Subscribe:

Ads 468x60px

21 July 2013

खल्खली @ बल्थली

हावा बिना जीवनको रफ्तार सम्भव छ र ?
बाइकको पछिल्तिरको पाङ्ग्रामा पाँच रुपैयाँको हावा भराएर तीनकुनेबाट हामी बत्तियौं ।

दुइटा बाइकको भर । जम्मा चार भाइ बाँडिएका छौं । पानी पर्ला-पर्ला जस्तो सम्भावनालाई अत्याधुनिक फिरन्ते जोगीहरुको उत्साहले चिर्दै हिंडेको छ ।  यो यात्राको योजना बुन्नुअघि चिसापानीदेखि नागदहसम्मको कुरा चलेको थियो । कुरा चल्नु एउटा कुरा, बल्थलीसँगै जुर्नु रैछ हाम्रो जोडी ।

Way-to-Balthali-@-Bhaktapurबल्थली यात्रामा पहिलोचोटि जाँदै छु । राजधानीको हात जस्तो पसारिएर बसेको काभ्रे जिल्ला नामी छ, गाउँको हरियाली झल्को चखाउन । सहरतिर हरियाली आजकाल होर्डिङबोर्डमा झुन्डिएको हेर्नुपर्छ । कुनै दिन संग्रहालय नै पुग्नुपर्ला । यो त भयो अनिश्चित भविष्यत् कालको कुरा ।

भक्तपुरको जगाति पार गरेर उकालो लाग्ने बित्तिकै धरान काटेर भेंडेटार भेटिए जस्तै हल्का शीतल मौसमले चुम्छ । बाइकहरुको ताँती नै बगेको छ सडकमा । केटो भाग्ला कि भने जस्तो युवतीहरु ट्याप्पै खिपिएर बाइकमा हुइँकिएका छन् । कता हिंडेका होलान् यिनीहरु ? नयाँ ठाउँको घुमघाममा कि एक-आपसको शरीरकै खानतलासी गर्ने उपयुक्त लोकेसन खोजीमा ? बाइकमा हिंडेका जोडीमध्ये केही जोडीका केटीले निकै ‘किफायती’ गरेर लुगा लगाएका छन् । कतिपयको आङमा त लुगाको नाममा एक डोरो धागो र एक थान रुमाल मात्रै छ । सायद केटो हजुरले ‘लोकेसन’मा पुगेपछि छोडाउन धेरै मिहिनेत नै गर्नु नपरोस् भनेर घरबाटै आधी तयारी गरेका निस्केका हुँदा हुन् !

साँगा फेदीमा भर्खरै खुलेको फन पार्कमा मान्छेहरु कमिलाको गोला झैं ओइरिएका देखिए । धेरै जना पौडीमै रमाइरहेका छन् । काभ्रेमा फिरन्तेका लागि धेरै डाँडापाखा र हरियाँ फाँट छन् । झन् असार भोगेपछिको ग्रामीण भेग धानखेतले कति सुसज्जित र हराभरा होलान्, अनुमान गरौं । यही बाटो हुँदै दुई वर्षअघि नेपालथोक पुगिएको थियो, यसै टोलीका दुई भाइसँग । यसपाली क्याफे कविताका चारै भाइ निस्किएका छौं । कविमनहरु सहरमा तड्पिने माछाबाट चोला फेरेर केही घन्टाका लागि भए पनि प‍कृतिको पोखरीमा डुबुल्की मार्न चाहान्छन् । शरीरका दुई सय ६ वटै हड्डीका पेचहरु ढिला पार्न चाहान्छन् ।

बनेपाबाट दक्षिण मोडियौं । ज्यानले यसअघि यस ठाउँमा कहिल्यै नकाटेको भर्जिन हावा काट्दै दगुर्दै छौं । आनन्द र परमानन्दको लेखाजोखा मनले राख्दै होला । हामी श्रीखण्डश्वर भन्ने ठाउँमा एकछिन थामिन्छौं । कुल्फी बरफ चुस्दै एकैछिन भए पनि केटाकेटी भइदिन्छौं ।Kulfi-at-ShreeKhandapur केटाकेटी मान्छे लागेरै होला, एक वृद्ध बडो बेफिक्रीसाथ पैसा माग्न अघि सरे । उनको बोली अस्पस्ट रैछ । तर माग्ने मान्छेको भाषा विश्वव्यापी नै हुन्छ । उनको त अनुहारकै दयनीयताले केही खोजिरहेथ्यो ।  साथीले तीन रुपैयाँको सिक्का दिन खोजे । वृद्धको चित्त बुझेन ।  उनी अरु थोकै इशारा गरिरहेका थिए । सायद रक्सी खाने पैसा चाहियो भनिरहेका थिए । शंकैशंकाले हामीलाई तीन रुपैयाँभन्दा रकम बढाउने रुचि भएन ।

