Subscribe:

Ads 468x60px

24 January 2015

पराजयका भक्काना

रुभूमिमा एउटा प्यासी यात्रालाई अघिल्तिर पानीले भरिएको सडकले थप दौडको निम्तो मात्रै दिइरहन्छ मृगतृष्णाको त्यही खिरिलो धागोमा असिनपसिन भएर जिन्दगीले सर्कस चलाउँछ त्यस्तो सकसमय सर्कस चलाउन बाध्यमध्येकै हुन्, वैदेशिक रोजगारीमा जानेहरू कृष्णपक्षको नवीनतम कथासंग्रह 'तिर्खा' मा त्यस्तै प्यासी आत्माहरूको काकाकुल जिन्दगीका नसा छाम्न पाइन्छ

कुनै पनि कथा समाज त्यहाँ रहेका व्यक्तिका केही हाँसो पोतिएको व्यथा नै हो यस मानेमा 'तिर्खा'भित्रका कथाहरू बढ्ता व्यथा लाग्छन् तिनमा रेगिस्तानको खिर्‍याउने हावासँगै पसिना यौवन बगाइरहेका हजारौं श्रमिकका प्रतिनिधि अनुहार छन् यौवन तन्नेरी सपनालाई खुब स्वादले चपाइरहेको वैदेशिक रोजगारीको विवशता जति निष्ठुर , कठिन दिनचर्याबाट थाकेको मन-मगज टेको लगाउन प्रेम जस्तै कुनै साथको खोजीमा भौंतारिएका मनको दुर्दशा त्यति नै कारुणिक लाग्छ भ्यागुता जस्तै उफ्रिएर खुसीको सिकार गर्न तम्सिने यात्रीहरू आफैं विभिन्न खाले सिकारमा परिणत भएको कहाली हुन् कृष्णपक्षका कथाहरू

19 January 2015

मृत्युको गिलासमा जीवनको चुस्की

जीवनको आँखाबाट हेर्दा मृत्यु फिका चिया हो । न रङमा गाढापन, न स्वाद तिक्खर । अक्सर औषधी तीता र टर्रा हुन्छन् भनेर मान्ने हो जीवनको औषधि हो - मृत्यु । त्यहाँ पुगेर सब कुरा समाधान भए जस्तो समथर लागिदिन्छ, अरुको प्रस्थान हेर्दा । तर, जीवन यस्तो सिलसिला हो, जहाँ विशृंखलताहरु खप्टिएर बसेका हुन्छन् । त्यो खप्ट्याइमा मृत्यु उद्गम सत्य हो । यस्तो विसंगत जीवन बाँचिरहँदा कोही पहिलेदेखि नै मृत्युले छोइएर जीवनको पाती चढाइरहेका हुन्छन् । जगदीश घिमिरे त्यस्तै पूजारी बने ।

टाढाबाट हेर्दा जगदीश दाइलाई सधैं अहंकारले मोटाएको देख्थें म । घुलमिलमा रहनुपूर्वको हेराइ थियो त्यो । त्यसो त अन्तरंग सम्बन्धमा पनि म कहिल्यै झ्याम्मिइनँ उनीसँग । कसैसँग खुलेर झ्याम्मिन र आफूलाई पनि अरुसँग झ्याम्मिन दिन जाँगर खासै चल्दैन आफूलाई । परैबाट हेराहेर गर्दै तर्किएर टापुको जीवन जिइरहेको हुन्छु । यस्तो स्वभावलाई यथार्थबाट भागेको भने पनि हुन्छ, जीवन र सम्बन्धको व्यवस्थापन गर्ने सवालमा हुतिहारा माने पनि हुन्छ । जे होस्, अन्तर्मुखी बचाइमा रहँदै सामाजिक भइदिनुमा तृप्ति छ । जगदीश दाइ पनि अन्तर्मुखी गायनमा रमाउने उस्ताद थिए ।