Subscribe:

Ads 468x60px

11 January 2014

विरसबाबु शाही

जिन्दगी धेरै अर्थमा अठोट बिनाकै काम सम्पन्न हुने एउटा अध्याय रहेछ । जस्तो Birashbabuकि 'विरसबाबु' नामलाई लेखिनुपर्ने त्यस्तो खास रूपमा कहिल्यै तौलिएको होइन । आज कसरी उसको वजन ममा गह्रौं भएर छायो र तौल-ट्याग स्वरूप केही हरफ उसको उदास अनुहारले मबाट खोसेरै लग्ने भएछ ।

विरसबाबुको जन्मकथा म जान्दिनँ । खोइ उसकी आमा - उसलाई 'आमा' भन्ने सम्बोधनमा ज्रि्रो उठाउने जरुरत छैन । आमा-छोरा एकबेला सँगै थिए । छोरा संसारको बजारमा हरायो, आमा संसारबाटै हराइन् । विरसकी आमा भगवान् भइदिइन् ।

पारिवारिक हिसाबकिताब निकाल्छ ऊ । एक-दुई थान दाजु छन् । बाउसँग पुत्रप्रेम केही मात्रामा छ । तर ... - तर, के ? तर फेरि पनि आमाकै गरिबीले उसको आँखामा बादल लाग्छ ।
बरु मातातीर्थ औंसीको एक दिन ऊ आमाविहीन संसार स्वीकार गर्ला, नत्र तीन सय ६४ टुक्रा कलेजी त सदा उसकै भाग हो ।

जन्मकथाभन्दा उसको जीवनव्यथा वर्णनीय छन् । तर वर्णन गरी साध्य छैन ! मान्छेका व्यथा देख्न पावरग्लास चाहिन्न । उसको सुखबारे विश्लेषण गर्ने, भो म त्यो संकट चाहिं नबेहोरुँ क्यार !

उसको बोलीमा चिनी चाख्नु जो कसैको सौभाग्य हुन जान्छ । तर्कमा ऊ पहलमान नै हो । कोही तम्सियो कि पछारिहाल्छ । ऊसँग भिड्ने फुर्सदमा मैले आफूलाई कहिल्यै पुर्‍याइनँ । एक-अर्काको इज्जतमै हामी व्यस्त रह्यौँ सायद ।

पूर्वी नेपालको कर्मयात्रामा कहिले मोरङ, कहिले उदयपुर उसको बाटो हो । साँच्चि, उसका कतिवटा खुट्टा छन् ?

प्रेमको मामिलामा ऊ पक्का छ । नौ बजेको चुम्बनलाई ऊ साइतमै शुभलाभ गर्ने सामर्थ्य राख्छ ।

'अहो, मेनुका कसरी भुल्न सक्छु त्यो पहिलो प्रेम !', विरस बेला-बेलाको मित्रभेटमा रोमान्टिक भावमा गुडुल्किन्छ । उसकी प्रथम मायालु मेनुका, अहिले उही नै छैन । कत्रो विस्मात् छ जिन्दगी ! त्यही ज्वरोले बहुलाउँदा ऊ यसो गजल रचनाहुँदी 'मेनुप्रिया' नाममा आफ्नो प्रेमीरूप झुल्काउन पनि पछि पर्दैन । कविता लेख्दा 'स्वघोषित सहिद' उसको आत्मीय पहिचान ।

जीवनमा विविधताको रङ छ । जसमा रंगिने क्रममा ऊ अनेक बहाना पिस्ने गर्छ । मसला त त्यसै पनि भइएकै हो विविध परिबन्दको सिलौटामा !

सधैं लाग्छ - उसको जराजरामा पसिसकेको छु, अब जान्नु के छ ? तर, विरस रहस्यको अथाह समुद्र हो । जति गोता लगायो, छिचोल्न त्यति नै बाँकी । अरुले नामको अगाडि डाक्टरको फुर्को जोडेर विशेषज्ञता र बौद्धिकतामा चमत्कार गरिसके, आफू चाहिं 'बिरामी' फुर्को जोड्न मात्रै बाँकी छ उसले । बिरामी त सधैँको हुँदै हो । वाणिज्यशास्त्रको पढाइले उसको जीवनले व्यवस्थापन कसरी पाउला ?

