November 17, 2014

काठमाडौं ऐँठन

मञ्जुश्रीको कसम ! 
मलाई अब सपनामा पनि 
कुनै चोभार बग्न मन पर्दैन

बग्नुदेखि एलर्जी छ मलाई 
राजधानी बोक्न थालेदेखि उँधैउँधो बगिरहेछु 
छुलछुली मुत्न थालेको छु राजधानीको बोझले 
देखिरहेछौ यी वाग्मती र विष्णुमतीको कोपरा ?

मान्छेहरु उल्टै मैंलाई दोष दिन्छन् 
मेरो छातीमा थुक्न धरहरा चढ्छन् 
संसार चुसेर मैले आफ्नो पेट ऊकासेजस्तै गाली गर्छन् 
मोटाएको देखिए पनि 
यो हो मेरो फोक्से मासु 
एक्स-रेमा मुटु गायब भएको करङैकरङको छाती मेरै हो

खै, कहाँनेर सुहाउँछ मलाई राजधानी !

ममाथि एक न एक बात लागिरहन्छ 
गाउँले कान्छीलाई फनफनती घुमाएको बात लाग्छ 
अरब जाने कान्छालाई डुबाएको बात लाग्छ 
सप्पै रहर र सपना चपाउने धमिरा मानौं मैं हुँ

मान्छेहरू असफल हुन्छन् र मलाई प्रतिस्पर्धी देख्छन् 
मान्छेहरूको पखेटा खस्छ र मलाई निर्दयी गिद्द मान्छन् 
मान्छेहरु पौडिन जान्दैनन् र मलाई अप्ठेरो पोखरी भन्छन् 
सय चोक्टामा हजार मुखले भाग खोज्छन् र मुर्मुरिन्छन्

म सरकारको प्रयोगशाला 
जनताको व्यायामशाला 
म हरेक आगन्तुकहरु रमाउने गालीको पाठशाला !

October 15, 2014

नारी : आत्मकथा

Art : Tristen Jenni Sanderson

प्यारी छोरी,
धेरै-धेरै अगाडिको कुरा हो यो
ताल्चा र चाबीको 
आविष्कार हुनुभन्दा पनि अगाडिको कुरा

त्यतिबेलादेखि नै म
चाहना र बहानाको जोर हातबाट
चोरिंदै आएको छु निरन्तर

अहिले ताल्चा र चाबीको घरमा
तिमी सुरक्षित छौ भनेर कसरी भनूँ छोरी ?

अरु कसैले नै लगाएको हो ताल्चा
अरु कसैको मुठीमा छ चाबी ।

September 28, 2014

माया र बिस्तरा

Art : Smita Urunkar


माया बिस्तरामा छ अचेल 
भन्छ - खुब बिरामी छु !

गुजुल्टो परेको छ सिरकमा  
छैन तर नातागत रत्तिभर 
मागिरहन्छ माछाको टाउको 
पानी जस्तै पिउँछ दूध र अनारको रस

च्याप्छ सिरकको आकृति 
बेलाबेला पिङको झट्का लाउँछ 
स्याँस्याँ गर्छ 

भन्छ - मुटुको भिरबाट लडेर आइपुगें यहाँ

माया खुब बिरामी छ !

August 9, 2014

जेलभित्र बीपीसँग

धैं पढिरहने तर कहिल्यै नसकिने किताब पनि हुने रैछ जीवनमा । जुन पढ्दा पढिसिध्याउने उद्देश्य राखिंदैन । बस् पढ्दै गइन्छ, सिलसिलेवार लय तोड्दै । कहिले पहिलो पानाबाट फाल हाल्दै ११औं पृ्ष्ठमा फड्को मार्न मBP-Jail-Journalन लाग्छ, कहिले हातमा लिनासाथै एकैचोटि पुछारको पृष्ठ पल्टाएर त्यहाँबाट बीचतिरको पृष्ठमा फर्किन पनि मन लाग्छ । किताब मन नपरेर यसरी पानाहरु छाड्दै उम्किएको हैन, मन परेर अझ नयाँ कुराको खोजीमा छटपटाएको हो ।

बीपीको ‘जेल जर्नल’ त्यस्तै किताब बनेको छ मेरो लागि । कहिल्यै आद्योपान्त छिचोलिएन । यस्तो किताब उपन्यास पढे जस्तो एक-एक पानाबाट अघि बढ्दै गइन्छ कि गइन्न खै ! पठन नियम पनि थाहा छैन ! किताब हात परेको समय २०६० सालदेखि यसैगरी पाना-पानामा छलाङ मार्दै दगुरिरहेको छु । फेरि, आफू निकै अल्छे र ढिलो पढ्ने पाठक परियो । एउटा किताबले मन खाएपछि अरुतिर हत्तपत्त आँखा नलगाउने । (यो पाठकलाई प्रेमिका छउन्जेल बाटामा हिंड्दा अन्य केटीतिर नजर लगाउने झन्झट पनि मन पर्दैनथ्यो एक समयमा Winking smile । आफ्नो विशेष मान्छे छँदै छ भन्ने एकखाले ढुक्क ढकनी ! )

