Subscribe:

Ads 468x60px

31 July 2013

गीतको कथा–'सयौं थुँगा फूलका हामी …' (व्याकुल माइला)

यस पटक 'गीतको कथा' स्तम्भमा राष्ट्रगानका रचनाकार व्याकुल माइलाले सो गीत लेख्दा खेप्नुपरेको व्याकुलता र गरेका प्रयासबारेको अनुभव पढौं । गीत लेखेर बुझाउन पहिलोपटक दिइएको म्याद सकिंदा पनि गीत फुराउन नसकेका उनको गीत कसरी छनोटमा परेछ त ?

Byakul-Maila'पछि मात्रै थाहा पाएँ राष्ट्रगानको महत्व'

                                                    - व्याकुल माइला

विविध विषयवस्तुमा लेख्न सकिने भए पनि गीतको निश्चित उद्देश्य हुनुपर्छ भन्ने मान्यताले लेख्दै आएको छु । गीत मानिसको जीवनमा ऊर्जा थपिदिने, सकारात्मक भावना जगाउने, चेतनाको उज्यालो दिने र आनन्दानुभूति गराउने खालको हुनुपर्छ । तर एउटै गीतमा ती सबै विशेषता पाउन सम्भव हुँदैन, एउटा गीत एउटै विषयमा केन्द्रित सरल र कोमल भयो भने प्रभावकारी हुन्छ ।

२०६२-६३ को जनआन्दोलन सफल भएपछि पुनःस्थापित संसद्ले राजभक्तिमा आधारित पुरानो राष्ट्रगान खारेज गरेर नयाँ व्यवस्था गर्ने भयो । त्यसका लागि सरकारले संस्कृतिविद् सत्यमोहन जोशीको संयोजकत्वमा राष्ट्रगान चयन कार्यदल गठन गर्‍यो । कार्यदलले प्रतिस्पर्धाको आधारमा छनोट गर्ने गरी निश्चित मापदण्ड तोक्दै सार्वजनिक सूचना जारी गरेपछि मलाई पनि राष्ट्रगान लेख्ने धुन चल्यो । म पनि लेख्छु भन्ने निश्चय गरे पनि के लेख्ने, कसरी लेख्ने भन्ने अन्योल भएर धेरै गाह्रो भयो ।

बिहान उठ्दादेखि बेलुका सुत्दासम्म राष्ट्रगान लेख्ने भूत चढिरह्यो । कार्यदलले एक महिनाको समय दिएर गीत पठाउन आह्वान गरे पनि मैले निर्धारित मितिमा गीत पठाउन सकिनँ । त्यसबीचमा राष्ट्रगानका लागि चलेका दुई-तीन वटा देशभक्तिका गीतमध्ये कुनै गीत छान्ने वा स्वनामधन्य लेखकलाई लेख्न लगाउने भन्ने कुरा पनि आएको थियो । यही अन्योल र लेख्न नसक्दाको अवस्थामै म्याद सकियो ।

अपेक्षा गरेजति र उपयुक्त गीत नआएर हो वा किन हो, फेरि १५ दिनको म्याद थपिएछ । लेख्न सकिएन भनेर खुम्चिएको मनमा आश पलायो । तर तोकिएको ५० शब्दभित्र बाँधिनुपर्दा के कुरा राख्ने र के छोड्ने भन्नेमा सकस त अझै पनि छँदै थियो । गीत सरल र नवीन शैलीको हुनुपर्छ भन्ने चाहिं लागेको थियो ।

निर्धारित मापदण्डअनुसार राष्ट्रिय एकताको आधार, अहिलेसम्मका जनआन्दोलनको पृष्ठभूमि र विकास निर्माणको प्रक्रियासम्मलाई समेटेर गीत लेख्न थालेँ । धेरै पटक लेखेँ, हेरेँ, परिष्कार गरेँ । साथीभाइ त के, परिवारको सदस्य समेतलाई नदेखाई आफ्नै मन-मगजले पारख गर्दै गीतमा शब्दहरुको जोड-घटाउ गर्दै गएँ । आफू त लेख्न भनेर लागेकै थिएँ, अरु १०-१५ जना साथीलाई पनि राष्ट्रगान लेख्ने अवसरको उपयोग गरौं है भनेर लेख्न झकझक्याएको थिएँ ।

निकै माझेपछि म्याद सकिने दिन मात्र मेरो गीत पूरा भयो ।

त्यसरी अनेक प्रयासपछि बुझाएको गीत राष्ट्रगान बनेपछि व्यापक चर्चा भयो । वरिष्ठ संगीतकार अम्बर गुरुङले संगीत दिएपछि सबैतिर गुञ्जिन थाल्यो । धेरै दिनसम्म बिहानदेखि रातिसम्म मिडियामा अन्तर्वार्ता दिनु मात्र मेरो काम भयो । म धेरै कुरा नबुझ्ने साधारण मान्छे, गीत छानिएर चर्चा हुन थालेपछि पो यो त यति धेरै सार्वजनिक चासो र महत्वको कुरा रहेछ भन्ने थाहा भयो । आफ्नो गीत छनोट भएर राष्ट्रगानको रूपमा लागू हुँदा गर्व लाग्नु त स्वाभाविकै हो । तर मैले राष्ट्रगान बनाएँ है भन्ने मलाई कत्ति पनि लागेको छैन ।

यो सारा नेपालीको साझा उपलब्धि हो । म त निमित्त मात्र हुँ ।

-------------------------------------------------------
सयौं थुँगा फूलका हामी एउटै माला नेपाली
सार्वभौम भई फैलिएका मेची महाकाली

प्रकृतिका कोटि कोटि सम्पदाको आँचल
वीरहरूका रगतले स्वतन्त्र र अटल

ज्ञानभूमि शान्तिभूमि तराई, पहाड, हिमाल,
अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल

बहुजाति भाषा धर्म, संस्कृति छन् विशाल,

अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल !

रचना : व्याकुल माइला
संगीत : अम्बर गुरुङ

-------------------------------------------------------

No comments:

Post a Comment