हामी केटाकेटी नै भएर कुल्फीसँगै पग्लिरह्यौं । आज हामीलाई सबैखाले हिसाब, औपचारिकता र अनुशासित सास फेराइको लय तोड्नु छ । बदलामा अराजक लय जोडेर छमछमी नाचिदिनु छ लयविहीन पारामा । भनौं न, लबस्तराहरुको तालमा !

हावाको भुइँचालोमा पनि आँसुआँसु भएर मस्त नाचिरहेको कर्कलाको पातमा खसालिदिनु छ, ठुस्केको जिन्दगीलाई ।

बाइकको पछाडि बस्नुको आनन्द भनेको तपाईं निश्फिक्री दायाँ-बायाँका परिदृश्यमा रमाउन सक्नुहुन्छ । परिदृश्यमा धानखेतको हरियो मजा चाखिरहे पनि तर यहाँनेर अहिलेसम्म कुनै ‘परी’को दर्शन भने मिलिरहेको छैन । त्यसो त परी हाम्रो यात्राको उद्देश्य पनि थिएन, बरु ‘शान्ति’ र ‘खुसी’ पाउन व्याकुल भइरहेछौं । अघि बढ्दै जाँदा रोशी खोलाको काखैमा लमतन्न कुनै जलपरी भेटिएली कि ! आश त्यत्ति छ । त्यही आशले तानिरहेको हो कि हामीलाई ! टुटेफुटेको पिच सडकमा उखरमाउलै बतासिएका छौं ।

दृश्यमा रमाइरहेका आँखामा यदाकदा धुलोले धावा बोलिरहेछन् । यसपाली चश्मा छुट्यो पसलतिरै ।

खोपासी छिचोल्दै बल्थलीका लागि छलाङ लगाउनुपर्छ भन्ने खबर मिलिसकेको छ । बल्ल पनौती आइपुग्यो । पनौती बजारलाई पछि पारेर अलिक एकलासको सडक हुँदै अघि बढ्नुपर्ने रैछ । अझै पनि धानखेतले सडकलाई दायाँ-बायाँ च्यापिरहेकै छन् । मंसिरपछि कयौं दीनदुःखीका पिउसे पेटलाई च्यापेर पुन्य कमाउनेछन् यिनले ।

Roshi-River-Bridgeअन्ततः खोपासीमा बाइकमा ब्रेक लाग्यो ।

झोलुंगे पुल पारि सल्मीटार हुँदै जानुपर्ने रैछ बल्थली । खोपासीमै विद्युत् प्राधिकरणको कार्यालय छेउमै बाइक राखियो । काठमाडौंको तीनकुनेदेखि खोपासीसम्म ३० किलोमिटर गुडिएछ । अबको पालो पदयात्राको ।

रोशी खोला निकै गहिराइमा हल्का सुसाउँदै बगिरहेथ्यो । मानौं, खोंचमा अजिंगर चिप्लिरहे जस्तो । पुलबाट तल हेर्दा रिंगटा छुट्ला जस्तो ! कोक्रोमा नानी हल्लिए झैं हामी पारि तर्न थाल्यौं । दुई जोडी पनि पुल तर्न कसरतमा थियो । जिन्दगीकै पुल तर्ने वाचाका साथ हात समाएका थिए कि यस्सै ठट्टा गरेर टहलिएका हुन् ! दुवै जोडीका केटी असाध्यै डरपोक देखिए । पुल तर्नै डराउने । चपक्क साथीको ज्यान समाएर पनि घस्रिने अवस्थामा छन् । कम्तीमा केटामा भरोसा गरिदिएको भए हुने नि ! सायद भरोसाको लायक नै नहुँदा हुन् ती केटाहरु । तैपनि जीवनको नायक बनाएर युवतीहरु हिरोनी भाँतीमा ठमठमी हिंडेका छन् । हिंडेर के गर्नु, रोशी खोला नै तर्न सकेनन् ! वागमती र विष्णुमतीदेखि समेत तर्सिएर लखेटिएका हुन् कि यी !

