November 17, 2014

काठमाडौं ऐँठन

मञ्जुश्रीको कसम ! 
मलाई अब सपनामा पनि 
कुनै चोभार बग्न मन पर्दैन

बग्नुदेखि एलर्जी छ मलाई 
राजधानी बोक्न थालेदेखि उँधैउँधो बगिरहेछु 
छुलछुली मुत्न थालेको छु राजधानीको बोझले 
देखिरहेछौ यी वाग्मती र विष्णुमतीको कोपरा ?

मान्छेहरु उल्टै मैंलाई दोष दिन्छन् 
मेरो छातीमा थुक्न धरहरा चढ्छन् 
संसार चुसेर मैले आफ्नो पेट ऊकासेजस्तै गाली गर्छन् 
मोटाएको देखिए पनि 
यो हो मेरो फोक्से मासु 
एक्स-रेमा मुटु गायब भएको करङैकरङको छाती मेरै हो

खै, कहाँनेर सुहाउँछ मलाई राजधानी !

ममाथि एक न एक बात लागिरहन्छ 
गाउँले कान्छीलाई फनफनती घुमाएको बात लाग्छ 
अरब जाने कान्छालाई डुबाएको बात लाग्छ 
सप्पै रहर र सपना चपाउने धमिरा मानौं मैं हुँ

मान्छेहरू असफल हुन्छन् र मलाई प्रतिस्पर्धी देख्छन् 
मान्छेहरूको पखेटा खस्छ र मलाई निर्दयी गिद्द मान्छन् 
मान्छेहरु पौडिन जान्दैनन् र मलाई अप्ठेरो पोखरी भन्छन् 
सय चोक्टामा हजार मुखले भाग खोज्छन् र मुर्मुरिन्छन्

म सरकारको प्रयोगशाला 
जनताको व्यायामशाला 
म हरेक आगन्तुकहरु रमाउने गालीको पाठशाला !