October 12, 2013

दशैं नभए जिन्दगानी …

काठमाडौंबाट दशैंका लागि घर जाने सोच बनाउँदै थिएँ, यस्तैमा झ्वाट्ट लाग्यो – यतिबेला  गाउँका साथीहरु ससुराली जाने सोच बनाइरहेका होलान् ।

विदेशमा पनि छन् कतिपय साथीभाइ । तिनको लागि ‘घर : एक सपना’ भए पनि घर-संसारमै रहेर व्यवहारको रकेट चलाइरहेकाहरुका लागि मन फेर्ने लोकेसन ससुराली बन्छ । बिहेअघि चोकमा बारम्बार भेट हुने साथीहरु साइकलमा बुढियालाई पछिल्तिर बोकेर ससुरालीतिर गुडेको दृश्य धेरै पटक देखेको छु । अहिले साइकलको ठाउँ मोटरसाइकलले लियो होला, फरक त्यत्ति ! उनीहरुसँग बसेर एक झमट अनुहार नियाल्न र स्कुले दिनका बदमासी र पाप-पुन्यका लेखाजोखा गर्न नपाएको युग भएछ ।

समयसँगै मान्छेका सरसंगतिका सीमा फुक्दै जान्छ कि साँगुरिंदै ?

हेर्दा सामान्य लाग्ने कुरा । मलाई भने समय शहरको सपिङ मलको धुरी नाघेर धेरै पर उडिसके झैं लाग्यो । शहरमा अहिलेसम्म म के खोज्दै भौंतारिंदै छु, अन्ततः सपना त रै’छ घरसम्म पुग्ने ! परिवारसँग सुस्ताउने ! ती साथीहरु भने फेरि पनि भेटिने छैनन् । बुढियालाई वाहनमा लिएर ससुराली जाने साथीहरुले लालाबालाको रेखदेखमा आफूलाई खियाइरहेको थप दृश्यको साक्षी बन्नेछु म ।

कहिलेकाहीं सानो जस्तो कुरोले दिमागको गुँडमा अन्डा पार्छ र पूरा दिमाग विशाल अन्डा जस्तो सुन्निएर फुटिदिन्छ छ्यालब्याल । अनि आफ्नै विचारको गन्धमा उकुसमुकुस भइन्छ । सोचका अनेक खुड्किलामा पाइला अनायासै चढ्छन्-झर्छन् ।

दशैंमा बुवाले नयाँ लुगा नकिनिदिएको करिब एक दशक भएछ । अथवा भनूँ, मलाई नयाँ लुगा किनेर दिनुपर्ने जरुरी नरहेको त्यति समय भएछ । त्यसबेलादेखि बुवा-आमालाई बरु मैले लुगा किन्नुपर्ने फरक जिम्मेवारी आएको बुझ्नुपर्छ । बुवाले हरेक वर्ष रुटिनमा बाँधिएर चार सन्तानको ज्यान र मनसम्मै हरियाली ल्यादिनुहुन्थ्यो, नयाँ लुगाले ।

केटाकेटी बेलामा नयाँ लुगाको कडा गन्ध महँगो अत्तरभन्दा कम कहाँ लाग्थ्यो र ! मास्टरको टेलरमा जाँदा नयाँ कपडाका टुक्राहरु खेलाउन पाउँदा पनि अपार आनन्द मिल्ने । मानौं दुर्लभ मोती हुन् ती ! डर र धक मानीमानी मास्टरसँग ‘यो टुक्राटाक्री कपडा लैजाँदा हुन्छ ?’ भनेर सोध्दा ठूलै कुराको प्राप्तिमा अक्कर पहाड फोडे झैं लाग्ने । कपडाको ब्यौला-ब्यौली बनाएर र केटाकेटी मिसिएर आफैं बूढाबूढी बनेर पनि खेलिएकै हो ती दिनहरुमा ।

दशैं बिस्तारै अरुहरुको लागि मनाउन थालिंदो रै’छ । विवाहित जीवनमा रहेकाहरु ‘अहिले त तँलाई केही छैन, जिन्दगी सुरु हुनै बाँकी छ’ भनेर अविवाहित अवस्थालाई ठुँग्छन् र हाउगुजी देखाउँछन् । परिवार र घरगृहस्थीको कुरामा सुविधा पनि छ, संयोजन गर्नुपर्ने दुविधा पनि साथै हुन्छ । म भने दशैंले आफूलाई रमाइलो नदिए पनि बुवा-आमाकै खल्लोपन मेट्न गाउँ पुग्ने गर्छु । दशैं अर्थात् खुसी र उल्लास ! अरुहरुको जस्तै म पुग्दा घरमा बा-आमाको दशैं आउँछ, खुसी भित्रन्छ । यसैले अफिसमा दशैं बिदाको ‘सिस्टम’मा आफूले बिदा नपाउने समय परे पनि जोडबलले घर जाने प्रयासमा हुन्छु सधैं । एक वर्ष जान पाउने र अर्को वर्ष शहीद बनेर काममा घोटिनुपर्ने नियमलाई ‘वर्षदिनभरि दुःख गर्दा पनि दशैं समेत घरपरिवारसँग बसेर मनाउन नपाउने जिन्दगी र जागिर के काम भन्ने’ तर्कले चुनौती दिन्छ । भलै, मिडियाको काममा यस्तो केटौले तर्क व्यावहारिक हुन्न । र, पनि दशैं पुल हो गाउँ र घरपरिवारसँग मेरो । दशैं नभए जिन्दगानी काँडासरि हो मेरो लागि ।

