चुरालाई पखेटा बनाउँदै
उडाएँ मैले तिमीतिर
जिन्दगी जस्तै प्यारो हात
बोकेर ल्याएँ
कहिल्यै सन्नाटा नछाउने घर
आफैंलाई सौगात बनाएर सुम्पिएँ,
तिमीले दियौ
एउटा पलङ
पलङको आधा हिस्सा
र दस्तखत चलाएर सग्लो मेरो आङमा
दियौ बलात्कारलाई संस्थागत स्वरूप ।
23 January 2012
सात फेरो
22 January 2012
आज दुवै आँखा गुमाएँ …
{ Attachment brings suffering }
पत्रमित्र साथी,
हस्याङफस्याङ गर्दै बरालिएको जिन्दगीमा तिमीलाई जमेको माया !
तिमीलाई पत्र लेख्न बस्दा हातभन्दा बढी मन काँपिरहेको छ । अदृश्य मनको कम्पन कति ज्याद्रो हुन्छ, तिमी बुझ्छौ नि ? यो पत्र तिमीले स्वीकारै पो गर्ने हौ कि होइनौ, डर यत्ति छ । म बेठेगानामा त निशाना ताकिरहेको छुइनँ नि ? आजको समय पल-प्रतिपल रफ्तारमा छ, साइबर युगमा सूचना-सन्देशको प्रसारभन्दा तीव्र रूपमा परमाणु विस्तार र विरोधी स्वरको होड छ विश्वमा । यस्तोमा तिम्रो मन मात्रै स्थिर रहला भन्ने के ग्यारेन्टी ! तिमीभित्र चञ्चलताले जुरो उठाउँदो हो यदाकदा । यसै पनि हामी आधुनिक मान्छे यथास्थितिवादमा विश्वास गर्दैनौं अचेल । यसबीचमा तिम्रो चायादार कपालले विदेशको चिसोमा अझै चायाको च्यादर ओढे होलान् ( कि पायौ त्यहाँ प्रभावशाली सेम्पुको स्याहार ?), मेरो मनमा पनि टाँस्यो होला समयले असंवेदनशीलताको पत्रे चट्टान । त्यो चट्टान च्यात्दै यति एउटा पत्रको भाका
भए पनि तिमीसम्मन् भर्न खोज्दैछु । कोसौं पर रहेको परदेशमा बस्न पुगेकी नितान्त तिमीलाई मेरो भावनात्मक भुल्का ।
भुल्काको कुरा गर्दा भुल्का-भुल्का रगतको सिर्का छर्ने मेरो मुठीदार मुटुको कुरा सुनाउने व्यग्रता जाग्यो । तिमीसँगको भौतिक दूरीपछि मेरो मुटु कुनै बालकको हातमा पुगेको सलाइको डिब्बा बनेको छ, जसलाई त्यो बालकले खेल्ने नाममा यति जोडसाथ हल्लाएको छ – बढ्ता टङ्कारको कारण त्यसको चालसम्मको होश अब छैन मलाई । म जिउँदै त छु ? चिमोट्ने नङ पनि हिजो मात्रै काटिहालें । यो पिरो मुटु कति पोल्छ भने, मानौं तन्दुरी ढावामा प्रतिपल सेकिइराख्ने तावामा छुटेको रोटीको टुक्रा यही मुटु हो !
01 January 2012
२०१२ मा दुई कुरा
समयको बहानामा योजनाको पन्तुरो फुकाउने चलन नयाँ होइन । चाहे सुरुवातको घडीमा होस् वा समाप्तिको चरणमा, आत्मसाक्षी राखेर हामी योजना र वाचाको सूची बनाउन तम्सिहाल्छौं । यस्तै सूची यसपालि आफ्नो दिमागमा पनि फुरेको छ, वर्ष २०१२ को बहानामा ।
पहिलो योजना छ, यस वर्ष म धेरै पढ्छु ।
अध्ययन निकै सीमित भएको छ पछिल्लो समयमा । किताबका पन्नाभन्दा भातका सिता र निद्राका घन्टाको अंकगणितमा अल्झिन थालेको छ जिन्दगी । बौद्धिक साहचर्यमा रमाउन खोज्ने एउटा युवाको लागि यस्तो चाला हानिकारक हो । तात्कालिक रूपमा आफ्नो पेशागत कामको लागि चाहिने कुरा त ‘फास्टफुड’ हतारोमा पढिएकै छ । तर पाठ्यपुस्तक इतरको अनौपचारिक अध्ययन भने सुनसान छ । पुस्तक नभएर नपढेको भने होइन । किनेर, उपहारमा पाएर थुपारेका पुस्तक जम्मा पार्ने हो भने आफू छोपिनलाई बडेमानको भकारी नै तयार हुँदो हो । तर पढाइतिर ताउरमाउर नै चल्दैन । पढाइ पातलिंदा लेख्ने मसी पनि पातलिनु स्वाभाविकै हो । लेखाइको रङ निकै फिका भएको अनुभव हुँदैछ । मुख्य कुरो त, आफू गुदीयुक्त नभएपछि उभिएको भुइँ नै भासिएला जस्तो लाग्दोरै’छ । फितलो लागिरहेछ आफू । आफू अघिका पुस्ताले नयाँ पुस्तामा अध्ययनै छैन भनेर यत्तिकै थेगो बनाउने गरेको कुराले अहिले हो न हो, आफैंलाई घोचो बनेर बिझाउन थालेको छ ।
29 December 2011
17 December 2011
कुन हो ठाउँ ?
तस्बिरमा देखिएको ठाउँ कहाँको हो ? राम्ररी नियाल्नुस् त ! विदेश हो कि स्वदेश ? पैल्याउन सक्नुभएन भने जानकारी र यससम्बन्धी थप तस्बिर हेर्न भित्र आउनुस् >>


