शुक्रबार साँझ अन्तिम सास छाडेका लोकगायक खेमराज गुरुङ आइतबार पशुपति आर्यघाटमा खरानी भएर उडे । अब जनमानसमा उनका गीतका तरंग बाँकी छन् । जुन हावाकै काँध चढेर एक कान दुई कान मैदान उडिरहनेछन् ।
खेमराजको पर्याय हो ‘वारि जमुना पारि जमुना’ गीत । यही पूर्वेली भाकाबाट उनले डेढ दशकअघि देश-विदेश नै गुञ्जायमान पारेका थिए ।
चार वर्षअघि उनीसँग विशेष रुपमा भेट्ने चाँजो मिलेको थियो ।
भेटेर बात मार्दै उनीबारे केही लेख्न मन थियो । अष्ट्रेलियाबाट हरेक पन्ध्र दिनमा छापिने पत्रिकाको लागि प्रोफाइल लेख्नु थियो । त्यो पत्रिका निकाल्न हामी केही साथीहरु काठमाडौंमा सामग्री संकलन, सम्पादन र लेआउट सेटिङको काम गर्थ्यौं ।
खेमराजसँग भेट गराउन कवि तथा फोटोग्राफर मित्र आरके अदिप्त गिरीले पुलको काम गर्ने भए ।
०६९ साल भदौ १७ गते बिहानपख हामी बागबजार पुग्यौं ।