पुल छेउमै एउटा सन्काहा बुढा चाउचाउदेखि चुरोटसम्म बेच्दो रैछ । सन्काहा कस्तो भने, साथीहरुसहित पसलको पनि फोटो खिच्न लाग्दा ऊ बेफ्वाँकमा कड्कियो ।

‘फोटो खिच्न लागेका हौ ? म त देखाइदिन्छु नि !’ सन्काइबाट एक कदम अघि सरेर उत्ताउलियो । सायद यहाँ आउने अधिकांशले उन्सको पसलको फोटो खिचेर वाक्क पारेका होलान् । देखाउने कुरा गर्दै थियो ।

नेपाली फिल्ममा छाएको अंगप्रदर्शनको लहर गाउँसम्म छिरेछ भन्ने लाग्यो एक मनमा । हाम्रो देखाउने कुरा आजका दिनमा क्षमता-दक्षताभन्दा निर्लज्जतामा गएर खुम्चिंदै छ, हैन र ?  अपरिचित ठाउँमा अपरिचित मान्छेहरुको बीचमा फोटो खिच्दै हिंड्ने मान्छेले झर्कोफर्को र झम्ट्याइको यस्तो परिस्थिति बारबार सामना गर्नुपर्छ । फोटो खिच्दैमा ‘देखाउन’ तम्सिने ती बुढाले बनाएको चटपटे दिनमा कतिजतिले खाँदा हुन् । दिगमिग लाग्यो ।

Salmitaar-Hotelपुलपारि पुग्ने बित्तिकै भीरमा लड्न लागेको दयनीय जीवले पाखाको लहरो समाए जस्तै स्थानीय होटलमा पस्यौं । ठिकैको ठाउँ ओगटेको । पाहुनालाई खान र बस्नको लागि तीनवटा जति गोलघर बनाइएको छ । हामी एउटामा घुस्रियौं । पल्लो छाप्रोमा एक हुल केटा बियरले कुल्ला गरेर हल्ला गर्दै छन् । यो हल्ला विशुद्ध रुपमा बियरको हल्ला हो, मान्नुस् ।

गाउँको होटलमा धेरै आशा के गर्नुहुन्छ तपाईं ? सबैभन्दा राम्रो मेनु – चाउचाउ साँधेको वा उमालेको । मनमा मुस्कानको छाप पार्ने एउटी औंसत सुन्दरी केटीले सुकुटी र रक्सीमा बियर अनि लोकलको विकल्प पनि सुझाई । झ्वाट्ट हेर्दा राम्रीको भाव नदेखिए पनि उसको सादा हिसिले विशेष छाप पार्दै गयो । लोकल ठाउँमा पुगेर लोकल खानपानमा नरमाउनु खासमा त्यो ठाउँकै अपमान हो । मिलनबिन्दु यही बन्यो । झोल पदार्थको साथमा आए साँधेको चाउचाउ र भटमास । यो झोलमा काँडैकाँडा हुन्छ कि क्या हो ! मान्छेहरु अमृत मानेर थोपा-थोपा समेत निथारेर खान्छन् । मलाई भने सधैं गाह्रो लाग्छ, मदिराको लागि घाँटी स्वायत्त प्रदेश बनिसकेको छैन क्यार अझैसम्म !

जुन ठाउँलाई गन्तव्य बनाएर हिंडेको, त्यहीं जाऊँ कि नजाऊँको कुरा चल्यो साथीहरुबीच । यतै चाउचाउ चपाउँदै बस्ने अनि यतै छाप्रोमा सुत्ने बिलकुल जोगी-फिरन्तेको कुरा पनि छ । Maili-Tamangni-@-Simlitaarयहीबीचमा माइली तमाङ्नी भेटिइन् । अघिकी मुस्कान छापवालीकी हजुरआमै रैछिन् । एउटा सिंगो युगसरहको जिन्दगी बाँचेको देखिने आमैलाई उमेर सोध्दा ६०-७० पुगें भनिन् । सोध्दै जाँदा ९० सालमा जन्मेकी रे, भुइँचालो गएको एक महिनापछि फागुन ८ मा । उनले बुङ्बुङ्ती चुरोट उडाउँदा मलाई उनी पुरानो रेल जस्तै लाग्यो । हो त, कम्तीमा पनि तीन पुस्ताको गोठालो लाग्ने काममा उनी सानोतिनो रेल नै बनिन् । नातिनीलाई रक्सी भराउने उमेरसम्म उकाल्नुमा उनको पनि होस्टेहैंसे छ  । नातिनी आज रक्सीसँगै आफ्नो जिन्दगी भरिरहिछे ।

