साहित्यकार डा. राजेन्द्र विमलका राजनीतिक कुरा (२०७३ भदौ ११ मा अनलाइनखबर डटकममा प्रकाशित)
मैथिली र नेपाली भाषामा उत्तिकै दक्षतासाथ कलम चलाउँछन् डा. राजेन्द्र विमल। प्राध्यापनमा चार दशक बिताएका उनी सात वर्षअघि रिटायर भए।
जनकपुर
निवासी उनी साहित्यिक कार्यक्रम र व्यक्तिगत कामविशेषले बेला-बेला राजधानी आउँछन्।
यसपालि
पनि उनी काठमाडौँ आएको खबर पाइयो। बुधबार अपराह्न फोन गरेँ। उही परिचित शालीन बोली
सुनियो।
शंखमूलमा
आफन्तको घरमा बसेका थिए। तीन दिनअघि आँखाको मोतियाविन्दुको शल्यक्रिया गरेर आराम
गरिरहेका रहेछन्।
यस्तो
अवस्थामा भेटेर गफगाफ गर्न उनलाई सहज होला या नहोला भन्ने लाग्यो। उनले नै अप्ठेरो
फुकाइदिए, “अरे, आउनुस्
न। मजाले बात मार्न सकिन्छ नि। के छ र!”
एकैछिनमा पुगेँ उनले दिएको ठेगानामा। चार वर्षअघि ‘समयका आँखा’ कथासंग्रह निकालेका यी ७० वर्षे विद्वान्ले यो पालि आफ्नै आँखाको कुरा गरे। “बूढीको अनुहार राम्ररी देख्न नपाएको पनि दुई वर्ष भयो। बाक्लो र कडा किसिमको थियो मोतियाविन्दु। शल्यक्रिया गरिसकेपछि भेट्ने उत्सुकता भइरहेको छ,” मनको हुटहुटी सुनाए।
बुढेसकाल
रोगको घर बनेकोमा उनी दिक्क मान्छन्। उनकी पत्नीलाई पनि मुटुसम्बन्धी रोग रहिरहँदा
अर्को रोग ‘अल्जाइमर’ थपिएको छ। यो बिर्सने रोगले घरमै विरानो पात्र बन्छन् उनी।
किन आयौ, को हौ भनेर पत्नीले सोधिरहेकी हुन्छिन्। फिका हाँसे, “यस्तै छ जिन्दगी, तैपनि हाँस्नैपर्छ।”
पारिवारिक
व्यथापछि उनी देशको व्यथा खोतल्नतिर लागे।
देशमा राजनीतिक
नेतृत्वको बदमासी र सधैँको संक्रमणकाल देखेर उनी निकै चिन्तित रहेछन्। देशको
सिस्टम नफेरी जनताले सुखको सास फेर्न नपाउने निधोमा पुगिसकेका छन् उनी।
यो
दुरवस्था देखेर उनले आफ्नो चिन्तन-मननबाट फरक अवधारणा जन्माएका छन्–
‘गार्जियनोक्रेसी’। अर्थात् अभिभावकतन्त्र।
के
हो अभिभावकतन्त्र ?
भनिन्छ, संसारमा कुनै पनि सिस्टम आफैंमा असल वा खराब भन्ने हुँदैन। त्यो कसरी सञ्चालन गरिएको छ भन्नेमा भर पर्छ। तर, डेमोक्रेसी र कम्युनिज्म दुवैमा विश्वास नभएपछि विमलले नयाँ राजनीतिक प्रणालीको परिकल्पना गरेका हुन्।
डेमोक्रेसीमा
किन विश्वास छैन भने यो भ्रष्टाचार र खुलमखुला लुटको अखडा बनेको छ। उनी
भ्रष्टाचारकै जगमा लोकतन्त्र टिकेको देख्छन्। “भ्रष्टाचार खत्तम गर्दिनुस्, डेमोक्रेसी कोल्याप्स हुन्छ। भ्रष्टाचार गर्नलाई नै यिनीहरूले
राम्रा-राम्रा लोकतन्त्रको नारा दिन्छन्,” राजनीतिक
नेताहरूलाई औँल्याउँदै भने।
लोकतन्त्रको
आवरणमा समय-समयमा तिनै सीमित व्यक्तिहरूले नाफाको उद्योग चलाएको देखेर उनी क्रुद्ध
छन्।
उनले २००७ सालदेखिको प्रजातन्त्र देखेका छन्। “सधैँ डेमोक्रेसी भनेको
छ, के भयो डेमोक्रेसीले? कुन
डेमोक्रेसी?,” उनी प्रश्न गर्छन्, “राणा
शासनकालमा पनि डेमोक्रेसी। विश्वेश्वरको पनि डेमोक्रेसी। राजा महेन्द्रले ल्याएको
सम्पूर्ण पञ्चायतकाल नै पञ्चायती डेमोक्रेसी। त्यसपछि पनि डेमोक्रेसी र अहिले त
झन् गणतन्त्र। सर्वोच्च पदमा र कार्यकारी भूमिकामा जनताको छोरो पुग्दैमा परिवर्तन
हुने रहेछ त?”
