September 18, 2013

धाँधली


धाँधली गरीगरी
जिताइरहन्छु तिमीलाई 

तिमी नीति-नियम पढाउँछौ 
पाप र धर्म बुझाउँछौ 

अनुशासनको बार भत्काइरहन मन लाग्छ

कतै बजेटमा नभएको 
तिम्रो घर अगाडिबाट नजाने बाटो 
पछिल्तिर आधा भित्ता ताछेर बनाउँछु 
ता कि, तिम्रो मुटु हुँदै म अघि बढेको होऊँ 

नसुहाउने गरी मुर्मुरिन्छौ तिमी 
मुर्मुरिंदा पनि सुहाएको देखाउनुपर्ने को पो हुँ म ! 

तिम्रो लागि गरेका हरेक धाँधलीहरुमा 
तिम्रो कानुनी किताबमा अपराधी बन्छु 

तर पनि एउटै सजाय छैन मलाई 
मुक्त छु 
धाँधलीमाथि धाँधली गरिरहेछु 
बरालिइरहेछु त्यो मनको दैलो बाहिर 

कुनै चुनावमा नउठाए हुन्छ मलाई 
तिमीले नै जित्छौ पक्का 
तिम्रै विरुद्धमा उठाए पनि मलाई 
धाँधली गरीगरी चुन्नेछु तिमीलाई ।

1 comment:

  1. मायाको कती मिठो परीभासा- शायद यस्तै हुन्छ होला - मायामा एकअर्कालाई जिताइरहनु - जसमा कि दुबैको जित होस कि हार :)

    ReplyDelete