‘जिन्दगी रमाइलो छ ?’, सोधें ।
’आऽऽ के हुनु बाबू । कान पनि सुन्दिनँ । बुढी भएँ नि अब ।’

उनलाई थाहा छ, कान नसुन्दा पनि जिन्दगीबाट रमाइलो छुट्दैन । यसैले सायद मुस्काइन् । मुजा परेको अनुहारमा कयौं देशको मानचित्र लिएकी आमैले मुस्कानको अर्को धर्सो पनि तिनमा मिसाइन् । यस्तो मिसावटका लागि जिन्दगीको साउजीले कुनै कारबाही खेप्नुपर्दैन ।  जमानादेखि कति-कति हाँस्दै आइन् यी बूढी आमै, पर्याप्त कारण नभई पनि हाँसिन् होला । तैपनि थकाइ लागेको छैन । खासमा जिन्दगीमा हाँस्न, खुसी हुन तपाईंलाई कसैले रोकेको हुन्छ र ? सहर र सुविधfदेखि धेरै पर कन्दरामा खुलेको छ - मुस्कान पसल ।

सहरको हस्याङफस्याङलाई उतै बिसाए गाउँ छिर्दा सुख-दुःखका कुरा पनि हुँदै छन् हामीबीच । साथीहरु पारिवारिक सुखका कुरा गरेर म एक्लो प्राणीलाई जलाइरहेछन् । समूहमा म बाहेक सबै विवाहित जत्था ! उनीहरु छोराछोरी हुर्किंदै गएको सुनाउँदै छन् । जीवनको ठूलो किस्सा लेखिसकिएको उल्लासमा फुलेल छन् साथीहरु । म पनि के कम ! उनीहरुले छोराछोरी हुर्किंदै गरेको सुनाउँदा मैले पनि सुनाएँ – ‘मेरी बुढी पनि कतै माइतीघरमा हुर्किंदै छे यारों !’

Way-to-Balthaliयात्रालाई यस्तै मसालाले मीठो गरी पकाउने त हो ।

सरर बतास चलेको गोलघरमा अडेस लागिरहेको एक-एक थान मन लिएर बल्थलीतिरै लाग्ने भइयो । भरे फर्केर यतै बास बसौंला भन्ने पातलो ढाडस पाए मनहरुले ।

सल्लाघारी र थरिथरि रुखले पालैपालो पंखा हम्किरहेछन् क्यार । नांगो घामले थिचिएको यो दिन पनि गह्रौं लागेको छैन । बाटामा बल्थलीबाट काँक्रा बेच्न खोपासीतिर जाँदै गरेका एक अधबैंसे भेटिए । उनले जंगिंदै नेताहरुलाई एक सेट गाली गरे, रेडियोले समाचार वाकेको गतिमा । संविधान बनाउनुभन्दा अरुतिर अलमलिएर समय खेर फालिरहेकोमा उनी हदै वाक्कदिक्क भएका रैछन् । उनले नेताको उदाहरण दिंदै ‘बाटामा यसरी हिंडिरहेका बेला मैले तपाईंलाई लुट्न मिल्छ त, भन्नुस् त ?’ भनेर मैं लाई पो तर्साउन थाले । नेताले देश लुटिरहेकोमा त्यहाँ नागरिकको आक्रामक मनस्थिति उर्लिएको थियो ।

