक आँखामा अझै पनि मडारिएको छ ।

कृतिका केही कथा भने औंसत कोटिका छन् । ती कथाले सामूहिकताको भाव जगाउन नसकी निकै साँघुरो आयाम बोकेको देखिन्छ । 'अप्रिल फुल' भन्ने कथाले प्रेमिल सम्बन्धको डोरीमा बेरिंदै बिहेबारीका लागि घरै छाडेर भाग्न कस्सिएकी युवतीमाथि पुरुषले गरेको ठट्टाको वृत्तान्छ खोल्छ । तर, खासमा यो कथा पाठकमाथिकै ठट्टा हो । रहस्य जगाउँदा जगाउँदै पनि यति कमजोर प्लटमा बुनिएको कथाले अन्त्यमा निराश बनाउँछ । 'रोगी घाम' र 'नयाँ साथीको पुरानो कुरा' पनि उल्लेखनीय लाग्दैनन् । बरु सामान्य सुरुवात बोके पनि बालापनको खेलले छाडेको गहिरो घाउले मनै चिस्याउने गरी छुन सफल छ, कथा 'चरीअमिलो' । यसले बालापनको भाँडाकुटी खेलका झिल्काहरू धेरैको आँखामा प्रसार गर्नेछ ।

विदेशको पृष्ठभूमिमा लेखिएकामध्ये दुई कथा '४२० उत्सव' र 'यु टर्न' अंग्रेजी कथा हो कि नेपाली भन्नेमा द्विविधा हुन्छ । कारण हो, तिनमा प्रयुक्त अंग्रेजी वाक्यहरूको चाङ । त्यसरी भाषा मिसावट रुपमा आउनुमा स्थान र पात्रगत स्वाभाविकताको तर्क एकातिर हुन सक्ला, तर कथाको वहाबमा रहेका पाठकलाई ती लबज गतिरोधक बनिदिन्छन् । र पनि ती कथाले उठान गर्न खोजेको आधुनिकताको नाममा मर्यादाहीन बनेको विदेशी संस्कृतिको तुलनामा सभ्य र सुसंस्कृत नेपाली समाज र यहाँको सम्मानजनक आचार-व्यवहारको प्रसंग आत्मगौरवका स्रोत बनेका छन् । तर, विदेशमा पराइ केटीलाई कोठामा लिएर जाँदै गरेको बेला प्रेमिका/श्रीमतीको फोनले झस्किएर सतर्क हुने आदर्श चरित्र खस्कँदै गएका छन् । विश्व एउटा गाउँ बनेको भनिंदै गरेको बेला सबैजना उस्तै गाउँले आनीबानीमा देखिन थालेका छन् ।

जडितका कथाहरूले समग्रमा आत्मा नगुमाएका मान्छेका व्यथा र जीवनदर्शन बोल्छन् । सामाजिक विकृतिको उजुरी कथानकमा गर्दा उनीभित्रको कथाकारले सुकिलो र सङ्लो समाजको सपना पनि सँगसँगै देखेको छ । यहींनेर पाठक र लेखकको सपना मिल्छ । आँपको रुखको कथासूचीमा आँप जस्तै चखिलो स्वाद चखाउन जडित सफल छन् । भलै आँपमा बोक्रा र कोया हुन्छन्, तिनमा पनि गुलियोको अंश लदबद हुन्छ । भावनाप्रधान कथा मन पराउनेलाई कृति निकट साथी बन्न सक्छ ।

No comments:

Post a Comment