यसपाली पनि म दशैं मनाउन पुग्दै छु त्यही उदयपुर । जहाँ बुढियासहित टीका लगाउन ससुराली जाने हतारमा साथीहरु मसँग बोल्न भ्याउने छैनन् । कति भाइबहिनीहरुले चिन्न सक्ने छैनन् । उनीहरु मेरा कुन चाहिं साथीका भाइबहिनी हुन्, म पनि चिन्न सक्ने छुइनँ ।

दशैंको शुभकामना तपाईंलाई ! विजय मिलोस् यात्रामा ।

October 11, 2013

भीमसेन स्तम्भ #Dharhara

Bhimsen-Stambha-Dharhara

गाउँघरतिर किसानलाई रासायनिक मलको सधैं अभाव भइरहँदा शहरका प्रमुख चोकमा ‘सपिङ मल’ छाती फुकाएर फस्टाइरहेका छन् ।

मल बिनाका चोकहरु बुच्चा लाग्न थालेका छन् उपभोक्ताहरुलाई । किनमेल संस्कृतिमा ‘नुनदेखि सुनसम्म एकै थलोमा पाइने’ मलको नाराले उनीहरुलाई ललिपप देखाएर बानी पारिसकेको छ ।

एकादेशमा नेपालका शहरमा मल नामका यस्ता भवन थिएनन् । शहरमा घर मासिएर सटर र कवलहरुको लम्बेतान व्यापारिक क्षेत्र बनिरहेको छ । अर्कातिर, यहाँका मानिसको उँचाइको मोह र ध्याउन्न अग्ला सपिङ मलहरुले झल्काइरहेका छन् ।

October 2, 2013

केही #TweetKavita

क्याफे कविता नामको समूहले काठमाडौं र बाहिरका जिल्लाहरुमा महिनैपिच्छे कविता कार्यक्रम गर्दै आएको छ, कुनै क्याफेमा कवि र कविताप्रेमीहरु भेला भई कविता सुन्ने-सुनाउने । कार्यक्रमको लाइभ स्ट्रिमिङ हुन्छ र रेकर्ड गरिएका कविताका भिडियोहरु युट्युबमा समेत राखिन्छ । 

समूहले कविताको यस्तो रौनक क्याफेको कुनाका साथै इन्टरनेटका सामाजिक सञ्जालमा पनि जोड्दै आएको छ । यस्तै एक प्रयास हो, ट्वीटर मार्फत कविता कार्यक्रमको आयोजना । #TweetKavita नाममा गरिने यस्तो कार्यक्रममा एक सय ४० अक्षरमा कवि तथा कविताप्रेमीहरुले आफ्ना भावना बाँड्छन् । कार्यक्रम गरिने दिन, समय र अवधि 
ट्वीटरबाटै @CafeKavita मार्फत पहिले नै तोकिन्छ । प्रविधिको प्रयोग गरी कविहरु अक्षर कोरल्दै सिर्जना एक-आपसमा फैलाउँछन् । ट्वीटरको साँघुरो अक्षरसीमामा कविहरु आफ्ना सिर्जनामा 'गागरमा सागर' भर्छन् ।

गत ३० सेप्टेम्बर बेलुकी आयोजित 'ट्वीट कविता'मा मैले लेखेका केही टुक्रा :

October 1, 2013

भिन्न शैलीको खोजी

[नेपाल साप्ताहिकको असोज १३ गतेको अंकमा प्रकाशित समीक्षा]
डेढ दशकदेखि निबन्ध लेखनमा रहेका रोशन शेरचन आफ्नो भिन्न शैलीको निर्माणमा जुटेका गम्भीर
सर्जक हुन् त्यसमा उनलाई खासगरी अध्ययनशीलता त्यसबाट प्राप्त चिन्तनशीलताको जगले थामेको अघिल्ला दुई निबन्धकृति 'मस्तिष्कहरूको मृत्यु' र 'चम्पारन ब्लुज'मा बौद्धिकता, सघन काव्यचेत बिस्तारै समाजतिरको दृष्टि प्रकट गरेका रोशनले निबन्धमा मनोगत विषयको उडानभन्दा समाजको कुरा फुकाउने लेखनलाई जोड दिएका छन् पछिल्लो कृति 'धोबीघाट एक्सप्रेस'मा त्यो सामाजिक उत्खन्न अझ प्रखर देखिन्छ

निबन्ध लेखनको सुरुवाती बेला एकालाप ढाँचा मनमौजी भावका निबन्धहरू लेखेका रोशन तेस्रो संग्रहमा आइपुग्दा माझिनुका साथै सन्तुलित बनेका छन् देश बुझ्न कुना-कन्दराको यात्रामा निस्कने उनी विश्वको अवस्था गति बुझ्न अध्ययनमा पस्छन् साहित्यमा विचार कलाको वजन तौलँदा उनले साहित्य कलात्मक मूल्य गहन भावसहितको सरल हुनुपर्छ भन्ने मान्यता खुट्याएका छन् यसबाट उनले आफ्नो आरम्भिक समयका निबन्धहरूले पाठकीय संवाद नगरेकोमा थकथकी पनि मानेका छन्