October 21, 2015

जागिर

काम गरेको वर्ष दिनपछि पत्रिकाका मालिकले एकदिन भने - 'तिमीले पत्रकारिता गरेर खाँदैनौ !'

साक्खै छोराको चिन्ता गरेझैं जुँगे ओठ खुम्च्याउँदै उनले तीतो पोखे । त्यो जुँगाले मलाई सिस्नुले घोचे जस्तै रनक्क पार्‍यो । ढंग पुर्‍याएर लेख्न नजानेको भन्दै उनले मेरो जीवनयात्राबारे भविष्यवाणी नै गरिदिए ।

एक दशकअघि पत्रकारितामा जागिरे यात्रा सुरु गरेको थिएँ । काम थियो- आर्थिक पत्रिकामा फिचर समाचार र बजारभाउबारे लेख्नु । आफ्नै बजारभाउ भने दयनीय थियो । तलब थियो - ४५ सय रुपैयाँ । तैपनि तलब हात लाग्ने सम्भावित गतेहरूमाकुवेरको थैलो पाउन लागे जस्तै मन एकतमासले रसाउँथ्यो । तलब पाउनेबारे पत्रिकाको लेखा शाखामा फोनबाट सोधेर हातैमा नगद बुझ्नुपर्ने रीत थियो । लेखामा फोन गर्दै 'आज त्यहाँ आउँदा हुने हो हजुर?' भनेर सोध्दा सकारात्मक जवाफ आएमा खुसीले औडाहा हुन्थ्यो !

January 25, 2015

पराजयका भक्काना


मरुभूमिमा एउटा प्यासी यात्रालाई अघिल्तिर पानीले भरिएको सडकले थप दौडको निम्तो मात्रै दिइरहन्छ। मृगतृष्णाको त्यही खिरिलो धागोमा असिनपसिन भएर जिन्दगीले सर्कस चलाउँछ। त्यस्तो सकसमय सर्कस चलाउन बाध्यमध्येकै हुन्, वैदेशिक रोजगारीमा जानेहरू। कृष्णपक्षको नवीनतम कथासंग्रह 'तिर्खा' मा त्यस्तै प्यासी आत्माहरूको काकाकुल जिन्दगीका नसा छाम्न पाइन्छ।

कुनै पनि कथा समाज र त्यहाँ रहेका व्यक्तिका केही हाँसो पोतिएको व्यथा नै हो। यस मानेमा 'तिर्खा'भित्रका कथाहरू बढ्ता व्यथा लाग्छन्। तिनमा रेगिस्तानको खिर्‍याउने हावासँगै पसिना र यौवन बगाइरहेका हजारौं श्रमिकका प्रतिनिधि अनुहार छन्।

January 20, 2015

मृत्युको गिलासमा जीवनको चुस्की

जगदीश घिमिरे

जीवनको आँखाबाट हेर्दा मृत्यु फिका चिया हो । न रङमा गाढापन, न स्वाद तिक्खर । अक्सर औषधी तीता र टर्रा हुन्छन् भनेर मान्ने हो जीवनको औषधि हो - मृत्यु । त्यहाँ पुगेर सब कुरा समाधान भए जस्तो समथर लागिदिन्छ, अरुको प्रस्थान हेर्दा । तर, जीवन यस्तो सिलसिला हो, जहाँ विशृंखलताहरु खप्टिएर बसेका हुन्छन् । त्यो खप्ट्याइमा मृत्यु उद्गम सत्य हो । यस्तो विसंगत जीवन बाँचिरहँदा कोही पहिलेदेखि नै मृत्युले छोइएर जीवनको पाती चढाइरहेका हुन्छन् । जगदीश घिमिरे त्यस्तै पूजारी बने।