September 18, 2013

धाँधली


धाँधली गरीगरी
जिताइरहन्छु तिमीलाई 

तिमी नीति-नियम पढाउँछौ 
पाप र धर्म बुझाउँछौ 

अनुशासनको बार भत्काइरहन मन लाग्छ

कतै बजेटमा नभएको 
तिम्रो घर अगाडिबाट नजाने बाटो 
पछिल्तिर आधा भित्ता ताछेर बनाउँछु 
ता कि, तिम्रो मुटु हुँदै म अघि बढेको होऊँ 

नसुहाउने गरी मुर्मुरिन्छौ तिमी 
मुर्मुरिंदा पनि सुहाएको देखाउनुपर्ने को पो हुँ म ! 

तिम्रो लागि गरेका हरेक धाँधलीहरुमा 
तिम्रो कानुनी किताबमा अपराधी बन्छु 

तर पनि एउटै सजाय छैन मलाई 
मुक्त छु 
धाँधलीमाथि धाँधली गरिरहेछु 
बरालिइरहेछु त्यो मनको दैलो बाहिर 

कुनै चुनावमा नउठाए हुन्छ मलाई 
तिमीले नै जित्छौ पक्का 
तिम्रै विरुद्धमा उठाए पनि मलाई 
धाँधली गरीगरी चुन्नेछु तिमीलाई ।

September 9, 2013

गोठाटार मिनी फुटबल टिम !

काठमाडौंमा जारी साफ च्याम्पियनसिपमा नेपाली टिमले एकपछि अर्को जितको झन्डा गाड्दै थियो । रातो जर्सीमा नेपाली खेलाडीहरु मैदानमा चम्किरहँदा मेरो स्मृतिमा भने केही कलिला अनुहार छाइरहेथे । सेमिफाइनल भिडन्तमा नेपालको यात्रामा विराम लाग्दा ती अनुहारले झन् ठूला आकार लिए ।
Ground

त्रिभुवन विमानस्थलभन्दा ठीक पछाडि काठमाडौं जिल्लामै पर्ने एउटा गाविस छ, गोठाटार । घरिघरि आँखामा आएर बस्ने ती रहरलाग्दा अनुहार त्यही ठाउँका किशोरहरुको थियो । चम्किला आँखामा राष्ट्रिय स्तरको फुटबल खेलाडी बन्ने सपना पाल्दै खेल अभ्यासमा जुटिरहेको अवस्थामा एक साँझ भेट भएको थियो । गाउँघरमा मोजामा कपडा कोचेर भकुण्डो हिर्काउने र फुटबल नै किनेर पनि साँझ-बिहान शारीरिक तन्दुरुस्ती र समय कटाउन खेल्ने युवा निकै हुन्छन् । तर गोठाटारका यी चार किशोर अलिक फरक लागे । भेट भएको पहिलोचोटि नै विशेष छाप पार्दै गए ।