गीतको कथा- ‘आज भेडाबाख्रा कता लाने’ (गणेश रसिक)


२०२४ सालमा बनेको सांगीतिक समूह लेकालीको नेपाली संगीतमा अलग्गै स्थान छ। खासगरी लोकगीत र राष्ट्रिय गीतको सिर्जनामा यो समूहको विशिष्ट योगदान छ। यसका संस्थापकमध्येका हुन् गायक, संगीतकार र गीतकार गणेश रसिक। जसको ७८ वर्षको उमेरमा २०८२ जेठ १८ गते निधन भएको छ। उनी पाँच वर्षदेखि प्रोस्टेट क्यान्सरबाट पीडित थिए।

भोजपुरबाट इलाम हुँदै २०२३ सालतिर काठमाडौं पसेका थिए रसिक। मञ्जुल, रामेश, रायनसँग भेट भएपछि त्यसबेला उनीहरूले राल्फा समूह गठन गरेका थिए। साहित्यकार पारिजात पनि रहेको सो समूहले समूहगत गीत गाउँथ्यो। पछि राल्फा छाडेर उनी लेकाली समूहमा आबद्ध भए। त्यसमा हिरण्य भोजपुरे, उर्मिला श्रेष्ठ, नवीनकिशोर राई, शशि भण्डारी, रसिक लगायत थिए।

पछिल्लो समय लेकाली अस्तित्वमा देखिँदैन। समूहमा रहेका सदस्यहरूले समूह भंग गरेको जनाएका पनि छैनन्। रसिक भन्छन्, ‘समूह फेरि सक्रिय हुने सम्भावना अब छैन।’ कतिपयले बीचैमा समूह छोडे। हिरण्य र उर्मिला अमेरिकामा छन्। रसिक भने अझै पनि संगीत र साहित्यमा क्रियाशील छन्। लेकालीले सिर्जना गरेका गीतहरूमध्ये ‘आज भेडाबाख्रा कता लाने’ गीत पनि एक समय धेरैको मुखमा झुन्डिन्थ्यो। 

त्यो गीत कसरी जन्मियो? २०७३ भदौको कुनै दिनको भेटमा गीतकार/संगीतकार रसिकले यसरी सुनाएका थिए:

सांगीतिक समूह लेकालीको जन्म हुनुअघि नै यो गीत ०२३ सालतिर लेखेको हुँ। त्यसबेला मेरो उमेर २० वर्षजति थियो होला। धेरैले यसलाई लोकगीत भने पनि यो लोक स्वादलाई समेटेर बनाइएको मात्रै हो।

भोजपुरको छिनामखुमा जन्मिएको हुँ म। गाउँमा भेडाबाख्रालाई बस्तीबाट लेकतिर खरबारी भएको डाँडातिर चराउन लगिन्थ्यो। त्यहाँ गोठाला साथीहरू जिस्किँदै आज भेडाबाख्रा कता लाने भनेर गफिन्थ्यौं। बाल्यकालको त्यही पृष्ठभूमिलाई लिएर पछि यो पनि गीत हुन सक्छ भन्ने लाग्यो। थपथाप गरेर गीत बनाएँ। गीतमा स्थानीयता र आफ्नोपन झल्काउनमा सचेत थिएँ।

त्यतिबेला निकै थोरै गीत लेख्थें। संगीतको त्यति ज्ञान पनि थिएन। अभ्यास गर्दागर्दै आफैंले सिकेको हो। अहिले पनि शास्त्रीय संगीत जानेको मान्छे परिएन। सानोमा हारमोनियम र बेन्जो बाजा बजाउँथें। घरमा सांगीतिक वातावरण राम्रो थियो। बुवा दार्जिलिङ पढ्नुभएको र साहित्य-संगीतमा रुचि भएकाले त्यस्तो वातावरण बनेको थियो। स्कूलमा पढ्दा दार्जिलिङका संगीतप्रेमी सरहरूसँगको सरसंगतिले संगीतको मोहनी लाग्दै गयो।