July 6, 2014

सद्दे Vs लुला गोडा

हातगोडा सद्दे हुनेहरुलाई सायद जीवन यसैगरी सहज र स्वाभाविक  चलिरहन्छ जस्तो लाग्दो हो । मलाई पनि यस्तै लाग्छ । फलामको ज्यान अजर-अमर नै छ भन्ने भ्रम हुन्छ दैनिक दौडधुपमा । एउटा ठिकठाक शरीरलाई यतिले पुगिरहन्छ भन्ने घमण्डले आँखा टालिदिन्छ ।  तर, समय सधैं एकनाश रहन्न । घाम झुल्कने र डुब्ने नित्य कर्मको दुई फेरोभित्र धेरै कुरा बदली भइरहेको हुन्छ । एउटा व्यक्तिको मनको भावदेखि बाहिर प्रकृतिको लालीसम्म ।

कुन मोडमा दुर्घटनाले यो सद्दे जिउलाई बैशाखीको शरणमा फ्याँकिदिन्छ भन्ने कुरा हामी हत्तपत्त सोच्दैनौं । सोच्ने फुर्सदै हुन्न अथवा आवश्यकता नै देख्दैनौं । सद्दे हातगोडा हामी शक्तिशालिको पूजा र गुलामी गर्नमा तथा प्रतिस्पर्धी र कमजोरलाई छिर्के हान्नमा खर्च गरिरहन्छौं । हाम्रा गोडा एउटा सामान्य यात्रा वा कुनै गन्तव्यको खोजीमा हिंड्न कम र छिर्के हानेर लडाउनमा बढी चल्छन् । तर, एकदिन भक्तपुर दरबार स्क्वायरमा घुम्न जाँदा एक व्यक्ति निकै सकसले लौरो खियाएर हिंडिरहेको देखे । योभन्दा दयनीय अवस्थामा घस्रिंदै हिंडेका मान्छे पनि देखिन्छन् सहरमा । यो मान्छेको अनुहारमा भने यात्राको जोड र  संघर्षको तिर्खा टम्म देख्दै थिएँ । लौरोले भुइँ खोतल्दै सपनाको ठूलै आयतन बनाउने सुर देखें त्यो यात्रामा । सद्दे गोडाले गलत चाल चल्नेहरु भएको ठाउँमा यो मान्छेले लुला गोडाले चुनौती पस्किरहेको थियो ।

त्यही अनाम पात्रको केही तस्बिर :

June 22, 2014

‘होटलमा पढाइ’


घु
मफिरमा कतै निस्किँदा ब्याकप्याकमा पुस्तक सिउरेर हिंड्ने ‘रोग’ केही वर्षदेखि अटुट रुपले लागिरहेछ । यात्राको क्रममा रमाइलोले नै सबै डोज प्राप्त भएर धेरैजसो त नपढिएला, तर पुस्तक साथबाट छुट्दैन । पढूँला भनेर एक-दुईवटा च्यापिहाल्नु बानी भयो सायद।

त्यस्तो घुमघामको बेला एकोहोरो रमाइलोलाई क्रमभंग गर्दै कहिलेकाहीँ पढिन्छ पनि । दिउँसोभरि बरालिएर राति सुत्नुअघि होटलको बेडमा ढल्किंदै पुस्तक पल्टाउँदा पन्ना-पन्नाले पङ्खा हम्किए जस्तो आनन्द मिल्छ । थकानलाई इरेजर घोटेर मेटाउँदै गए जस्तो!

आनन्द प्राप्तिमा ठाउँ र वातावरणले पनि ठूलो भूमिका खेल्छ । काठमाडौंको कोलाहल र धुवाँधुलो छल्न अलिक छेउछाउ र डाँडातिरको नगरकोट, चिसापानी, ककनी, फर्पिङ पुग्दा अलग्गै मिठास पाइन्छ । ती ठाउँमा पुगेर बन्द कोठामै बसे पनि ‘म फलानो ठाउँमा छु है’ भन्ने लाग्नु नै काफी हुन्छ ताजगी अनुभूति गर्न । जे छ दुनियाँमा, आफूलाई लाग्नुमै छ । त्यही अनुभूति गराइसँगै कोठामा पल्टिएर पुस्तक पढ्दा पनि बिछट्दै स्वाद भरिन्छ।

