October 2, 2013

केही #TweetKavita

क्याफे कविता नामको समूहले काठमाडौं र बाहिरका जिल्लाहरुमा महिनैपिच्छे कविता कार्यक्रम गर्दै आएको छ, कुनै क्याफेमा कवि र कविताप्रेमीहरु भेला भई कविता सुन्ने-सुनाउने । कार्यक्रमको लाइभ स्ट्रिमिङ हुन्छ र रेकर्ड गरिएका कविताका भिडियोहरु युट्युबमा समेत राखिन्छ । 

समूहले कविताको यस्तो रौनक क्याफेको कुनाका साथै इन्टरनेटका सामाजिक सञ्जालमा पनि जोड्दै आएको छ । यस्तै एक प्रयास हो, ट्वीटर मार्फत कविता कार्यक्रमको आयोजना । #TweetKavita नाममा गरिने यस्तो कार्यक्रममा एक सय ४० अक्षरमा कवि तथा कविताप्रेमीहरुले आफ्ना भावना बाँड्छन् । कार्यक्रम गरिने दिन, समय र अवधि 
ट्वीटरबाटै @CafeKavita मार्फत पहिले नै तोकिन्छ । प्रविधिको प्रयोग गरी कविहरु अक्षर कोरल्दै सिर्जना एक-आपसमा फैलाउँछन् । ट्वीटरको साँघुरो अक्षरसीमामा कविहरु आफ्ना सिर्जनामा 'गागरमा सागर' भर्छन् ।

गत ३० सेप्टेम्बर बेलुकी आयोजित 'ट्वीट कविता'मा मैले लेखेका केही टुक्रा :

मृगतृष्णा
आकाशमा फन्का मार्ने यी रंगीन चंगाहरु
खासमा चंगा हैनन्
हुन् मेरा बा-आमाका भक्कानिएका मुटुहरु

सहरमा यही रमिता हेरिरहेछु सालिन्दा ।



चंगाचेट
उहिलेको कुरा हो
जब म तिमीलाई हेर्थें
तिम्रो शरीर कमजोर डोरीमा परिणत हुन्थ्यो
तिम्रो मुहार बन्थ्यो निरुपाय चंगा
खस्थ्यो भुइँतिर ।

समागम
जाडोमा धुम्म बर्को ओढेर
तिमीले मलाई नदेखेकी होइनौ
बरु यति नजिक आयौ
मेरो मुखको बाफले छोप्यो तिम्रो आँखाको चश्मा

देख्न जरुरी केही भएन...

अभ्यास
'खा माम खा !
अलिकता त थप् !
चाटीचुटी पारेर खा न !

यसरी हामी हाम्रा नानीहरुलाई
पऽऽऽछि देश चाटीचुटी पार्न पारंगत बनाउँछौं ...'

नेता र सारथि
उनीहरु अक्सर बोलेर थाक्दैनन्
यदाकदा थाकेर बोल्दैनन्

धन्न दुई बैशाखी छन् - थकाइ र बोलीको
नत्र कसरी पो आउँथे होलान् हाम्रो बस्तीमा !

1 comment:

  1. #TweetKavita is great!
    Thanks for sharing. It would be nice to save all others too!

    ReplyDelete