Subscribe:

Ads 468x60px

12 July 2013

तोतेबोली र अक्षरहरु

‘बकुलाले पानी खायो लामो चुच्चाले
यता-उति नगर कान्छी हान्छु जुत्ताले’

सानोमा यस्तै गीत गाउँदो रैछु । तोतेबोलीमा अड्किअड्की गाइने त्यस्ता गीत पनि खुबै हिट हुने ! आफ्नो तोतेबोलीको सम्झना छैन अहिले । बरु मामाघरमा मामाले जिस्काउँदै उच्चारण गरेका गीतका तिनै हरफहरु कानको जालीमा छानिएर सुरक्षित बसेका छन् । भान्जाको दूधे ओठबाट लय र उच्चारण बिग्रेका गीति भाका सुन्न मन लाग्थ्यो होला, सुरुवातका एकाध शब्द फुकाउँदै मामा मलाई उकास्नुहुन्थ्यो – ‘बकुलाले पानी खायो … के रे भान्जा !?’

लामो जुँगा भएकाले ठूलो मामालाई जुँगे मामाका रुपमा चिन्थें म । समयसँगै मेरो तोतेबोलीलाई पलाउँदै र छिप्पिंदै गएका दाँतहरुले घचेटेर झारे । मामाको जुँगा पनि कटानमा परेर ओठका डिल बुच्चा भए । समय मेरा दूधे दाँत र मामाका जुँगाको हिसाब नराखी बेतोडले कुदिरह्यो ।

Dhaiba-Childhoodबालखै थिएँ । तोतेबोलीबाट एक फड्को मारेको थिएँ हुँला ।

मामाघरमा मामा र साथीसहेलीको तानातानीमा परे पनि घरको संसारमा आमाले जिन्दगी बुनिदिएकी थिइन् । बुवादेखि थर्कमान भएर भरिशक्य टाढै बसिन्थ्यो । रिसाएको बेला भातै नखाने घुर्की लगाएर बसे पनि बाउको सिर्कना खानुपर्ने जोखिमले भातकै चुलीतिर लागिन्थ्यो । फिल्मतिर देखाइए झैं एउटा परिवारमा पतिसामु छोराछोरीको गल्ती ढाकछोप गर्ने आमा हाम्री पनि थिइन् ।

बुवा पनि कम्ता फिल्मी थिएनन्, हामीले केही बिगार गरेमा आमालाई ‘तैंले पुलपुल्याएर यति चढेका तेरा घरसाँढेहरु’ भन्ने जस्ता डाइलग पेलिहाल्थे । तर, फिल्मी जिन्दगी पनि कता-कता दुखिरहन्थ्यो । हामी ज्यादाजसो घरैमा कुथुर्किएर बस्ने, बाहिरतिर घुलमिल र व्यावहारिक सरसंगतिमा नफैलिने भएकाले बा ले घरसाँढेको उपमा दिएको समय थियो त्यो ।

(अहिले ती घरसाँढेहरु घरबाट बतासिएर आ-आफ्ना उडानसाथ भाग्य/अभाग्य लिएर कता-कता पुगेपछि डाइलगवाज बा कम्ता कुँढिएका नहोलान् !)

चार कक्षा पढेकी आमा सकिनसकी अक्षर फुटाउँदै चिठी लेख्‍न खोज्थिन् । फोन सुविधा त्यो समयमा कहाँ पाउनु ! कापीमा उनी घोप्टिन्थिन् । छोराछोरीले सघाउन सक्ने भए पनि आफैंले कलम समाएर भाव उतार्ने मन हुँदो हो आमालाई । चार दिशामा बतासिन लागेका अक्षर लेखे पनि तिनलाई भावनाको टेकोले अड्याएर सम्बोधन पूरा गर्थिन् -  'आदरणीय बुआ मुआ ...'

बुवा-मुवा लेख्नुपर्नेमा बुआ मुआ लेख्थिन् आमा । ती शब्द औंल्याउँदै हामी छोराछोरी उनलाई खिसी गर्थ्यौं । एक जमानामा जम्मा चार कक्षा पढेर छाडेकी आमाले धन्न लेखिन् भनेर गर्व गर्ने दिमागै थिएन । मनले त आमालाई सबै कुरामा परिपूर्ण नै देख्थ्यो नि । तर, सधैं मनले कहाँ काम गर्दो रैछ र ! गर्व गर्ने विवेकलाई हुटहुटी जगाउन मनले आडभरोसै दिएन क्यार ! हाम्रो खिसी र व्यङ्ग्य चाखेर उनी खिन्न त हुन्थिन् होला । तर, जवाफमा फिस्स हाँसिदिन्थिन् । सन्तान थरिथरिका भए पनि आमाहरु कस्तो अनौठो माटोले बनेका एकैखाले हुने है ! सन्तानको व्यङ्ग्यले हाम्री आमालाई पोल्नुसाटो काउकुती लाए जस्तो हुन्थ्यो सायद ।