तर यहाँनेर म त्यसरी यात्राका क्रममा मनमौजी रुपले कुनै क्याफे वा होटलमा बसेर आख्यान/गैरआख्यानबाट संसार चियाउने चर्चातर्फ केन्द्रित छुइनँ । कुरा हो औपचारिक शिक्षाको । कुरा हो अंग्रेजी माध्यममा पढाइने निजी स्कुलहरुको । जुन आजकाल पढ्ने ठाउँ कम र होटल बढी लाग्ने गर्छ । विद्यार्थीलाई दिवा खाना र खाजा खुवाउने त्यस्ता स्कुलहरुले स्कुल चलाएका हुन् कि होटल भन्नेमा नै अन्योल हुन्छ । दुनियाँ नै व्यावसायिक  रफ्तारमा दगुरिरहेको बेला हामीकहाँ शिक्षा पनि व्यवसाय भइसक्यो । जहाँ ‘क्लालिटी एजुकेशन’ को उच्चारण गरिन्छ, अभिभावकको खल्तीबाट त्यहाँ पैसाको खोलो बग्यो भन्ने सोचे हुन्छ । अचेल पैसा कमाउन चाहनेहरु नगदे बालीको सल्लाह लिन जिल्ला कृषि विकास कार्यालय धाउँदैनन्, स्कुल खोल्ने ग्रुप बनाउन चिया पसलमा जुट्छन्।

बोर्डिङ स्कुलमा (बोर्डर्सको सुविधा नभए पनि अंग्रेजीमा पढाइने स्कुललाई यही नामले चिनिने भइसक्यो ।) पढाउने कुरा आजको समयमा अभिभावकहरुको लागि प्रतिष्ठाको विषय भइसक्यो । ती स्कुलहरुमा पनि अलिक नाम चलेको र महँगो स्कुल अधिकांशको रोजाइमा पर्छ । नाम चलेका स्कुल दामी हुन्छन् भन्ने सोचाइ होला । नाम चल्दा त्यही ख्यातिको मूल्य जोड्दै दामी त हुने नै भो, अर्थात् दाम बढी चढाउनुपर्ने स्कुल ! दाम नहुनेका सन्तान मात्रै केही उपाय नलागेर सरकारी स्कुल पढ्छन् भन्ने एकखाले सामाजिक मान्यता छ, जुन स्कुल झट्ट हेर्दा पनि भौतिक संरचनाका हिसाबले निकै गएगुज्रेका देखिन्छन् । राजेश हमाल र निखिल उप्रेतीका ‘एक्सन’ फिल्म हेर्न निम्न वर्गका दर्शक हलमा ओइरिए जस्तै ती स्कुलमा गरिब-गुरुबाका छोराछोरी सिंगान बगाउँदै र कम्मरबाट हरबखत चिप्लिरहने फ्रक/हाफपेन्ट तान्दै पसिरहेका हुन्छन् । सरकारले विद्यालय जाने उमेरका सबै बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन सामुदायिक विद्यालयमा दिवा खाजा र बेलाबेला विशेष भर्ना अभियान चलाए पनि सरकारी स्कुलका विद्यार्थी आकर्षक ठाँटका देखिने निजी स्कुलहरुतिर ओइरिएका छन् । खुला दिसामुक्त क्षेत्र घोषणापछि अब पूर्ण साक्षर जिल्ला घोषणा गर्ने लहर चलिरहँदा कतिपय सरकारी स्कुलहरु विद्यार्थी नपाएर ‘मर्ज’ हुने अवस्थामा पुगेका छन्।

सुकिलोमुकिलो कसलाई मन पर्दैन र ? झट्ट हेर्दा चिटिक्क देखिने निजी स्कुलमा बालबच्चा पढाउने ध्याउन्नमा अभिभावकहरु आफूले तिर्नुपर्ने र तिर्दै आएको ढाड सेक्ने शुल्क चटक्कै भुल्छन् । राम्रो ठाउँमा पढाउँदा आफ्नो बच्चाको रहनसहन र व्यक्तित्वमा राम्रो प्रभाव पर्छ  भन्ने अपेक्षा गर्नु अपराध होइन । अंग्रेजी भाषाको विश्वव्यापी दबदबा रहिरहँदा आफ्ना बच्चाले खरर अंग्रेजी बोलोस् भनेर अभिभावकले चिताउनु पनि पाप होइन । नेपाली माध्यमबाट सरकारी स्कुलमा पढेर आएका अभिभावकहरु झन् सन्तानले त्यसरी अंग्रेजी शब्द फुटाउँदा सन्तानमार्फत आफ्नो अपूर्णता / अक्षमता मेटिएको महसुस गरेर रमाउँदा हुन् । तर, हाम्रा टोलटोलमा खुलेका अंग्रेजी माध्यमका स्कुलहरुले त्यो मर्म र संवेदनाअनुसार अति व्यावसायिकतालाई छाडेर शिक्षा दिएका छन् त ? ‘विद्या धनम् सर्वप्रधानम्’ भनाइको अपव्याख्या गर्दै ती स्कुलहरुले कतै विद्या दिने कर्मलाई धन कमाउने माध्यम मात्र त बनाइरहेका छैनन् ? मन्टेश्वरीहरु खालि ‘मनीश्वेरी’ हरु त बनिरहेका छैनन्?