भन्थ्यो - राजधानीमा जीवन साँच्चै ओखर रहेछ ।

उदयपुरको भूमि । एकदिन अनायासै ऊ मेरो जीवनमा देखा पर्‍यो । चर्चा उसको पहिल्यैदेखि चल्दै आएको थियो । 'सन्ध्या' साहित्यिक पत्रिका प्रकाशनको सिलसिलामा आमनेसामने हुन्छौं । हेर्छु उसलाई - गर्धनसम्म लर्किन आइपुग्ने उसको झ्यापुल्ले कपाल छ । पहिरन उस्तै अल्लारे पाराको । धत्, के छ यसमा प्रतिभाको पाटो ? मनैमन आफैंलाई खिन्नताले हिर्काउँछु । तर जब बोल्न थाल्छ ऊ, मक्ख पार्दै जान्छ र प्रवेश गर्छ एउटा आत्मीय अनुहारसहित । त्यसअघि पनि एउटा कविता प्रतियोगितामा पहिलो जम्काभेट सम्झिन्छु ऊसँगको ।

मनीब्यागमा उसको पैसा कति हुन्छ, मैले कहिल्यै गनेको छुइनँ । हुन पनि पैसाभन्दा उसले त्यहाँ अनुहारहरू पट्याएर साँच्ने रहेछ । फुर्सदमा सम्झनाका लागि खर्च हुने पलहरू । एकदिन आत्मीय जमघटमा एक-आपसको प्रेमिकाको बारेमा सोधखोज चल्छ । म लुकाउँछु । एक समय 'अविदित ऐंसेलु' नाममा कलम चलाउने भीमेन्द्र खड्का ऐंसेलु झैं डल्लो पर्छ ।

त्यस्तैमा विरसबाबु उदारतासाथ आफ्नो मनीब्याग खोतलेर फटाफट तस्वीरहरु हामीसामु बिछ्याउँछ, भावुक मुद्रामा । एक-एक गरी विवरण पेश गर्छ - यो मेरी प्रथम प्रेम, यो दोस्री मायालु, ... ... र यो तेस् ... ...'
हामी दंग ! थान-थान नारीरूपमा उसका प्रेम खोजिरहन्छौं । ऊ यतिबेला भावुकता पन्छाएर कुतकुतिंदै खुम्चिन्छ ।

उसको मंगोलियन लाम्चो अनुहार, केही चिम्सा आँखा, फुंग उडेका पातला लामा कपाल, पहलमानको भव्य ज्यान । देख्दा लाग्छ - अहो क्या गुन्डा र दादा आकृति !

तर खोज्नुपर्छ, सिर्जनशीलताको नमुनामा ऊ उर्वर भूमि हो, केही न केही उब्जाइरहन्छ ।

यति धेरै सिर्जनशीलताको खानीमा आफू के हो, आफैं अन्योलमा छ ऊ । शक्तिशाली हनुमान आफ्नो तागतबारे बेखबर भए जस्तो ! कविताकृतिको पाण्डुलिपि 'चिहानको देशमा' तयार पारेको छ । ज्या है, पैसा छाप्ने मेसिन त ऊसँग छैन । कत्रो हत्ते ! ऊ कुनैबेला भुराभुरीलाई कालोपाटीको सहारामा पाठ घोकाउँथ्यो । आज संघर्षको पाठ घोक्न कहिले नाट्यकर्म र कहिले साहित्यकर्मको स्वयंसेवा बाटो छ । यसले 'घरसेवा' चल्छ कि ? ऊ बुद्धू बनिदिन्छ ।

गुरुकुलको डाँडा, सुनील पोखरेल । सांस्कृतिक संस्थानको उजाड कोठा, वीरेन्द्र हमाल । प्रज्ञा डबली र कृष्ण साह यात्री । विरसबाबु शाही कहाँ-के मा मिल्छ होला ? जोडा मिलाऊ अभ्यास गरिरहेछ ऊ । जोडा मिलाउने रनाहामा जति नै दौडिए पनि जीवनसँगको सम्बन्धमा ऊ सधैं अलमोस्ट सिंगल ! धेरै भयो ऊसँग नभेटेको । समस्यादेखि नभाग्ने ऊ साथीहरूबाट तर्किन थालेपछि के लाग्छ ?