सिस्टममा जनताको छोरो जाँदैमा कायापलट हुने भए हिटलर र मुसोलिनी पनि जनताकै छोरा थिए भनेर विमल स्मरण गराउँछन्। त्यस्तै, घृणा, द्वेष र विध्वंशको आधारमा चल्ने कम्युनिज्म त झन् खत्तम लाग्छ उनलाई। त्यसलाई उनी ‘जंगलीहरूको व्यवस्था’ भन्छन्।
यस्तो
अवस्थामा अब उनले देखेको एकमात्र विकल्प ‘अभिभावकतन्त्र’मा देशलाई अभिभावकहरू
चाहिन्छ। त्यस्तो अभिभावक, जसको हातमा नेतृत्व हुनुपर्छ। ती अभिभावक यत्तिकै
टपक्क टिपेर पदमा ल्याउने खालका भने हुने छैनन्। अभिभावकहरू उत्पादन गर्न ‘लिडरसिप
डेभलपमेन्ट फ्याकल्टी’ खोल्नुपर्ने आवश्यकता विमलले देखेका छन्। जसमा साइन्स,
कमर्श, ह्युमानिटिज् संकायमा जसरी नै
विद्यार्थी पढाइन्छ, तर तिनलाई देशको लागि कुशल नेतृत्वको रूपमा
विकास गरिन्छ।
‘नेतृत्व विकास संकाय’मा अनिवार्य विषयहरू हुनेछन्–
नैतिक शिक्षा, नेपालको इतिहास, भूगोल र
संस्कृतिबारेको समग्र ज्ञान, युद्ध विज्ञान आदि। अनि जनताको
सेवा र नेपालको विकासमा चाहिने जे-जति मन्त्रालय छन्, मन्त्रालयपिच्छेको
फरक विधा ऐच्छिक विषयका रूपमा पढ्नुपर्नेछ।
अहिले
प्रचलित सरकारी परिदृश्यबारे विमल गुनासो गर्छन्, “हामीकहाँ
त शिक्षामन्त्री त्यस्तो हुन्छ, जसलाई शिक्षाको बारेमा केही
ज्ञान नै छैन। कानुनमन्त्री छ, कानुनको किताबै देखेको छैन।
स्वास्थ्य मन्त्री छ, देशमा कतिवटा स्वास्थ्य चौकी छन् भन्ने
थाहै छैन। यसरी मूर्खहरूको हातमा हाम्रो भाग्य राख्नुहुँदैन।”
रिबन
नकाट्ने मन्त्री
औपचारिक
अध्ययनमा जसरी नै नेतृत्व विकास गरेर साँच्चै जनताको सेवाकै लागि आउनुपर्ने भएपछि
मान्छेहरू छाँटिएर योग्य मात्रै आउने उनको दाबी छ।
नेतृत्व
विकासको शैक्षिक उपलब्धिअनुसार तिनले पदीय जिम्मेवारी पाएर अभिभावकको रूपमा देश र
जनताको ख्याल राख्नेछन्।
कुन
सार्वजनिक पदमा कस्ता मान्छे उठ्न पाउने भन्नेमा पनि उनको अभिभावकतन्त्रको आफ्नै
काइदा कानून छ। जस्तै, एसएलसी मात्र पास गरेकोले गाविसको वडामा मात्र उठ्न
पाउनेछ। आईए तहसम्म पास गर्नेले गाउँ प्रमुख वा नगर समिति सदस्य र बीए पास हुनेले
नगरपालिका-उपमहानगरपालिकाको लागि प्रमुखमा उम्मेदवार हुन पाउँछ। एमए पास गर्नेले
मात्रै सांसदमा उठ्न पाउँछ।