मेरा दुई दिदीका गरी एक भाञ्जी र तीन जना भाञ्जा छन् । काठमाडौंको नाम चलेको निजी स्कुलहरुमा पढ्छन् । नर्सरीदेखि कक्षा ६ सम्म । शुल्क मासिक ६ हजारदेखि ८ हजार रुपैयाँसम्म । त्यस अन्तर्गत दुई हजारदेखि २५ सयसम्म खाना-खाजाको शुल्क ।  सरदर मासिक आठ हजार रुपैयाँ । युलेन्स स्कूल मार्काका अझ दामी स्कुलको जति शुल्क होइन यो । तर, मेरो हेराइमा बच्चाको उमेर र कक्षाको दाँजोमा महँगो शुल्क हो।

अहिले मेरा छोराछोरी छन्‌ भनेर मान्ने हो भने मैले  थाप्दै आएको मासिक तलबले उनीहरुलाई निजी स्कुलमा पढाउने कुरा सोच्न पनि सक्दिनँ । यसका लागि मैले कमाइको वैकल्पिक बाटो अपनाउनुपर्छ, अथवा खाँदै आएको जागिरमा बढुवा र तलबवृद्धिको लागि चाकडी-गुलामीमा हातका रौं खुइल्याउनुपर्छ । लालनपालन र पठनपाठन गराउने हैसियत बनाउने नाममा मैले बच्चा जन्माउने समय नै सार्दै जानुपर्ने पनि हुन सक्छ ! लाग्न सक्ला - यो निकै विसंगत सोच हो, तर सत्य यही हो । मेरो अवस्था/दुरावस्था ! सबैको मेरो जस्तै गति/दुर्गति नहोला पनि । सबैले आफ्ना सन्तान पढाइरहेकै त छन् । तर, कसरी ? यो प्रश्नले ती बाबुआमाको कलेजीलाई कति चिरा पार्दो हो, तिनैलाई थाहा होला । मेरो समय आएपछि म पनि ‘घाँटी हेरी हाड निल्नु’ उखानको मसिनो डोरीमा सर्कसको मान्छे हिंडे जस्तै  जेनेतेन पढाउँला छोराछोरीलाई । पर्छ नै । मेरो धर्म त्यसबेला कुनै मठमा गएर ढुंगाको पाउमा माथा टेकाउनुभन्दा जेनतेन गुजारा चलाउनु नै हुनेछ।

मेरी सानी दिदीले छोराछोरीको बिदाको दिन घरमै अलिक फरक स्वादको खाजा बनाएर खुवाउँछे । प्याकेटको र बजारको खानेकुरा सोझै किनेर खुवाउनुभन्दा बजारको जस्तै स्वाद खाऊन् भनेर पानीपुरी, आलुचप, चाउमिन, म:म: जस्ता कुनै परिकार  बनाएर दिन्छे । त्यस्तो बेला भाञ्जी भन्छिन् – ‘स्कुलमा त खाजा मीठै हुन्न ! चाउमिन उसिनेको जस्तो मात्रै हुन्छ।’

मीठो होस् पनि कसरी ? जन्तीको लर्को जस्तै दुई-अढाई सय विद्यार्थीलाई एकैचोटि पकाएको खाजा न राम्री भुटिन्छ, न त पाक्छ नै । भाञ्जा-भाञ्जी बिदाको दिन स्वाद मानेर ‘घरेलु खाजा’ खान्छन् । स्कुल चलेको दिन स्कुलमै खाना-खाजा।

खाना-खाजाको ‘होटल’ चलाएका स्कुलहरुले केटाकेटीलाई घरबाटै खाना खुवाएर पठाउने भन्यो भने मान्दैनन् । टिफिनको समयमा घरबाटै खाजा ल्याइदिने वा विद्यार्थीको साथमै पठाइदिने भन्यो भने सहँदैनन् । भर्ना गर्ने बेलाकै अकाट्य नियम हुन्छ -  खाना-खाजा शुल्कसहित मासिक शुल्क यति ! दुनियाँका छोराछोरीले त्यसैगरी स्कुलमै खाइरहँदा तपाईंलाई मात्रै आफैंले खाना-खाजा खुवाउने सुविधा ल मानौं स्कुलले दिएछ रे, तर त्यतिबेला तपाईं आफूलाई ती ‘दुनियाँ’सामु खाना-खाजाको पैसा बचाउन आफैंले खुवाएको भनेर चिनिन र लोभी देखिन चाहनु नै हुन्न । कतिपय परिस्थिति त्यस्तै हुन्छ, तपाईं प्रतिष्ठा र इज्जतका लागि डुब्दो नाउमा प्वाल पर्दै जानुहुन्छ

जे होस्, तपाईंले सन्तोष मान्नुपरेको छ – ‘होटल’मै भए पनि मेरा छोरा-छोरी पढ्न त पढिरहेकै छन् नि !

