October 21, 2015

जागिर

काम गरेको वर्ष दिनपछि पत्रिकाका मालिकले एकदिन भने - 'तिमीले पत्रकारिता गरेर खाँदैनौ !'

साक्खै छोराको चिन्ता गरेझैं जुँगे ओठ खुम्च्याउँदै उनले तीतो पोखे । त्यो जुँगाले मलाई सिस्नुले घोचे जस्तै रनक्क पार्‍यो । ढंग पुर्‍याएर लेख्न नजानेको भन्दै उनले मेरो जीवनयात्राबारे भविष्यवाणी नै गरिदिए ।

एक दशकअघि पत्रकारितामा जागिरे यात्रा सुरु गरेको थिएँ । काम थियो- आर्थिक पत्रिकामा फिचर समाचार र बजारभाउबारे लेख्नु । आफ्नै बजारभाउ भने दयनीय थियो । तलब थियो - ४५ सय रुपैयाँ । तैपनि तलब हात लाग्ने सम्भावित गतेहरूमाकुवेरको थैलो पाउन लागे जस्तै मन एकतमासले रसाउँथ्यो । तलब पाउनेबारे पत्रिकाको लेखा शाखामा फोनबाट सोधेर हातैमा नगद बुझ्नुपर्ने रीत थियो । लेखामा फोन गर्दै 'आज त्यहाँ आउँदा हुने हो हजुर?' भनेर सोध्दा सकारात्मक जवाफ आएमा खुसीले औडाहा हुन्थ्यो !