मन्त्रीहरू बनाउँदा पनि मेजर विषय लिएर पढेअनुसार मन्त्रालयको जिम्मेवारी दिनुपर्ने। मन्त्रीहरूले काम गरेका छन् कि छैनन् भनेर कडाइका साथ प्रधानमन्त्रीले हेर्नेछन्। उनी भन्छन्, “मेरो गार्जियनोक्रेसीमा मन्त्रीहरूले रिबन काट्ने काम हुँदैन। अरु मान्छेहरू चाहिँ दस बजेदेखि पाँच बजेसम्म अफिसमा काम गरेर बस्नुपर्ने, उनीहरू चाहिँ केही काम नभएर संसद्मा कुर्सी फ्याँक्ने र राति अनेक रामरमाइलोमा हराउने? त्यस्तो हुँदैन। उनीहरू पनि १० – ५ बजेसम्म कार्यालयमै बसेर कहाँ विकासको के अवस्था छ, के योजना बनाउनुपर्छ भन्नेमा चिन्तन-मनन गरेर कार्यक्रम ल्याउन र प्रोजेक्ट बनाउन खट्नुपर्छ।”
एउटा
सिस्टम बनाएपछि त्यसैअनुसार अभिभावकतन्त्रले देश विकासमा प्रभावकारी भूमिका खेल्ने
उनले सोचेका छन्। तर, अहिले रजाइँ गरिरहेकाहरूले मान्ने छैनन्।
देश, जनता र समग्र समृद्धि विचार गरेर आफूले अभिभावकतन्त्रको परिकल्पना गरे पनि यसलाई अहिलेका राजनीतिक व्यक्तिहरूले मान्ने सम्भावना भने उनले देखेका छैनन्। किनभने हिजोदेखि आजसम्म उनीहरूले सेवा नगरी लोकतन्त्रको आवरणमा चौतर्फी रूपमा मेवा मात्र चाखिरहेछन्। उनी भन्छन्, “पदबाट यिनका सारा सुविधाहरू झिकिदियो भने हेर्नुहोला, भोलि कोही पनि चुनावमै उठ्दैन। अहिले त पजेरो, पावर, ग्ल्यामर सबका कारण यिनीहरू लोकतन्त्र जिन्दावाद भन्ने नारा लगाइरहेका छन्।”
यस्तो
फलिफापको लोकतन्त्र छाडेर जनताको सेवामा खटिनुपर्ने अभिभावकतन्त्रलाई सबैले
स्वीकार गर्ने कुनै सम्भावना छैन। तर, नेपाल लगायत
तेस्रो विश्वका मुलुकहरूका लागि यो बाहेक कुनै उपाय नै देख्दैनन् उनी। “देश बनाउन
कुनै न कुनै दिन यो प्रणालीमा हामी जानैपर्छ। विकल्पै छैन,” उनी
ठोकुवा गर्छन्।
साहित्यकार
विमलले सुन्दर नेपालको परिकल्पना गर्दै आफ्नो नयाँ राजनीतिक प्रणालीबारे अनौपचारिक
रूपमा केही मान्छेलाई सुनाइसकेका पनि छन्। त्यसमा राम्रो प्रतिक्रिया पनि पाएका
छन्। तर, कुनै ठाउँमा यो कुरा गहकिलो रूपमा राख्ने बलिया
मान्छे उनका साथमा छैनन्।
कुरा
बिसाउँदा बिसाउँदै उनले भने, “म त सामान्य जिन्दगी बाँच्ने
मान्छे। मसँग त्यस्तो संगठन छैन।”
केही
दिनमा उनी काठमाडौँबाट जनकपुर फर्किनेछन्। पत्नीलाई धीत मरुन्जेल हेर्ने रहर छँदै
छ।
मोतियाविन्दुको शल्यक्रियापछि उनको आँखामा चहक छाएजस्तै उनले परिकल्पना गरेको सुन्दर नेपाल कुन पुस्ताले प्रष्टसँग देख्न पाउला?

0 Comments