उमेरमा ऊ मेरो दाइ । तर, समानान्तरमा हामी दुईको यात्रा कस्तो छ भने ऊ जस्तै प्रेममा असफल म र बेटुंगोको जीवनक्रम । कविहृदय जस्तो संवेदनशील अवस्थामा रहनु सानो चोटमा पनि कति पीडादायी कुरा हुन्छ, ऊ यस्तो पीडाको नियमित उपभोक्ता हो । त्यसैले गोरेटोहरूमा बग्दै गर्दा असंख्य ढुंगाहरूदेखि बच्न ऊ बडो होसियार बन्छ । तर बिचरोको के लाग्छ, ढुंगाहरू नै आफैं गुडुल्किँदै उसका पैँताला चुम्न आइपुग्छन् । आह्, कति चरम चुम्बन !

नयाँ-नयाँ प्रयोगको सदा ऊ प्यासी नै हो । यस मानेमा यथास्थितिवादको कडा शत्रुकै रूपमा प्रस्तुत हुन्छ ऊ । हाँसोको यात्रामा आफ्नो मंगोल आँखा ट्याप्प बन्द गरेरै सामेल हुन्छ, मानौं ध्यानको गहिराइमा पसेको होस् । आक्रोशको बेला निधार चाउरिन्छ, ओठ बटारिन्छ र त्यहाँ विरसबाबु आफ्नो 'शाही स्वरूप' मा पेश हुन्छ ।

भेटघाट बन्द भएको निकै अन्तरालमा सुन्छु - विरसले बिहे गर्‍यो रे ! विरस पारिवारिक तानाबानामा हरायो रे ! विरसले सबै साथीभाइसँगको सम्पर्क सेतु नै तोड्यो रे ! नरम मुटु र माटोको कुरा गर्ने ऊ कुनै डेन्टल हस्पिटलसँग आबद्ध  भई काम गर्दै छ रे !
यी तमाम 'रे' का कुरामा पुरिएर एउटा हितैषी चेहरा धूमिल भइरहेछ ।

भन्थ्यो एक भेटमा, केही वर्षअघिको कुरा - 'यार धाइबा, काठमाडौंमा जब म आउँछु, तब हाम्रो साहित्यिक सक्रियताले चराकै उडान लिनेछ ।'

ऊ काठमाडौं आयो । उसले थाहा पायो । मैले थाहा पाएँ । खै, काठमाडौंले त उसको हिसाब राख्नै भुलेछ । साहित्यिक सक्रियता पनि चलिरहृयो । तर अरुहरूको । उसको चाहिं राजधानीमा जिन्दगीको पसल चलाउने प्रयासमा नमस्कारको हात चल्यो वरिष्ठ कुर्सीअघि । कविता उसले नलेखेको होइन । पछिल्लो समयमा भूपीको सोझो प्रभावबाट हटेर मौलिक बन्दै थियो । र, नेपाली साहित्यको के कुरा ? एउटा कविता लेखेर १० वर्षपछि काव्य आन्दोलनको गफ हाँक्दा धुरन्धर साहित्यिक योद्धा भइने यहाँ उसले कविताको सस्तो टुपी समाइरहन सकेन । अहिले कविता उसकी बूढी श्रीमती । पहिला त ऊ नाटककै बैँसालु रङमा रम्छ । आफ्नै लेखन र निर्देशनमा नाटक 'त्यो सपना यो देशलाई' विरसले मञ्चन गरिछाड्यो ।

सोच्दो हो ऊ आफू चाहिं - मेरो सपना खै कुन लाशघरमा ?

1 comment: