Subscribe:

Ads 468x60px

31 July 2013

गीतको कथा–'सयौं थुँगा फूलका हामी …' (व्याकुल माइला)

यस पटक 'गीतको कथा' स्तम्भमा राष्ट्रगानका रचनाकार व्याकुल माइलाले सो गीत लेख्दा खेप्नुपरेको व्याकुलता र गरेका प्रयासबारेको अनुभव पढौं । गीत लेखेर बुझाउन पहिलोपटक दिइएको म्याद सकिंदा पनि गीत फुराउन नसकेका उनको गीत कसरी छनोटमा परेछ त ?

Byakul-Maila'पछि मात्रै थाहा पाएँ राष्ट्रगानको महत्व'

                                                    - व्याकुल माइला

विविध विषयवस्तुमा लेख्न सकिने भए पनि गीतको निश्चित उद्देश्य हुनुपर्छ भन्ने मान्यताले लेख्दै आएको छु । गीत मानिसको जीवनमा ऊर्जा थपिदिने, सकारात्मक भावना जगाउने, चेतनाको उज्यालो दिने र आनन्दानुभूति गराउने खालको हुनुपर्छ । तर एउटै गीतमा ती सबै विशेषता पाउन सम्भव हुँदैन, एउटा गीत एउटै विषयमा केन्द्रित सरल र कोमल भयो भने प्रभावकारी हुन्छ ।

27 July 2013

आँपको गाढा स्वाद

गाउँघरतिर बगैंचामा यतिबेला लटरम्म आँप निख्रिसके । बजारतिर भने केही जातका आँपले रस चखाउँदै छन् । आँपकै मौसमको मौका छोपेर स्वादमा प्रतिस्पर्धा गर्ने गरी 'आँपको रुख' कथाकृति निकालेका छन्, दीपक जडितले । लामो समयदेखि साहित्य लेखनमा रहेका जडितले ढिलो गरी निकालेको पहिलो पुस्तकाकार कृति हो । तर, यतिका समयको  साधनाको रङ कथाकारले पुस्तकमा जमेरै उतारेका छन् । झापाको गौरादहदेखि अमेरिकाको विभिन्न राज्यको बसाइका क्रममा फेरिएको हावापानी, बाँचे-देखेको जिन्दगानीको विविध विशेषता जडितका कथाहरूमा उनिएर आएका छन् । 

खासगरी, नेपालको ग्रामीण भेगका सीधासोझा मान्छेको धागो जस्तो कहिले सरल त कहिले गुजुल्टिएको जिन्दगी कथाकारको प्रिय विषय बनेको देखिन्छ । तिनकै दुःखका ठेली, सुखका क्षणिक झिल्का र परिस्थितिले पात्रहरूका बीचमा मच्चाएका हुन्डरीले पाठकलाई कम्पन छुटाउने तागत राख्छ । त्यसमाथि कथानकको सहज प्रवाहले कम्पनलाई असरदार तुल्याउँछ ।

21 July 2013

खल्खली @ बल्थली

हावा बिना जीवनको रफ्तार सम्भव छ र ?
बाइकको पछिल्तिरको पाङ्ग्रामा पाँच रुपैयाँको हावा भराएर तीनकुनेबाट हामी बत्तियौं ।

दुइटा बाइकको भर । जम्मा चार भाइ बाँडिएका छौं । पानी पर्ला-पर्ला जस्तो सम्भावनालाई अत्याधुनिक फिरन्ते जोगीहरुको उत्साहले चिर्दै हिंडेको छ ।  यो यात्राको योजना बुन्नुअघि चिसापानीदेखि नागदहसम्मको कुरा चलेको थियो । कुरा चल्नु एउटा कुरा, बल्थलीसँगै जुर्नु रैछ हाम्रो जोडी ।

Way-to-Balthali-@-Bhaktapurबल्थली यात्रामा पहिलोचोटि जाँदै छु । राजधानीको हात जस्तो पसारिएर बसेको काभ्रे जिल्ला नामी छ, गाउँको हरियाली झल्को चखाउन । सहरतिर हरियाली आजकाल होर्डिङबोर्डमा झुन्डिएको हेर्नुपर्छ । कुनै दिन संग्रहालय नै पुग्नुपर्ला । यो त भयो अनिश्चित भविष्यत् कालको कुरा ।

भक्तपुरको जगाति पार गरेर उकालो लाग्ने बित्तिकै धरान काटेर भेंडेटार भेटिए जस्तै हल्का शीतल मौसमले चुम्छ । बाइकहरुको ताँती नै बगेको छ सडकमा । केटो भाग्ला कि भने जस्तो युवतीहरु ट्याप्पै खिपिएर बाइकमा हुइँकिएका छन् । कता हिंडेका होलान् यिनीहरु ? नयाँ ठाउँको घुमघाममा कि एक-आपसको शरीरकै खानतलासी गर्ने उपयुक्त लोकेसन खोजीमा ? बाइकमा हिंडेका जोडीमध्ये केही जोडीका केटीले निकै ‘किफायती’ गरेर लुगा लगाएका छन् । कतिपयको आङमा त लुगाको नाममा एक डोरो धागो र एक थान रुमाल मात्रै छ । सायद केटो हजुरले ‘लोकेसन’मा पुगेपछि छोडाउन धेरै मिहिनेत नै गर्नु नपरोस् भनेर घरबाटै आधी तयारी गरेका निस्केका हुँदा हुन् !

17 July 2013

हेर्दाहेर्दै


हेर्दाहेर्दै ऊ कस्ती भई !

भर्खरै चिनजानको केटोलाई पोइको व्यवहार गर्छे
रिसाउँदा पनि हाँस्छे
गालाको खोबिल्टोमा जाकिरहने उसको काइदा कानुन

कतै खाडल त कतै टापु छन्
अनुहारमा डन्डीफोरले रबर प्रिन्ट हानेका छन् ठाउँ-ठाउँमा
तेरिमा टोक्ने हौ !
तिनै मसिना टापुमा ठेस लागेर बल्ढ्याङ खान्छु
उसका वचन-दुर्वचनको लिकमा
ठीकठाक हिंडिरहेछ एउटा रेल

हेर्दाहेर्दै कस्ती भई ऊ ...

12 July 2013

तोतेबोली र अक्षरहरु

‘बकुलाले पानी खायो लामो चुच्चाले
यता-उति नगर कान्छी हान्छु जुत्ताले’

सानोमा यस्तै गीत गाउँदो रैछु । तोतेबोलीमा अड्किअड्की गाइने त्यस्ता गीत पनि खुबै हिट हुने ! आफ्नो तोतेबोलीको सम्झना छैन अहिले । बरु मामाघरमा मामाले जिस्काउँदै उच्चारण गरेका गीतका तिनै हरफहरु कानको जालीमा छानिएर सुरक्षित बसेका छन् । भान्जाको दूधे ओठबाट लय र उच्चारण बिग्रेका गीति भाका सुन्न मन लाग्थ्यो होला, सुरुवातका एकाध शब्द फुकाउँदै मामा मलाई उकास्नुहुन्थ्यो – ‘बकुलाले पानी खायो … के रे भान्जा !?’

लामो जुँगा भएकाले ठूलो मामालाई जुँगे मामाका रुपमा चिन्थें म । समयसँगै मेरो तोतेबोलीलाई पलाउँदै र छिप्पिंदै गएका दाँतहरुले घचेटेर झारे । मामाको जुँगा पनि कटानमा परेर ओठका डिल बुच्चा भए । समय मेरा दूधे दाँत र मामाका जुँगाको हिसाब नराखी बेतोडले कुदिरह्यो ।