कच्ची बाटोमा जीवन खोस्रँदै र पाउँदै बल्थलीतिर उक्लियौं । अर्को झोलुंगे पुल तरेर एक मच्चाइको उकालो नाघेपछि थुम्कामा रैछ बल्थली । घरहरु लस्करै भए पनि शान्त ठाउँ । हामीले देख्न चाहेको पर्यावरण, टेक्न चाहेको माटो यहींको थियो । के छ कुन्नि यहाँको बतासमा, मजा चाखिरहेका छौं । सायद यहाँ आइपुगियो भन्ने अनुभूतिको टेकोले नै मजा धानिरहेको छ । कुनै पनि ठाउँ पुग्दाको आधा मिठास भन्नु नै त्यो ठाउँमा छु है भन्ने बोधले दिन्छ जस्तो लाग्छ । हावापानी र परिदृश्यको मजा त्यसपछिको कुरा ।

Balthali

बल्थलीको थुम्काबाट देखिने फेदीको धानखेत र घरहरु सुन्दर चित्रकारी जस्ता देखिए ।

Balthali-View

केहीबेर सुस्ताएर घर फर्कने हतारोले लखेटिंदै हामी सल्मीटारतिर हुत्तिन्छौं । सल्मीटारमा त्यही नराम्री केटीको होटल परिसरमा रहेको गोलघरमा यत्तिकै लडेर रात कटाउने आलोकाँचो योजना पनि बुनिएकै छ । बाटोमा पर्ने त्यही लोकल होटल ताक्दै लम्किंदा बल्ल छिटाछिटी पसिनाका काँडा उम्रिए ज्यानमा । फर्किंदाको उकालो बाटो र द्रुत हिंडाइले खल्खली बन्ने अवस्थामा पुगियो । रुपेशजी यसैगरी हिंड्नुपर्छ समय मिलाएर भन्दै भुँडीस्पर्शमा मदमस्त बनेर हिंडिरहेका । कमलकुमार त्यही नराम्री केटीलाई भेट्न आकुल-व्याकुल बने झैं बल्थलीबाटै हाम फाल्दै छिनमै ओझेल परिहाले । बाटामा धेरै जनालाई उनले ‘हिरो नजर’ लाएछन्, एक्लो हुँदाको शुभलाभ ! जनकजी चाहिं आफ्नै साइजको ब्यागले ठेलिएका छन् ।

देशको चाउचाउ उद्योगलाई मज्जैले थामिराख्ने छाँट देखाइयो । अबको पालो उमालेको चाउचाउको छ ।  कमलजीले अगाडि नै आएर त्यही होटलमा अर्डर गर्न भ्याइसकेछन् । केटीको बाउले तासका अनेक खेल देखाए । कुनै हातको सफाइ । कुनै गणितीय योगफल । साँझ पर्दै जाँदा अलमलिने बहाना बाक्लिंदै जान्छन् । तर, गोलघरमा राति यस्सै लड्ने सपना पाल्ने हामीमा सहरै पुग्ने होश आउँछ । निश्फिक्री भएर जिउने जीवनवादी दर्शनमा व्यावहारिकताको भाइरस घुसेपछि कडा फलामे लिकमा घिस्रिन बाध्य हुन्छ मान्छे ।

हामी फर्किने भयौं ।

फर्किने तर्खरमा लाग्दा साँझ ५ बजेतिर एक मित्रले फोन गरे । विदेशबाट सञ्चालित एक अनलाइन टीभीको वेबसाइटमा न्युज  अपडेट गर्ने जिम्मेवारी दुई जनाले सम्हाल्ने गरी केही दिनयता काम सुरु गरेका थियौं । तर वेबसाइट सञ्चालकको सर्त, कामको चाप र पैसाको तालमेल नमिल्दा काम गर्ने मन नै मरिसकेको थियो मेरो । मित्रले केही दिन सघाउन भनेअनुसार धेरथोर अपडेट गर्दै आएको थिएँ । अब यसरी घुम्न आएको दिन पनि जिम्मेवारी साथैमा बोकेर हिंड्ने कुरा भएन । धनको सिक्का टिप्दै हिंड्नु एउटा कुरा, त्यसलाई खर्च गरेर आनन्द मिल्नु-नमिल्नु अर्कै कुरा ।

जिन्दगीमा खुलेको सास र फुकेको बाटोको पक्षमा रहँदै आएको छु म । मित्रलाई आज घर नपुगेको र न्युज अपडेट गर्न नसक्ने कुरा केही समयपछि टेक्स्ट गरिदिएँ ।

‘वेबसाइटभन्दा पहिले जिन्दगी अपडेट गर् यार !’, मनले यस्तै भन्यो ।

Roshi

17 comments:

  1. सरको ब्लग गज्जब लाग्यो । तर त्यो केटीलाई 'नराम्रो' किन भन्या? तेस्ती राम्रीलाई...