ती कुनै पनि चिठी हुलाकघर पुगेनन् । घरमै अपूरा लेखिए, केरिए, कतै फालिए, अगेनामा सुक्खा खोयासँगै सल्किए । आमाले चिठी कहिल्यै पूरा नगरे पनि, नपठाए पनि भावनाको सञ्चार आफ्ना बा-आमासँग खै कसरी गरिरहन् सकिन् । माइतीबाट औधि माया पाउँथिन् । मावली हजुरबा र आमाले आफ्नी छोरीदेखि हामीसम्मलाई लाडप्यारले मत्याउँथे । स्वर्ग भन्ने ठाउँ मामाघर जस्तै काइदाको हुँदो हो भनेर कल्पन्थें । हजुरआमा मिश्रीको ओस गन्हाउने दराज खोलेर कता-कताबाट उपहार पाएर साँचिराखेका बिस्कुट, छोकडा, मिश्री, नरिवल लगायतका मरमसाला हामी सेनामेनालाई लुटाउन पाउँदा हर्षले झुम्थिन् ।

पछि हजुरआमै बितिन् । ९० कटेका हजुरबा सामान्य हिंडडुल गर्न सके पनि होशचेत सम्हाल्न नसक्ने गरी गलेका छन् । पार्टपुर्जाले कहिलेसम्म पो दुरुस्त काम गर्छ र !

समय बदलियो । हावा फेरियो । फेर्ने सास र हेर्ने दृष्टि पनि फेरिए । उही मामाघर अब उही लाग्न छाड्यो । फिका चिया जस्तै अँध्यारो क्यानभासमा परिणत मामाघर । हामी नाति-नातिना र भान्जा-भान्जीको उमेर पनि अब मामाघरबाट उप्किएर कर्मघर र ससुरालीघरको निशानामा बाउँठिने अवस्थामा पुग्यो । बरु अर्को पुस्ता भान्जा-भान्जी तयार भइसक्यो । मामाघरको ठेगाना बदलिएको छ । भूतपूर्व रहरलाग्दो भान्जा अब मामा बनेर नयाँ पुस्ताको तोतेबोली नाप्दै छु ।

यसरी तोतेबोली नापिरहँदा बेलाबेला उहिले आमाले लेखेको चिठीको अक्षर आँखाभरि झल्याकझिलिक् आउँछ । ती अक्षर पक्कै पनि भद्दा र गोलाइ नमिलेका थिए । प्रविधिको सुविधाले  लेख्ने  बानी खोसेपछि छोराको अक्षर पनि आमाकै जस्तो अवस्थामा पुग्ने बेला भइसक्यो । कम्प्युटर स्क्रिनमा थपघट हुने बाटुला अक्षरहरुले औंलासँगै भावनालाई पनि कुरीकुरी गर्छन् । जति लेख्यो, उति नै बाँकी रहे जस्तो अनुभूतिले पिरोल्छ । आमाको लेखाइमा अशुद्धता र अक्षरको कुरुपता नै हुँदो हो, त्यसलाई भावनाको गाढापनले सुनौलो जलपसहित ढाकेको थियो । सम्बोधनमा जे लेखिएको थियो, आदरको कोमल धार सीधासीधी नै थियो । संस्कारको बीज खँदिलो थियो त्यसमा । नाटकदेखि पर पात्रको सही चरित्र व्यक्त भएको थियो ।

अहिले प्रविधिले फोन र इमेल सेवाबाट दुई कुनालाई जुनसुकै बेला र परिस्थितमा काउकुतीमा रमाउन सक्ने सुविधाजनक मञ्च दिएको छ । फोनमा ‘हेलो’ सम्बोधन गर्दा पल्लो डाँडाबाट प्रतिध्वनिमा आफ्नै आवाज फर्केर बज्रे जस्तो ठोक्किन्छ । मजा र रोमाञ्च शून्य ! फरक केही सुनिन्न र देखिन्न, जसमा कसैको निजत्व होस् चिठी जस्तो, अक्षरको सुवास जस्तो ।

फोनको प्रत्यक्ष संवादमा कुराकानी त हुन्छ, तर एउटा कानमा सियो पसेर अर्कोबाट लगत्तै निस्के सरह मात्रै ! जति सिए पनि नटालिने थोत्रो बोराको नियति । समाजमै भएर पनि कतै नछुने र नजोड्ने अमूर्त छाया-मानव जस्तै विडम्बना । नलेखेको र नपठाएको चिठीको भावनाले जादुगरी रुपमा जसरी आत्मीयता ढुवानी गर्थ्यो, त्यो काम अहिले हामीले गर्ने फोन र इमेलले गरिरहेको होला र ?

कुरुप अक्षर लेख्ने तिनै आमालाई दुई-चार दिन, हप्ता-दस दिनमा फोन गर्दा मेरो बोली त नबुझिने र नसुनिने फुसफुसाहट मात्र सावित हुन्छ । मानौं‍ म केही बोलिरहेकै छैन । त्यो बोलीले पल्लो कुनामा केही छोइरहेकै छैन ।

मन लाटो भएपछि मुख र भावना पनि लाटिंदै जाँदा रैछन् क्यार !

1 comment:

  1. जादु छ तपाइँको शब्दमा ।

    ReplyDelete