June 8, 2014

सरुभक्तको चुली र ‘धुम थ्री’

र्मीले पसिनासँगै जिउको स्फूर्ति ताछ्दै छ, झरी धक फुकाएर तप्किन सकेको छैन । झरी परे पनि जहाँतहीँ पक्की भुइँ र घर भएकाले सहरमा पानी सोसिने माटो कम्ती छ । काठमाडौंमा बस्न थालेको एक दशक भयो । विगतमा गर्मीयाममा सहरमा पैदल हिंड्दा जिउ बाफिए पनि ज्यानबाट पसिना तर्केको याद छैन ।  पछिल्ला वर्षहरुमा स्थिति फरक हुँदै छ । तराईका जिल्लाहरुमा त झन् के कुरा गर्नु ! तापक्रम ४४-४५ डिग्री सेल्सियसको हाराहारीमा पुग्न थालेको छ । त्यताका मान्छे राति सुत्नुअघि नुहाएर मात्रै  सञ्चो मान्दैनन्, पानीमा गम्छा भिजाएर त्यही ओढेर सुत्ने अवस्थामा पुग्छन् ।

CHULI-by-Sarubhaktaतापक्रम वृद्धिले बिस्तारै संसारलाई नै उकुसमुकुस थर्मस बनाउँदै छ । यस्तोमा हिमालले हिउँ जोगाउन सक्दैन । हिमचुलीहरु पग्लिएर कालापत्थरमा परिणत भइरहँदा मैले यस पटक हिमाल आरोहणसम्बन्धी कृति पढेँ । सरुभक्तको लघु उपन्यास ‘चुली’ । २०६० सालमै प्रकाशनमा आइसकेको किताब पहिले नै पढ्ने सोच भए पनि खै के कुराले अलमल्यायो । सायद किताबहरुको थाकमा अरु किताबले नै रोजाइमा  उछिने । अथवा सानो काँटीको किताबलाई कम आँकेँ ।

June 4, 2014

Nepal Smiles :-)

हाँसो र खित्का ओठबाट ताछिएर इन्टरनेटको च्याट एप्लिकेसनभित्र ‘स्माइली’ मा खुम्चिएको समय हो यो । आजका मान्छेहरु सायद हाँसोको कुरा बढी गर्छन् र हाँस्छन् चाहिं कम । यस्तो बेलामा म आफूले खिचेका फोटोहरुको अर्काइभ खोतलेर मुस्कान सिरिज तयार पार्दै छु ।

खासगरी पोट्रेट फोटोग्राफीमा रमाउँदै आएको छु । मान्छेका मुहारमा तैरिएको र सिंगो शरीरले बोलिरहेको भाषाको भाव उतार्न निकै मजा लाग्छ । खुसी, पीडा, बेचैनी, विस्मात्, उत्साह लगायतका भाव पोखिरहेका अनुहारले ती मान्छेको जिन्दगीको पछिल्लो कथा भनिरहेको हुन्छ ।

नेपालीहरु सीमित स्रोत-साधन र अभावमा पनि ‘सन्तोकी’ भनेर चिनिन्छन् । दुःखलाई छातीमा सिएर मुस्काइरहेका हुन्छन् । दैनिक १७ सयभन्दा बढी नेपाली युवा विदेशिनुलाई त्यही हाँसोको खोजी मान्नुपर्छ । हामी नेपाली मेकअप बिग्रेला र मुखका कुनामा मुजा बस्ला वा दुख्ला भनेर नहाँसी बस्नेमध्येमा पर्दैनौं । सानै कुराले ओठ खुल्छन्,  आँखा तान्किन्छन् । अस्थिर राजनीतिले मक्किएको देशमा सबै क्षेत्रमा बेथिति-अव्यवस्था भए पनि  हिलोमा फुलेको कमल जस्तै हामी सबथोक सहेर, पचाएर, चित्त बुझाएर बाँचिरहेका छौं । हाँसिरहेका छौं ।
मुस्कान र हाँसो सिरिजका यी तस्बिरलाई यही कुराको सूचक मानौं । विभिन्न समयमा आफ्नो गाउँघरका साथै फरक गाउँठाउँ पुगेका बेला खिचिएका यी तस्बिरहरुमा मुस्कानदेखि खित्कासम्मको आयतन नापिएको छ ।

Nepal-Smiles-1

May 26, 2014

बिहे


न्म र मृत्युको दुई स्टेशन बीचमा एउटा रेल खुब दगुर्छ । त्यसलाई जिन्दगीको नाम दिएका छौं हामीले । रेलको एउटा डिब्बाको नाम राखिएको छ, बिहे । जहाँ समाज अघि बढाउने भन्दै खासमा आफ्नै गतिशीलता र सहजताको लागि मानिसहरु सफर गर्छन्।

सुप्रसिद्ध लेवनानी लेखक खलिल जिब्रानले आफ्नो प्रख्यात कृति द प्रोफेटमा प्रेम, श्रम, घर, कानुन, पीडा जस्ता विभिन्न विषयमा दार्शनिक कसीमा सटीक लेखेका छन् । जसमा अर्फालिज नगरमा १२ वर्ष बसेपछि त्यहाँबाट बिदा हुने क्रममा गुरु अलमुस्तफाले नगरवासीलाई सम्बोधन गर्दै ‘विवाह’बारे बताउँछ-

‘मृत्युको छायाले जीवनका घडीहरु बिथोल्दा पनि तिमीहरु साथसाथ रहनेछौ ।’