    ReplyDelete
    Replies
    1. है ! चुम्बक नै थिइन् नि उनी, बल्थलीबाटै बेस्कन तान्ने तागत भएकी :)
      खासमा उसको मुस्कान राम्रो हो, नपोखूँ गरे जस्तो गरी छल्काउने !

      Delete
  2. AnonymousJuly 21, 2013

    लेखाइको प्रभावबाट आकर्षित हुँ म । हो त्यो बिशेषण सुहाएन सौन्दर्यको शालीनतालाई ।

    ReplyDelete
    Replies
    1. उसले नोटिस गरेर मगजमा यत्तिको प्रभावशाली स्थान बनाउनु पर्याप्त छैन र ?
      किन्नरी त ऊ थिइन नै । 'नकिन्नरी'को किक पनि जीवनको मोडमा असरदार हुन जान्छ, बाँच्दै जाँदा ।

      Delete
  3. AnonymousJuly 22, 2013

    हो ठम्याईहाल्यौ नि फरक। 'नराम्री' र 'नकिन्नरी' कुनले बढी प्रभाव छाडीराख्छ, केहीबेरसम्म?

    ReplyDelete
    Replies
    1. प्रभाव सबैको हुन्छ । सिउँडीको समेत प्रभाव हुन्छ ।
      यति लामो वृत्तान्तमा नराम्री र नकिन्नरीमै जेलिनुको खास कारण ? :)

      Delete
  4. यात्रा भन्दा रमाइलो गन्थन । हुन त सँगै गरेको यात्रामा सहयात्रीले फरक तरिकाले अनुभव गर्न पाउँछ, समान अनुभव त कहाँ हुन्छ र मान्छेहरुको ! र पनि यात्रालाई लेखोटमा ल्याउँदा त्यसले सपाट यात्रालाई समेत रंगीन देखाउँछ भने हाम्रो यात्रा त... भो नकुरा गरम् ।
    त्यहि त, कुन आँटले 'नराम्री' भनेर ठाडै भन्न सकेका ? राम्रो नराम्रो भन्ने एक जोर आँखाले जाँचेर मात्र हुने हो र ? :D
    मलाई चैं सबैभन्दा चित्त लागेको कुरा के रह्यो यात्रामा भनें माथि पुगेसी बहुमतका आधारमा यु-टर्न लिइयो नि, हो त्यो यु-टर्न खूब चित्त खा कुरा हो क्या !

    ReplyDelete
    Replies
    1. त्यही एक मन भएर त हामी बरालिएका नि ! धन्यवाद हजुर कमेन्टका लागि ।

      Delete
  5. I felt like I was traveling in the group!
    Brings back memories.
    Thanks for sharing.

    ReplyDelete
    Replies
    1. Thank you for your warm words.

      Delete
  6. साहित्यिक विवरण । गजबको निरुउद्देश्य यात्रा, निरुउद्देश्य लेखाई !

    ReplyDelete
    Replies
    1. :)) निरुउद्देश्य लेखाई !

      तपाईंले पढ्नु भो । केही क्षण सहयात्रा गर्नुभो । यत्ति हो यसको उद्देश्य ।

      Delete
  7. निरुउद्देश्यतानै गतिलो संग्रह बन्दो रहेछ ! किन उड्नु ? किन छुनु चन्द्र ?

    ReplyDelete
  8. Ram Prasad PrasainJuly 30, 2013

    It's nice article. It's lovely live and actively aesthetic. The depiction of words and words are touchy, mind-blowing and wonderful for me. The passion and reflection, both are well-knitted here. Thanks.

    ReplyDelete
  9. रुपेश जी ले भन्नु भए जस्तै ...यात्रा भन्दा रमाइलो गन्थन नै रहेछ !
    अब यात्रा चाहि कतिको रमाइलो थियो भनेर थाहा पाउन त् .... आफु नि त्यहि हुनु पर्थ्यो :)
    .... अब गन्थन पढ्न त्यहि गै'रहनु नपर्ने ... ब्लगबाटै पढ्न मिल्ने !

    ReplyDelete