काठमाडौं आएपछि २४ सालमा ५-६ जना मिलेर लेकाली समूहको गठन गर्‍यौं। समूहमा हिरण्य भोजपुरे, उर्मिला श्रेष्ठ, निर्मला श्रेष्ठ, नवीनकिशोर राई, तीर्थ शेरचन, न्हुच्छेबहादुर डंगोल, शशि भण्डारी र म थियौं। त्यसको एक वर्षपछि ‘आज भेडाबाख्रा कता लाने’ सहितका केही गीत रत्न रेकर्डिङ संस्थानबाट डिस्क रेकर्डमा निस्कियो।

रेडियोमा बज्न थालेपछि गीतको लोकप्रियता बढ्दै गयो। राम्रो प्रतिक्रिया पाइयो। कलेजहरूको वाषिर्कोत्सवमा कार्यक्रमका लागि बोलाउन थाले। बाटोमा हिँड्दा कलेजका केटीहरूले ‘ल हेर, भेडाबाख्रा आए’ भनेर हामीलाई जिस्क्याउँथे। हामी रिसाए जस्तो गर्थ्यौं। तर, गीत चलेरै त्यस्तो प्रतिक्रिया आएको बुझेर रमाइलो लाग्थ्यो।

२०२५ सालमा लेकालीले पहिलो पटक ‘छहराको गीत’ भन्ने कार्यक्रम पुलिस क्लबमा आयोजना गर्‍यो। त्यो कार्यक्रममा ‘मलाई प्यारो लाग्छ लहरा पहरा छहराको देश’, ‘आज भेडाबाख्रा कता लाने’ लगायतका १४ वटा गीत प्रस्तुत गर्‍यौं।

संवादको ढाँचामा आएको यस्तो किसिमको गीत नेपाली संगीतक्षेत्रमै यही नै पहिलो होला जस्तो लाग्छ। केटा र केटीबीचको युगल गीतहरू त पहिले पनि थिए। तर, केटा र केटाबीचको संवादको ढाँचामा यस्तो गीत बनेको थिएन।

यो गीत श्रोताहरूमा कतिसम्म भिजेछ भने, त्यसपछिका वर्षमा अरु धेरै गीत ल्याए पनि त्यसयताका ४० वर्षलाई यिनै पुराना गीतले खाइदिए। त्यतिका वर्ष गाएका गीत र गरेका सिर्जनाको त अर्थै रहेन। त्यसपछि त्यो खालको गीत पनि सिर्जना गरिएन।

साथीहरू आआफ्नै व्यवहारमा बाँधिएकाले अहिले लेकाली समूह छ कि छैन भन्ने अवस्थामा छ। समूह फेरि सक्रिय होला भन्ने आशा अब कमै बाँकी छ। समूहका सदस्यमध्ये केही त बितेर गइसके। कार्यक्रम गर्दा श्रोता अझै पनि पुरानै गीत सुन्न रुचाउँछन्।

अहिले म आफ्नै हिसाबले संगीतकर्ममा एक्लै लागिरहेको छु। गीत र संस्मरण पनि लेख्ने गर्छु। लेकालीबाट करिब एक सय वटा गीत रेकर्ड भएर आए होलान्। ती सबै इतिहासको पाटो भएर बस्नेछन्।

 -----------------

गीत: आज भेडाबाख्रा कता लाने

ए है
है!

आज भेडा-बाख्रा कता लाने ?
खरबारी डाँडा

यता ल्याऊ न
बोका भाग्छ

काटी खाऊँ न
माया लाग्छ

बरी लै …

हामी त जोर भाइ छँदै छौं
मन भएर पनि एक्लो छौं

घरबार आजै बसाऊँ न
साइँली र माइली फकाई ल्याऊँ

ए है,
है!

सिन्दूर र पोते छँदै छ
मायाको चिनो लगाइदिऊँ

त्यतिले आउन नमाने
घरबारी समेत लेखेर दिऊँ

ए है,
है!

स्वरः गणेश रसिक र हिरण्य भोजपुरे
रचना / संगीतः गणेश रसिक

Post a Comment

0 Comments