सोही खण्डमा अलमुस्तफाको मुखबाट विवाहको अरु रहस्य बोल्न लगाएका छन् जिब्रानले -

‘एक अर्काको प्याला भर, तर एउटै प्यालाबाट नपिऊ । बाँडेर खाऊ तर एउटै रोटीको टुक्रामा लुछाचुँडी नगर ।

सँगै गाऊ, सँगै नाच र सँगै उमंग मनाऊ तर एक अर्काको एकान्तबास नबिथोल ।
वीणाका तारहरु समेत अलग-अलग हुन्छन् यद्यपि ती एउटै रागमा तरंगित हुन्छन्।’

जीवन र मृत्युका रहस्यबारे जिब्रानको दृष्टि निकै घतलाग्दो छ ।  जीवनलाई सुन्दर बनाउने सूक्ति छन् प्रत्येक हरफ । बेलाबेला त्यो किताब पल्टाउँछु र अद्भूत ऊर्जाले भरिने गरेको छु । सूत्रात्मक र विम्बात्मक बयानले पाठकलाई तरंगित पार्छ  द प्रोफेटले।

पछिल्लो समयमा बिहेको प्रसंगले आफ्नो उमेरलाई ठुँगिरहँदा यतिखेर म किताबको त्यही ‘विवाह’ खण्डमा अडिएको छु । जसले छोटोमा धेरै थोक भनेको पाउँछु । कुनै पनि किताबले मान्छेको जीवन त बाँचिदिंदैन, तर जिउने क्रममा विविध संकेत, दृष्टि, ऊर्जा, सपना, विचारको प्रसार गरेर बाँच्न सहज भने अवश्य बनाउँछ । किताबहरुको एकपछि अर्को तला चढ्दै मैले जीवनको रहरलाग्दो आकाशतिर आफू उचालिंदै गएको अनुभूति गरेको छु धेरै पटक।

ऽऽऽ

गृहस्थीलाई झमेलाको यात्रा मान्ने जोगी मनहरु पनि छन् एकथरि । हुन पनि एक्लो मुसाफिर भई आफ्नो मर्जीको मालिक आफैं बनेर मनमौजी जीवनमा रमिरहन कसलाई मन नपर्ला र ? तर मनमौजी बाँच्ने नाममा विशृंखल यात्रा कतिन्जेल ? हामी मान्छे त निश्चित परिधिभित्रै स्वतन्त्रता आविष्कार गर्नुपर्ने सभ्य जीव मानिन्छौं । बिहे त्यही आविष्कारको ढोका खोल्ने कुञ्जी हो ।  बिहेसँग जीवन सुगठित पार्दै जाने काइदा कानुनका साथै उमेरगत कुरा पनि जोडिन्छन् । उमेरको कथाले जैविक आवश्यकता पूरा गर्न माग्छ । यसैले धेरै जनाले समाजलाई सन्तुलित र व्यवस्थित गर्न यौन समागमको लाइसेन्स दिने विधि मानेका छन् बिहेलाई । जुन विधिले वंश विस्तारको बाटो पनि अघि बढाउँछ । वंश विस्तारको मोह पनि अचम्मको लाग्छ । वंश मोह भनेको पृथ्वीमा आफू अजर-अमर रहिरहन सम्भव नभएकाले आफ्नो बीज र रगतबाट आफ्नो अस्तित्वबोध गर्ने काइदा नै होला!

जति नै ईश्वरीय खुसीको बाटोमा हिंडे पनि जिन्दगीको एउटा विन्दुमा मान्छेले आफूलाई अपूरो र एक्लो अनूभूति गर्छ र कुनै दिगो आडभरोसा खोज्छ । त्यो भरोसाको नाम नै बिहे हो सायद । दुई व्यक्तिको जीवन सहज बनाउन आपसमा प्रेमको वातावरण बनाइदिने सामाजिक कार्यक्रम जस्तो लाग्छ यो । कुनै प्रेमसम्बन्ध बिहेसम्म पुग्छ-पुग्दैन ठेगान हुन्न, बिहेले भने त्यसअघि दुईबीचमा कतै नभएको प्रेमको उत्पत्ति जरुर गराउँछ । प्रकृतिको सौगात होला प्रेम।

तर, जुनसुकै कुरामा पनि अपवाद हुन्छ । प्रेम छ भन्ने कुरामा प्रेम नहुन सक्छ । यसैले त प्रेम जस्तो ईश्वरीय कुरामा पनि ‘साँचो प्रेम’, ‘मुटुभित्रको माया’ भनेर फुर्को जोड्नुपर्ने अवस्था आएको छ । प्रेमको भाषा, अर्थ र बुझाइ परिवर्तन हुँदै गएको छ भन्छ पाको पुस्ताले।

