Subscribe:

Ads 468x60px

22 June 2014

‘होटलमा पढाइ’

घुमफिरमा कतै निस्किँदा ब्याकप्याकमा पुस्तक सिउरेर हिंड्ने ‘रोग’ केही वर्षदेखि अटुट रुपले लागिरहेछ । यात्राको क्रममा रमाइलोले नै सबै डोज प्राप्त भएर धेरैजसो त नपढिएला, तर पुस्तक साथबाट छुट्दैन । पढूँला भनेर एक-दुईवटा च्यापिहाल्नु बानी भयो सायद ।

त्यस्तो घुमघामको बेला एकोहोरो रमाइलोलाई क्रमभंग गर्दै कहिलेकाहीँ पढिन्छ पनि । दिउँसोभरि बरालिएर राति सुत्नुअघि होटलको बेडमा ढल्किंदै पुस्तक पल्टाउँदा पन्ना-पन्नाले पङ्खा हम्किए जस्तो आनन्द मिल्छ । थकानलाई इरेजर घोटेर मेटाउँदै गए जस्तो !

आनन्द प्राप्तिमा ठाउँ र वातावरणले पनि ठूलो भूमिका खेल्छ । काठमाडौंको कोलाहल र धुवाँधुलो छल्न अलिक छेउछाउ र डाँडातिरको नगरकोट, चिसापानी, ककनी, फर्पिङ पुग्दा अलग्गै मिठास पाइन्छ । ती ठाउँमा पुगेर बन्द कोठामै बसे पनि ‘म फलानो ठाउँमा छु है’ भन्ने लाग्नु नै काफी हुन्छ ताजगी अनुभूति गर्न । जे छ दुनियाँमा, आफूलाई लाग्नुमै छ । त्यही अनुभूति गराइसँगै कोठामा पल्टिएर पुस्तक पढ्दा पनि बिछट्दै स्वाद भरिन्छ ।

08 June 2014

सरुभक्तको चुली र ‘धुम थ्री’

र्मीले पसिनासँगै जिउको स्फूर्ति ताछ्दै छ, झरी धक फुकाएर तप्किन सकेको छैन । झरी परे पनि जहाँतहीँ पक्की भुइँ र घर भएकाले सहरमा पानी सोसिने माटो कम्ती छ । काठमाडौंमा बस्न थालेको एक दशक भयो । विगतमा गर्मीयाममा सहरमा पैदल हिंड्दा जिउ बाफिए पनि ज्यानबाट पसिना तर्केको याद छैन ।  पछिल्ला वर्षहरुमा स्थिति फरक हुँदै छ । तराईका जिल्लाहरुमा त झन् के कुरा गर्नु ! तापक्रम ४४-४५ डिग्री सेल्सियसको हाराहारीमा पुग्न थालेको छ । त्यताका मान्छे राति सुत्नुअघि नुहाएर मात्रै  सञ्चो मान्दैनन्, पानीमा गम्छा भिजाएर त्यही ओढेर सुत्ने अवस्थामा पुग्छन् ।

CHULI-by-Sarubhaktaतापक्रम वृद्धिले बिस्तारै संसारलाई नै उकुसमुकुस थर्मस बनाउँदै छ । यस्तोमा हिमालले हिउँ जोगाउन सक्दैन । हिमचुलीहरु पग्लिएर कालापत्थरमा परिणत भइरहँदा मैले यस पटक हिमाल आरोहणसम्बन्धी कृति पढेँ । सरुभक्तको लघु उपन्यास ‘चुली’ । २०६० सालमै प्रकाशनमा आइसकेको किताब पहिले नै पढ्ने सोच भए पनि खै के कुराले अलमल्यायो । सायद किताबहरुको थाकमा अरु किताबले नै रोजाइमा  उछिने । अथवा सानो काँटीको किताबलाई कम आँकेँ ।

03 June 2014

Nepal Smiles :-)

हाँसो र खित्का ओठबाट ताछिएर इन्टरनेटको च्याट एप्लिकेसनभित्र ‘स्माइली’ मा खुम्चिएको समय हो यो । आजका मान्छेहरु सायद हाँसोको कुरा बढी गर्छन् र हाँस्छन् चाहिं कम । यस्तो बेलामा म आफूले खिचेका फोटोहरुको अर्काइभ खोतलेर मुस्कान सिरिज तयार पार्दै छु ।

खासगरी पोट्रेट फोटोग्राफीमा रमाउँदै आएको छु । मान्छेका मुहारमा तैरिएको र सिंगो शरीरले बोलिरहेको भाषाको भाव उतार्न निकै मजा लाग्छ । खुसी, पीडा, बेचैनी, विस्मात्, उत्साह लगायतका भाव पोखिरहेका अनुहारले ती मान्छेको जिन्दगीको पछिल्लो कथा भनिरहेको हुन्छ ।

नेपालीहरु सीमित स्रोत-साधन र अभावमा पनि ‘सन्तोकी’ भनेर चिनिन्छन् । दुःखलाई छातीमा सिएर मुस्काइरहेका हुन्छन् । दैनिक १७ सयभन्दा बढी नेपाली युवा विदेशिनुलाई त्यही हाँसोको खोजी मान्नुपर्छ । हामी नेपाली मेकअप बिग्रेला र मुखका कुनामा मुजा बस्ला वा दुख्ला भनेर नहाँसी बस्नेमध्येमा पर्दैनौं । सानै कुराले ओठ खुल्छन्,  आँखा तान्किन्छन् । अस्थिर राजनीतिले मक्किएको देशमा सबै क्षेत्रमा बेथिति-अव्यवस्था भए पनि  हिलोमा फुलेको कमल जस्तै हामी सबथोक सहेर, पचाएर, चित्त बुझाएर बाँचिरहेका छौं । हाँसिरहेका छौं ।
मुस्कान र हाँसो सिरिजका यी तस्बिरलाई यही कुराको सूचक मानौं । विभिन्न समयमा आफ्नो गाउँघरका साथै फरक गाउँठाउँ पुगेका बेला खिचिएका यी तस्बिरहरुमा मुस्कानदेखि खित्कासम्मको आयतन नापिएको छ ।

Nepal-Smiles-1