आजका पुस्ता निकै प्रेमिल छ, तर क्यालकुलेटरले हिसाबकिताब गर्दै प्रेम गर्छ । प्रेम र बिहे छुट्टै कुरा हो भन्छ । प्रेमलाई बिहेको रुप दिए प्रेम नै मर्छ भनेर खुट्टा कमाउँछ र बिहेअघि धेरै प्रेमको ‘अनुभवी’ भएर रमाउन रुचाउँछ । जीवनलाई उत्सव बनाउने हतारमा मेरो पुस्ता र अझ म पछिको पुस्ताले प्रेमसहितका धेरै कुरालाई ‘भेराइटी डिस’को रुपमा चाख्नेछ । आफूलाई खुसी मिल्छ भने जस्तोसुकै सम्बन्धलाई पनि ‘अनुशासित’ र ‘व्यवस्थित’ को लेबल लगाउनेछ।

ऽऽऽ

मेरा काकालाई हजुरबाले ‘अब बिहे गर्ने हो त ?’ भनेर सोध्दा काकाले भन्नुभएछ –‘अब सिङ पलाउँदैन, जुरो पलाउँदैन । गर्नी हो बा।’ 

उनै काकाको बिहेमा जन्त जानका लागि सानोमा खुब जोड गरेको याद आउँछ । तर, टाढाको बाटोमा भुराभुरीले कहाँ मौका पाउनु बसमा समेटिन ! ‘अंकलले भरे अन्टी ल्याइहाल्छ नि’ भन्ने ललीपपमा भुलिनुपरेको पनि सम्झिन्छु । अहिले घुम्दाफिर्दा आफ्नै पालो आएको छ ।  यो बेला धेरै कुराले एकैचोटि घेर्दो रैछ । बढी गम्भीर र सजग बनाउँदो रैछ । बिहे अहिले किन गर्ने र किन नगर्ने विचारको चाकाचुलीसँगै  बिहेका सामाजिक मान्यता र मापदण्डले  बढी नै सोचमग्न बनाउँछ । मुख्य कुरा आफू मानसिक रुपमा तयार हुनुपर्ने रैछ । सवाल आफ्नै जिन्दगीको र कुनै नयाँ पात्रसँग सहयात्रा गर्ने भएकाले चानचुने हैन पनि।

अप्ठेरोपन धेरै आयतनमा फैलिएको छ । मध्यमवर्गीय पीडा राख्दै  छु । खासमा बिहे गर्ने समयतिर लम्किरहँदा एउटा युवक/युवती धेरै तनावबाट गुज्रिनुपर्छ । साथी कस्तो पर्छ/पर्छे ? सोचेजस्तो होला ? खुसी दिन र हुन सकूँला ? घरपरिवार ठीकठाक सम्हालिएला ? आफूमा ऊ मात्रै हावी भयो(ई) भने मन मारेरै बाँच्ने ? कि त अलिकता मतभेद हुनासाथै सम्झौता नगरी पारपाचुकेको फेशनमा क्याटवाक गर्ने ? अहिलेको जागिर/कमाइले पेट उकास्न पुग्ला कि पानीले घाँटी मात्रै भिजाउने हो ? आफैं कमाउने  जीवनसाथी परी भने त ठीक छ, हैन भने ? … आदि।

सबै समस्या र दिशाहीन स्थितिका बीच पनि एउटा झिल्को सायद सबैको मगजमा आउँछ – ‘जस्तो पर्दै आउँछ, चल्दै जान्छ ।’ एकबारको जुनी मीठो गरी बाँच्ने क्रममा बिहे एक प्रयास त हो!

साथी बनेर जो आउँछ, म उसलाई खुब प्रेम गरुँ । बा-आमाको आँखामा नबिझाउने जोर घडा बनेर रहिरहौं।

May 19, 2014

नेपथ्य

ठ्याक्कै दुई महिना भएछ ब्लगमा अक्षर नकोरलेको ।

फुटेको एउटै अक्षर पनि नलेख्दा मन उप्किए जस्तो, छाती रित्तिए जस्तो लागिरह्यो । यदाकदा ब्लग लेख्न बस्थेँ र विचारशून्य भएर टोलाउँथेँ । यद्यपि स्पष्ट भइरहन्थेँ आफूमा, लेख्नुपर्ने कुरा कति छन् बाबै ! यही धेरै कुरा भएर हो वा मुड नआएर हो, यसबीचमा लेख्न सकिनँ ।

लेख्ने समय र मनस्थितिलाई अलिकता गाँज्यो होला न्यु मिडिया भनिने फेसबुक र ट्विटरले पनि । केही साथी भन्थे – ब्लगमा लेख्ने कुरा स्टाटस र ट्विट लेखेर भुसुक्कै सकिस् !

आफूलाई लाग्थ्यो – दिमाग भनेको भाव र विचारको कारखाना न हो । एकथरि कुरा स्टाटस र ट्विट बनाए पनि अर्कोथरिलाई ब्लगमा राखूँला भन्ने लाग्यो । तर, किन हो लेख्ने मुड सुनसान रह्यो ।

यो दुई महिनाको एकान्तवास र नेपथ्यको यात्रा निकै लामो लाग्यो । पीडादायक पनि । कता-कता बोलिरहे पनि ब्लगमा नबोल्दा आफूमा चिन्तन र आवाज नै छ कि छैन जस्तो प्रश्नले घोच्ने गर्छ । जुनसुकै विषयमा विचार पोखे पनि आफूसँगको कुराकानीका रुपमा लिएको छु सधैं ब्लगलाई । आफूलाई भेट्छु यहाँ । अस्तित्वबोध हुन्छ शब्दकोशको यो पानामा ।

यसबीचमा नयाँ-पुराना केही पुस्तक पढेँ । केहीको समीक्षा लेखेँ अखबार/पत्रिकामा । केही राम्रा फिल्म हेरेँ । कबड्डी, हाइवे, क्विन, टु स्टेट्सले मनमा छाप पारे । यो अवधिमा राम्रा मान्छेसँग नारिएर पनि हिंडेँ । प्रेम जस्तो केही झिल्कोले औंल्यायो छातीभित्र र मैले आफूभित्र फेरि मुटु फेला पारेँ । बाँच्ने दौडका क्रममा बाँचिरहेको छु भन्ने कुरा नै चटक्क बिर्सेर बेहोशीको यात्रा अँगाल्ने हुस्सुराम हुनबाट अलिकता जोगिएँ त्यो साथले । क्यामेरा भिरेर जानी-नजानी फोटो खिचेँ फरक ठाउँ, अनुहार र समुदायको । क्यामेराको लेन्समा आफ्नो मुहार कहिल्यै नपारे पनि आफूले ताकेका दृश्य आफू देखिए जस्तै छ्याङ्ग लागिरह्यो ।

यी विभिन्न व्यस्ततामा पनि मैले पाएँ आफूलाई । सायद ब्लग लेख्दाको जस्तै मन चंगा पार्ने प्रयास हुन्थ्यो ।  खुसी र आनन्दमा त मान्छेलाई आफू बाँचेको अनुभूति हुने हो नि !

तर, लेख्दा जुन रुपमा हामी मन-मगज नै टाठो बनाएर, चेतनालाई सोहोरेर विचारको एउटा पुञ्ज बनाउँछौं र मन शान्त हुने गरी पोख्छौं नि आफूलाई, ती विभिन्न कर्ममा उत्तिको शान्ति मिलेनछ क्यार । केही छुटे जस्तो लागिरह्यो ।

अब नेपथ्यको यो मौन व्रत तोडेँ । नियमित लेख्छु अब ।

February 4, 2014

रुसी कवि वेरा पावलोवाका कविता


वे
रा
पावलोवा (जन्मः सन् १९६३, मस्को) समकालीन रुसी कवितामा उल्लेख्य नाम हो १९८३ मा पहिलो बच्चाको जन्म हुन लाग्दा प्रसव पीडाको अवस्थामा उनले कविता लेख्‍न सुरु गरिन् । अहिलेसम्ममा डेढ दर्जन कविताकृति प्रकाशनमा ल्याइसकेकी छन्

पछि कविता लेखनबाट ख्याति कमाए पनि खासमा उनी थिइन् संगीतकी विद्यार्थी । चर्चमा क्वायर पनि गाउने गर्थिन् । घरसंसारको सीमित दायरामा रहिरहँदा त्यही सेरोफेरोका विषयलाई कवितामा बुन्न थालेकी वेरा समयक्रममा विभिन्न प्रतिष्ठित पत्रिकामा छापिन छाउन थालिन् उनका कविताहरू विभिन्न १९ वटा भाषामा अनुवाद भएका छन्

वेराका कविताको अंग्रेजी अनुवाद उनकै पति स्टेवेन सेमोरले गरेका छन् सेमोरले अनुवाद गरेका कविताहरूको संग्रह 'इफ देयर इज समथिङ टु डिजायर: वान हन्ड्रेड पोएम्स' बाट वेरा रुसकी प्रभावशाली कविका रूपमा विश्वसाहित्यमा परिचित भइन् हिन्दी पत्रिका 'अहा जिन्दगी'ले सन् २०१३ मा निकालेको साहित्य महाविशेषांकमा छापेका उनका कविताहरूमध्येबाट तीन कविता छानेर अनुवादको प्रयास गरेको छु: 

निद्रा
यसरी सुतिरहेकी छे एक युवती
जस्तो कि कसैको सपनामा
पस्दै छे सुस्तरी

एक महिला
यसरी सुतिरहेकी छे
मानौं भोलिकै दिनदेखि
सुरु हुन लागिरहेछ कुनै युद्ध

एक वृद्धा
यसरी सुतिरहिछे
मानौं मरेको बहाना गरिरहेकी छे
आशा उसलाई
मृत्युले त्यसै छाडिदिनेछ
जानेछ निद्राको अन्तिम सिमानातिर

मातृत्व 
हिंडिरहेकी छु
तन्किएको डोरीमाथि
दुवै हातमा बच्चा थाम्दै
ता कि कायम रहोस् सन्तुलन

उडान

कतैबाट खसेको छु
झरिरहेछु यति उँचाइबाट
पर्याप्त समय
यही बीचमा
सिकिसक्नेछु
उड्न